ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान १७ औं वार्षिकोत्सव विशेष : तीन क्षेत्रमा सार्थक लगानी जरुरी

२०७९ भदौ, १९  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar चन्द्रप्रसाद ढकाल

कोरोना महामारी रुस–युक्रेन तनाव, विश्वव्यापी रुपमा बढ्दो महँगी र महामारीमा ठूला अर्थतन्त्रले अपनाएको संरक्षणवादका कारण नेपालजस्ता साना र कमजोर अर्थतन्त्रले ठूलो संकटको सामना गर्नुपर्‍यो । पछिल्ला तीन वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लागिरह्यो, केही अपवादबाहेक । अझ पछिल्लो आर्थिक वर्ष २०७८/ ७९ मा आइपुग्दा समस्या झनै चर्कियो । खासगरी बाह्य क्षेत्रको दबाबका कारण विदेशी मुद्रा सञ्चितिमा कमी आयो भने सरकारको खर्च गर्ने क्षमतामा ह्रास आउँदा ठूलो रकम ढुकुटीमै थन्कियो । जसले वित्तीय प्रणालीमा तरलताको अभाव सृजना गर्‍यो । 

आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक तरलताको अभाव हुने अनि बाह्य व्यापार सञ्चालन गर्न विदेशी मुद्राको अभाव हुने स्थितिले आर्थिक संकट निम्त्याउने जोखिम बढ्यो । फलस्वरूप सरकार र नेपाल राष्ट्र बैंकले संकट बढ्न नदिन विभिन्न उपाय अख्तियार गर्नुपर्‍यो । पहिले विलासी भनिएका वस्तु आयात गर्न प्रतीतपत्र खोल्दा नै ५० र शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्न भनियो । केही समयपछि विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाइयो । यसरी प्रतिबन्ध लगाउँदा वा अन्य कारणले गाडीलगायत विलासी वस्तुको आयात कम हुँदा एकातर्फ बजारमा वस्तुको अभाव शुरू भयो भने अर्कोतर्फ सरकारको राजस्व संकलनमा पनि नकारात्मक प्रभाव देखिन थाल्यो ।

कोरोना महामारीपछि विदेश जाने नेपाली कामदारको संख्यामा उल्लेख्य वृद्धि भए पनि यहाँ आउने विप्रेषण बढ्न अझै केही समय लाग्ने देखिन्छ । गत वर्ष विप्रेषण आप्रवाह ४ दशमलव ८ प्रतिशत मात्रैले बढेर १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुग्यो । अघिल्लो वर्ष ६२ दशमलव ८ प्रतिशतले घटेको विदेश जाने नेपाली कामदारको संख्या गत वर्ष कैयौं गुणाले बढेर ३ लाख ५४ हजारभन्दा बढी पुगेको छ । यस्तै पुन: श्रम स्वीकृति लिनेको संख्या पनि २ लाख ८२ हजारले बढेको छ । यसले विप्रेषणमा अपेक्षित सुधार हुने संकेत भने देखिएको छ । अर्कातर्फ आयातमा अभूतपूर्व वृद्धि भएको छ । गत वर्ष आयात २४ दशमलव ७ प्रतिशतले बढेर १९ खर्ब २० अर्ब ४५ करोड रुपैयाँ बराबर पुग्यो । 

तरलताको समस्या आउँदा वा बाह्य क्षेत्रको दबाब देखिएका बेला अपनाइने अल्पकालीन उपायले यस्ता जटिल समस्याको समाधान हुँदैन, भए पनि क्षणिकमात्र हुन्छ । समस्याको दीर्घकालीन समाधानका लागि अब मुुलुकले कृषि, जलविद्युत् र पर्यटन क्षेत्रको विकासका लागि सार्थक पहल गर्नु जरुरी छ ।

यी तथ्यहरुले के देखाउँछन् भने नेपालले विदेशी मुद्रा आर्जनका लागि दीर्घकालीन रणनीति बनाउनुपर्छ । तरलता समस्या आउँदा वा बाह्य क्षेत्रको दबाब देखिएका बेला अपनाइने अल्पकालीन उपायले यस्ता जटिल समस्याको समाधान हुँदैन, भए पनि क्षणिक मात्र हुन्छ । समस्याको दीर्घकालीन समाधानका लागि अब मुुलुकले कृषि, जलविद्युत् र पर्यटन गरी तीन क्षेत्रको विशेष उन्नतिका लागि सार्थक पहल गर्नु जरुरी छ । अर्थतन्त्रका तीन मुख्य क्षेत्रमध्ये प्राथमिक मानिएको कृषि निरन्तर उपेक्षित रहँदै आएको छ । 

जनसंख्याको आधाभन्दा बढी कृषिमा संलग्न भए पनि करीब ३ खर्ब रुपैयाँको खाद्य तथा कृषि वस्तु नेपालले आयात गर्नुपरेको छ । त्यति धेरै मानिस संलग्न भए पनि तीन करोड जनताको खाद्य आवश्यकता पूर्ति गर्न नसक्नु बिडम्बना हो । खर्बभन्दा बढीको खाद्यान्न, अर्बौंको मासु तथा खर्ब हाराहारीको डिब्बाबन्द खानेकुरा नेपालमा आयात भइरहेको छ । यति हुँदाहुँदै पनि कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल मुलुकले आयात गर्न सकिरहेको छैन । यो कस्तो स्थिति हो ? अनि यसका लागि जिम्मेवार को छ ? यी प्रश्नको उत्तर खोज्ने बेला अब आएको छ । 

कृषिमा उत्पादन बढाउने हो भने त्यसले आयात प्रतिस्थापन गर्नुका साथै निर्यात पनि बढाउन सक्छ । आयात प्रतिस्थापन गर्नु पनि विदेशी मुद्रा सञ्चित गर्नु हो । कतारलगायत अन्य खाडी मुलुकहरु नेपालबाट खाद्यान्न, तरकारीदेखि पानीसम्म किन्न तयार छन् तर हामीले त्यो सम्भावनाको दोहन गर्नै सकिरहेका छैनौं । अर्कातर्फ अलिकति भइरहेको कृषि निर्यात पनि कम गुणस्तरीय र महँगो छ । अरब मुलुकका लागि नेपालभन्दा भारत सस्तो र ठूलो स्रोत हो । त्यसैले यहाँ नीति बनाउँदा यस्ता कुुरालाई ध्यानमा राखेर प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि तत्कालै काम थाल्नुपर्छ । यसको पहल सरकारले लिनुपर्छ भने निजीक्षेत्रले त्यसमा इमानदारीपूर्वक साथ दिनुपर्छ । 

तर, कृषि विकासको मोडल बनाउँदा अहिले सरकारले बनाएका रणनीतिजस्तो झारा टार्ने गरी बनाउनु हुँदैन । विदेशी सहयोग नै लिएर बनाएको कृषि विकास रणनीतिको कार्यान्वयन यति फितलो छ कि त्यसले किसान र कृषि तथा कृषिजन्य उद्योगमा कुनै पनि प्रकारको सकारात्मक योगदान दिन सकेको छैन । लगानी आकर्षित गर्ने, उद्योग धन्दाको विस्तारमा सहयोग पुर्‍याउनेलगायत कुराको त चर्चा नै नगरे पनि हुन्छ । 

जलविद्युत् अर्को अपार सम्भावनाको क्षेत्र हो । आगामी केही वर्षमा नेपालसँग हजारौं मेगावाट निर्यातयोग्य बिजुली हुनेछ । आन्तरिक रुपमा विद्युत् खपत बढाएर पेट्रोलियम इन्धनको आयात कम गर्ने अनि बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने सम्भावनाले मुुलुकलाई दोहोरो फाइदा हुनेछ । भरपर्दो सफा ऊर्जाले उद्योगधन्दाको विकासमा पनि सघाउने देखिन्छ । गत वर्षदेखि नेपालले भारतमा बिजुली निर्यात थालेको छ र यो वर्ष त्यसलाई अझ बढाउन सकिनेछ । 
यसैबीच भदौ दोस्रो साता काठमाडौंमा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकले ५० मेगावाट बिजुली त्यता निर्यात गर्ने निर्णय गरेको छ । साथै, बंगलादेशले नेपालको सुनकोशी तेस्रो परियोजनामा लगानी गर्ने पनि बताएको छ । यी सकारात्मक कदम हुन् । केही वर्षअघिदेखि नै बंगलादेशले १ खर्ब रुपैयाँ बराबरको एक जलविद्युत् परियोजनामा लगानी गर्ने इच्छा देखाउँदै आएको थियो । 

सम्भवतस् पर्यटन नेपालका लागि विदेशी मुद्रा आर्जनका लागि मात्र नभई आन्तरिक उद्योग व्यवसायको विकासका लागि पनि सबैभन्दा उत्तम विकल्प हो । पर्यटकको संख्या बढ्दा त्यसले अरु दर्जनौं व्यापार व्यवसायको उत्थानमा सहयोग पुग्छ । पर्यटकको यात्राका लागि हवाई तथा यातायात र केबलकार सेवा, बस्नका लागि होटेल तथा रिसोर्ट, रमाउनका लागि बन्जी, स्काई डाइभिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङलगायत सुविधा, खानका लागि स्थानीय खाना, सांस्कृतिक प्रदर्शनी, र उपहारका लागि हस्तकला तथा अन्य उत्पादन जस्ता कुराको विकासमा त्यसले सघाउँछ । 

ती सबै क्षेत्रमा रोजगारी सृजना हुँदा त्यसले मुलुककै सामाजिक तथा आर्थिक विकासमा ठूलो टेवा दिनेछ । भनिन्छ, एकजना पर्यटकले १० जनाका लागि रोजगारी सृजना गर्छ । नेपालको पर्यटन सगरमाथा, पोखरा, चितवन र लुम्बिनीलगायत केही ठाउँमा केन्द्रित छ । अब मुलुकका प्रमुख आकर्षणका क्षेत्रमा सुदूरपश्चिम र सुदूरपूर्वका स्थान पनि राखेर प्रवर्द्धन गर्नुपर्छ । कर्णाली, कालीगण्डकी र तमोरमा र्‍याफ्टिङ, चिया बगानमा बसाइ, ग्रेट हिमालयन ट्रेलमा ट्रेकिङ, हिमाल पहाड र तराइको सांस्कृतिक स्वादलगायत कुरालाई पनि प्रवर्द्धन गर्नैपर्ने अवस्था छ । 

सातै प्रदेशमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य निर्माणमा राज्यले ध्यान दिनुपर्छ । पर्यटकको बसाइ र उसले गर्ने खर्च बढाउन सके मात्र त्यसले अपेक्षित नतिजा दिन सक्छ । पर्यटन क्षेत्रको विकासका लागि नेपालले इन्डोनेशिया, मलेसिया, सिंगापुर र थाइल्यान्डजस्ता मुलुकबाट सिक्न सक्छ । फरक यत्ति हो, ती मुलुकसँग समुद्र छ, नेपालसँग हिमाल छ । सभा, सेमिनार तथा प्रदर्शनीका लागि नेपाललाई आकर्षक र सुरक्षित गन्तव्यको रुपमा प्रवर्द्धन गरेर पनि यसबाट थप लाभ लिन सकिन्छ । 

कोरोना महामारी नियन्त्रणमा आउन थालेसँगै विश्वव्यापी रूपमा पर्यटन बजार गुल्जार हुन थालेको छ । त्यसैले पर्यटन विकासको शुरुआत गर्न यो उचित समय हो । पर्यटनबाट उच्च लाभ लिन नेपालले प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । पर्यटकका मुख्य स्रोतमा विज्ञापन तथा प्रवर्द्धनका अन्य कार्यक्रम सञ्चालन गर्नुपर्छ । विदेशस्थित नेपाली मिसन तथा गैरआवासीय नेपालीको यसमा सहयोग लिन सकिन्छ । हाल नेपाली मिसनहरुले सञ्चालन गरेका प्रवर्द्धनका कार्यक्रम अधिकांश कर्मकाण्डी छन् जसले खासै राम्रो नतिजा दिन सकेका छैनन् । 

पर्यटन प्रवर्द्धनका लागि ख्यातिप्राप्त विदेशी मिडिया, ब्लग तथा सामाजिक सञ्जालको प्रयोग गर्नुपर्छ । त्यस्तै पर्यटकले नेपाल बसाइमा गर्ने खर्चको मात्रा पनि ज्यादै न्यून छ । अधिकांश पर्यटकले दैनिक सय अमेरिकी डलरभन्दा कम खर्च गर्छन्, जबकि हाम्रै छिमेकमा रहेको भुटानले कम्तीमा पनि २५० डलर एक दिनमा खर्च गर्नै पर्ने व्यवस्था गरेको छ । सही नीति बनाई हाम्रा पर्यटकीय गन्तव्यको उचित प्रवर्द्धन गर्ने हो भने नेपालको पर्यटन विकासको सपना सहजै साकार हुन सक्छ ।

(ढकाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हुन् ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)