ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान १७ औं वार्षिकोत्सव विशेष : आर्थिक विकासको आधार

२०७९ भदौ, १९  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भीम घिमिरे

आत्मनिर्भर अर्थतन्त्र भनेर मात्र होइन कि व्यवहारत: गरेर देखाउन सके मुलुक र मुलुकवासीका लागि ठूलो गौरवको विषय हुनेछ । यो भनेको देशका नागरिकको विश्व समुदायमा आत्मसम्मान पनि हो ।

सामान्यता आफ्नै देशको स्रोतसाधनले मुलुकको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न सकिने अर्थ व्यवस्थालाई आत्मनिर्भर अर्थतन्त्र भनेर बुझ्ने गरिन्छ । आत्मनिर्भर अर्थतन्त्रमा आफ्नै आन्तरिक स्रोतबाट न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्षम अवस्थामा मुलुक रहेको हुन्छ । आत्मनिर्भर अर्थतन्त्र भएको मुलुकले विश्व परिवेश वा कुनै पनि बाह्य कारणबाट आपूर्ति प्रणाली सहज नहुँदा पनि आफ्ना नागरिकको जनजीवनमा कुनै नकारात्मक असर हुन दिँदैन । जीवनयापनको न्यूनतम आवश्यकताभन्दा पनि उच्च विलासिताका सामग्री प्रयोग गर्ने वर्ग जसको मागको कुनै सीमा रहँदैन । विश्व बजार यस्ता वर्गको आवश्यकता र माग सृजना गर्न आकर्षित गर्ने भएकाले यहाँ आत्मनिर्भर अर्थतन्त्रको कुनै प्रभाव नरहन सक्छ 

नेपाली अर्थतन्त्रको इतिहास हेर्ने हो भने आर्थिक नीति तथा बजेट कार्यक्रममा सदा आत्मनिरर्भर अर्थतन्त्रका विषय उठान हुने गरेको पाइन्छ । तर, मुलुकका आर्थिक सूचकहरू कहिल्यै पनि निर्णायक तहमा पुग्न सकेको पाइएन । यसविपरीत बाह्य आर्थिक प्रभावले कुनै न कुनै रूपमा हाम्रो आर्थिक क्षेत्रलाई दबाबमा दिइहरको इतिहास हामी सामु छ– चाहे त्यो राजनीतिक निर्णयका कारण होस् अथवा कमजोर आर्थिक नीति वा मुलुकले सामना गरेको संकटकालीन अवस्था । उदाहरणका लागि हामीले विगत ४ दशकदेखि पटकपटक भोगेका आर्थिक समस्याहरू नै हाम्रा अगाडि रहेका छन् । जस्तो कि भारत सँगको पारवहन सन्धिको नवीकरण नहुँदाको समस्या, महाभूकम्पको भोगाइ, संविधान जारी हुँदाको भारतीय आर्थिक नाकाबन्दी, चीनसँगका दुई नाका हालसम्म पनि चालू नहुनु, कोभिड प्रभाव । हामी आत्मनिर्भर बन्न नसक्नु अक्षम आर्थिक नीति र दृढइच्छा शक्ति भएको नेतृत्व अभावको उपज हो । मुलुकको आत्मनिर्भर अर्थतन्त्र हाम्रो स्वभिमानका साथै जीवन सुधार गर्ने माध्यम पनि हो । यो स्वभिमान जोगााउन अत्यन्तै आवश्यक छ । 

मुलुकमा आर्थिक निर्भरता एकाएक आउने होइन । यसका लागि दृढ निश्चयी र सबल नेतृत्व, लगानीकर्तामा विश्वासको वातावरण तथा आन्तरिक उत्पादनका लागि राज्यले लिने नीति निर्धारण महत्त्वपूर्ण हुन्छ ।

मुलुकमा आर्थिक निर्भरता एकाएक आउने होइन । यसका लागि दृढ निश्चयी र सबल नेतृत्व, लगानीकर्तामा विश्वासको वातावरण तथा आन्तरिक उत्पादनका लागि राज्यले लिने नीति निर्धारण महत्त्वपूर्ण हुन्छ । धेरै क्षेत्रमा सम्भावना बोकेको हाम्रो जतो मुलुकलाई के कुन आधारमा आत्मनिर्भरताको बाटोमा लैजान सकिन्छ भन्ने राष्ट्रको आर्थिक नीतिले निर्देशन गर्नुपर्छ । हामीकहाँ कृषि, पर्यटन, सिँचाइ जल ऊर्जाजस्ता आर्थिक क्षेत्रलाई सबल बनाउने अवयवहरू छन् । विश्वमा पाइने कुल वनस्पतिको ३ प्रतिशत र ५० प्रजातिका वनस्पति नेपालमा मात्र छन् । त्यसमध्ये ९५ प्रतिशत त विश्व सूचीकृत भएका छन् । विश्वका करीब ५ प्रतिशत प्रजातिका चरा यहाँ रहेका छन् । विश्वमा पाइने १८ हजार १५० जातिका माछामध्ये नेपालमा करीब २०० प्रजातिका माछा छन् । यसका साथै विश्वका लोपोन्मुख सूचीमा सूचीकृत दुर्लभ वनस्पति, जीवजन्तु र चरा नेपालमा पाइन्छन् । जैविक विविधता, सबै प्रकारको मौसम, हावापानी, अपार जलभण्डार नेपालमै छ । हिमाल, पहाड, तराई तिनै प्रकारको भूगोल यहा रहेको छ । यस्तो भूगोल विश्व मै विरलै पाइन्छ । हामीसँग अपार प्राकृतिक स्रोत रहेको छ । आत्मनिर्भर अर्थतन्त्रका लागि यसलाई ऊर्जात्मक दिशामा लैजाने नीति, लगानी । पूर्वाधार विकासको खाँचो छ । यी आफैमा अपार स्रोतलाई बाह्य वा आन्तरिक लगानी सृजना गर्न सकेमा केही समयको अन्तरालमै मुलुक आर्थिक निर्भरताको क्षेत्रमा प्रवेश गर्न सक्ने विश्वास गर्न सकिन्छ । तर, हाम्रो प्रस्थान बिन्दु कुन क्षेत्रबाट शुरू हुने भन्नेमा नै हामी अन्योलमा छौं । यसो हुनुको मुख्या कारण हो, राजनीतिक क्षेत्रले आत्मनिर्भर अर्थतन्त्रका लागि उचित नीति बनाउनु नसक्नु ।

आर्थिक निर्भरता र स्वदेशी लगानीका लागि मुलुकभित्रैबाट नीति बन्नु र पूँजी निर्माण हुनु अत्यन्त आवश्यक छ । उत्पादकत्व, सक्षमता र परिणाममुखी कार्यकुशलता पूँजी निर्माणका आवश्यक र अन्तर्निहित अंग हुन् । पूँजी निर्माणविना आर्थिक विकासको कल्पनासमेत गर्न असम्भव छ । स्वदेशी उद्योगको विकासविना राष्ट्रिय पूँजी निर्माण असम्भव नै हुन्छ । हाम्रो समाजको आर्थिक परिदृश्य आन्तरिक जीवन निर्वाहका लागि मात्र रहेको यथार्थ हो जीवनयापन र निर्वाहमा मात्र रुमलिँदा नेपाली समाज व्यवसायीमुखी आर्थिक जीवनतर्फ उन्मुख हुन नसकेको यथार्थ हो । यसै कारण पनि हामी उपभोक्तावादी संकारबाट माथि उठ्न सकिरहेका छैनौं ।

नेपालको औद्योगिक विकास पनि उत्पादन, वितरण र निर्याततिर भन्दा पनि उपभोग्य वस्तु आयात गरेर उपभोग गर्नेतर्फ उन्मुख रहेको छ । यसैको फलस्वरूप हामी उठ्नै नसक्ने व्यापारघाटा र सञ्चित वैदेशिक मुद्रा उपभोग्य वस्तु आयातमा खर्च गर्ने मुलुकका बासिन्दामा परिणत हँुदै गएका छांै । हाम्रो वैदेशिक मुद्रा आर्जनको स्रोत निर्यातमा नभई विप्रेषणमा आधारित छ, यो नेपाली अर्थतन्त्रका लागि दिगो स्रोत कदापि होइन र कालान्तरमा गएर यो घातक नै हुनेछ । 

पूँजी निर्माणसँगै राष्ट्रिय अर्थतन्त्र आत्मनिर्भर हुन स्वदेशमै उद्योगधन्दाको विकास हुनुपर्छ । नेपाल उद्योग परिसंघलगायत निजीक्षेत्रले स्वदेशी उत्पादन बढाउन र स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहन गर्न सरकार र नागरिकलाई पनि आह्वान गर्दै आएको छ । अहिले यसलाई अभियान कै रूपमा चलाइएको छ । राज्यले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उद्योगको संरक्षण गर्नुपर्छ । स्वदेशी उद्योगलाई सहुलियत दिने र निर्विवाद रूपमा सञ्चालन गर्ने कुराको गफमा मात्र होइन, व्यवहारमा देखिनु जरुरी छ ।

यसका लागि मुलुकले उद्योग संरक्षण नीति बनाएर जुन वस्तु नेपालमा नै उत्पादन हुन सक्छन् त्यस्ता वस्तुको आयात बन्द गर्दै लैजानुपर्छ । मुलुकमै उत्पादन हुने वस्तुको आवश्यक कच्चा पदार्थ भरसक स्वदेशमै उपलब्ध गराउने नीति लिनुपर्छ । आयात गर्नैपने भए सहुलियत भन्सार दरमा ल्याउन पाउने नीति बनाउनुपर्छ । यसले स्वदेशी उद्योगहरूकोे आत्मनिर्भरता मात्र बढाउँदैन, मुलुकमै रोजगारी र उत्पादन बढाउने र राजस्वमा समेत ठूलो योगदान पुग्नेछ । यसबाट मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ लैजान सहयोगी हुनेछ ।

विडम्बना मान्नुपर्छ, हाम्रो मुलुकमा व्यापारघाटा हरेक वर्ष बढेर अब मुलुकले धान्न नसक्ने अवस्थामा पुगेको छ । देशको आर्थिक संकट पनि गहिरिँदै गइरहेको छ । स्थापित उद्योगहरू सरकारको अस्थिर आर्थिक नीतिको शिकार भएका छन् । मुलुकमै रोजगारी सृजना गरिरहेका उद्योगहरू बन्द हुने अवस्थामा छन् । यसबाट रोजगारी र लगानी दुवै डुब्ने खतरा उत्पन्न बढेको छ । सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने नीति तत्काल कार्यान्वयनमा ल्याउनुको विकल्प देखिँदैन । साथै आत्मनिर्भरताको चर्चा गर्दा उपभोक्ताको रोजाइमा पनि स्वदेशी वस्तु हुनुपर्छ । यसका लागि उत्पादक पनि गुणस्तरीय वस्तु उत्पादनमा त्यत्तिकै जिम्मेवार र चनाखो हुनुपर्छ । 

आत्मनिर्भर अर्थतन्त्रको चर्चा गर्दा विश्वका कैयौं आत्मनिर्भरता अर्थतन्त्रका सफल मुलुकहरूले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरू सञ्चालन गरेका छन् । उनीहरूले स्थानीय कच्चा पदार्थ प्रयोग गरी निर्यातमुखी आर्थिक प्रणालीलाई आत्मसात् गरेका छन् । स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थबाट वस्तु उत्पादन, उपभोग, वितरण र निर्यातसमेत गरी सफल आत्मनिर्भर अर्थतन्त्रको आधार प्रस्तुत गरेका छन् । तसर्थ यस्ता उदाहरणबाट समेत हामीले के बुझ्न जरुरी छ भने प्राकृतिक स्रोत र स्थानीय साधनको उच्चतम प्रयोगले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँछ र विश्व अर्थतन्त्रमा स्थान दिलाउन मद्दत गर्छ ।

हामीसँग प्रशस्त प्राकृतिक भण्डार, ऊर्जा, जलस्रोत, जडीबुटी, कृषिमा आधारित वस्तु भएर पनि हामीले त्यसको समुचित उपभोग गरेको अवस्था छैन । आत्मनिर्भरताको अर्थतन्त्रका लागि प्राकृतिक वस्तु वनजंगल, जडीबुटी र पर्यटनमा आधारित अर्थतन्त्रलाई प्राथमिकतामा राखेर प्रवर्द्धन गर्ने गरी स्पष्ट नीति लागू गर्नुपर्ने हुन्छ । पटकपटक फेरिने औद्योगिक नीति, कर प्रणाली र राजनीति प्रेरित आर्थिक नीतिले मुलुकको औद्योगिक वातावरणलाई गिजोल्छ । यसले उद्योगी र उत्पादनलाई निरुत्साही नै बनाउँछ । विगतका हाम्रा यस्तै अस्थिर नीतिका कारण हाम्रो गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान घट्दो छ । 

नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने हामीसँग प्रशस्त आधार छन् । कृषिको व्यवसायीकरण, घरेलु उद्योगको प्रवर्द्धन, सार्वजनिक क्षेत्रमा नयाँ प्रविधिको प्रयोग, सरकारी चालू खर्चमा कटौती र पूँजीगत खर्चमा वृद्धि, उद्योग व्यवसायका लागि अल्पकालीन तथा दीर्घकालीन कर्जा प्रवाह, पर्यटन उद्योग विस्तार र लगानी, पर्याप्त पूर्वाधार विकास आदिको माध्यमबाट मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सकिन्छ । यदि हामी साँच्चै नै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न चाहन्छौं भने अब ढिला गर्नु हुँदैन । निजीक्षेत्रले स्वदेशमै उत्पादन बढाउने र सरकारले यसका लागि आवश्यक नीति र वातावरण बनाइदिन आवश्यक छ । स्वदेशमै रोजगारीको सृजना हुने खालका उद्योगलाई प्रोत्साहन गर्नुपर्छ ।

उद्यमशीलताका नयाँनयाँ आयामहरूको खोजी र प्रयोग गरी उत्पादकत्वमा वृद्धि गर्नुपर्छ । बाह्य क्षेत्रको (विदेशी) उत्पादन आयातलाई निरुत्साहन गर्ने नीति अवलम्बन गरी प्रशस्त सम्भावना र प्राकृतिक स्रोतले भरिपूर्ण प्रयोगमा ध्यान दिनुपर्छ । मुलुकलाई स्वदेशी उत्पादनमा आत्मनिर्भर बनाएर नागरिकमा स्वदेशी भावना अभिप्रेरित हुने नीतिगत व्यवस्था गर्न सकिएयो भने मात्र मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरित गर्न सकिनेछ । 

(घिमिरे नेपाल उद्योग परिसंघ प्रदेश नं १ का अध्यक्ष हुन् )
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)