ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान १७ औं वार्षिकोत्सव विशेष : जलविद्युत् आर्थिक क्रान्तिको मेरुदण्ड 

२०७९ भदौ, १९  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar कुमार पाण्डे

नेपाली अर्थतन्त्रमा विशेष योगदान दिन सक्ने जलविद्युत् क्षेत्र अपेक्षित रूपमा अघि बढ्न सकेको पाइँदैन । हालसम्म कृषि, व्यापार, औद्योगिकलगायत क्षेत्रले अर्थतन्त्रमा ठूलो मात्रामा योगदान दिएका छन् । तर, अर्थतन्त्रमा नाटकीय परिवर्तन ल्याउने क्षेत्र अहिलेसम्म आएको देखिँदैन । आएको भए आजको दिनमा अर्थतन्त्रलाई अर्कै रूपमा देख्न पाइन्थ्यो । 

तर, अब त्यो अवस्थालाई तोड्दै जलविद्युत् क्षेत्रले अर्थतन्त्रमा नाटकीय परिवर्तन आउन सक्ने गरी योगदान दिन सक्छ, त्यसको आधारशिला समेत पछिल्लो समय तयार भएको छ । नेपालको जलविद्युत् उत्पादन बढ्दै गएको छ । स्वदेशमा खपत पनि बढ्दै गएको छ । भारतमा पनि विद्युत् निर्यात हुन थालेको छ । यसका अतिरिक्त बंगलादेशमा निर्यात गर्ने पहल भइरहेको छ ।

बढ्दो जलवायु परिवर्तनका कारण पछिल्लो समय विश्वभर ग्रिन इनर्जी (स्वच्छ ऊर्जा) को माग बढ्दो छ, जसको उत्पादन नेपालमा हुन्छ । कोइला र डिजेलबाट विद्युत् उत्पादन गरिरहेका भारत र बंगलादेशलाई पनि नेपालको पानीबाट उत्पादित बिजुली आवश्यक छ । त्यो अवस्थामा भोलिका दिनमा विदेशी मुलुकबाट नेपाली विद्युत्को माग उच्च हुन सक्छ । नेपालले विद्युत् निर्यात गरेर अर्बौं डलर आम्दानी गर्न सक्छ । त्यसले अर्थतन्त्रमा ठूलो सहयोग पुग्छ । यस्तै, स्वदेशमै ग्यास तथा पेट्रोलियम पदार्थ विस्थापित गरेर विद्युत्ले अर्का ठूलो योगदान दिन सक्छ । 

समग्रमा जलविद्युत् क्षेत्र अर्थतन्त्रको मेरुदण्ड नै बन्न सक्ने सम्भावना छ । तर, यो काम त्यत्ति सहज भने छैन । त्यसको लागि जलविद्युत् क्षेत्रमा नाटकीय परिवर्तन ल्याउनुपर्छ । विशेष गरी हामीले उत्पादन र खपत गरेर दुई पाटोमा काम गर्नुपर्छ ।

विद्युत् उत्पादन सम्भावना उच्च भए पनि हालसम्म हाम्रो कुल जडित क्षमता २२६८ मेगावाट मात्र छ । सुक्खा याममा त्यसको नगन्य मात्रामा उत्पादन हुन्छ । पिक डिमान्ड १८०० मेगावाट हाराहारी भएकाले हिउँदमा भारतबाट आयात गर्नुपर्ने बाध्यता पनि छ । अझै पनि स्वेदशी माग धान्न सक्ने गरी विद्युत् उत्पादन भएको छैन । त्यो स्थितिमा छिटो र सस्तो तरिकाले विद्युत् उत्पादन गर्नेतर्फ हामी लाग्नुपर्छ । तर, प्राविधिक, प्रशासनिक, लगानीलगायतका आधारमा नेपालमा छिटो र सस्तोमा विद्युत् उत्पादन गर्न चुनौती छ । तसर्थ विद्युत् उत्पादनमा सरकार कार्ययोजना नै बनाएर अघि बढ्नुपर्छ । 

कोइला र डिजेलबाट विद्युत् उत्पादन गरिरहेका भारत र बंगलादेशलाई पनि नेपालको पानीबाट उत्पादित बिजुली आवश्यक छ । त्यो अवस्थामा भोलिका दिनमा विदेशी मुलुकबाट नेपाली विद्युत्को माग उच्च हुन सक्छ । नेपालले विद्युत् निर्यात गरेर अर्बौं डलर आम्दानी गर्न सक्छ । त्यसले अर्थतन्त्रमा ठूलो सहयोग पुग्छ । यस्तै, स्वदेशमै ग्यास तथा पेट्रोलियम पदार्थ विस्थापित गरेर विद्युत्ले अर्का ठूलो योगदान दिन सक्छ । 

एउटा आयोजना बनाउन अझै पनि ७ मन्त्रालय, २२ विभाग र २०० टेबलसम्म प्रशासनिक तथा कानूनी प्रक्रिया पुर्‍याउन जानुपर्छ, जुन एकदमै झन्झटिलो छ । नेपालमा जुन क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्छ, त्यसअनुसार काम गर्न स्वदेशी लगानीले पुग्दैन । पछिल्लो समय बैंकहरूले पनि जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गर्न सकेका छैनन् । कानूनी तथा प्राविधिक रुपमा पनि थुप्रै समस्या छन् । फलस्वरूप सहज, सस्तो र छिटो विद्युत् उत्पादन बढाउन चुनौती छ । सरकारले त्यस्ता समस्या समाधान गर्न क्षेत्रगत रूपमै छुट्टाछुट्टै कार्ययोजना बनाएर अघि बढ्नुपर्छ । प्रशासनिक प्रक्रियाको लागि एकद्वार प्रणाली बनाउने, विदेशी लगानी तथा प्रविधि ल्याउन सहुलियत तथा प्रोत्साहन दिने काम सरकारले गर्नुपर्छ । त्यसपछि विद्युत् उत्पादनमा फड्को मार्न सकिन्छ । 

दोस्रो, हामीले खपत बढाउनु पर्छ । खपतको दायरा समेत फराकिलो बनाउनुपर्छ । अहिले स्वदेशमा मात्रै नभएर विदेशमा पनि नेपाली विद्युत् खपत (निर्यात) हुन थालेको छ । 

वर्षात्मा मागभन्दा बढी विद्युत् उत्पादन हुन्छ । सोही विद्युत् नेपाल विद्युत् प्राधिकरणले भारतमा निर्यात गरिरहेको छ । यो आफैमा राम्रो पक्ष हो । विद्युत निर्यात गर्दा विदेशी मुद्रा आर्जन हुन्छ । तर, विद्युत् निर्यातले मात्र अर्थतन्त्रमा नाटकीय परिवर्तन ल्याउन भने सकिन्न । अर्थतन्त्रलाई बलियो बनाउन तथा यसमा नाटकीय परिवर्तन ल्याउन विद्युत्को स्वदेशी खपत नै बढाउनुपर्छ । खपत बढाउनुपर्छ भन्दैमा बढ्ने कुरा चाहिँ होइन । यसमा पनि कार्ययोजना बनाएर काम गर्नुपर्छ । लगानी समेत गर्नुपर्छ । 

विद्युत् एउटा यस्तो वस्तु हो, जुन हरेक क्षेत्रमा अपरिहार्य हुन्छ । र, विद्युत्ले नै अन्य क्षेत्रलाई सबल बाउने काम गर्छ । उद्योग, पर्यटन, कृषि, यातायातलगायतका अधिकांश क्षेत्रमा विद्युत्ले कच्चा पदार्थको रूपमा महत्त्वपूर्ण योगदान दिएको हुन्छ । उद्योगहरू सञ्चालन हुन विद्युत् नै चाहिन्छ । कृषिको यान्त्रिकीकरण गर्न र सिँचाइ विस्तार गर्न विद्युत् आवश्यक पर्छ । पर्यटन क्षेत्रमा जिपलाइन, केबलकारलगायतका पूर्वाधार सञ्चालन गर्न बिजुली नै चाहिन्छ । डेटा सेन्टरलगायत आईटीका पूर्वाधार बनाउन पनि ठूलो मात्रामा विद्युत् चाहिन्छ । कर्पारेट, व्यावसायिकलगायत कार्यालय सञ्चालन गर्न पनि विद्युत् आवश्यक हुन्छ । मानिसले दैनिक चलाउने कम्प्युटर, मोबाइल जस्ता वस्तुमा पनि विद्युत् अपरिहार्य छ । 

यस्ता क्षेत्र सञ्चालन गर्न विद्युत् आधारभूत आवश्यकताभित्रको एक महत्त्वपूर्ण वस्तु हो । यसरी नै यसले अन्य क्षेत्रको विकासमा सहयोग पुर्‍याउँछ । त्यसको असरले अर्थतन्त्रको विकास हुन्छ । आजको दिनमा नेपालमा विद्युत् नभएको औद्योगिक क्षेत्र यो स्थितिमा आउन सक्ने थिएन । यद्यपि, अधिकांश उद्योग महँगो डिजेलबाट विद्युत् उत्पादन गरेर सञ्चालन हुन बाध्य छन् । त्यसकारण अन्य क्षेत्रको विकासमा विद्युत्को महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले यसको विकास गर्न पहिला स्वदेशी खपत बढाउन आवश्यक छ । 

स्वदेशी खपत बढाउन हरेक क्षेत्रअनुसार छुट्टाछुट्टै नै कार्ययोजना बनाउनुपर्छ । उद्योग, पर्यटन, कृषिलगायतका क्षेत्रमा कसरी विद्युत् खपत बढाउने भनेर सरकारले क्षेत्रअनुसार कार्ययोजना बनाउनुपर्छ । विद्युत् खपतको नयाँ अवसर तथा बजार खोज्नुपर्छ । वास्तवमै विद्युत् खपत बढाउन मास्टर प्लान बनाउनु पर्छ ।

उद्योग स्थापना गर्न लगानी गर्नुपर्छ । सोही अनुसार सम्बन्धित क्षेत्रमा लगानी बढाउन आवश्यक छ । त्यो सफल भयो भने मात्रै जलविद्युत्मार्फत अर्थतन्त्रमा नाटकीय परिवर्तन ल्याउन सकिन्छ । 

भान्साबाट ग्यास विस्थापित गर्ने, यातायात, उद्योगबाट डिजेल तथा पेट्रोल विस्थापित गर्ने र ती क्षेत्रलाई विद्युतीकरण गर्ने गरी सरकारले मास्टर प्लान बनाउन पर्छ । अबको ५ वर्ष वा निश्चित समयमा पेट्रोलियम गाडीको आयात कति कम गर्ने, भान्साबाट कति ग्यास सिलिन्डर विस्थापित गर्ने, कति विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउने भनेर सरकारले गुरुयोजना बनाउनुपर्छ । र, ती क्षेत्रमा विद्युत् खपत बढाउन स्वयम् त्यस क्षेत्रमा पनि लगानी गर्नुपर्छ । उद्योगमा विद्युत् खपत बढाउन पहिला उद्योग स्थापना हुनुपर्छ । र, उद्योग स्थापना गर्न लगानी गर्नुपर्छ । सोहीअनुसार सम्बन्धित क्षेत्रमा लगानी बढाउन आवश्यक छ । त्यो सफल भयो भने मात्रै जलविद्युत्मार्फत अर्थतन्त्रमा नाटकीय परिवर्तन ल्याउन सकिन्छ । तर, सरकारले त्यसअनुसार योजना ल्याएको छैन । खोइ विद्युतीय सवारीसाधन तथा मोटरसाइकल ल्याएको रु खोइ ग्यास विस्थापित गर्न लागेको ?

अधिकतम खपत गरेपछि मात्रै निर्यात 
नेपालबाट विद्युत् निर्यात हुनु राम्रो पक्ष हो । यसबाट विदेशी मुद्रा आर्जन हुन्छ । व्यापार घाटा नियन्त्रण गर्न र शोधनान्तर स्थिति सकारात्मक बनाउन यसले योगदान दिन्छ । यो दीर्घकालीन आयोजना पनि हो । तर, अहिले नै विद्युत् निर्यात हुन थाल्यो भनेर खुसी हुनुपर्ने अवस्था छैन । किनकि हिउँदको समयमा हामी विद्युत् आयात गर्न बाध्य छौं । र, वैदेशिक विद्युत् व्यापारमा नेपाल घाटामै छ । हिउँदमा स्वदेशी माग धान्न पुग्ने गरी विद्युत् उत्पादन हुने अवस्था आयो भने त्यो राम्रो हो । अहिले नेपालको खपत पनि आवश्यकताअनुरूप बढेको छैन । त्यो अवस्थामा विद्युत् निर्यातलाई कसरी राम्रो भन्ने ? तसर्थ, पहिला नेपालकै खपत बढाउनु पर्छ । त्यसपछि निर्यात गर्नु राम्रो कुरा हो । 

खपत बढाउन पूर्वाधारमा समेत लगानी   
नेपालमा विद्युत् खपत बढाउनु छ भने पहिला विद्युत् प्रसारण तथा वितरण लाइन, सबस्टेशनलगायतका पूर्वाधारको क्षमता विकास गर्नुपर्छ । आजको दिनमा व्यापक मात्रामा विद्युतीय चुल्होलगायतका उपकरण प्रयोग गर्दा सबस्टेशन, प्रसारण तथा वितरण प्रणालीले थेग्न सक्दैन । तसर्थ, त्यस्ता पूर्वाधारको क्षमता विकास गर्नसमेत लगानी आवश्यक छ । 

बजार सृजनाको आवश्यकता 
विद्युत् खपत बढाउने विषय उठ्दा नेपालमा बजार छैन भनिन्छ । तर, यसो भनेर चुपचाप बस्नु हुँदैन । बजार त आफैले सृजना गर्ने हो । पहिला कर्णाली राजमार्ग नहुँदा त्यहाँ बाटो बनाएर केही काम छैन भनिन्थ्यो । अचेल त्यहाँ ट्राफिक जाम हुन्छ । पहिला विद्युत् उत्पादन नहुँदा पनि देश चलेकै हो । पछि विद्युत् उत्पादन हुन थालेपछि उद्योगहरु आउन थाले । तसर्थ, बजार छैन भनेर बस्नु हुँदैन । बजार सृजना गर्नेतर्फ हामी लाग्नुपर्छ । बजार छैन भनेर विद्युत् उत्पादन नै रोक्ने होइन । आजको दिनमा कृषि उत्पादनदेखि भण्डारणसम्म कयौं विद्युत् खपत गर्न सकिन्छ । रेलमार्गको विस्तार गर्ने भनिएको छ । नेपालमा विद्युतीय रेल कुदाउन सकिन्छ । पारवहनमा समेत विद्युत् प्रयोग गर्न सकिन्छ । तर, त्यसमा सरकारको ध्यान पुगेको छैन । 

यतिका काम सरकारले गरिराख्नुपर्छ भनिरहँदा जलविद्युत्को विकासमा निजीक्षेत्रको दायित्व के भन्ने प्रश्न आउन सक्छ । जलविद्युत् उत्पादनमा आजको दिनसम्म निजीक्षेत्र अघि छ । तर, अब निजीक्षेत्रको भूमिका सीमित हुन सक्छ । किनकि हामीसँग पर्याप्त पूँजी छैन । बैंकहरु आयोजनामा कर्जा लगानी गर्ने अवस्थामा छैनन् । नेपालमा जति विद्युत् उत्पादन हुने सम्भावना छ, त्यसको केही अंश उत्पादन गर्न पनि नेपालमा पूँजी पर्याप्त छैन । त्यसकारण जलविद्युत्को विकासमा निजीक्षेत्रको भूमिका सीमित हुँदै जान सक्छ । तर, हामी हाम्रो भूमिका सीमित हुनुपर्छ भन्ने पक्षमा छैनौं । भलै अवस्था त्यस्तै आउन सक्छ । त्यसकारण जलविद्युत्मा विदेशी लगानी पनि ल्याउन पर्छ । 

नेपाल सरकारसँग पनि पैसा छैन । सरकारको पूँजी कर्मचारीको तलबमै सकिन्छ । पहिलाको जस्तो विदेशी अनुदान पनि आउन छोड्यो । हामीलाई सस्तो ब्याजमा धेरै पैसा चाहिएको छ । दिने कोही छैनन् । बैंकहरू पनि तरलता अभावको समस्यामा छन् । त्यसले पनि समस्या बढ्दै गएको छ, फलस्वरूप ऊर्जा विकासमा निजीक्षेत्रको भूमिका सीमित हुन सक्छ । 

(पाण्डे उर्जा व्यवसायी हुन् ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)