केही वर्षअगाडि मैले हलिउडको एउटा सिनेमा हेरेको थिए– कास्ट अवे । उक्त सिनेमामा मुख्य पात्र टोम हक्स हवाई दुर्घटनामा परेर एउटा निर्जन टापुमा शरण लिन बाध्य हुन्छ । निकै लामो समयसम्म ऊ पृथ्वीको अन्य भागसँग सम्पर्कविहीन रहन्छ । ऊसँग बाँच्ने आधार केही पनि हुँदैन । परिस्थितिले उसलाई त्यो निर्जन टापुमा गाँस, वास र कपासको जोहो गरेर बाँच्न काइँदा सिकाउँदै जान्छ । उक्त सिनेमामा स्वनिर्भरता भनेको के हो भन्ने कुरोको चित्रण ज्यादै सूक्ष्म ढंगले गरिएको छ । हुन त नेपालको स्वनिर्भर अर्थतन्त्रका बारे बहस भइराख्दा ठ्याक्कै त्यही सिनेमाको उदाहरण दिएर मात्र काम चल्दैन । नेपालको आवश्यकता, आपूर्ति, सम्भावना र चुनौतिहरूबारे अझै गहराइमा पुगेर अध्ययन गर्नुपर्ने देखिन्छ ।
शुरू गरौं, ग्रामीण क्षेत्रमा रहेको कुनै परिवारको उदाहरणबाट । कुल १२ जनाको परिवारको मुख्य आम्दानीको स्रोत कृषि हुन्छ । खर्चका शीर्षक थोरै भएकाले यसैका भरमा उनीहरूको घरखर्च चलेको हुन्छ, । बिस्तारै खर्चको शीर्षक पनि थपिँदै जान्छ । निश्चित कालखण्डपछि कृषिको उक्त आम्दानीले परिवारको खर्च धान्न सम्भव हुँदैन । बाध्य भएर परिवारका केही युवा थप आम्दानीको खोजीमा शहर पसेर कतै नौकरी गर्न थाल्छन् । जति मेहनत गर्दा पनि खर्च र आम्दानीबीचको खाड्ल पुरिएको हुँदैन । कहिले घर मम्र्मत, कहिले अपर्झट आउने औषधोपचार, र कहिले बिहेबारीको खर्च आएकै हुन्थ्यो । यस्ता विविध खर्च टार्न परिवारका मुखियाले गाउँका धनीमनीसँग कर्जा लिन्छन् ।
मुलुकमा केही वर्षदेखि विकासको नाममा अनुत्पादक, अनुपयोगी र परिणामहीन क्षेत्रमा खर्च व्यापक भइरहेको छ । उपर्युुक्त सुुधार विषयमा सुधार गर्न पूँजीगत खर्चको प्राथमिकताको निर्धारण गरिनुपर्छ । अहिले नागरिकको धेरै आम्दानी घोषित वा अघोषित बाटोबाट स्वास्थोपचार, शिक्षा र यातायातमा खर्च हुने गरेको छ ।
कर्जा र त्यसको ब्याजको भार थपिँदै जाँदा आफन्तहरूबाट चन्दा आदि संकलन गरेर ब्याज भुक्तान गर्न थाल्छन् । खेतमा जति मेहनत गर्दा पनि आम्दानी बढ्दैन । एक दिनआफ्नै खेत बाँझो राखेर परिवारमा भएका बूढा, युवा र महिला सबै नोकरीमा होमिन्छन् । यसरी आत्मनिर्भर अर्थ व्यवस्थाबाट परनिर्भर अर्थव्यवस्थातिर ढल्किँदै गएको उक्त परिवारको अवस्था र हाम्रो देशको अर्थतन्त्रको अवस्था पनि खासै फरक लाग्दैन मलाई । कुनै बेला हाम्रो देशको आम्दानी मूलत: कृषिमा आधारित थियो, तैपनि परनिर्भरता थिएन । बिस्तारै आवश्यकता थपिँदै गयो, खेतमा काम गर्ने युवा विदेश पलायन हुँदै गए । आज करीब ५० लाख नेपाली युवा विदेशमा पसिना बगाउँदै छन् । उनीहरूले पठाएको विप्रेषणको बलमा आवश्यकताका समान आयात गरिन्छ ।
त्यति मात्र होइन, नेपालको सम्पूर्ण आम्दानी चालू खर्चमै सकिन्छ । पूँजीगत खर्चका लागि विदेशी अनुदान अथवा कर्जामा भर पर्नुबाहेक अर्को कुनै विकल्प नै रहेन, अब नेपालमा । गाँउमा खेत बाँझा छन् । सभ्रान्त परिवारका युवा उच्च शिक्षाका लागि विकसित मुलुक जान्छन्, उनीहरू नेपाल फर्किएर आउन रुचाउँदैनन् । आफ्नो देशमा अब्बल उर्वर भूमि हुँदाहुँदै पनि छिमेकी मुलुकबाट चामल, दाल, गहुँ, फलफूल र तरकारी आयात गरिन्छ । विदेशी मुद्रा सञ्चिति अलिकति घट्नेबित्तिक्कै नेपाल राष्ट्र बैंक विभिन्न सामग्रीको आयात नियन्त्रणमा लाग्छ । उसलाई अत्यावश्यक सामग्रीको आयात ठप्प हुने डर छ । यी सबै परनिर्भरताका झीनामसिना उदाहरण हुन् ।
अब परनिर्भर अर्थतन्त्रलाई स्वनिर्भर अर्थतन्त्रमा रूपान्तर कसरी गर्ने विषयमा कुरा गरौं । जबसम्म देशको खर्चभन्दा आम्दानी बढी हुँदैन तबसम्म देशको अर्थतन्त्र स्वनिर्भर बन्न सक्दैन । स्वनिर्भर अर्थतन्त्रको शुरुआत कृषिक्षेत्रबाट नै गर्नुपर्छ । प्राय: कृषक परम्परागत कृषिमा जीवनयापन गरिरहेका देखिन्छन् । यस्ता परम्परागत व्यवस्थालाई विस्थापित गरेर कृषिमा नवीनतम प्रविधि स्थापित गर्नुपर्ने देखिन्छ । कृषिक्षेत्रलाई अत्याधुनिक प्रविधिका साथ संगठित अद्यौगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने देखिन्छ ।
युवालाई कोदाल दिएर खेतमा पठाउने कि राइस प्लान्टर ट्रेक्टर दिएर ? यो हामीले विचार गर्नैपर्छ । इजरायलतिर कृषकले पर्याप्त भूमि नपाएर भर्टिकल खेती गर्छन् । त्यहाँ खेती नै गरेर करोडपति भएका छन् । हामीकहाँ जग्गा बाँझै छन् । तर, पर्याप्त अनुसन्धान एवं प्रविधि छैन । कृषिलाई सबैभन्दा न्यून आम्दानी भएको र अपहेलित क्षेत्र मानिन्छ । हामी त यस्तो देशका नागरिक हौं, जहाँ कृषकले मलखादका लागि सडक ओर्लिएरै आन्दोलन गर्न पर्छ ।
नेपालमा प्रविधिमैत्री भएर विश्व बजारको मागअनुसार खेतीपाती गर्ने गराउने हो भने विश्वबजारले रातो कार्पेट लिएर हाम्रो स्वागत गर्नेछ । आत्मनिर्भरताको दिशामा कृषिक्षेत्र परिवर्तनको एक गतिलो बाटो बन्न सक्छ ।
हामीले जति प्रयास गरे पनि हामीलाई चाहिने सबै थोक आफ्नै देशमा उत्पादन गर्नै सक्दैनौं । सकेसम्म कच्चा पदार्थ आयात गर्नुपर्छ, अन्यथा तैयारी पदार्थ । दुवै परिस्थितिमा हामीलाई विदेशी मुद्रा चाहिन्छ । विदेशी मुद्रा आम्दानीको मोटामोटी चार स्रोत हुन सक्छन्– आन्तरिक उत्पादन, निर्यात, विप्रेषण र पर्यटन । आन्तरिक उत्पादनको हकमा कृषिपछि हाम्रो देशमा सर्वाधिक सम्भाव्यता भएको क्षेत्र हो, बिजुली । राम्रोसँग बिजुली उत्पादन र प्रसारण गर्न सक्यौ भने स्थानीय उत्पादनमा सहयोग पुग्नेछ । साथै छिमेकी मुलुकहरूमा निर्यात पनि गर्न सक्छौं । यसबाट पेट्रोलियम पदार्थहरूको आयातमा समेत ठूलो कमी ल्याउन सक्छौं ।
कृषि उपज र बिजुलीपछि सबैभन्दा बढी सम्भाव्यता भएको उत्पादन हो, सफ्टवेयर । आजको कुनै पनि वस्तु निर्यात गर्नुपर्दा बाटो खर्च अधिकतम खड्कने विषय भएको छ । तर, सफ्टवेयर निर्यात गर्दा त्यो समस्या आउँदैन । यसकारण हामीले धेरैभन्दा धेरै सफ्टवेयर निर्माणमा जोड दिनुपर्छ ।
अहिले अन्य मुलुकले नवीनतम प्रविधि प्रयोग गरेर उत्पादन लागत घटाउँदै लगेका छन् । हाम्रा अद्यौगिक उत्पादनका क्षेत्रमा भने प्राय: कम जोखिमपूर्ण र परम्परागत प्रविधिका उद्योग देखिन्छन् । नवीनतम प्रविधिका मेशिनरीहरू भित्र्याउन उद्योगहरूलाई विशेष प्रोत्साहनको व्यवस्था गरिनुपर्छ । विशेषत: अधिकतम रोजगारी दिने, आयात प्रतिस्थापन गर्ने र देशको भौतिक संरचनामा सघाउ पुर्याउने उद्योगलाई विशेष सुविधा दिनुपर्छ ।
त्यसैगरी अत्यधिक मूल्य अभिवृद्धि हुने खालका उत्पादनलाई प्राथमिकताप्राप्त श्रेणीमा राख्नुपर्छ । वजन एवं आयतनको हकमा सामान जति महँगा हुन्छन्, निर्यात गर्दा बाटोखर्च पनि उत्ति नै कम लाग्नेछ । यसर्थ सामग्रीको उत्पादनलाई पनि प्राथमिकतामा राख्नुपर्छ । त्यसका लागि हामीले विदेशी लगानीमा अत्याधुनिक प्रविधि भित्र्याउन सक्नुपर्छ । दक्षिण कोरियाको सामसुङ र अमेरिकाको एप्पल कारखाना संसारको अन्य देशमा लाग्न सक्छ भने नेपालमा किन सक्दैन । कहाँनिर हलो अडकेको छ, त्यसमाथि गम्भीरतापूर्वक मन्थन गरेर हलो फुकाउनुपर्छ ।
नेपालमा नवीनतम प्रविधिमा आधारित उद्योगहरू स्थापना हुुनुुपर्ने देखिन्छ । यसका लागि वैदेशिक लगानीलाई समेत अधिकतम सुुविधाका साथ आमन्त्रित गर्नुपर्ने देखिन्छ ।
आज विदेशी मुद्राको पर्याप्त आम्दानीको स्रोत विप्रेषण भएको छ । कल्पना गरौं, वैदेशिक रोजगारमा जाने अदक्ष कामदारको रूपान्तरण दक्ष कामदारमा हुने हो भने विप्रेषण आम्दानीमा राम्रो प्रभाव पर्ला । नेपालले वैदेशिक रोजगारीमा जाने अदक्ष कामदारलाई शीप सिकाउने स्कूलमार्फत अर्द्धदक्ष एवं पूर्णदक्ष कामदारमा रूपान्तरित गर्नुपर्छ । भोलि तिनै विदेशिएका दक्ष कामदारले १ दिन हाम्रो देशमा नवीनतम प्रविधि भित्र्याउने छन् । स्वरोजगार क्षेत्रमा सरकारी पहलबाट गरिएका प्रयास सकारात्मक देखिन्छन् । यो प्रयास अझै सशक्त रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ ।
हामीले केही समयपछि विप्रेषणको विकल्प खोज्नैपर्छ । यसलाई मात्र स्थायी आम्दानीको स्रोत मान्नु हाम्रो ठूलो मूर्खता हुनेछ । बरु विप्रेषणसँगै सकेसम्म धेरै विदेशी पर्यटक भित्र्याउने अभियान चलाउनुपर्छ । यसका लागि सरकारले पर्यटन वर्ष घोषणा गरेर मात्र काम चल्दैन । प्राथमिकता प्राप्त क्षेत्रका लागि विशेष प्याकेजहरूको पनि घोषणा गर्नुपर्छ । पर्यटकीय सम्भावना भएका क्षेत्रमा बाटोघाटो, होटेल तथा अन्य भौतिक संरचनामा बजेट विनियोजन गर्नुपर्ने देखिन्छ । प्रत्येक सीमाक्षेत्रमा अधिकारसम्पन्न पर्यटक सहयोगी कार्यालयको स्थापनामा जोड दिनुपर्छ । पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीको अवधारणा बनाउनुपर्छ । अहिले त विदेशी पर्यटक नेपालको प्राकृतिक सौन्दर्यबाट मोहित भएर नेपाल आउने गरेका छन् । हामीले धार्मिक, शैक्षिक, स्वास्थ्योपचार र साहसिक खेल आदि क्षेत्रबाट पनि पर्यटकलाई तान्न सफल भयौं भने नेपालको आम्दानीमा निकै बढोत्तरी हुनेछ ।
मुलुकमा केही वर्षदेखि विकासको नाममा अनुत्पादक, अनुपयोगी र परिणामहीन क्षेत्रमा खर्च व्यापक भइरहेको छ । उपर्युुक्त सुुधार विषयमा सुधार गर्न पूँजीगत खर्चको प्राथमिकताको निर्धारण गरिनुपर्छ । अहिले नागरिकको धेरै आम्दानी घोषित वा अघोषित बाटोबाट स्वास्थोपचार, शिक्षा र यातायातमा खर्च हुने गरेको छ । नेपाल सरकारले नागरिकलाई न्यून दरमा यी ती क्षेत्रको सुविधा उपलब्ध गराउने हो भने भ्रष्टाचारमा ठूलो सुधार आउने आशा गर्न सकिन्छ ।
अन्त्यमा, हामीले सुधारका जति नीतिगत घोषणा गरे पनि देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको कार्यक्षमतामा सुधार भएन भने माथि भनिएका सबै सुधारका विषय थोत्रा गफ मात्र हुनेछन् ।
(लाठ नेपाल उद्योग वाणिज्य महासंघ,मधेश प्रदेशका अध्यक्ष हुन् )