अर्थतन्त्रको ऐनाको रूपमा धितोपत्र बजारलाई लिने गरिएको छ । कुनै पनि कम्पनीले व्यावसायिक प्रयोजनका लागि यो बजारबाट सहजै लगानी जुटाउने भएकाले पनि यो बजारप्रतिको चाह आम व्यवसायीहरूमा बढी रहेको देखिन्छ । केही वर्षअघि सम्म बैंक तथा वित्तीय संस्थाको मात्र स्वामित्व रहेको धितोपत्र बजारमा पछिल्लो समय उत्पादनमूलकदेखि जलविद्युत् कम्पनीहरूले स्वामित्व कायम गर्दै आएका छन् । हाल धितोपत्र दोस्रो बजारमा १३ समूहका कम्पनीहरूको धितोपत्र कारोबार हुँदै आएको छ ।
नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन धितोपत्र बजारको पनि महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । आयात घटाएर निर्यातलाई बढावा दिई देशको अर्थतन्त्र उकास्ने अभियानमा धितोपत्र बजारको महत्त्वपूर्ण भूमिका रहन सक्छ । धितोपत्र बजारमा प्राथमिक शेयर (आईपीओ) जारी गरी सर्वसाधारणबाट अर्बौ रुपैयाँ लगानी जुटाउने वातावरणलाई सहज बनाउन सके थप उद्योगधन्दा स्थापना हुन सक्छन् । नयाँ कम्पनीहरूलाई आईपीओ जारी गर्ने समयसीमा कम्पनी दर्ता भएपश्चात् नै कायम गर्न सके प्रभावकारी हुने विज्ञहरू बताउँछन् । बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न चाहने कम्पनीहरू लगातार ३ वर्ष नाफामा हुनुपर्ने व्यवस्था छ ।
लगानीकर्ताको संख्या वृद्धिले भन्दा पनि यी लगानीकर्ताहरूको लगानी निरन्तरताले बजारलाई सकारात्मक प्रभाव पार्छ ।
कम्पनी सञ्चालनको शुरुआतमै आईपीओ जारी गर्न दिएर सम्बन्धित कम्पनीको नियमनमा कडाइ गरे लगानीको जोखिम कम हुने र देशमा उत्पादन बढ्न गई आयात घट्ने विश्वास व्यवसायीहरूको छ । व्यवसायका धेरै क्षेत्रहरू भए पनि नेपालमा धितोपत्र बजारको चर्चा अलि छुट्टै हुने गरेको छ । २०७६ सालदेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना कहरको बीच नेपालको धितोपत्र बजारले उच्च गति लियो । पूर्ण अनलाइन कारोबार प्रणालीको विकास गरी धितोपत्र दोस्रो बजारमा समेत अनलाइन कारोबार गर्न सक्ने वातावरण बनाइयो ।
कागजी प्रणालीको अन्त्य गर्दै धितोपत्र प्राथमिक बजारसँगै हाल दोस्रो बजारमा समेत अनलाइनमार्फत नेपालीहरूले नेपालबाट मात्र नभई विदेशबाट पनि कारोबार गर्न सक्ने अवस्था छ । प्रविधिको विकाससँगै धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि पछिल्लो समय बढ्दै गएको अवस्था छ ।
साउन मसान्तसम्मको तथ्यांकलाई हेर्दा हितग्राही खाताको संख्या ५३ लाख ३७ हजार ७७० पुगेको छ । त्यस्तै, धितोपत्र दोस्रो बजारमा १४ लाखभन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको छ । लगानीकर्ताको संख्या वृद्धिले भन्दा पनि यी लगानीकर्ताहरूको लगानी निरन्तरताले बजारलाई सकारात्मक प्रभाव पार्छ । त्यसैले पछिल्लो समय धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूको लगानीको निरन्तरताका लागि विशेष जोड दिएर अघि बढेको देखिन्छ ।
कागजी प्रणालीको अन्त्य गर्दै धितोपत्र प्राथमिक बजारसँगै हाल दोस्रो बजारमा समेत अनलाइनमार्फत नेपालीहरूले नेपालबाट मात्र नभई विदेशबाट पनि कारोबार गर्न सक्ने अवस्था छ । प्रविधिको विकाससँगै धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि पछिल्लो समय बढ्दै गएको अवस्था छ ।
बोर्डका अध्यक्ष रमेशकुमार हमालले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस वर्षको नीति तथा कार्यक्रममा पुरानै योजनाहरू दोहोरिए पनि तिनको कार्यान्वयन हुने विश्वास लगानीकर्ताहरूको छ ।बोर्डको यस वर्षको नीति तथा कार्यक्रमका केही महत्त्वपूर्ण योजना सार्वजनिक गरेको छ जसको कार्यान्वयनले लगानीकर्ताको मनोबल बढाउन सक्छ ।
१) धितोपत्र दलाल व्यवसायी (ब्रोकर) संख्या थप गर्ने
२) व्यावसायिक रूपमा सफल कम्पनीहरू धितोपत्र बजारमा प्रवेश गराउने
३) वैदेशिक रोजगारीमा भएका नेपालीहरूको पनि धितोपत्र बजारमा पहुँच बढाउने
४) वास्तविक क्षेत्रका कम्पनीहरूलाई बजारमा भित्र्याउने
५) बुक बिल्डिङ प्रणाली दिगो एवम् पारदर्शी रूपमा सञ्चालनमा ल्याउने
६। वस्तु विनिमय बजार सञ्चालनका लागि व्यवस्था मिलाउने
७) प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउने
८) एसएमईज प्ल्याटफर्मका लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पूँजीबजारमा भित्र्याउने
९) सरकारी ऋणपत्रको स्वचालित कारोबार प्रणालीको विकास गर्ने
१०) नयाँ धितोपत्र व्यापारी (स्टक डिलर) लाई अनुमति प्रदान गर्ने
११) क्षतिपूर्ति कोष लागू गर्ने
उल्लिखित बुँदाहरू कार्यान्वयनका लागि लामो समयदेखि आम लगानीकर्ताहरूले माग राख्दै आएका हुन् । बोर्डका नीति तथा कार्यक्रममा वर्षैपिच्छे यी बुँदाहरूले स्थान पाए पनि कार्यान्वयनले पूर्णता भने पाउन सकेको छैन । यस वर्ष पनि पुरानै योजनाहरू नीति तथा कार्यक्रममा समेटिएको गुनासो सरोकारवालाहरूले गर्दा बोर्डका अध्यक्ष हमालले दोहोरिएको गुनासो नगरी कार्यान्वयनको अवस्थालाई ध्यान दिन आग्रह गरेका छन् । आगामी दुई वर्षको कार्यकालमा अध्यक्ष हमालले धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरूलाई आत्मनिर्भर बनाउने गरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
दीर्घकालसम्मको लगानीले आत्मनिर्भर बनाउँछ
व्यवसायका सबै क्षेत्र, सबैका लागि उपयुक्त नहुन सक्छ । यसर्थ धितोपत्र बजारमा सहभागी सबै लगानीकर्ता आत्मनिर्भर हुन्छन् भन्ने अवस्था पनि नरहला । तर, अन्य कुनै रोजगारी नगरी यसै क्षेत्रमा निरन्तर लागेर आरामदायी जीवन बिताएका लगानीकर्ताहरू पनि देख्न सकिन्छ ।
साउन मसान्तसम्मको तथ्यांकलाई हेर्दा हितग्राही खाताको संख्या ५३ लाख ३७ हजार ७७० पुगेको छ । त्यस्तै, धितोपत्र दोस्रो बजारमा १४ लाखभन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको छ ।
बजार घट्ने र बढ्ने भइरहन्छ । यो बजारको नियम नै हो । बजार बढ्दा होस् या घट्दा, निरन्तर रूपमा लगानी व्यवस्थापन गरिरहने लगानीकर्ता सफल बनेको ब्रोकरहरूको भनाइ छ । ब्रोकरहरू भन्छन्, ‘निरन्तर यसै क्षेत्रमा लाग्ने लगानीकर्ता न बजार बढ्दा आत्तिन्छन् न घट्दा मात्तिन्छन् । निरन्तर यही क्षेत्रमा लाग्ने हो भने संयमित र निडर भएर लाग्नुपर्ने धारणा ब्रोकरहरूको छ । अग्रज लगानीकर्ता डमरुबल्लभ घिमिरे लामो समयको लगानीको अनुभवमा धेरै किसिमका उतारचढाव आए पनि आफू कहिले विचलित नभएको बताउँछन् । यसै क्षेत्रको लगानीबाट काठमाडौंमा घर बनाउनेदेखि बालबच्चाको उचित शिक्षादीक्षामा समस्या नभएको उनको अनुभव छ ।
निरन्तर यसै क्षेत्रमा लाग्ने लगानीकर्ताहरू बढेको बजारबाट कमाएको रकमलाई घट्दो बजारमा सही तरिकाले व्यवस्थापन गरी नाफा कमाउन सफल भएको भनाइ पनि घिमिरेको छ । दीर्घकालीन लगानी कहिले खेर नजाने उनको भनाइ छ ।
धितोपत्र बजारका लगानीकर्ताले नाफा कमाए सरकारलाई समेत फाइदा हुन्छ । धितोपत्र बजारको लगानीकर्ताको आत्मनिर्भरता र सफलताको चर्चा गरिरहँदा सरकारलाई पनि जोड्न आवश्यक देखिन्छ । यो क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले फाइदा कमाए त्यसको केही हिस्सा सरकारको पोल्टामा पनि पर्छ ।