ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान १७ औं वार्षिकोत्सव विशेष : घरजग्गा मूल्यवृद्धि : औद्योगिकीकरणमा मार

२०७९ भदौ, २२  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अमर बडुवाल

दिन दुई गुणा रात चौगुणा मूल्य बढाएर केही व्यक्तिले अकुत सम्पत्ति आर्जन गरेपछि पछिल्लो समय सबै मान्छेको रोजाइमा परेको एउटा मात्र व्यवसाय घरजग्गा हो ।

सक्नेले १०० रोपनी जग्गा किनेर व्यवसाय गरेका छन्, नसक्नेले १ रोपनी जग्गा किनेर पनि व्यवसाय गरेका छन् । त्यति पनि नसक्नेले ४ जना मिलेर व्यवसाय गरेका छन् । यी सबै खाले व्यवसायीभन्दा शक्तिशाली छन् घरजग्गामा लागेका सट्टेबाज । व्यवसायीबाट प्रतिआना १० लाख रुपैयाँमा किन्छु भनेर बैना गर्ने सट्टेबाजले अर्को सट्टेबाजबाट १२ लाख रुपैयाँका दरले बैना बुझ्छन् । उसले पनि अर्को सट्टेबाजबाट बैना लिएर वास्तविक खरीदकर्तामा पुग्दा उक्त जग्गाको मूल्य प्रतिआना १५ लाख रुपैयाँ नाघिसकेको हुन्छ ।

यो बीचमा जे जति तहमा सट्टेबाजी गरियो त्यसलाई रोक्न सकेको भए जग्गाको मूल्य यति विधि आकाशिने थिएन । अहिले त यस्तो अवस्था आइसकेको छ कि कुनै उद्योग खोल्न लाग्ने पूँजीभन्दा बढी जग्गा किन्न पैसा खर्चिनु परिरहेको छ । विकास निर्माणका आयोजनाको आधा लागत जग्गा प्राप्तिमा खर्च भइरहेको छ । यस्तै अवस्था रहे अबको २/ ४ वर्षपछि न त उद्योग धन्दा खोल्न सकिन्छ न त विकास निर्माणका कामै गर्न सकिन्छ । उद्योगी व्यवसायीदेखि विकासे अड्डाका प्रमुखहरूको ठूलो टाउको दुखाइको विषय पनि यही छ । यसरी आफूखुसी मूल्य बढाउँदा घरजग्गाको मूल्य हेर्दाहेर्दै छुनै नसक्ने अवस्थामा पुगेको छ । अहिले काठमाडौं उपत्यकामा २० फिटे बाटो पुगेका जुनसुकै कुनाका जग्गा पनि प्रतिआना २० लाख रुपैयाँ घटीमा किन्न पाइँदैन ।

उद्योगी व्यवसायीदेखि विकासे अड्डाका प्रमुखहरूको ठूलो टाउको दुखाइको विषय पनि यही छ । यसरी आफूखुसी मूल्य बढाउँदा घरजग्गाको मूल्य हेर्दाहेर्दै छुनै नसक्ने अवस्थामा पुगेको छ ।

यो क्रम उपत्यका बाहिर पनि त्यसैगरी बढेको छ । शहरउन्मुख बजारमा अहिले जग्गाको भाउ उपत्यकाकै दाँजोमा बढिरहेको छ । उपत्यका बाहिर दर्जनौं ठाउँमा एउटा घडेरी किन्न १ करोडभन्दा बढी रुपैयाँ खर्च गर्नुपर्छ । अहिले सामान्य मान्छेले घरजग्गा जोड्ने सपना नै त्यागिसकेका छन् । विशुद्ध पेशा वा व्यवसायको कमाइले मात्र शहरमा घरजग्गा जोड्न नसकिने अवस्था आइसकेको छ ।

नेपालमा सचिव स्तरको कर्मचारीको मासिक तलव १ लाख रुपैयाँभन्दा कम छ । तलव मात्रै बुझेर काठमाडौंमा घरजग्गा किन्छु भन्ने हो भने नेपाल सरकारको सचिवले पूरै २० वर्षको तलव खर्च गर्नुपर्छ । किनभने काठमाडौंमा एउटा ठिक्कको घर किन्न पनि अहिले २ करोड ५० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँ खर्च गर्नुपर्छ । सचिवले ३ करोड रुपैयाँ कमाउन मासिक १ लाख रुपैयाँ जोगाउँदा पनि २० देखि २५ वर्ष लाग्छ । अनि ३० ४० हजार रुपैयाँ तलव बुझ्ने सरकारी कर्मचारीले विशुद्ध तलवबाट कति वर्षमा घरजग्गा जोड्लान् रु 

जग्गाको मूल्य बढाउनमा कालोधनको पनि उत्तिकै हात छ । भ्रष्टाचार गरेर कमाएको रकमलाई सेतो बनाउन घरजग्गामा प्रयोग गरिएको छ । किनकि कागजमा १० लाख रुपैयाँमा किनेको जग्गा वास्तविकतामा १ करोड रुपैयाँमा किनिएको हुन्छ । अनि त्यही जग्गा पछि एउटा सार्वजनिक कम्पनीलाई चलनचल्तीको मूल्यमा बेचेर भ्रष्टाचारबाट कमाएको लाखौं रुपैयाँ सेतो धनको रूपमा निर्बाध उपयोग गर्ने गरिन्छ । 

घरजग्गामा कालो धनको प्रयोग हिजो पनि भएको थियो, आज पनि भइरहेको छ र भोलि पनि भइरहनेछ । किनकि नेपालको कर्मचारी तन्त्रदेखि राजनीतिक नेतृत्वसम्म सबै कुनै न कुनै भ्रष्टाचारमा मुछिएका छन् । भ्रष्टाचारको जालो यसरी जेलिएको छ कि कोही एक वा दुई जना व्यक्ति मिलेर यसलाई तोड्न सक्ने देखिँदैन । 

सबै क्षेत्रको मिलेमतोमा गिजोलिएको घरजग्गा क्षेत्रका कारण अहिले औद्योगिक वातावरणमै समस्या आइसकेको छ । नेपालमा उद्योग लगाउन भन्दा भारत वा तेस्रो मुलुकबाट सामान आयात गरेर बेच्नेले बढी नाफा कमाउने अवस्था छ ।

सबै क्षेत्रको मिलेमतोमा गिजोलिएको घरजग्गा क्षेत्रका कारण अहिले औद्योगिक वातावरणमै समस्या आइसकेको छ ।

नेपालमा उद्योग लगाउँदा १० करोड खर्च हुने ठाउँमा भारत वा चीनमा त्यही उद्योग ५ करोड रुपैयाँमा स्थापना गर्न सक्ने अवस्था छ । अनि विदेशमा सहज रूपमा थोरै लगानीमा उद्योग गर्न सकिन्छ भने विदेशी लगानीकर्ताहरू नेपालमै किन आउने ?

घरजग्गा व्यवसाय केहीको रहर हो भने केहीका लागि बाध्यता पनि हो । किनकि कुनै व्यवसाय गर्छु भनेर व्यावसायिक योजना लिएर जाँदा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्दैनन् । त्यसैले आफूसँग भएको पूँजीलाई पहिला जग्गामा लगानी गर्ने र पछि त्यही जग्गा धितो राखेर व्यवसायको लागि ऋण लिनेको संख्या पनि ठूलो छ । राम्रो व्यावसायिक योजना हेरेर ऋण लगानी गरिदिएको भए आज जग्गाको महत्त्व यति धेरै हुने थिएन । जग्गाको मूल्यवृद्धि हुनुमा बैंक तथा वित्तीय संस्था र सरकारी नीतिको पनि उत्तिकै हात छ ।

घरजग्गा व्यवसायमा लागेका अधिकांश व्यवसायीको एउटै भनाइ सुनिन्छ-  घरजग्गामा लगानी गर्ने हो भने सुतीसुती पैसा कमाउन सकिन्छ । यसमा कुनै पनि किसिमको जोखिम छैन । घरजग्गामा गरेको लगानीभन्दा उद्योग धन्दामा गरेको लगानीले राम्रो प्रतिफल दिने अवस्था नआउँदासम्म चाहेर/ नचाहेर सबै जनाको रोजाइ घरजग्गा व्यवसाय नै हुनेछ ।

अहिले पनि उद्योगी, व्यवसायी, डाक्टर, शिक्षक, वकिल, पर्यटनव्यवसायी, लगायत दर्जनौं पेशामा आबद्ध व्यक्तिहरू घुमिफिरी घरजग्गाबाटै मालामाल भएका छन् । राजनीति गर्ने नेतादेखि कार्यकर्तासम्म, ठेकेदारदेखि जनप्रतिनिधिसम्म अधिकांश मानिस घरजग्गा व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन् । यसैकारण पनि घरजग्गा क्षेत्रमा सबैले देखेका दर्जनौं बेथितिहरूको सहजै अन्त्य हुने सम्भावना देखिँदैन । बेथिति अन्त्य नभएसम्म घरजग्गाको मूल्य सामान्य अवस्थामा आउने सम्भावना पनि देखिँदैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)