ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान १७ औं वार्षिकोत्सव विशेष : समृद्धिको आँखीझ्यालबाट प्रदेश १

२०७९ भदौ, २३  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

प्रदेश १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल देखिएको छ । यहाँ कृषि, जलस्रोत र पर्यटनको प्रचुर सम्भावना छ । प्रदेशमा ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुसहित तीन जिल्ला हिमाल, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलामसहित आठ जिल्ला पहाड तथा झापा, मोरङ र सुनसरी तराईका जिल्ला हुन् । एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ ओटा गाउँपालिका सो प्रदेशमा छन् । प्रदेशमा साक्षरता दर करिब ७० प्रतिशत प्रतिशत छ । प्रदेशमा भौगोलिक, हावापानी, सभ्यता, संस्कृतिको विविधता छ । त्यसैले सामथ्र्यका दृष्टिले प्रदेश नं १ अत्यन्त सम्भावनायुक्त रहेको अर्थशास्त्री डा. अर्जुन बरालले बताए ।

यहाँ सप्तकोशी जलाधार क्षेत्र र २० हजार मेगावाटको विद्युत् उत्पादन क्षमता, विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरमाथिका ५ हिमाल मकालु, ल्होत्से, कञ्चनजंगा र कुम्भकर्ण हिमाल छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशीटप्पु वन्यजन्तु आरक्ष यहीँ छ । यस्तै गुराँसको राजधानी तीनजुरे–मिल्के जलजले क्षेत्र तथा जैविक विविधताले भरिपूर्ण वनजंगल यहीँ पर्छन् ।

नेपालको कुल निकासीमा ४१ दशमलव ४ प्रतिशत योगदान प्रदेश १ को छ । देशको सबैभन्दा होचो ठाउँ केचनाकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा पनि यही प्रदेशमा छन् । यस हिसाबले पर्यटनको सम्भावना प्रचुर छ १ नम्बर प्रदेशमा । ‘१ नम्बर प्रदेशमा भएका स्रोतसाधनलाई सदुपयोग गर्दैै अगाडि बढियो भने हामी छिट्टै आर्थिक रूपमा सम्पन्न हुन्छौं,’ उद्योगी मोती दुगड भन्छन्, ‘तर, अब राजनीतिक मुद्दामा अलमलिनु हुँदैन । स्थानीय, प्रदेश र संघको सरकार बनिसकेकाले अब सबैको ध्यान आर्थिक विकासमा हुनुपर्छ ।’

उद्योग व्यवसायको सम्भावना देखेरै दर्जनौं मारवाडी परिवार राजस्थानबाट यो क्षेत्रमा आएर स्थायी बसोबास गरेको पाइन्छ । विराटनगर जुट मिलको स्थापनासँगै नेपालको आधुनिक औद्योगिक इतिहासको रूपरेखा कोरिएको हो ।

औद्योगिक, पर्यटन, ऊर्जा, कृषि, धार्मिक पर्यटन, भौतिक संरचनाको विकास लगायत सबै कोणबाट हेर्दा यो प्रदेशले धेरै सम्भावना बोकेको नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतको ठम्याइ छ । ‘अब हामीले थियो र छ भनेर मख्ख पर्ने होइन, काम गर्ने बेला आएको छ,’ राउत भन्छन्, ‘कुन–कुन क्षेत्रमा लगानी बढाउँदा प्रदेशको मात्रै होइन, समग्र देशको आर्थिक विकास हुन्छ भनेर पहिचान गर्नु आवश्यक छ ।’ राउतकै भनाइमा यो प्रदेशको सामाजिक जनजीवनमा जुन प्रकारको विविधता र समग्रता पाइन्छ, त्यो महत्वपूर्ण पक्ष हो ।

जोगबनीदेखि किमाथांकासम्मको राजमार्ग स्तरोन्नति गरे अन्तरराष्ट्रियस्तरमा समेत यो प्रदेश एउटा गहकिलो आर्थिक नाकाको रूपमा स्थापित हुन सक्छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधानले बताए । प्रधानले नै २ दशक अघिदेखि यो नाका निर्माणको आवाज उठाएका थिए ।

‘विश्वको ठूलो आर्थिक हिस्सा ओगटेको दुई राष्ट्रबीचको यो मितेरी पुल बन्नेसमेत हुँदा यो प्रदेश नयाँ नेपालको सबै दृष्टिकोणले नम्बर एकै हुने विश्वास लिन सकिन्छ,’ उनी भन्छन्, ‘तर, आर्थिक समृद्धिका लागि विविध कुरामा दूरगामी सोच, परिकल्पना साकार बनाउन नेतृत्वमा दृढ इच्छाशक्ति चाहिन्छ ।’ यसलाई परिपूर्ति गर्न यहाँको नागरिक समाजले आफ्ना तर्फबाट समेत रचनात्मक पहल गर्न भने आवश्यक छ ।

मध्यपहाडी लोकमार्गले १४ जिल्लामध्ये ९ ओटा जिल्ला भएर जान्छ । यस्तै पूर्व–पश्चिम राजमार्गले तराईका जिल्लामा यातायात सुविधा दिएको छ । मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्गलगायत यातायातका लागि अन्य ससाना स्थानीय सडकले सबै जिल्लालाई जोडेका छन् । निर्माणाधीन मध्यपहाडी लोकमार्ग यस क्षेत्रको पहाडी जिल्लाहरूको विकासको मेरुदण्ड हो । यस प्रदेशमा पर्ने सुनसरी र मोरङ जिल्ला पुराना औद्योगिक जिल्लाहरू हुन् । १ नम्बर प्रदेशमा मोरङको विराटनगर, झापाको भद्रपुर, ताप्लेजुङको सुकेटार, भोजपुरको टक्सार, संखुवासभामा तुम्लिङटार, खोटाङमा लामीडाँडा, खाडीडाँडा र थामखर्क, सोलुखुम्बुमा नाम्चेसहित १३ ओटा विमानस्थल छन् ।

तीमध्ये विराटनगर विमानस्थललाई तत्काल अन्तरराष्ट्रियस्तरको सेवा प्रदान गर्न ट्रान्जिट विमानस्थलको अवधारणा अघि सारेर काम शुरू गरिहाल्नुपर्ने आवश्यकता देखिन्छ । तर, यसतर्फ कसैको ध्यान जान नसकेको पर्यटन व्यवसायी पुण्य भट्टराई बताउँछन् । यो क्षेत्रका उद्योगी व्यवसायीले स्तरोन्नति गरेर अन्तरराष्ट्रियस्तरको बनाउन माग गर्दै आए पनि त्यो पूरा हुन सकेको छैन । हालकै विमानस्थलको भौतिक संरचनालाई प्रयोग गर्दै ट्रान्जिटस्तरको अन्तरराष्ट्रियकरण गर्न सकिने भट्टराईको भनाइ छ ।

धार्मिक महत्त्व

प्रदेश नं १ धार्मिक क्षेत्रको हिसाबले निकै महत्त्वपूर्ण मानिएको छ । प्रदेशमा ताप्लेजुङको पाथीभरादेखि खोटाङको हलेसी हुँदै सुनसरीको वराहक्षेत्र, बूढासुब्बा, पिण्डेश्वरीजस्ता महत्त्वपूर्ण धार्मिक क्षेत्र छन् । प्रदेशमा धनकुटाको छिन्ताङदेवी, मोरङको सुनवर्षी, झापाको कन्काई धाम, शिवसताक्षीजस्ता धार्मिक क्षेत्र छन् । पाथीभरा र हलेसीमा मात्रै हरेक वर्ष हजारौं आन्तरिक र बा⋲य धार्मिक पर्यटक आउने गर्छन् ।

पर्यटन

सर्वोच्च सगरमाथा देखि देशकै होचो भूभाग झापाको केचनाकवलसम्म रहेको सो प्रदेशमा पर्यटनको प्रचुर सम्भावना बोकेका धेरै स्थान छन् । मोरङका मिक्लाजुङ डाँडा, जेफाले डाँडा र बेतेना सिमसार, झापाका जामुनखाडी सिमसार र अर्जुनधारा, इलामका अन्तुडाँडा र कन्याम, पाँचथरको जोरपोखरी, ताप्लेजुङको पाथीभरा र कञ्चनजंघा हिमशृंखला क्षेत्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धनकुटाका भेडेटार र नाम्जे, भोजपुरका ट्याम्के र मैयुङ डाँडा, तेह्रथुमको गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र, संखुवासभाका सभापोखरी, मत्स्यपोखरी र जौबारी महादेव गुफा, सोलुखुम्बुका सगरमाथा, ल्होत्से र चोयु हिमाल, खोटाङका वराहपोखरी र ट्याम्के डाँडा, उदयपुरका जाल्पादेवी, लिम्पाटार र रौतापोखरी तथा ओखलढुंगाको सतासीधामजस्ता पर्यटन क्षेत्र प्रचुर सम्भावना बोकेका क्षेत्र हुन् ।

सगरमाथा, मकालु, कञ्चनजंघालगायतका हिमालले हरेक दिन पर्यटकलाई आकर्षित गरिरहेका हुन्छन् । भेडेटारमा त आन्तरिक र भारतीय पर्यटकको घुइँचो लाग्छ । यहाँ पर्यटन क्षेत्रमा लगानी गर्नेको ओइरो नै लागेको छ ।

अन्नभण्डार

तराईका झापा, मोरङ र सुनसरी अन्न उत्पादनका भण्डार मानिन्छन् । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने हो भने यी जिल्लाले सिंगो प्रदेशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्ने क्षेत्रीय कृषि निर्देशनालय विराटनगरको भनाइ छ । यी क्षेत्रमा वार्षिक १२ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुन्छ । प्रदेशमा मकै, गहुँ, अम्रिसो, अदुवा, अलैंची, चिया, आलुलगायतको समेत उत्पादन हुन्छ । कृषि, पर्यटन, शिक्षा, उद्योग, जलस्रोत, जातीय र सांस्कृतिक विविधता, सामाजिक बनोट र पर्यावरणीय हिसाबले प्रदेश १ अगाडि छ ।

कृषिको आधुनिकीकरण गर्ने हो भने यो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ । धान उत्पादनका लागि मात्रै होइन, मकै, गहुँ, दाल र अन्य तरकारी उत्पादनमा १ नम्बर प्रदेशको राम्रो सम्भावना छ । साढे २ दशक अघिसम्म यो क्षेत्रबाट धान, गहुँ, तोरीलगायत कृषिजन्य उत्पादन निर्यात हुन्थ्यो । तर, वैदेशिक रोजगारीप्रतिको आकर्षण, सरकारी नीतिगत कमजारी, सिँचाइ सुविधाको अभावलगायत कारण कृषिप्रतिको आकर्षण घट्दै गएको छ । फलस्वरूप आयातमा निर्भर रहनुपर्ने अवस्था आएको छ ।

सरकारी नीतिमा परिवर्तन, कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरण, कृषकलाई प्रोत्साहन, सिँचाइ सुविधा, समयमै मल तथा उन्नत जातको बीउ उपलब्ध गराउन सके साढे २ दशकअघिकै अवस्थामा पुग्न सकिने मोरङ व्यापार संघका पूर्वअध्यक्ष अविनाश बोहरा बताउँछन् ।

खेतीयोग्य जमीनलाई बाँझो राख्न नपाउने, जथाभावी हुने प्लटिङमा रोक, आवास र खेतीयोग्य जमीनको वर्गीकरण गरिनुपर्ने उनको भनाइ छ । ‘यसो गरेमा यो प्रदेशको उत्पादनले अन्य प्रदेशका जनतालाई पनि पुग्छ,’ उनी भन्छन्, ‘कम्तीमा कृषि वस्तुको आयात प्रतिस्थापन गर्न सके पनि विदेशमा पसिना बगाएर नेपाली युवाले पठाएको रुपैयाँ धेरै हदसम्म स्वदेशमै अडिन्थ्यो ।’ विशेषगरी धान, गहुँ, कमै, दाल, मुसुरो दाल, चिया, अदुवा, अम्रिसो र अलैंची यो क्षेत्रका मुख्य उत्पादन हुन् ।

उद्योगमा सम्भावना

उद्योग व्यवसायको सम्भावना देखेरै दर्जनौं मारवाडी परिवार राजस्थानबाट यो क्षेत्रमा आएर स्थायी बसोबास गरेको पाइन्छ । विराटनगर जुट मिलको स्थापनासँगै नेपालको आधुनिक औद्योगिक इतिहासको रूपरेखा कोरिएको हो । १९९३ असार ३० गते विराटनगर जुट मिल देशकै सबैभन्दा पहिलो उद्योगको रूपमा स्थापना भएको पाइन्छ । यो उद्योगको स्थापनासँगै जुट, चिनी, सलाई, स्टिल, भाँडा, धागो, कपडा, फलामलगायतका उद्योगहरू खुले । 

हुन यसरी बाहिरबाट आएका व्यक्तिहरूको समेत उद्योग व्यवसायमा रुची बढ्नु निर्यातमा सहज हो,’ उद्योगी उद्योगी महेश जाजू । ‘यो क्षेत्रमा विराटनगर, काँकडभिट्टा र पशुपतिनगर मुख्य तीनवटा नाका भएकाले आयात निर्यातमा सहजता छ,’ जाजूले भने । कृषिजन्य उद्योगका लागि पनि १ नम्बर प्रदेशले प्रचुर सम्भावना बोकेको अर्का उद्योग प्रकाश मुन्दडाको भनाइ छ । ‘जुट, चिनी, अदुवा, चियालगायतका कृषिजन्य उद्योगहरूका लागि उपयुक्त स्थान १ नम्बर प्रदेश नै हो,’ उनले भने,  ‘जडीबुटीमा आधारित उद्योगहरू पनि स्थापना गर्न सकिन्छ ।’ कृषिजन्य उद्योगका रूपमा रहेका जुट उद्योगले हरेक वर्ष ५ अर्ब रूपैयाँ बराबरका तयारी सामग्री निर्यात गर्छन् । 

यसले पनि नेपालको व्यापार घाटालाई केही हदसम्म कम गरेको व्यवसायी बताउँछन् । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा मात्रै सञ्चालित यी उद्योगहरू पछिल्लो समय धराशयी बन्दै गएका छन् । अनियमित विद्युत् आपूर्ति, मजदूर अभाव, प्रतिस्पर्धात्मक क्षमतामा आएको ह्रास, बजार र कच्चापदार्थको अभावलगायत समस्याले यी उद्योग ग्रस्त छन् । जुटखेतीलाई प्रोत्साहित गरी जुट विकास बोर्ड स्थापना र विद्युत् आपूर्ति हुने अनियमितताको अन्त्य भए जुट उद्योगको सम्भावना पनि उत्तिकै छ । 

मोरङ–सुनसरी औद्योगिक क्षेत्रसहित १ नम्बर प्रदेशमा झन्डै एक हजारको हाराहारीमा साना–ठूला उद्योग छन् । यी उद्योगहरूमा १ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । विशेष आर्थिक क्षेत्र, लोडसेडिङ अन्त्य, दक्ष जनशक्ति, भौतिक संरचनाको विकासलगायतका सुविधा प्राप्त भए १ नम्बर प्रदेशमा ओद्योगिक विकासको प्रबल सम्भावना रहेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल बताउँछन् । यो क्षेत्रमा सिमेन्ट र कृषिजन्य उद्योगको प्रचुर सम्भावना देख्छन् उनी । मधेश, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको प्रदेशमा उत्तर दक्षिणका ठूला व्यापारिक नाकाका कारण अझै व्यापक बनेको छ । चीनको नाका किमाथांका, ओलाङचुंगोला तथा दक्षिणमा पशुपतिनगर, काँकडभिट्टा, जोगबनी तथा भण्टाबारी नाका चर्चित छन् ।

उत्तरका नाका चालू अवस्थामा नभए पनि दक्षिणका नाका अहिले सञ्चालनमै रहेको छ । सडक सञ्जाललाई व्यवस्थित बनाउँदै उत्तर चीनसँग जोडिएका नाका पनि सञ्चालनमा ल्याउन सके यस प्रदेशमा अझै औद्योगिक व्यापार फस्टाउने विज्ञ अर्थशास्त्री डा. भेषप्रसाद धमला बताउँछन् ।

ऊर्जा

बढी विद्युत् उत्पादनको सम्भावना १ नम्बर प्रदेशले बोकेको छ । यस प्रदेशमा १० वटा ठूला जलाशययुक्त आयोजनाबाट मात्र ७ हजार ५ सय मेगावाट बिजुली उत्पादन सम्भावना रहेको छ । ३ हजार ४ सय ८९ मेगावाट क्षमताको सप्तकोशी उच्च बाँध, १ हजार ३ सय ५७ मेगावाटको सुनकोशी–१, ७ सय ६२ मेगावाट तमोर, ६ सय ९६ मेगावाट तमोर–१ आयोजना यस प्रदेशमा पर्दछन् । त्यसैगरी कन्काई (८४), दूधकोशी–१ (३००), दूधकोशी–२ (३००), माई (६२), अपर माई (५३), तमोर–३ (१८६) लगायत आयोजनाको सम्भावना यस प्रदेशले बोकेको छ ।

ऊर्जामा मात्र लगानी बढाउने हो भने १ नम्बर प्रदेशका जनताले अरू गर्नै नपर्ने बताउँछन् ऊर्जाका जानकार राकेश सुराना ।  उनका अनुसार १ नम्बर प्रदेशमा २ हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना पाइपलाइनमा छन् । अरुण तेस्रो जलविद्युत् आयोजना आगामी २ वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण भइरहेको छ । मागअनुसार विद्युत् आपूर्तिका लागि आयोजनाहरू समयमै सम्पन्न गर्नुपर्ने देखिन्छ ।

प्रस्तावित आयोजना र ठूला आयोजनाहरूको निर्माण सम्झौता हुने र निर्माण कार्य सम्पन्न हुने हो भने १ नम्बर प्रदेशमा मात्रै अबको दशकभित्रै झन्डै २१ सय मेगावाट विद्युत् उत्पादन हुने सम्भावना छ । १ नम्बर प्रदेशमा यतिका आयोजना निर्माण सम्पन्न हुने हो भने मात्रै पनि यस क्षेत्रको आर्थिक वृद्धिदर बढ्ने र भारतलाई झन्डै १ हजार मेगावाट विद्युत् बेच्न सकिन्छ । देशभरलाई पुग्नेभन्दा निकै बढी बिजुली १ नम्बर प्रदेशमै उत्पादनको सम्भावना देखिए पनि उत्पादन प्रवर्द्धन गर्न सरकारले नसकेको ऊर्जासम्बन्धी जानकार सुरानाको भनाइ छ ।

प्रदेशका खोला र नदीहरूबाट मात्रै २० हजार मेगावाटभन्दा बढी बिजुली उत्पादनको क्षमता रहेको अनुमान गरिएको छ । त्यसमा पनि सप्तकोसीमा मात्रै ४ हजार ६ सय मेगावाट बिजुली उत्पादनको पहिचान भएको छ । १ नम्बर प्रदेशका इलाम, पाँचथर, संखुवासभामा धेरै विद्युत् आयोजना सञ्चालन तथा निर्माणाधीन छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)