नेपालमा पहिला बैंक तथा वित्तीय संस्थाको संख्या कम थियो । त्यसबेला वित्तीय पहुँच पुर्याउनु ठूलै कुरा थियो । बैंकहरूको कर्जा लगानी उत्पादनमूलक क्षेत्रमा हुनुपर्छ भनेर काम गर्ने प्रचलन कमै थियो । रिटेल बैंकिङको प्रचलन पनि थिएन । घरजग्गा तथा सवारीसाधनमा लगानी गर्ने चलन पनि थिएन । यो पनि धेरै पछि मात्र शुरू भएको हो । जब बैंक तथा वित्तीय संस्थाको संख्या र पूँजीको स्रोत बढ्दै गयो त्यसपछि उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ भन्ने अवधारणा विकास भयो । बैंकले लगानी गर्ने उत्पादनशील क्षेत्रबाट नै अर्थतन्त्रको जग बलियो बनाउन सकिन्छ ।
मुलुकलाई आत्मनिर्भर बनाउन सर्वप्रथम आफ्ना सम्भावना र स्रोतसाधन केके हुन् भन्नेमा ध्यान दिनुपर्छ । कृषि प्रधान भनेर चिनिने हाम्रो मुलुकमा अहिले अधिकांश कृषि उपज आयात गर्नुपर्ने अवस्था छ । कुनै समय हामी धान, चामल, मकै, चिनी निर्यात गर्थ्यौं, अहिले ती उपज आयात गर्छौं ।
पैसा कहाँ लगानी गरियो भने उत्पादन बढाएर कमाउन सकिन्छ भन्ने विचार गर्नु नितान्त आवश्यक छ । अहिले हाम्रो अर्थतन्त्रमा धेरै परिवर्तन आइसकेको छ । आयातमुखी अर्थतन्त्रलाई परिवर्तन गर्दै आत्मनिर्भर बनाउन नेपाल राष्ट्र बैंकले केही कदमहरू चालेको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पनि निर्यात बढाउने विषयमा जोड दिइएको छ ।
हाम्रा नीतिले विस्तारै प्रतिफल देखाउन थालेका छन् । उदाहरणका रूपमा ऊर्जालाई लिन सकिन्छ । २ दशकअघि ऊर्जाको विकासमा जोड दिन थालिएको थियो । अहिले त्यसैको परिणाम स्वरूप विद्युत् निर्यात गर्ने अवस्थामा पुगिसक्यौं । लगानी गरेपछि सुधार देखिन समय लाग्छ । तर, त्यसका लागि बाटो नबिराईकन निरन्तरता दिनुपर्छ ।
अर्थतन्त्र साइकलको गतिमा अगाडि बढ्छ । सधैं समय एकनास हुन्छ भन्ने हुँदैन । यतिबेला विश्व अर्थतन्त्र नै आर्थिक मन्दीमा जाने हो कि भन्ने डर पनि उत्पन्न भइरहेको छ । ठूलाठूला अर्थतन्त्र भएका देशहरू नै आर्थिक मन्दीको चपेटामा पर्न थालेका छन् । मुद्रास्फीति उच्चदरमा बढिरहेको छ । युक्रेन–रसिया युद्धका कारण विश्व प्रभावित भएका बेला हाम्रो मुद्रास्फीति बढ्नु स्वाभाविक हो जस्तो लाग्छ ।
उत्पादनशील क्षेत्रमा यति प्रतिशत लगानी गर्ने भनेर नियम ल्याइएको छ । कर्जा लगानीको तुलनामा जीडीपीमा ग्रोथ नदेखेपछि हाम्रो दिमाग खुलेको हो । यसले भोलिका दिनमा पनि निरन्तरता पाउनुपर्छ ।
पेट्रोललगायत कतिपय कच्चापदार्थ हाम्रो देशमा उत्पादन हुँदैन । ती वस्तु हामीले आयात गर्नु नै पर्छ । विश्व परिस्थितिका कारण महँगी बढेको छ । यस्ता विषम परिस्थितिको सामना गर्दै कसरी मुद्रास्फीति नियन्त्रण गरेर अर्थतन्त्रमा सुधार गर्न सक्छौं आत्मनिर्भर बन्न सक्छौं भन्नेतिर सबैको ध्यान जान आवश्यक छ ।
हामीले कृषिलाई प्रोत्साहन गर्ने भने पनि हामीले अहिलेसम्म कृषिलाई व्यवसायीकरण गर्न सकेका छैनौं । हाम्रो कृषि उत्पादन अझै पनि परम्परागत प्रणालीमै आधारित छ । हामीले त्यसतर्फ ध्यान पुर्याउन सकेकै छैनौं । अहिले जीवनयापनका लागि मात्र भइरहेकोे कृषि व्यवसायलाई व्यावसायिक रूपमा अघि बढाउन सके उत्पादनमा वृद्धि भई कृषकको जीवनस्तर उठ्ने र निर्यात पनि गर्न सक्ने हुनेछौं । त्यसका लागि हामीले कृषिको व्यावसायिक उत्पादनमा जोड दिनुपर्छ । हाम्रो नीति उत्पादन केन्द्रित हुनैपर्छ ।
मुलुकको सम्भावनाको अर्को क्षेत्र ऊर्जा हो । हामी ऊर्जा पनि विदेश निर्यात गर्न सक्ने अवस्थामा पुगिसकेका छौं । ऊर्जा उत्पादन बढाउँदा भारत र चीन लक्षित बजारनीति हुनुपर्छ ।
मुलुकमा उत्पादित वस्तुमा केकस्ता सहुलियत दिन सकिन्छ भन्ने विचार गरेर उत्पादन बढाउँदा बजारमा प्रतिस्पर्धा गर्न सजिलो हुन्छ । उद्यमीहरू पनि प्रतिस्पर्धी हुनुपर्छ । हामीले भारत र चीनका उत्पादनसँग प्रतिस्पर्धा गर्न केके वस्तु उत्पादनमा सहुलियत दिँदा हाम्रा सामान गुणस्तरीय र प्रतिस्पर्धी बन्न सक्छन् भन्ने कुरामा पनि ध्यान दिनु जरुरी छ ।
यसका लागि पब्लिक प्राइभेट पार्टनरशिप (पीपीपी) मोडलमा काम गर्न सकिन्छ । छिटो प्रतिफल पाउन ३ वर्ष या ५ वर्षमा हामी कहाँ पुग्ने ? केके कुरामा आत्मनिर्भर हुने भनी योजना बनाउनुपर्छ ।
उद्यमीले उद्योग स्थापना गर्छु, त्यसबाट गुणस्तरीय सामान उत्पादन गरेर स्वदेश तथा विदेशमा विक्री गर्न सक्छु भन्ने हो भने ऊसँग स्पष्ट भिजन आवश्यक हुन्छ । बैंकले २ प्रतिशत कम ब्याजदरमा ऋण दिनेबित्तिकै उद्यमीले चामत्कारिक रूपमा केही गर्न सक्दैन । तर, ब्याजदरमा सहुलियत पाउनु उसका लागि उद्यमको पहिलो खुड्किलो भने हो । उद्योगीलाई उद्यम गर्न प्रोत्साहन गर्नुपर्छ । उदाहरणका रूपमा बैंक मर्जरलाई नै लिऊँ न । बैंकहरूलाई मर्जरमा जानका लागि सहुलियत दिएर प्रोत्साहन गरियो यसले बैंकहरू मर्जरमा गए ।
उद्यमीलाई प्रोत्साहन ब्याजदरबाट मात्र होइन, अरू अवसरबाट पनि गर्न सकिन्छ । जस्तै : आन्तरिक राजस्वमा छूट, उद्योगका लागि आवश्यक कच्चापदार्थ आयातमा भन्सार महसुल छूट, निर्यातमा सहुलियत, बजारको व्यवस्थापनजस्ता विषयबाट पनि उद्योगीलाई प्रोत्साहन गर्न सकिन्छ ।
उद्योगमा आन्तरिक कच्चा पदार्थ प्रयोग गरेर सामान उत्पादन गर्ने हो कि बाह्य कच्चा पदार्थ आयात गरी वस्तु उत्पादन गर्ने हो पहिले यसको निक्र्योल हुन आवश्यक छ । जस्तो कि अधिकांश कृषिजन्य उत्पादनमा आन्तरिक कच्चा पदार्थ नै प्रयोग हुन्छ । बाहिरबाट कच्चा पदार्थ आयात गर्ने हो भने त्यसमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषय पनि महत्त्वपूर्ण हुन्छ । उद्यमीले कुनै पनि ठाउँमा एउटा उद्योग स्थापना गर्दा त्यसबाट आन्तरिक बजार र निर्यात गरेर यति कमाउँछु भन्ने कुरामा पनि स्पष्ट हुन आवश्यक छ ।
आत्मनिर्भर अर्थतन्त्रका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्न आवश्यक छ । हामी पेट्रोलियम पदार्थको आयात कम गर्ने योजनामा छौं । त्यसको दीर्घकालीन योजना के कसरी निर्धारण गर्ने भन्ने कामको थालनी आजैबाट हुनुपर्छ । विद्युतीय सवारीसाधनको आयातमा जोड दिने हो कि भान्सामा विद्युतीय सामानहरूको प्रयोग बढाउने हो । यसका लागि केकेमा सहुलियत प्रदान गर्ने, भान्सामा प्रयोग हुने विद्युतीय सामान खरीदमा हो कि ? विद्युतीय सवारीसाधन बढाउन चार्जिङ स्टेशन बनाउनमा । मुख्य कुरा आत्मनिर्भर अर्थतन्त्रका लागि पूर्वाधार निर्माणमा लगानी हुनुपर्छ । बैंकिङ ऋण त पहिलो पाइला मात्र हो । बैंकले ग्राहकलाई लगानी गर्ने मात्र हो, उद्योग स्थापना गर्ने ग्राहकले नै हो ।
हामी नीतिगत रूपमा अस्थिर छौं । हाम्रो नीति छिटोछिटो परिवर्तन हुन्छ । उद्यमीको आत्मविश्वास बढाउन नीतिगत स्थिरताको पनि खाँचो छ । अहिले हाम्रोमा अर्थतन्त्र विकासका लागि बाह्य ऋण वा वैदेशिक लगानी के ल्याउने भन्ने विषयमा चर्चामा छ । तर, बाह्य ऋण ल्याउँदा त्यसको हेजिङ गर्नुपर्ने भएकाले लागत महँगो हुन्छ । यसलाई भायबल बनाउन हो भने सरकारले सहुलियत दिनुपर्छ । अहिले हामीले सोचेको कर्जाको ब्याजदर कति हो, एकल अंक वा दोहोरो अंक कति बनाउने ? मुद्रास्फीति हेर्ने हो भने ब्याजदर दोहोरो अंकमा जानुपर्ने अवस्था छ ।
कहिले हामी निक्षेपमा १ प्रतिशत दिन्छौं त कहिले १३ प्रतिशत पुग्छ । मैले बैंकमा जागीर शुरू गर्दा ट्रेजरी बिलको प्रतिफल १३ प्रतिशत थियो । २०१० मा हामीले बैंक खोल्दा १७ प्रतिशतमा ऋण लगानी गर्थ्यौं । बीचमा बचतको ब्याजदर नै १ प्रतिशतभन्दा कममा पुग्यो । यो एउटा साइकल हो । यसमै हामी बाँचिरहेका छौं ।
विदेशबाट ऋण वा लगानी ल्याउँछौं भन्ने हो भने पनि त्यो तुरुन्तै आउने अवस्था हुँदैन । हामीले अहिले प्रक्षेपण गरेको आर्थिक वृद्धिका लागि कति लगानी आवश्यक छ त ? त्यसका लागि आन्तरिक व्यवस्थापन गर्ने कि ? किनकी अहिले हामीले कसिलो मौद्रिक नीति ल्याएका छौं । ठूलो आर्थिक वृद्धिको प्रक्षेपण पनि गरेका छैनौं । हामी आन्तरिक स्रोत व्यवस्थापन गर्न नसक्ने अवस्थामा पनि छैनौं । हामीलाई ठूलोठूलो आकारको विदेशी ऋणभन्दा पनि सस्टेन गर्नुपर्ने अवस्था छ । बजेटमा उल्लेख भएको ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्त हुने अवस्था छैन । राम्रो गर्यौं भने ६ दशमलव ५ प्रतिशतसम्म पुग्नसक्ला । त्यसका लागि समयमै लगानी हुनुपर्छ । सरकारी खर्च पनि किन असार अन्तिममा मात्र गर्ने ? त्यसलाई परिवर्तन गर्न सक्छौं कि ?
अहिलेको अवस्थामा सर्वप्रथम त हामी आफ्नै आन्तरिक स्रोत परिचालन गरेर अगाडि बढ्ने र पछि सहज परिस्थिति भएपछि बाहिरबाट स्रोत ल्याउन सक्छौं । त्यो बेलासम्म हामीले बाह्य पूँजी परिचालनको खाका तयार गर्न सक्नुपर्छ । अहिलेको परिस्थितिमा हामीलाई के चाहिएको छ हेरेर मात्र हामी अघि बढ्नुपर्छ । बैंकहरूले बचतमा ८ प्रतिशत ब्याज दिएका छन् । उनीहरूले ब्याजदर स्थिर राखेका छन् । उद्यमीहरूलाई भोलिको दिनका लागि तयार बनाउनुपर्छ । उद्योग स्थापना गर्नु आजको भोलि हुने कुरा होइन । यसका लागि दीर्घकालीन योजना हुनुपर्छ । हाम्रो ब्याजदर पनि दीर्घकालीन रूपमा नै स्थिर रहने खालको नीति आवश्यक छ ।
बैंक कर्जा सदुपयोगका विषयमा पनि धेरै कुरा उठ्ने गर्छ । हामीले उत्पादक र अनुत्पादक क्षेत्र भनेर छुट्याएका छौं । जब हाम्रो तरलताको अवस्था सहज हुन्छ त्यस बेला हामी पूँजी कता लगानी भइरहेको छ भन्ने विषयमा हेक्का राख्दैनौं । तरलता बढी भएपछि लगानी त गर्नैपर्यो । चाहे त्यो शेयरबजारमा होस् वा घरजग्गा अथवा गाडी ।
उत्पादनशील क्षेत्रमा यति प्रतिशत लगानी गर्ने भनेर नियम ल्याइएको छ । कर्जा लगानीको तुलनामा जीडीपीमा ग्रोथ नदेखेपछि हाम्रो दिमाग खुलेको हो । यसले भोलिका दिनमा पनि निरन्तरता पाउनुपर्छ । तरलता सहज भएको समयमा पनि लगानीबारे अनुगमन भइरहनुपर्छ । हामीसँग भएको स्रोतसाधन बुद्धि पुर्याएर जीडीपीलाई सहयोग पुग्ने क्षेत्रमा लगानी गर्नुपर्छ । समस्या पर्दै गएपछि त्यसअनुसार नीतिगत परिवर्तन हुँदै जाने हो । आजको गल्तीबाट पाठ सिकेर भोलिका दिनमा सुधार गर्ने हो । ढिलै भए पनि हाम्रो आँखा खुलेको छ । हामी बल्ल सही बाटोमा हिँड्न शुरू गरेका छौं । यसलाई निरन्तरता दिन सके हामीले अवश्य आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्छौं ।
(खुञ्जेली पूर्वबैंकर हुन्)