नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यात गरिरहेको छ । साउनमा मात्रै १ अर्ब ८३ करोड रुपैयाँको विद्युत् निर्यात गरेको प्राधिकरणले थप निर्यातका लागि प्रक्रिया अगाडि बढाएको छ । तर त्यो निर्यात नेपालमा चाहिनेभन्दा बढी भएर गरिएको होइन । नेपालका अधिकांश ठाउँमा विद्युत् प्रसारण लाइन नपुगेका कारण व्यवस्थापन गर्न निर्यात गरिएको हो । यो निर्यात दिगो छैन । बर्खायाममा नेपालले निर्यात गर्नेभन्दा बढी मूल्य तिरेर नेपालले सुख्खायाममा विद्युत् आयात गर्नुपर्छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अध्ययन अनुसार ग्रामीण क्षेत्रका पालिकाका केन्द्रसहित सरकारी कार्यालयमा नै बिजुली पुगेको छैन । मन्त्रालयले अध्ययन गरेका २३४ ओटा स्थानीय तहमध्ये २९ ओटा स्थानीय तह र ती अन्तर्गतका वडाले पूर्णरूपमा बिजुली देख्न नपाएको मन्त्रालयको प्रतिवेदन छ । बिजुली नपुगेका ती क्षेत्रमा सोलार ब्याकअप समेत नभएको मन्त्रालयको निष्कर्ष छ ।
नेपाललाई आवश्यक हुने बिजुली प्राधिकरणले आयात पनि गर्छ । तर, प्राधिकरणले साउनमा निर्यातको तथ्यांक मात्रै सार्वजनिक गरेर आर्थिक वर्षको पहिलो महीनामा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको बताएको छ ।
बिजुली अपुग हुँदा स्वाभाविक रूपमा सरकारी तथ्यांक अपडेट लगायतका कामकाजमा समस्या पर्छ । ती स्थानीय तह एवं कार्यालयमा प्रसारण लाइन पुगुञ्जेसम्मका लागि भारत निर्यात गर्न उपयुक्त नै भए पनि प्रसारण लाइन भएकै ठाउँमा पनि गुणस्तरीय बिजुली नरहेको ऊर्जाविद् जगन्नाथ श्रेष्ठ बताउँछन् । इञ्जीनियरिङ अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहेका श्रेष्ठ मुलुकका सबै नागरिकलाई बिजुली उपलब्ध गराएर, मुलुकको आवश्यकता पूरा गरेर मात्रै निर्यात गर्नु उपयुक्त देख्छन् ।
मुलुकको आवश्यकता
पछिल्लो केही वर्षयता नेपालमा विद्युत् उत्पादन बढेको छ । व्यक्तिगत विद्युत् आवश्यकता पनि बढेको छ । विद्युत् उत्पादन बढेसँगै मान्छेका आवश्यकता पनि त्यही अनुसार बढ्नु स्वाभाविक हो । विद्युतीय सवारीको प्रयोग बढ्न थालेको छ । अन्य डिजिटल उपकरण समेत अनिवार्य भइसकेकाले स्वाभाविक रूपमा विद्युत्को आवश्यकता बढेको छ । डिजिटल उपकरणहरू सञ्चालनका लागि काठमाडौं उपत्यकामै पनि गुणस्तरीय विद्युत् उपलब्ध नभएको ऊर्जाविद् श्रेष्ठ दाबी गर्छन् ।
बेला बेलामा काठमाडौं उपत्यकामा पनि बिजुली गइरहेको हुन्छ । काठमाडौं उपत्यकाबाहिर दैनिक ३ देखि ४ घण्टा लोडशेडिङ हुने गरेको छ । यद्यपि त्यसको तालिका सार्वजनिक गरिँदैन । विद्युत् उत्पादन बढिसकेको अवस्थामा सबै नेपालीले स्वाभाविक रूपमा गुणस्तरीय विद्युत् पाउनुपर्ने हुन्छ । नेपालमा उत्पादित वस्तुमा पहिलो हक नेपालीको नै हुनुपर्छ ।
प्राधिकरणको पहिलो प्राथमिकता नेपालमा सबै नागरिकलाई गुणस्तरीय विद्यत् उपलब्ध गराएर औद्योगिक क्षेत्रमा प्रशस्त विद्युत्को व्यवस्थापनमा हुनुपर्ने श्रेष्ठ बताउँछन् ।
विभिन्न मुलुकहरूले पेट्रोलियम पदार्थबाट चल्ने गाडी निरुत्साहनको नीति लिएका छन् । नेपालले पनि लिएको छ । तर, त्यसमा अभ्यस्त हुने वातावरण प्राधिकरणले बनाउनुपर्ने विज्ञहरू औंल्याउँछन् । ‘कम्तीमा काठमाडौं उपत्यकाभित्रै पनि सबै सवारी साधन बिजुलीबाट चल्ने हुन सकेमा प्रदूषण कम हुन्थ्यो,’ श्रेष्ठ भन्छन्, ‘भान्छामा विद्युतीय चुलो होस् । कामबाट घर फर्केपछि टक्क स्वीच थिचेर चुलोमा खाना बनाउन सकियोस् ।’
घरघरमा विद्युतीय चुलो मुलुकभरिका ग्रामीण बस्तीसम्मै पुर्याउन सकेमा ग्रामीण क्षेत्रमा खाना पकाउन दाउराको प्रयोग घट्छ । जसले वनजंगल जोगिन्छ ।अहिले पनि प्राधिकरणले भारततर्फ बिजुली निर्यात मात्रै गरिरहेको छैन । आयात पनि गरिरहेको छ । शनिवार दिउँसो (११ भदौ) १ हजार २७३ मेगावाट आवर बिजुली भारतबाट आयात गरिरहेको थियो । सो समयमा नेपालले निर्यात गर्ने बिजुली आयातको तुलनामा बढी नै छ । ७ हजार ७०१ मेगावाट आवर बिजुली निर्यात भइरहेको प्राधिकरणको तथ्यांक छ ।
नेपाललाई आवश्यक हुने बिजुली प्राधिकरणले आयात पनि गर्छ । तर, प्राधिकरणले साउनमा निर्यातको तथ्यांक मात्रै सार्वजनिक गरेर आर्थिक वर्षको पहिलो महीनामा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको बताएको छ । सन् २०१३ यता २०२२ सम्म नेपालबाट केही अर्बमा बिजुली निर्यात भएको र भारतबाट खर्बमा आयात भएकोले निर्यातको झ्याली पिट्नु आवश्यक नरहेको ऊर्जाविद् श्रेष्ठ बताउँछन् । ‘२०१३ यता आयातको तुलनामा निर्यात नगन्य छ,’ उनी भन्छन् ।
नेपालका गाउँगाउँमा गुणस्तरीय बिजुली पुगेर सबैले फ्रिज, इन्डक्सन चुल्हो चलाउन पाएमा मात्रै निर्यातले सार्थकता पाउने उनको भनाइ छ । ‘कल्पना गर्नुस् त ग्रामीण ठाउँकी एक आमा साँझपख वनजंगलबाट फर्केर बिजुलीको स्वीच अन गरी खाना बनाउन थाल्दा कस्तो आनन्द हुन्थ्यो होला,’ उनी भन्छन्, ‘वनजंगलबाट थाकेर आएर दाउरा बाल्न झन्झट हटेर स्वीचबाटै आगो बालेर खाना पकाउन थाल्दा, गाउँका सर्वसाधारणले पनि बिजुली उपभोग गर्न पाएमा पनि निर्यातले अर्थ राख्छ ।’
‘ईश्वरबाट दया भयाको, आफ्ना मुलुकमा पाइन्या, वस्तुबाट मिल्न सक्ने फाइदा हामीले उठाउन सकेनौं भने त्यसभन्दा अफसोचको कुरा के छ रु’ चन्द्र शमशेरको भनाइलाई पछ्याएर अघि बढ्दा नेपालमा सबै कुरा विद्युत्बाटै सम्भव रहेको श्रेष्ठको भनाइ छ ।
नेपालमा रासायनिक मलको समस्या दशकौंदेखिको हो । प्रत्येक वर्ष खेतीको मौसममा किसानले रासायनिक मल पाउँदैनन् । समस्या समाधानका लागि बिजुली नै आवश्यक रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन् । नेपालमा प्रशस्त बिजुली भएको अवस्थामा बिजुलीबाटै रासायनिक मल उत्पादन गर्न सकिन्छ । शुरूमा रासायनिक मल कारखाना सञ्चालनका लागि लागत लागे पनि मल समस्याको दीर्घकालीन समाधान भनेकै बिजुली रहेको विज्ञहरू बताउँछन् ।
पछिल्लो समय सामसुङ कम्पनीले नेपालमै टेलिभिजन उत्पादन गर्ने भएको छ ।नवलपरासीमा सामसुङ ब्राण्डका टेलिभिजन उत्पादनका लागि एसेम्बलिङ उद्योगको शिलान्यास भइसकेको छ । नेपालमै उक्त किसिमका उद्योग भित्रिएमा नेपालमा रोजगारी बढ्छ । उद्योगले कर तिर्छन् । सरकारको आम्दानी बढ्छ । दैनिक १ हजार टेलिभिजन उत्पादन गर्ने लक्ष्य लिएको उद्योगले सम्भवतस् निर्यात गरेर डलरसमेत आम्दानी गर्नेछ । भारतको तुलनामा नेपालमा आधा सस्तोमा बिजुली उपलब्ध गराउन सकेमा वैदेशिक लगानी भित्रिने अर्थविद् नरबहादुर थापा बताउँछन् । आत्मनिर्भर अर्थतन्त्रको जड (जरो) नै विद्युत् रहेकाले सोही अनुसार प्राथमिकीकरण हुनुपर्ने थापा बताउँछन् । ‘जबसम्म हामी ऊर्जामा आत्मनिर्भर हुन सक्दैनौं, विद्युत्को आपूर्ति सुनिश्चित गर्न सक्दैनौं तबसम्म केही पनि सम्भावना छैन,’ उनी भन्छन्, ‘असारदेखि भदौसम्म ३६० मेगावाट बिजुली निर्यात गरेर मख्ख पर्नु आवश्यक छैन ।’
प्राधिकरणको तथ्यांक अनुसार नेपालले बर्खाको समयमा बिजुली निर्यात गरिरहेको छ । सुख्खायाममा भने नेपालले आयात गरिरहेको छ । निर्यातको तुलनामा आयातमा धेरै महँगो मूल्य नेपालले चुकाउनुपरेको छ । ३८ रुपैयाँ प्रतियुनिटसम्ममा पनि नेपालले विद्युत् खरीद गरिरहेको उदाहरण नेपालसँग छ । ‘अहिलेको दुनियाँमा बिजुलीबिना कुनै काम नै सम्भव छैन,’ अर्थविद् थापा भन्छन्, ‘जबसम्म बाह्रै महीना बिजुली आपूर्ति सुनिश्चित गर्दैनौं तबसम्म विदेशी लगानी आउँदैन । प्रशस्त बिजुली आपूर्ति गरेर सस्तोमा उद्योगलाई दिन सक्यौं भने बिहार, यूपीका उद्योगहरू उदयपुर, मोरङ, कैलाली, नवलपरासी क्षेत्रमा आउन सक्छन् ।’
भारतको तुलनामा ५० प्रतिशत सस्तोमा बिजुली उपलब्ध गराउन सकेमा भारतबाहेकका मुलुकबाट समेत उद्योगी नेपालमा आएर व्यवसाय गर्न सक्ने थापा बताउँछन् । ‘अहिलेको दुनियाँमा बिजुली हतियार हो,’ थापा भन्छन्, ‘उद्योगीलाई सस्तोमा प्रशस्त बिजुली आपूर्ति गराएमा नेपालमा विश्व ब्राण्डमा प्रतिस्पर्धी उद्योगहरू आउँछन् ।’
नेपालमा कम लागतमै उत्पादन भएको वस्तुलाई बजारको अभाव हुँदैन । नेपालका दुई छिमेकी भारत र चीन नै नेपालका ठूला बजार हुन् । नेपालका लागि चीन र भारतले बेलाबेलामा आफ्ना नाकाहरूमा अवरोध गर्ने तथा नीति फेरेर नेपाली चिया लगायतका वस्तु निर्यातमा बाधा उत्पन्न गर्छन् । सस्तोमा बिजुली उपलब्ध गराएर ती देशकै उद्योगी नेपालमा ल्याउन सकेमा त्यस्तो समस्या समेत हुँदैन । ‘जब भारत र चीनका लगानीकर्ता नेपाल आएर उत्पादन गर्छन् त्यतिबेला कुनै पनि देशले अवरोध सृजना गर्न सक्दैन,’ थापा भन्छन्, ‘उनीहरूले आफ्नो देशसँग आफैं ट्याकल गर्छन् । हामीले केवल विद्युत् उपलब्धताको सुनिश्चितता गरिदिनुपर्छ ।’
प्राधिकरणको तथ्यांक अनुसार हाल नेपालका ९२ प्रतिशत घरधुरीमा विद्युत् पहुँच छ । यद्यपि प्राधिकरणको सो तथ्यांकमाथि प्रश्न उठ्दै आएको छ । बिजुली उत्पादन गरेर नेपालमै खपत गर्ने, उद्योगी व्यवसायीलाई उपलब्ध गराउने गरी प्राधिकरणले अभियान चाल्नुपर्ने जानकारहरू औंल्याउँदै आएका छन् । किसानले ट्युबबेल चलाएर सिँचाइका लागि पानी तान्दा सरकारले सस्तोमा विद्युत् उपलब्ध गराउन सकेमा कृषिजन्य उत्पादनको लागत घट्छ । ‘मल कलकारखाना खुलोस्, किसानले सस्तोमा बिजुली पाउन् । सबैको घर–घरमा विद्युतीय चुलो होस्, सबैले विद्युतीय सवारी चढ्न पाउन्, बिजुली सस्तो भनेर विदेशी उद्योगीले समेत नेपालमा लगानी गरेमा पो विद्युत्मा आत्मनिर्भर,’ ऊर्जाविद् श्रेष्ठ भन्छन् । नेपालमा छेलोखेलो बिजुली उत्पादन गरेर कृषिको रूपान्तरण, उद्योगहरूको रूपान्तरण गर्न सकेमा मात्रै बिजुलीमा आत्मनिर्भर भएको मान्न सकिने अर्थविद् थापा बताउँछन् ।