आधुनिक नेपालको शुरूमा नेपालको अर्थतन्त्र अत्यन्त सानो आकारको थियो । त्यस बखत दुर्गम ग्रामीण बस्तीहरू थिए, सडक यातायातको अवस्था ज्यादै कमजोर थियो । शिक्षा, स्वास्थ्य र जनकल्याणकारी कार्यमा राज्यको ज्यादै कमजोर उपस्थिति थियो । राज्यको जिम्मेवारी भनेको राज्यमा समाहित ससाना राज्यसँग निश्चित कर लिएर आफ्नो राज्यको अधीनस्थ गर्नु र आफ्नो प्रतिनिधिसमेतको रोहबरमा त्यहाँको प्रशासन, स्थानीय राजारजौटा तथा सामन्तहरूलाई नै छोडिदिनु थियो । जनता अत्यन्त सोझा थिए ।
शिक्षा, स्वास्थ्य तथा यातायातको अवस्था ज्यादै कमजोर भएकाले केन्द्रीय तहमा शासकहरूको राजनीतिक छिनाझम्टीमा उनीहरूको कुनै पहुँच हुँदैनथ्यो । नेपालको एकीकरणमा सघाएको केही वर्गको सहयोगमा राजाले शासन गर्दथे । फलत: ग्रामीण स्तरमा आफूलाई चाहिने सामान, लत्ताकपडा, जडीबुटीको उत्पादन स्वयम् गाउँलेहरू नै गर्दथे । एक प्रकारले भन्ने हो भने त्यस बखतको सानो अर्थ व्यवस्था स्वावलम्बी अर्थ व्यवस्था थियो, आवश्यकता पनि निर्वाहमुखी थियो, उत्पादन पनि । नागरिकको मुख्य कार्य जीविकोपार्जन थियो । नेपाल संसारसँग धेरै खुलेको थिएन । त्यस बखत इन्डियामा अंग्रेज साम्राज्य र उत्तरमा भोट (तिब्बत) राज्यहरू थिए । भोटसँग हाम्रो ज्यादातर निर्यातजन्य व्यापार हुन्थ्यो, दक्षिणतर्फ पनि सानो मात्रामा कारोबार हुन्थ्यो । हामी खाद्यान्न, कपडा, जडीबुटीमा आत्मनिर्भर थियौं ।
समुद्री सतहको ५०० फिटदेखि शुरू २९२०० फिटसम्म रहेको हाम्रो देशमा यहाँको भौगोलिक विविधताले गर्दा हावापानी, ठाउँ र माटो अनुसार सबै प्रकारका बाली हुन्छन् ।
आत्मनिर्भरतामा अवरोध
सन् १९१६ र १९४० को प्रथम तथा दोस्रो विश्व युद्धपछि नेपालको अर्थतन्त्रको स्वरूप बिस्तारै बदलिँदै गयो । यो दुवै विश्वयुद्धमा लाखौं नेपाली युवाहरू मित्रराष्ट्र बेलायतको तर्फबाट युद्धमा सहभागी भए । फलत: यिनीहरूले आफ्नो पारिश्रमिकसहित त्यहाँ प्राप्त गरेका सुविधाहरू पेन्सन आदिबाट प्रशस्त विदेशी मुद्रा नेपालमा भित्र्याए । त्यसपछि हाम्रो अर्थ व्यवस्थाको आकार बढ्दै गयो । विदेशबाट प्रशस्त पैसा आउन थालेकोले हामी विदेशी सामानहरू पनि मगाउन थाल्यौं ।
आत्मनिर्भर अर्थतन्त्रमा पहिलो पटक हामी त्यहीँ चुक्यौं । हाम्रो देशको भौगोलिक स्थिति, कृषि, पशुपालन, जडीबुटी खेतीको सम्भावना, राष्ट्रिय आवश्यकताको लागि नयाँ नयाँ उद्योग स्थापना गर्नु पर्दथ्यो । त्यस बखत निर्वाहमुखी कृषि क्षेत्रबाट व्यवसायमुखी खेतीको प्रारम्भ गर्नुको सट्टा विदेशमा गएर श्रम गरेर प्राप्त आम्दानीबाट आयातित सामान प्रयोग गर्ने परम्परा बिस्तारै बढ्दै गयो र आधुनिक विश्वमा आएको औद्योगिक क्रान्तिबाट हामी छुट्यौं । त्यस बखतको नेपालमा निरंकुश राणा शासन थियो ।
शासकको मुख्य स्रोत विदेशमा नागरिक पठाएर त्यसबाट प्राप्त हुने विदेशी मुद्रा, नजराना निजी खातामा लिने, आयातित सामानबाट राजस्व उठाउने र राज्यलाई युवाविहीन मुलुक बनाएर आफ्नो शासनमा कतैबाट पनि विरोधको स्वर आउन नदिनु नै थियो । फलस्वरूप देशमा कलकारखानाको विकास, शैक्षिक तथा औद्योगिक वातावरण र सामाजिक समाजलाई सक्षम बनाउन राज्यको प्राथमिकतामा परेन ।
२००७ सालको क्रान्तिपछि राज्य राणाहरूको पञ्जाबाट मुक्त त भयो तर अपेक्षित रूपमा आत्मनिर्भर अर्थतन्त्रको लागि मुलुकले खास प्रगति गर्न सकेन । कारण ०७ देखि ०१५ सालसम्म मुलुक पुन: संक्रमणकालीन अवस्थामा नै रह्यो । श्री ५ त्रिभुवनले ०७ साल फाल्गुण ७ गते घोषणा गरेको संविधानसभाको निर्वाचन हुन सकेन । ०७ सालको क्रान्तिको नेतृत्व लिएको कांग्रेस र राजाको बीच शक्ति सङ्घर्ष बढ्दै अन्तत: राजाले कांग्रेसलाई शासन सत्ताबाट बाहिर राख्न अनेकौं नयाँ नयाँ प्रपञ्च गर्नुपर्यो र सरकार सधैं अस्थिर रह्यो । फलत: अनेकौं आरोह अवरोहहरू पार गर्दै २०१५ सालमा आम निर्वाचन भयो र नेपाली कांग्रेसले २ तिहाइ बहुमत ल्याई सरकार गठन गर्न सफल भयो ।
प्रथम आम निर्वाचनपछि गठित सरकारले पहिलो पटक मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको लागि वकालत गर्यो । पुराना अवशेषका रूपमा रहेका सामन्ती तथा बिर्ता उन्मूलन, आधुनिक भूमि सुधारको प्रारम्भ, मुलुकमा औद्योगिकीकरण शुरू, आधुनिक कर प्रणालीको शुभारम्भ, शिक्षा, स्वास्थ्यमा आमूल सुधार जस्ता कार्यक्रमहरू ल्यायो । सबैभन्दा महत्त्वपूर्ण प्रधानमन्त्रीले योजना आयोगमा एक हलो जोत्ने कृषकको फोटो राख्न लगाउनुभयो ।
प्रत्येक नेपालीको १५ वर्ष भित्रमा आफ्नो जस्तै आर्थिक स्थिति खेतीको लागि एक हल गोरु, पढ्नको लागि विद्यालय, उपचारको लागि अस्पताल र खानाको लागि एक दुहुनो गाई, तरकारीसहितको खानामा पुर्याउने उद्घोष गरी सही अनुमान सरकारको नीति तथा कार्यक्रम आयो । तर, नेपालको दुर्भाग्य भनौं यो दुई तिहाईबाट निर्वाचित सरकार पनि आफ्नो कार्यकाल पूरा गर्न पाएन । निर्वाचनको डेढ वर्ष ०१७ पौष १ गते नै राजा महेन्द्रले निर्वाचित सरकार अपदस्थ गरी पुन: निरंकुश प्रत्यक्ष शासनको लागि संविधान खारेज गरी सत्ता आफ्नो हातमा लिए ।
आत्मनिर्भर अर्थतन्त्रको सम्भावना
नेपालमा आत्मनिर्भर अर्थतन्त्रको सम्भावनाबारे अध्ययन गर्न वाञ्छनीय छ । मूलत: नेपालको अर्थतन्त्र कृषि, जलस्रोत, जङ्गल, जडीबुटी, पर्यटन, रेमिट्यान्स र औद्योगिकीकरणमा आधारित छ ।
क) कृषि
कृषिको कुरा गर्दा हामीले शुरूमै भन्यौं नेपाल एकीकरणपछि नेपालको अर्थतन्त्र सानो आकारको थियो । कृषिमा आधारित आत्मनिर्भर थियो । सन् १९७० को दशकसम्म हामी खाद्यान्नमा आत्मनिर्भर मात्र होइन, ठूलो परिमाणमा विदेशसमेत निर्यात गर्दथ्यौं । त्यसबखत धान, चामल निर्यात गर्न सरकारीस्तरबाट नै ७ वटा धान चामल निर्यात कम्पनी स्थापना भएका थिए । तर बिस्तारै वैदेशिक रोजगारमा जाने प्रचलन बढ्दै गयो । सरकारको कृषि नीतिप्रतिको प्राथमिकतामा कमी आयो, कृषि पेशा रहरको नभई बाध्यताको हुन गयो । समयमा मल, बीउबिजन उपलब्ध भएन ।
कृषिको समर्थन मूल्य या त नतोकिने, तोकिए पनि कार्यान्वयन नहुने कारणबाट बिस्तारै कृषिबाट युवाहरू पलायन हुँदै गए । फलत: पहाडी भूभागका अधिकांश कृषियोग्य जग्गाहरू या त बाँझो रहे या प्लटिङ गरी घडेरीमा परिणत भए । बढ्दो शहरीकरण र वैदेशिक रोजगारीले गर्दा पहाडमा श्रम शक्ति कमी हुँदै गयो र आज कृषि निर्यातको सट्टा खर्बौं रुपैयाँको खाद्यान्न, तेलहन, दलहन, फलफूल, तरकारी जस्ता वस्तुहरू हामी विदेशबाट आयात गरिरहेका छौं ।
कृषिको आधुनिकीकरण गर्न सरकार एक पटक निर्मम रूपमा प्रस्तुत हुनु नै पर्छ । खासगरी निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायमुखी बनाउन र कृषिभित्र रहेका प्रचुर सम्भावनाहरूलाई उजागर गरी विदेश जानुभन्दा आफ्नै मुलुकमा रहेर कृषि कार्य गरी एक मध्यमस्तरका पारिवारिक जीवनयापन गर्न सकिन्छ र कृषि पेशा सम्मानजनक हो भन्ने भावना जगाउन सक्नुपर्छ । कृषिको आधुनिकीकरण, यान्त्रीकरण, सही बीउ बिजनको उपलब्धता, जमिनको चक्लाबन्दी, गलत भूमि सुधारको अन्त, सामूहिक खेती तथा सबैभन्दा महत्त्वपूर्ण कृषिको सही बजारीकरण र बिचौलियाहरूको भूमिका न्यून गर्नु आजको परम आवश्यकता हो ।
समुद्री सतहको ५०० फिटदेखि शुरू २९२०० फिटसम्म रहेको हाम्रो देशमा यहाँको भौगोलिक विविधताले गर्दा हावापानी, ठाउँ र माटो अनुसार सबै प्रकारका बाली हुन्छन् । उच्च मूल्यका गुणस्तरीय वस्तुहरू उत्पादन गर्न संसारभर निर्यात गर्न सक्ने क्षमता हामीसँग छ तर कृषिमा सरकारको प्राथमिकता नै नपर्नु वा प्राथमिकता परे जस्तो देखिए पनि कार्यान्वयन पक्ष अत्यन्त फितलो हुनु, कृषि क्षेत्रमा व्यापक भ्रष्टाचार हुनु र सही कृषक समक्ष सरकारको पहुँच नहुनुले आज हामी कृषिका सबै प्रकारका वस्तुहरू आयात गरिरहेका छौं, जुन आयात प्रतिस्थापनामा एक ठूलो चुनौती हो ।
ख) जलस्रोत
नेपालको आत्मनिर्भर अर्थतन्त्रको मुख्य कडी जलस्रोतको विकास हो । वि.सं. २०५२ सालमा माओवादी द्वन्द्व शुरू भएपछि भएको अशान्तिले गर्दा करीब १५ वर्षसम्म विद्युत्का कुनै पनि नयाँ आयोजनाहरू नआएका, भएका आयोजनालाई पनि माओवादीहरूले तोडफोड गरेकाले विगतमा दैनिक १८ घण्टासम्म मुलुकले लोडसेडिङको समस्या भोग्नु परेको थियो । तर, मुलुक शान्ति प्रक्रियामा गएपछि र निजीक्षेत्रको आक्रमक प्रवेश तथा वैदेशिक लगानीको प्राप्तिले जलस्रोतको क्षेत्रमा उत्साहजनक कार्य भई गत वर्षदेखि करीब ६ महिनासम्म केही प्रतिशत विद्युत् निर्यात गर्न सक्ने अवस्थामा मुलुक पुगेको छ । तापनि यस क्षेत्रमा लगाउनुपर्ने पर्याप्त पूँजीको अभाव, आम जनताहरूसँगको अन्तद्र्वन्द्व र प्रसारण लाइनको सुदृढीकरण, भारत तथा बङ्गलादेश बीच विद्युत् निर्यातमा गर्नुपर्ने अझ सहजीकरण जस्ता समस्या समाधान गरी मुलुकमा रहेको विद्युत् क्षमताको सदुपयोग गर्न सकेमा आत्मनिर्भर यो क्षेत्र अर्थतन्त्रको एक सफल पाटो बन्न सक्नेमा सन्देह छैन ।
ग) वनजङ्गल
नेपालको सम्पूर्ण भूमिको ४५ प्रतिशत भूमि वनजङ्गलमा छ । यति ठूलो वनको क्षेत्रबाट हामीले राष्ट्रिय आयमा के प्राप्त गर्न सक्यौं, अनुसन्धान गर्ने बेला आइसकेको छ । वातावरणको दृष्टिबाट वन जङ्गलको विनाश रोक्नु राज्यको पहिलो कर्तव्य हो । तर, वनजङ्गलको संरक्षण गर्दै गर्दा हामी सो वनलाई व्यवस्थित एवम् व्यावसायिक वन बनाउन सक्दैनौं ? जसबाट राष्ट्रिय आयमा वृद्धि होस् ।
नेपालको धन हरियो वन भन्ने उक्ति अब सन्दर्भहीन भइसकेको छ । अर्बौं रूपैयाँको काष्ठ र काष्ठसामग्रीहरू हामी विदेशबाट मगाइरहेका छौं तर मुलुकमा भएका धेरै काठहरू कुहिएर सडेर गइरहेका छन् । यो अन्तद्र्वन्द्वको अवस्था रहेसम्म हामी कसरी आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न सक्छौं ? सोचनीय विषय छ । तसर्थ हाम्रो वन क्षेत्रबाट स्थानीय समुदाय र विज्ञ टोलीलाई परिचालन गरेर व्यावसायिक वन खेती गरी वातावरण संरक्षण गर्दै खेती गर्न जरुरी छ । नेपाली भूमिको मध्य पहाडी क्षेत्रमा चिया, कफी तथा अलैंची खेती वातावरणको दृष्टिकोणले पनि अति उपयुक्त खेती हुन् जसले पहाडको माटो बगाएर समुद्रसम्म पुग्न केही हदसम्म रोक्न सक्छ । पहाडी क्षेत्रमा पकेट क्षेत्रको छनौट गरी स्याउ, ओखर, सुन्तला, कागती आदि जातिका फलफूलहरू उत्पादन गरी वातावरण समेत जोगाई आय आर्जन गर्न सक्छौं ।
पहाडी क्षेत्रमा बाँदरको समस्याबाट मुक्त पाउन टिमुर आदि मसला र व्यापक रूपमा ठाउँ अनुसार चिराइतो आदि प्रकारका जडीबुटीको खेती गरी वन क्षेत्रको सदुपयोग गर्न सक्छौं । अहिले आयुर्वेद उपचार पद्धतिको विश्वसनीयता बढ्दै छ । नेपालको भौगोलिक कारणबाट यहाँ व्यावसायिक जडीबुटी खेतीको प्रचुर सम्भावना छ । तर सरकारी नीति त्यसप्रति सकारात्मक छैन र सरकार सोच समेत यसतर्फ पुगेको छैन । आत्मनिर्भर अर्थतन्त्रको लागि वन क्षेत्रमा व्यावसायिक वन र जडीबुटी खेतीतर्फ दीर्घकालीन ऐन, नियम र नीति आउनु जरुरी छ ।
घ) पर्यटन
आत्मनिर्भरताको लागि पर्यटन नेपालको महत्त्वपूर्ण साधन हो । यहाँको सौन्दर्य, पहाड, मधेश र हिमाली क्षेत्रको संगम, बौद्ध धर्मावलम्बीहरूको लागि बुद्धको जन्मस्थल लुम्बिनी, हिन्दूहरूको लागि प्रसिद्ध पशुपतिनाथ, रामजानकी मन्दिर, मन्दिरै मन्दिरको शहर काठमाडौं उपत्यका, प्रकृति प्रेमीको लागि विश्वको सबैभन्दा अग्लो सगरमाथासहितका सयौं हिमाली क्षेत्र, विभिन्न आधार शिविरहरू, पर्यटनको लागि उपयुक्त पूर्वाधार, पाहुनाहरूको सम्मानमा समर्पित नेपाली जनता आदिले गर्दा पर्यटनको प्रचुर सम्भावना रहेको छ । राज्यले त्यसको पूर्वाधारमा थप लगानी गरी निजी क्षेत्र समेतको सहयोगमा यो क्षेत्रलाई विकसित गर्न सकेमा मुलुकलाई स्वावलम्बी अर्थतन्त्रमा रूपान्तरण गर्न सकिनेछ ।
ङ) विप्रेषण
विप्रेषण नेपालको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने साधन हो । तर हाम्रो मुख्य विडम्बना भनेको ठूलो सङ्ख्याका अदक्ष कामदारहरू वैदेशिक रोजगारीको लागि विदेश जाने भएकोले मुलुकलाई उनीहरूबाट प्राप्त हुने पारिश्रमिकबाट जति फाइदा हुनुपर्ने हो भएको छैन । राज्यले विभिन्न तहमा प्राविधिक शिक्षा, भाषा ज्ञान दिएर दक्ष कामदार विदेश पठाउन प्रयत्न गर्नु पर्दछ । यसबाट वैदेशिक रोजगारमा जाने कामदारले बढी पारिश्रमिक पाओस् । तर अहिले विप्रेषणको मुख्य २ वटा बेफाइदा देखाइरहेको छ । यसले गर्दा व्यक्तिको पारिवारिक संरचनामा ठूलो विखण्डन आएको छ ।
वैदेशिक रोजगारकै कारणबाट कतिपय घरहरू विखण्डनतर्फ गई परिवार तहसनहस भएका छन् । अर्को पहाडी तथा ग्रामीण कामदार वैदेशिक रोजगारमा जाँदा हाम्रो कृषि उपजमा नराम्रो असर गर्यो र बिस्तारै खेती गर्ने परिपाटी बन्द हुँदै गयो । पुन: १ जनाको कमाइबाट आश्रित परिवार पालिने भएकोले श्रम शक्तिको पनि सदुपयोग नभई राष्ट्रलाई प्रतिकूल परेको देखिन्छ । यी अवस्थाहरूलाई क्रमश: सुधार गर्दै विप्रेषणको सकारात्मक पक्षमा ध्यान दिनुपर्छ । यसबाट आएको आम्दानी उपभोग्य वस्तुमा मात्र खर्च नगरी उत्पादनमूलक क्षेत्र र व्यावसायिक क्षेत्रमा प्रयोग गर्न सके मुलुकलाई दीर्घकालीन फाइदा हुनेछ ।
च) औद्योगिकीकरण
हरेक देशलाई आत्मनिर्भर अर्थतन्त्रको मुख्य कडी भनेको औद्योगिकीकरण हो । दुर्भाग्य, हाम्रो देश आजसम्म आयातमुखी अर्थतन्त्रबाट सञ्चालन भइरहेको छ । सरकारले एक पटक निर्मम समीक्षा गरी औद्योगिकीकरणका लागि ठोस ऐन, नीति नियम बनाई विदेशी पूँजीलाई समेत आकर्षित गरी औद्योगिकीकरणमा जान ढिलो भइसकेको छ ।
छ) सूचना प्रविधि
प्रविधिको उच्चतम विकासले संसार सानो भइसकेको छ । प्रविधिको माध्यमबाट हामी नेपालमा नै बसेर संसार भरको काम गर्न सक्छौं । सफ्टवेयरको विकासले अबको १० वर्षमा जुन देशले यस क्षेत्रमा बढी विकास गर्यो त्यही देश विकसित हुने अवस्था छ । तसर्थ आत्मनिर्भर अर्थतन्त्रको लागि आजको उच्चस्तरीय प्रविधिको विकास गर्नु अति आवश्यक छ । रिसर्च एण्ड डेभलपमेन्टमा लाग्ने खर्च राज्यले लगानी गरी यस क्षेत्रमा आक्रामक रूपमा जानु आजको आवश्यकता हो । यस बाहेक देशभर उच्च गुणस्तरीय शिक्षण संस्था, स्वास्थ्य संस्था, खोली देशलाई शिक्षा तथा स्वास्थ्यको हब बनाउन सके र विदेशबाट वृद्धवृद्धाहरू यहाँ आएर बस्न सक्थे वृद्धाश्रम खोली उनीहरूलाई आकर्षित गर्न सके अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ ।
( गौतम वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन् )