ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान १७ औं वार्षिकोत्सव विशेष : पूँजी परिचालनको सशक्त माध्यम

२०७९ भदौ, २६  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

नेपाली पूँजीबजारको इतिहास २ दशकभन्दा धेरै लामो छैन । सँगसँगै शुरू भएको पूँजीबजारको गति भने छिमेकी मुलुकमा धेरै अगाडि बढिसकेको अवस्था छ । भारतकै कुरा गर्ने हो भने पनि उसले पूँजीबजारको विकासका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गरिसकेको छ । चीनको पनि यही अवस्था छ । ती मुलुकको पूँजीबजार अन्तरराष्ट्रिय स्तरको र पूर्ण प्रविधिमैत्री भइसक्दा पनि हाम्रो भने धेरै मन्द गतिमा अगाडि बढ्दैछ । नेपालको पूँजीबजार न पूर्ण रूपमा प्रविधिमैत्री हुन सकेको छ न त अन्तरराष्ट्रिय स्तरको नै । 

नेपाल लामो समयसम्म राजनीतिक अस्थिरताबाट गुज्रियो, जसले गर्दा देशको आर्थिक विकास हुन सकेन । पूँजीबजारलाई अर्थतन्त्रको ऐनाको रूपमा परिभाषित गरिए पनि जबसम्म अर्थतन्त्र सबल हुँदैन तबसम्म यसको विकास र विस्तार हुँदैन । अर्कोतिर जबसम्म पूँजीबजार बलियो हुँदैन, तबसम्म अर्थतन्त्र सबल पनि हुँदैन । अर्थतन्त्र सबल नहुँदा पूँजीबजारको विकास पनि अपेक्षित रूपमा हुन सक्दैन । नेपालको पूँजीबजार जुन गतिमा विकास हुनुपर्ने थियो, त्यो गतिमा विकास हुन नसके पनि केही कुरामा विकास भएको छ ।

घण्टौं लाइनमा बसेर कम्पनीको आईपीओ र एफपीओमा आवेदन दिनुपर्नेे बाध्यताको अन्त्य सी–आस्बा प्रणालीले गरेको छ । त्यसैगरी डिम्याट खाताको शुुरुआतसँगै शेयरका कागजी प्रमाणपत्र बोकेर हिँड्नुपर्ने झन्झटबाट पनि लगानीकर्ताले मुक्ति पाएका छन् । वास्तवमा नेपालको पूँजीबजारको हकमा यो ठूलो परिवर्तन हो ।

हरेक बादलभित्र चाँदीको घेरो हुन्छ भने जस्तै पूँजीबजारको विकास र विस्तारका लागि अहिले धेरै सम्भावना अगाडि आएका छन् । हाम्रो पूँजीबजारमा अझै पनि बैंक, वित्तीय संस्था र हाइड्रोपावरको बाहुल्य छ ।


प्राथमिक शेयर बजारले यो अवधिमा गति त लिएको छ तर त्यो गतिमा दोस्रो बजारले विकास गर्न नसकेको अवस्था छ । अहिले पनि ५० ओटा ब्रोकर कम्पनीको सिन्डिकेटमा खर्बौंको दोस्रो बजार चलिरहेको छ । देशका सीमित ठूला शहरमा मात्र शेयर कारोबार हुँदै आएको छ । नेपाल धितोपत्र बोर्डले अहिले ब्रोकर कम्पनीको शाखा विस्तार गर्न थप अनुमति दिइसकेको छ । बैंकका सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिने व्यवस्था गर्ने हो भने त नेपालको शेयरबजार ७५३ ओटा स्थानीय तहमा पुग्छ । त्यसपछि शेयरबजार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्मका सर्वसाधारणको पहुँचमा पुग्नेछ । बैंकसँग पर्याप्त स्रोत साधन र पहुँच रहेको हुँदा दुर्गम स्थानसम्म शेयरबजारलाई पुर्‍याउन सजिलो हुन्छ ।

यसरी अनलाइन प्रणालीको शुुरुआत र बैंकलाई ब्रोकर लाइसेन्ससँगै नेपालको शेयर बजारले ठूलो छलाङ मार्न सफल हुने विश्वास गर्न सकिन्छ ।हाल ५३ लाख ७५ हजारभन्दा बढीले आईपीओ भर्न डिम्याट खाता खोलिसकेको अवस्था छ । सर्वसाधारण लगानीकर्ताले आईपीओ र एफपीओ सी–आस्बाको प्रयोग गरी जहाँबाट पनि भर्न पाउने त भए तर आईपीओ र एफपीओमा परेको शेयरको उचित मूल्य पाउँदा पनि विक्री गर्ने सुविधा अहिलेसम्म पाउन सकिरहेका छैनन् । 

पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको शुरूआत भइसके पनि धेरै समयदेखि लगानीकर्ताले शेयर बजार पूर्ण प्रविधिमैत्री हुनुपर्ने र छुट्टै अनलाइन कारोबार प्रणालीको शुरूआत गर्नुपर्ने माग उठाउँदै आएका छन् । विगतलाई  हेर्ने हो भने पनि जब नेपालको पूँजीबजारमा नयाँनयाँ प्रविधिको प्रयोग भएको छ, तब बजारले एउटा नयाँ इतिहास रचेको छ ।

हाल ५३ लाख ७५ हजारभन्दा बढीले आईपीओ भर्न डिम्याट खाता खोलिसकेको अवस्था छ । सर्वसाधारण लगानीकर्ताले आईपीओ र एफपीओ सी–आस्बाको प्रयोग गरी जहाँबाट पनि भर्न पाउने त भए तर आईपीओ र एफपीओमा परेको शेयरको उचित मूल्य पाउँदा पनि विक्री गर्ने सुविधा अहिलेसम्म पाउन सकिरहेका छैनन् । 

२०७३ साल साउन १ गतेदेखि काठमाडौं उपत्यका र २०७३ माघ १ गतेदेखि देशभरि डिम्याट प्रणालीलाई अनिवार्य गरियो । त्यसपछि शेयर बजारले २०७३ साउन १२ गते १ हजार ८८१ अंकको ऐतिहासिक उचाइ चुम्यो । यसरी नयाँ प्रविधिको प्रयोगसँगै नेपाली शेयर बजारले एउटा नयाँ इतिहास रचेको देखिन्छ ।

योबाहेक पूँजीबजारलाई अझ प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षमा आफ्नो नीति तथा कार्यक्रममा धेरै राम्रा कुरा ल्याएको छ । गैरआवासीय नेपालीलाई नेपाली पूँजीबजारमा भित्र्याउन ऐन, नियम बन्दै छन् ।

संवेदनशील धितोपत्र बजार

धितोपत्र बजार अत्यन्त संवेदनशील हुन्छ । हरेक समयमा यसले बलियो अभिभावकको साथ खोजिरहेको हुन्छ । कुनै पनि राम्रो कामलाई समाजले चिन्न र कामको उचित मूल्यांकन गर्न लामो समय लाग्छ । तर, यसको ठीकविपरीत नराम्रो काम भने छिट्टै फैलन्छ । स–साना समाचार, अभिव्यक्ति, वित्तीय विवरणले पनि बजारलाई असन्तुलित, अस्थिर र अत्यन्त प्रभावित बनाउँछ भने त्यस्तो बजारलाई संवेदनशील भन्ने गरिन्छ । त्यस्तो धितोपत्र बजारलाई प्रदूषित सूचनामुक्त गरेर बजार विकास गर्ने कर्तव्य सबैको उत्तिकै हुन्छ । बजार बलियो भएमात्र यसका सबै सदस्यले आर्थिक लाभ पाउन सक्छन् ।

पहिले शेयर बजार भनेको कुनै सीमित वर्गको मात्रै चासोको विषय थियो । अझ पहिले त लगानी गर्‍यो भने डुबिन्छ भन्ने सोच थियो । यो सोच अहिले बदलिएको छ । शेयर बजारबारे धेरैले बुझिसकेका छन् । यसक्षेत्रमा लगानीकर्ताको आकर्षण धेरै बढिसकेको छ । यहाँ बुझ्नै पर्ने महत्त्वपूर्ण कुरा भनेको शेयरबजारमा जोखिम पनि छ भन्ने हो । अझै पनि धेरैले यो जोखिमरहित बजार हो भन्ने बुझिरहेका छन् । बजार भनेको सधैं बढ्छ भन्ने सोच लगानीकर्तामा देखिन्छ । बजार सधैं बढ्दैन भन्ने कुरा पनि बुझ्नु आवश्यक छ । जोखिम पनि भएको क्षेत्र शेयर बजार हो भन्ने कुरा बुझ्न र बुझाउन सके धितोपत्रलाई पनि लगानीको क्षेत्रको रूपमा अगाडि बढाउन सकिन्छ ।

शेयरबजारका विश्लेषकहरूले त सामान्यतया शेयर भनेको घटेको बेलामा किन्ने र बढेको बेलामा बेच्ने नै हो भन्ने गरेका छन् । लगानीकर्ताले सामाजिक सञ्जालमा चलेको ट्रेन्ड र हल्लाको भरमा कसले के भन्छ, त्यसको पछि नलागीकन स्वविवेकले अध्ययन गरेर शेयर खरीद गर्नुपर्छ । अरूले भनेको आधारमा  खरीदविक्री गर्नु हुँदैन । हाम्रोमा होस् या विदेशमा होस् कुनै पनि बजारमा ठूला लगानीकर्तासँग पैसा छैन भने बजारमा माग घट्छ । सबैभन्दा ठूलो लगानीकर्ता भनेको बैंक नै हो । हामीले पूँजीबजारमा लगानी गर्ने रकम पनि बैंकले दिने कर्जा नै हो । अहिले कमजोर  अर्थतन्त्र र तरलताका कारण बैंकमा पर्याप्त रकम नभएपछि माग पक्ष केही कमजोर भएको अवस्था छ । बजार भनेको माग र आपूर्तिको आधारमा चल्ने हो ।

शेयर विश्लेषक नवराज दाहालको भनाइमा लगानीकर्ताले पैसा छ भन्दैमा सबै एकैपटक लगाउनु हुँदैन । बजारमा कोही पनि विज्ञ हुँदैन, विज्ञ हुँ भन्नेले पनि बजारमा घाटा खाएका हुन्छन् । तर, बजारबाट घाटा खाए पनि आफ्नो दैनिकी चलाउन असर नगर्ने गरी लगानी गर्नुपर्छ । 

शेयरबजार पूँजी निर्माणको महत्त्वपूर्ण आधार हो । ठूला–ठूला उद्योग, व्यापार, भौतिक पूर्वाधारलगायत क्षेत्रको विकासका लागि विदेशी दातृ निकायसामु सहयोगको हात पसार्नुको साटो आफ्नै देशमा छरिएर रहेको स–सानो पूँजी एकत्रित गर्दै लगानी गरी देश विकास र जनताको जीवनस्तर दुवै सुधार्न सकिन्छ । यस्तो पूँजीबजारलाई राज्यले सोही अनुरूपको महत्त्व दिएर व्यवहार गर्न सके पक्कै पनि देशको समग्र विकास हुनेमा दुई मत छैन ।

छिमेकी देशको तुलनामा सानो अर्थतन्त्र भएको मुलुकमा सरकारलगायत नियामकीय निकायले पूँजीबजार पूर्वाधारको विकासमा जोड दिनु आवश्यक छ । यसको लागि भने नियमनकारी निकायको सहयोग र समन्वय आवश्यक छ । यसो भयो भने हाम्रो देशको पूँजीबजार पनि छिट्टै अन्तरराष्ट्रिय स्तरको र प्रविधिमैत्री हुन सक्छ । त्यस्तै पूँजीबजारको महत्त्वपूर्ण खम्बाको रूपमा रहेको नेप्से र सीडीएस लिमिटेडको कार्यक्षमतालाई थप प्रतिस्पर्धी र बजारमैत्री बनाउन त्यसको संरचनात्मक सुधार आवश्यक भइसकेको छ ।

पूँजीबजारको विकास र विस्तारको लागि त्यसको नियमनकारी निकायलाई जवाफदेहिता सहितको स्वायत्तता दिनुपर्छ भन्ने बारेमा समय समयमा आवाज उठ्ने पनि गरेका छन् । उद्योगी, व्यवसायी र लगानीकर्ताका छाता संगठनहरूले पनि पटकपटक नयाँ स्टक एक्सचेन्जको माग गर्दै आएका छन् । निजीक्षेत्रको एक्सचेन्ज नआउँदासम्म पूँजीबजारको विकास हुन सक्दैन भनेर धेरैले भनिरहेका छन् । विश्वका अरू  देशको कुरा गर्ने हो भने पनि स्टक एक्सचेन्ज निजीक्षेत्रले सञ्चालन गरिरहेका छन् । भारतमा निजीक्षेत्रबाट स्टक एक्सचेन्ज सञ्चालनमा आएपछि लगानीकर्तालाई निकै सहज भयो । यसको ज्वलन्त उदाहरण नेपालमा निजीक्षेत्रबाट खोलिएका बैंकलाई  नै लिन सकिन्छ । निजीक्षेत्रका बैंक आइसकेपछि सर्वसाधारणले धेरै सुविधा पाएका छन् भने सरकारी बैंकको पनि क्षमता बढेको छ । 

हरेक बादलभित्र चाँदीको घेरो हुन्छ भने जस्तै पूँजीबजारको विकास र विस्तारका लागि अहिले धेरै सम्भावना अगाडि आएका छन् । हाम्रो पूँजीबजारमा अझै पनि बैंक, वित्तीय संस्था र हाइड्रोपावरको बाहुल्य छ । स–साना वित्तीय संस्था पनि शेयर बजारमा सूचीकृत भएका छन् । ठूला–ठूला सेवा र उत्पादन क्षेत्रका कम्पनीहरू अझै सूचीकृत भएका छैनन् । पूँजीबजारको विकासका लागि वास्तविक क्षेत्रका संगठित संस्थाको प्रवेश अपरिहार्य छ । विकसित मुलुकको पूँजीबजारको अवस्थालाई अध्ययन गर्ने हो भने त्यहाँ वास्तविक क्षेत्रका कम्पनीको बाहुल्य रहेको पाइन्छ । नेपालमा उल्टो अवस्था देखिन्छ ।

नेपालको पूँजीबजार अपेक्षाकृत फराकिलो र पहुँचयोग्य हुन सकेको छैन । पूँजीबजार सीमित क्षेत्रमा खासगरी वित्तीय क्षेत्रमुखी रहेको र त्यसमा पनि मूलत: शेयर केन्द्रित छ । पूँजीबजारको दायरा फराकिलो गर्ने, विविधीकरण गर्ने, यसलाई सघन बनाउने र यसमा सर्वसाधारणको पहुँच बढाउने चुनौती सरकारसँग मात्र होइन नियामकीय निकायसामु विद्यमान छ । पूँजी परिचालन गर्ने एउटा सशक्त माध्यम पूँजीबजार हो ।

नेपालमा पूँजीबजारको विस्तार हुँदै गइरहेको छ । विगत केही वर्षको तथ्यांकलाई हेर्ने हो भने प्राथमिक बजारमार्फत पूँजी संकलन गर्न लागेका संगठित संस्थाको धितोपत्रमा माग गरिएभन्दा कयौं गुणा बढी आवेदन प्राप्त भइरहेको छ । यसले देशको विकासका लागि आवश्यक पूँजी यहीँबाट परिचालन गर्न सकिन्छ भन्ने तथ्यलाई प्रस्ट गरेको छ । 

निष्कर्ष
विश्वसनीय, पारदर्शी तथा गतिशील पूँजीबजारको विकास गरी अर्थतन्त्रको मेरूदण्डका रूपमा यसलाई विकास गर्नु जरुरी छ । साथै संस्थागत लगानीकर्तालाई बजारमा ल्याउने, ठूलाठूला परियोजनालाई चाहिने दीर्घकालीन पूँजी पूँजीबजारको माध्यमबाट उपलब्ध गराउन सकिएमा र गैरआवासीय नेपालीको लगानीलाई पूँजीबजारमार्फत भित्र्याउन सकिएमायसमा सुधार आउने देखिन्छ ।यी  र  यस्ता सम्भावनाहरू यथार्थमा परिणत भएको खण्डमा  मात्र पूँजीबजारका लागि साँच्चिकै स्वर्णिम  युग सावित हुनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)