ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान १७ औं वार्षिकोत्सव विशेष : रासायनिक मलको विकल्प खोज्ने बेला

२०७९ भदौ, २७  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रशान्त खड्का

आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि सबैभन्दा उच्च प्राथमिकतामा परेको क्षेत्र हो । तर यही क्षेत्रमा सबैभन्दा बढी बेथिति छ । अहिलेको समयमा कृषि उत्पादन र उत्पादकत्व बढाउन मल अनिवार्य मानिन्छ । रासायनिक र जैविक दुवै मलको प्रयोग भइरहे पनि अहिले रासायनिक मल नै व्यापक प्रयोग छ । नेपालको सन्दर्भमा पछिल्लो समय प्राङ्गारिकभन्दा पनि रासायनिक मलको प्रयोग गर्ने किसान बढी छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको एक तथ्यांकअनुसार नेपालमा कुल खेती गरिएको जमीनको शून्य दशमलव २३ प्रतिशत अर्थात् ९ हजार ७ सय ८९ हेक्टरमा मात्रै प्राङ्गारिक मलको प्रयोग हुने गरेको छ । त्यसैले त सरकारले हरेक वर्ष रासायनिक मल खरीदका लागि अर्बौं रुपैयाँ बजेट छुट्याउने गरेको छ । तर, खेतीपातीको समयमा सधैंजसो रासायनिक मलको हाहाकार हुन छाडेको छैन ।

रासायनिक मल खरीदका लागि सरकारले चालू आर्थिक वर्षमा १५ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा पनि सरकारले यसका लागि सोही मात्रामा बजेट छुट्याएको थियो । सरकारले रासायनिक मल खरीदमा ठूलो रकम खर्चिने गरेको भए पनि रासायनिक मलको अभावलाई कहिल्यै सम्बोधन गर्न सकेको पाइँदैन । यस वर्ष त झन् रोपाइँ सकिन लाग्दा पनि किसानले मल पाउन सकेनन् । रासायनिक मलको सहज उपलब्धता गराउन तत्कालीन कृषि मन्त्री महेन्द्रराय यादव आफैं भारत पुगे पनि उनको केही शीप चलेन ।

रासायनिक मलको विकल्पका रूपमा नेपालमा अजोला प्लान्ट, भर्मी कम्पोष्ट मल, गोठेमल प्रयोगको अवधारणाहरू आएका छन् ।

 

यही अभावका बिचमा एकथरी कृषि अभियन्ता तथा कृषिसँग सरोकार राख्ने विज्ञहरूले भने खेतीपातीका समयमा मलको अभाव हुन नदिन र मलमा आत्मनिर्भर हुनका लागि रासायनिक मलको विकल्प खोज्नुपर्ने आवाज उठाइरहेका छन् । धेरै पहिलेदेखि यस्ता आवाजहरू उठ्ने गरेको भए पनि सरकारको भने यसतर्फ ध्यान जान सकेको देखिंदैन । तर, सानोतिनो रूपमा रासायनिक मलको विकल्प खोज्ने कार्य भने कृषिसँग सरोकार राख्ने केही निकायहरूले गर्दै आइरहेका छन् ।

रासायनिक मलको विकल्पका रूपमा नेपालमा अजोला प्लान्ट, भर्मी कम्पोष्ट मल, गोठेमल प्रयोगको अवधारणाहरू आएका छन् । 

सबैभन्दा पहिला अजोला प्लान्टको बारेमा छलफल गरौं । अजोला प्लान्टको प्रयोग अहिले राष्ट्रिय खाद्य बैंक लिमिटेडले बर्दिया जिल्लाको गुलरिया नगरपालिकास्थित धान खेतीमा गरिरहेको छ ।

विज्ञहरूका अनुसार अजोलाको प्रयोगले धान बालीमा युरियाको खपत करीब ५० प्रतिशतसम्म घटाउने गर्दछ । किसानले आफूले प्रयोग गर्दैै आइरहेको मलको मात्रा ५० प्रतिशत घटाएर प्रयोग गरे पनि पुग्ने भएकाले रासायनिक मलको चरम अभावलाई यसले केही राहत दिने देखिन्छ । 

अजोला प्लान्ट पानीमा उम्रने एक किसिमको झार हो । यसलाई पानी उन्युँ भनेर पनि चिनिन्छ । विज्ञहरूका अनुसार उत्पादन लागत पनि सस्तो पर्ने र यसको प्रयोगले मानव स्वास्थ्यमा समेत नकारात्मक असर नगर्ने भएकोले अजोला प्लान्ट प्रविधि चीन, दक्षिण भारत, फिलिपिन्स लगायतका देशहरूले समेत अपनाएका छन् ।

धान खेतभित्र उम्रिने अन्य झारपातहरू समेत नष्ट गर्न र माटोलाई मलिलो र उर्वर बनाइराख्नमा पनि यसले मद्दत गर्दछ । पानी जम्ने पोखरी बनाई सोही पोखरीमा यसको उत्पादन गर्न सकिन्छ । १ केजी अजोला प्लान्ट पोखरीमा राखेको १५ दिनभित्र दोब्बर उत्पादन हुने भएकाले यसको उत्पादन पनि सहज तरीकाले गर्न सकिने विज्ञहरू बताउँछन् ।

यसले हावामा भएको नाइट्रोजन आफूमा लिने र आफूसँगै उम्रिएका अन्य बिरुवालाई पनि उक्त नाइट्रोजन लिन मद्दत गर्ने भएकाले धान रोपेर जरा लागिसकेपछि यसलाई धान खेतभित्र छर्किन सकिन्छ । सामान्यतया धान रोपेको एक साता देखि १२ दिनभित्र पानीले भरिएको धानखेतभित्र यसको प्रयोग गर्न सकिन्छ । पूरै खेतमा अजोला फैलिइसकेपछि धान खेतभित्रको पानी सुकाउनु पर्दछ । त्यसको केही दिनभित्र यो कुहिन्छ र पुनस् पानी हाल्न सकिन्छ ।

यसको लागत प्रतिकिला २ पैसा मात्रै पर्छ । धान खेतमा यसको प्रयोग गर्नाले धानको उत्पादन समेत १० देखि १४ प्रतिशतसम्म बढेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् । साथै, कुखुरा र पशुचौपायाको दानामा समेत सुकाएर यसको प्रयोग गर्न सकिने भएकोले यसलाई बहुउपयोगी बिरुवाका रूपमा लिन सकिन्छ । 

कुखुराको दानामा यसको प्रयोग गरेमा कुखुराको स्वास्थ्य राम्रो हुनगई मासु र अन्डाको उत्पादन पनि बढ्ने गर्दछ । त्यसैगरी गाई, भैंसीलाई ढुटो वा भुसामा मिसाएर खुवाउनाले दूधको उत्पादन समेत १० प्रतिशतले बढ्छ । 

रासायनिक मलको विकल्पमा भर्मी कम्पोष्ट मललाई समेत प्रयोग गर्न सकिन्छ । ४ इन्च जति लामो एक किसिमको रातो गड्यौंलाको प्रयोगबाट बन्ने भएकाले यसलाई गड्यौंला मल पनि भनिन्छ । गड्यौंलाले कुहिने किसिमका वस्तु खाएर निकाल्ने गोबर नै भर्मी कम्पोष्ट मल हो । नाइलन र पोलिस्टर बाहेक सबै खालका कपडा, तरकारीका बोक्रा, सडेगलेका फलफूल, गोबर, कागज, घाँसपातलगायत सबै खालका गल्ने र कुहिने वस्तुको प्रयोग यसमा गर्न सकिन्छ । यस किसिमको गड्यौंला सबै खाले हावापानीमा हुर्काउन मिल्ने भएकाले नेपालमा यसको निकै ठूलो सम्भावना रहेको विज्ञहरू बताउँछन् ।

हाल काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा किन्न पाइने यो मल १ किलो उत्पादन गर्न करीब ७ रूपैयाँ मात्रै लागत पर्दछ । रासायनिक मलको तुलनामा यसको मूल्य करीब एक चौथाइ मात्र पर्दछ । नाइट्रोजन, फस्फोरस, पोटासियम, भिटामिन, क्याल्सियम, जिंक र आइरनको मात्रा यसमा पाइन्छ । गोठेमलभन्दा यो ५ गुणा बढी लाभदायक भएको विभिन्न अध्ययनहरूले देखाएका छन् । भारत, बंगलादेश, चीन, जर्मनीसहित विश्वका अधिकांश देशमा भर्मी कम्पोष्ट मल उत्पादन गरेर अर्गानिक उत्पादनलाई जोड दिन थालिएको छ । नेपालमा पनि पछिल्लो समय यसको प्रयोग बढ्न थालेको छ । जनस्तरबाट मात्रै भन्दा पनि राज्यस्तरबाट तथा नीतिगत तहबाटै यस्ता कुराहरूको व्यापक रूपमा प्रचारप्रसार गर्न आवश्यक छ । 

रासायनिक मल कारखाना खोल्ने महत्त्वाकांक्षी योजना बनाएको सरकारले सानो लगानीमा धेरै फाइदा लिन सकिने खालका कामहरूमा पनि हात हाल्न अघि बढेको पाइँदैन । किसानहरू पनि यस्तो काम गर्न गाह्रो मान्ने हुनाले रासायनिक मलतर्फ नै बढी केन्द्रित हुने गरेका छन् । स्टाटस अफ अर्गानिक फार्मिङ इन नेपाल २०१५ को एक अध्ययन अनुसार प्राङ्गारिक खेतीमा कृषकको कम चासो, युवा पलायन, उपभोक्ताको कम प्राथमिकता तथा प्रविधिको बढ्दो विकास, जिम्मेवार निकायको संस्थागत विकास नहुनु जस्ता कारणले प्राङ्गारिक खेतीमा कमी आएको देखिएको छ ।

गाईगोरु, बाख्रा आदि पशुपालन गर्ने क्रम घटेसँगै गोठेमलको उत्पादनमा किसानको सहभागिता कम हुँदै गएको छ । ढैंचा, मुङ, बकुल्लाजस्ता विभिन्न किसिमका दलहनबाली आदिको खेती गर्नाले पनि त्यसले माटोमा नाइट्रोजनको मात्रा बढाउँदछ । यो पनि रासायनिक मलको विकल्प हुन सक्छ । रासायनिक मल आयात गर्न वा उत्पादन गर्न नसक्ने अवस्थामा यी विकल्पमा जान सकिन्छ । त्यसैले यो सरकारी प्राथमिकतामा पर्नु आवश्यक छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)