ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साल्ट ट्रेडिङ कर्पोरेशन वार्षिकोत्सव विशेष : कर्पोरेशनलाई नमूना संस्था बनाउँछु [अन्तरवार्ता]

२०७९ भदौ, २७  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

सोमवार ६०औं वार्षिकोत्सव मनाइरहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले यसलाई नमूना संस्था बनाउने बताएकी छिन् । प्रस्तुत छ, सीईओ श्रेष्ठसँग आर्थिक अभियानले गरेको कुराकानीको सार :

साल्ट ट्रेडिङको शुरुआतलाई कसरी सम्झनुहुन्छ ? 

सरकारले नूनको अव्यवस्थित वितरण रोक्न र गुणस्तर कायम गर्न २०२० सालमा निजी र सरकारी क्षेत्रका समेत गरी सात जनाको सञ्चालक समिति बनाएर साल्ट ट्रेडिङ कर्पोरेशन स्थापना गरेको हो । अध्यक्ष चाहिँ वाणिज्य विभागका डाइरेक्टर गेहेन्द्रदेव पाठक हुनुहुन्थ्यो । नूनको कारोबार निजीकरण गर्न नपाउने र यही संस्थाबाट गर्नुपर्छ भने प्रस्ताव त्यतिबेला आएको थियो । त्यसलाई आम व्यवसायीले पनि स्वीकार गरे । सरकारबाट हामी व्यवसायीलाई २५/२५ हजार रुपैयाँ लगानी गर्न लगाइयो । कम्पनी स्थापना भए पनि हामीले शुरूमा जम्मा गरेको पैसाले खासै काम गर्न सकेनौं । त्यसपछि कम्पनी बन्द गर्ने कि भन्ने कुरा पनि आयो । तर, व्यवसायीले फेरि २५/२५ हजार रुपैयाँ शेयर लगानी थप्ने आँट गरे । पछि सरकारी स्वामित्वको नेशनल ट्रेडिङ लिमिटेडसमेतको गरी २१ प्रतिशत र व्यवसायीको ७८ प्रतिशत रहने गरी शेयर संरचना बनाएर काम अघि बढ्यो । त्यसरी काम गर्दा पनि पूँजी पुगेन । फेरि मागअनुसार नून आयात गर्न रकम अपुग भयो । त्यही बेला भारत सरकारसँग नेपाल सरकारले छलफल गरेको थियो ।

दशकौंअघि पब्लिक–प्राइभेट पार्टनरशिप (पीपीपी) मोडलबाट अघि बढ्न साल्ट ट्रेडिङ कसरी सफल भयो ? 

साल्ट ट्रेडिङ कर्पोरेशन पीपीपी मोडलमा सफल भइसकेको छ । नून जस्तो महत्त्वपूर्ण वस्तुको सहज पहुँच बनाउन यसले दशकौंअघि यो मोडल अपनाएको हो । आयोडिनयुक्त नूनलाई देशभर सहज बनाउन र हरेक वर्ष हुने अभाव एवम् कालोबजारी रोक्न पीपीपी मोडलको रूपमा साल्ट ट्रेडिङ स्थापना भएको थियो । साल्ट ट्रेडिङ बन्नुअघि सरकारले क्षेत्र र मात्रा तोकेर विभिन्न व्यक्तिलाई नून आयात अनुमति दिँदै आएको रहेछ । साल्ट ट्रेडिङको स्थापनापछि पनि निजीक्षेत्रलाई नून विक्री गर्न दिने प्रयास भयो । त्यस्तो प्रयासस्वरूप नून उद्योग नै स्थापना भएर आपूर्ति शुरू भए पनि पछि सरकारले साल्ट ट्रेडिङबाहेक अरुलाई आयात गर्न नदिने नीति लियो । उक्त नीतिविरुद्ध एउटा नून उद्योगले हालेको मुद्दालाई सर्वोच्च अदालतले २०६१ सालमा खारेज गरिदियो ।

साल्ट ट्रेडिङले व्यापार विविधीकरण कसरी गरिरहेको छ ? 

नूनको कारोबारमा सफल भएपछि देशमा अरु के के कारोबार सञ्चालन गर्न सकिन्छ भनेर शेयरधनीबीच छलफल भयो । कर्पोरेशनले वाणिज्य विभागमा कार्यरत हेमबहादुर मल्ललाई कर्मचारीका रूपमा पायो । उनको सोचअनुसार कम्पनी अघि बढ्दै गयो । उनकै अग्रसरतामा साल्ट ट्रेडिङको कारोबार विविधीकरण शुरू भएको हो । देशमा मैदा उद्योग नै थिएनन् । मल्लकै सोचमा पाउरोटी उद्योगका लागि हेटौंडामा मैदा उत्पादन गर्ने खाद्य उद्योग लिमिटेड स्थापना भयो । २०२९ सालमा एउटा मैदा मिल खोल्यौं । त्यो समयमा मैदा मिल नै थिएन । भारतको कोलकाताबाट मैदा मगाएर पाउरोटी बनाइन्थ्यो । स्वदेशमै मैदाको आवश्यकतालाई हेरेर मैदा मिल सञ्चालनमा ल्यायौं ।

मैदा मिलले शुरूका दिनमा सफल कारोबार गरिरहेका बेला सरकारले अचानक कर असुली गर्न थाल्यो । कर छली गर्न हामीले सकेनौं तर बाहिर कर छली भयो । त्यसपछि हाम्रो प्रतिस्पर्धी क्षमता कमजोर भयो । कर छली रोक्न हामीले भन्दै आए पनि सरकारले अहिलेसम्म रोक्न सकेको छैन । केही समय हामीले मिलै बन्द गर्नुपर्ने अवस्था आयो ।
त्यसपछि मुलुकमा घिउ कारखानाको आवश्यकता देखेर खोल्यौं । त्यो कारखाना पनि अहिले बन्द छ । राज्यको कर नीतिका कारण यो उद्योग बन्द भएको हो । यसले स्वदेशी उद्योगबाट विभिन्न वस्तुमा आत्मनिर्भर बन्ने र मुलुकमा उद्योगधन्दा फस्टाउने वातावरण पनि बन्दै गयो । ऊबेला पैसा घरमा राख्ने चलन थियो । हामीले त्यस्तो रकमलाई पूँजी निर्माणमा सदुपयोग गर्ने नीति ल्यायौं । त्यस्तै विभिन्न वित्तीय संस्थाको प्रवर्द्धकका रूपमा लगानी गर्न शुरू गर्‍यौं । नेशनल फाइनान्सको प्रवर्द्धकका रूपमा लगानी गर्‍यौं । सगरमाथा इन्स्योरेन्स नामको बीमा कम्पनी पनि खोल्यौं ।

ग्यासको कारोबार थाल्यौं । यसको विक्री वितरण अत्यन्त पारदर्शी बन्दै गएको छ र यसमा समेत साल्ट ट्रेडिङले सफलता पाउँदै गएको छ । केही वर्षअघि नाकाबन्दी हुँदा ग्यास विक्री गर्ने अरू उद्योगले गलत मनसायबाट अनधिकृत रूपमा पैसा आर्जन गरेको पनि सुनियो । तर, हामी पारदर्शी रुपमा आम उपभोक्ताको समस्या समाधान गर्नेतर्फ तल्लीन रह्यौं । यसले जनमानसमा ‘एसटीसी’ ग्यास राम्रो छ है भन्ने सन्देश गएको छ । चिनी आयात गर्न पनि सरकारकै स्वीकृतिमा शुरू भएको हो । चिनी समेत सहुलियतमा हामीले बेचिरहेका छौं ।

साल्ट ट्रेडिङले अप्ठ्यारो परिस्थितिमा खाद्य आपूर्तिलाई कसरी सहज बनाउँछ ? 

२०४५ सालमा भारतसँगको व्यापार तथा पारवहन सन्धि नवीकरण नहुँदा १ वर्षभन्दा बढी समय देशले नाकाबन्दी भोग्नु परेको थियो । २०४६ सालको जनआन्दोलन, २०६३ सालको दोस्रो जनआन्दोलन र सोलगत्तै मधेश आन्दोलन र २०७२ सालको भूकम्पले देश थलिएको अवस्थामा पुनः नेपालमा भारतले अघोषित नाकाबन्दी गर्‍यो । नाकाबन्दीका कारण अत्यावश्यक उपभोग्य वस्तुको समेत आपूर्ति हुन सकेन । त्यो कठिन समयमा सरकारी संस्थानले अनवरत रूपमा काम गरेर उपभोक्तालाई नून लगायत दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गरे । संस्थानको उक्त अनुभव कोभिडका बेलासमेत काम लाग्यो ।

सोही अनुभवका कारण कोभिड महामारीको बेलामा कर्पोरेशनले आफ्नो सेवालाई निरन्तरता दिई आम नेपाली उपभोक्तालाई अत्यावश्यकीय वस्तु दिन सक्यो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलगायत निजीक्षेत्रले समेत त्यो विषम परिस्थितिमा आम उपभोक्तालाई सरल र सुलभ रूपमा खाद्यान्न आपूर्ति गर्न जरुरी एवम् दायित्व सम्झेर काम गरे र गरिरहेका छन् ।

इतिहासकै भयावह अवस्थामा आपूर्ति व्यवस्थालाई सहज राख्न निकै कठिन एवम् चुनौतीपूर्ण भए पनि नेपालमा यसको व्यवस्थापन सहज एवम् सफलतापूर्वक भइरहेको छ ।

नेपाली बजारको ९५ प्रतिशत अंश किराना पसलको छ । किराना पसलले लकडाउनको समयमा राम्रोसँग सेवा प्रवाह गरी आम उपभोक्तालाई सेवा प्रदान गरेको देखियो । कर्पोरेशनले विक्री कक्षहरू नियमित रूपमा सञ्चालन गरी विक्री वितरण सहज राख्यो । काठमाडौं उपत्यकामा ५ ओटा विक्री कक्षमार्फत नियमित सेवा प्रदान गर्‍यो । 

देशभरका आफ्ना कार्यालयहरूको हाताबाट विक्री गर्‍यो । घुम्ती भ्यानमार्फत टोलटोलमा स्थानीयको मागअनुसार आपूर्ति सहज गर्‍यो । उक्त काम स्वास्थ्य मापदण्डको पालना गरेरै गरियो ।

डिलरहरूको मागबमोजिम सम्बन्धित क्षेत्रमा डेलिभरी व्यवस्था मिलाइएको थियो । नौ महीनाभन्दा बढी समयलाई पुग्ने नूनको स्टक राखेको थियौं । चामल, दाल एवम् अन्य वस्तुको आपूर्तिकर्तासँग निरन्तर सम्पर्क गरी सहज तरिकाले वस्तुको सोर्सिङ गरियो । कर्मचारीलाई उचित व्यवस्थापन गरी आपूर्ति थप सहज गराउन उत्प्रेरित गरियो ।

प्याकेजिङमा काम गर्ने कामदारलगायत सबै कर्मचारीको कोभिड १९ बीमा गरियो । फ्रन्टलाइनर कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराइयो । नाकाबन्दी तथा महामारीले हामीलाई आत्मनिर्भर हुनुपर्ने पाठ समेत सिकाएको छ । खासगरी दैनिक उपभोग्य वस्तु, जुन यहीँ उत्पादन सम्भव छ, त्यसमा आत्मनिर्भर हुनुपर्छ । उत्पादन भएका वस्तुको बजार पहुँच बढाउनुपर्छ । उत्पादनदेखि आपूर्तिको चक्र चुस्त र दुरुस्त राख्नुपर्छ ।

महँगी नियन्त्रणमा हस्तक्षेपकारी निकायका रूपमा साल्ट ट्रेडिङ कर्पोरेशन उभिन सक्छ त ? 

चाडपर्वका अवसरमा साल्ट ट्रेडिङले सहुलियतमा विक्री वितरण गर्दै आएको छ । वर्षभर सहुलियतमा विक्री गर्न संस्थाको एक्लो निर्णयले सक्दैन । त्यो निर्णय गर्ने निकाय हामी नभएर सरकार हो । अहिलेसम्म सरकारले हामीलाई जुन–जुन समयमा वितरण गर्न भनेको छ, हामीले त्यसै कार्यादेशलाई लागू गरेका छौं । साल्ट ट्रेडिङलाई जसरी काम गर भनेर सरकारले आदेश दिन्छ, हामी सोहीअनुरूप काम गर्दै आएका छौं । त्यसैबाट उपभोक्ताको अधिकतम हितलाई केन्द्रमा राखेका छौं । हाम्रो कामबाट उपभोक्ता पनि लाभान्वित भएका छन् । सरकारले महँगी नियन्त्रणमा हस्तक्षेपकारी निकायका रूपमा यसलाई दरिलो तवरले उभ्याउँछ भने हामी काम गर्न तयार छौं ।

सरकारले दिएको अनुदान रकम कुन शर्तमा पाइरहनुभएको छ ? 

दुर्गम क्षेत्रमा कण्ठरोग निवारणकै लागि नून ढुवानीमा अनुदान दिएको हो । सरकारले जति रकम अनुदान दिन्छ, त्यत्ति नै मूल्य कम गरेर हामीले नून उपलब्ध गराइरहेका छौं । ढुवानीमा अनुदान पाएकै कारण दुर्गम क्षेत्रमा पनि नून सस्तो र सुलभ दरमा जनताले पाउन सकेका छन् । दुर्गम क्षेत्रमा प्रतिकिलो ९ रुपैयाँमा विक्री हुने नून नेपाल सरकारले ढुवानी अनुदान नदिएको खण्डमा हुम्लामा प्रतिकिलो १३०, गोरखाको उत्तरी सिमानामा ५० देखि ६० रुपैयाँमा विक्री हुन्छ ।

व्यापारलाई व्यवस्थित गर्न अब के गर्नुपर्छ ? 

आन्तरिक कच्चा पदार्थमा करको विकृति जसरी भइरहेको छ, यसलाई राज्यले मिलाउनुपर्छ । अर्को कुरा भारतसँगको खुला सिमानाका कारण कतिपय वस्तु अनियन्त्रित रूपमा चोरी पैठारी भइरहेको छ । अझै पनि सरकारले आयात निर्यातलाई व्यवस्थित बनाउन सकेको छैन । चोरी पैठारीलाई सरकारले नियन्त्रण गर्नुपर्छ । कर छली नियन्त्रण हुन जरुरी छ । र, संस्थानहरूलाई कुशल नेतृत्व प्रदान गर्ने तथा नेतृत्वमा बसेकाले इमानदारीपूर्वक काम गरिदिने हो भने संस्थानहरूले राम्रो नाफा कमाउन सक्ने देख्छु । 

अबको योजना के छ ? 

नेपालमै उत्पादन गर्न सकिने वस्तु विदेशबाट आयात गर्नुपर्दा करोडौं रकम बाहिर गइरहेको छ । त्यसलाई रोक्न साल्ट ट्रेडिङले प्रयास गरेको छ, साल्ट ट्रेडिङलाई अरु संस्थाभन्दा नमूना संस्थाका रूपमा उभ्याउने गरी योजना बनिरहेको छ । आफ्नो सेवालाई थप प्रभावकारी बनाउन साल्ट ट्रेडिङले योजनाबद्ध हिसाबले देशभरका आफ्ना डिलरमार्फत प्रयत्न गर्दैछ । परिणाम देखिने गरी संस्थालाई अझ अघि बढाउने सोच छ ।

इतिहासकै भयावह अवस्थामा आपूर्ति व्यवस्थालाई सहज राख्न निकै कठिन एवं चुनौतीपूर्ण भए पनि नेपालमा यसको व्यवस्थापन सहज एवं सफलतापूर्वक भइरहेको छ ।

दुर्गम क्षेत्रमा कण्ठरोग निवारणकै लागि नून ढुवानीमा अनुदान दिएको हो । सरकारले जति रकम अनुदान दिन्छ, त्यत्ति नै मूल्य कम गरेर हामीले नून उपलब्ध गराइरहेका छौं । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)