ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अभियान दशैं विशेष : शाकाहारीको दशैं अनुभव, ‘स्वाद र सन्तुष्टिका लागि जरुरी छैन माछामासु’

२०७९ असोज, १३  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । हिन्दू नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैं शुरू भइसकेको छ । हिन्दू धर्मावलम्बीको विशेष चाड भनिए पनि आम रूपमा नेपालीहरूलाई जोड्ने भएकाले दशैं राष्ट्रिय पर्वकै रूपमा मनाइँदै आएको छ । दशैंलाई सबैजसो जातजाति, भाषाभाषी र भूगोलका मानिसले उत्तिकै महत्त्वका साथ मनाउँछन् ।

दशैं माछामासु बढी खपत हुने पर्व पनि हो । त्यस अर्थमा यो पर्व मांसाहारीहरूबीच तुलनात्मक रूपमा बढी लोकप्रिय छ । तर शाकाहारीले पनि यसलाई आफ्नै तरीकाले उल्लासका साथ मनाउने गरेका छन् ।

गोदावरी बस्दै आएकी एलिसा बानियाँले मासु खान छोडेको १३ वर्ष भइसक्यो । उनी पशुलाई हिंसा गरेर चाडपर्व मनाउन नहुने धारणा राख्छिन् । ‘कतिपय साथीभाइले दशैंमा तिमीहरू के खाएर रमाइलो गर्छौ ? माछामासु नखानेलाई पनि दशैंमा रमाइलो हुन्छ र भनेर सोध्छन्,’ उनले आफ्नो अनुभव सुनाइन्, ‘तर, म त्यसमा सहमत छैन । दशैं रमाइलो हुन माछामासु नै खानुपर्छ भन्ने छैन । शाकाहारी परिकारकै मजा लिएर पनि यो पर्वलाई उत्तिकै उल्लासका साथ मनाउन सकिन्छ ।’ उनको अनुभवमा रमाइलो भौतिक वस्तुको उपभोगसँग मात्र सम्बन्धित छैन । साधारण, स्वस्थकर र शाकाहारी खाना खाएर चाडपर्व मनाउनुको मजा झनै बढी हुने उनको अनुभव छ ।

जीवनशैली परिवर्तन हुँदा चाडपर्व मान्ने तौरतरीका र खाना संस्कृतिमा पनि स्वाभाविक रूपमा परिवर्तन आएको हो । यसमा मानिसको शिक्षा, अनुभव र स्वास्थ्यप्रतिको सावधानीले पनि प्रभाव पारेको छ ।

बानियाँको घरमा उनी एक्लै शाकाहारी हुन् । दशैंमा आफ्ना लागि विभिन्न शाकाहारी परिकार उनी आफै बनाउने गर्छिन् । ‘पहिला पहिला सानो छँदा आमाले बनाइदिनुहुन्थो,’ उनले भनिन्, ‘तर अहिले म युट्युब हेरेर मन लागेका परिकार बनाउने गर्छु ।’ दशैंका बेला उनी च्याउबाट छोएला, मटर–पनीर लगायत विभिन्न परिकार बनाउँछिन् ।

दशैंमा माछामासु धेरै खाएर त्यसप्रति अरुचि भएका परिवारका अन्य सदस्यले पनि आफूले बनाएका शाकाहारी परिकार खाने गरेको उनले सुनाइन् । सानोमा मासु खाँदा आफ्नो स्वास्थ्यमा असर गरेकाले आफू शाकाहारी बनेको उनले बताइन् । मासुमा पाइने प्रोटिन लगायत पोषक तत्त्व शाकाहारी परिकार एवं दुग्ध पदार्थमा पाइने भएकाले मासु खानैपर्ने बाध्यता नभएको उनको बुझाइ छ । मुटुरोग, उच्च रक्तचाप लगायत समस्या भएका व्यक्तिका लागि मासु हानिकारण हुन सक्ने भएकाले शाकाहारी परिकारमै जोड दिनुपर्ने उनले बताइन् ।

आफू शाकाहारी भएर पनि होला, मासु खाएर चाडपर्व मनाउने चलन उनलाई मन पर्दैन । साथै दशैं खानपिनसँग मात्र सम्बन्धित पर्व नभएकाले अन्य गतिविधि गरेर समेत रमाइलो लिन सकिने उनको अनुभव छ । ‘दशैंमा खानाको महत्त्व छ एकातिर छँदै छ, त्यसबाहेक साथीभाइ, आफन्तजन भेट्ने, पिङ खेल्ने, मान्यजनको आशीर्वाद लिने पर्व पनि हो नि,’ उनले भनिन् ।

यस्तै डोटी घर भएका उत्तम ओझाले मासु नखाएको १० वर्ष भयो । उनको भने परिवारको सदस्यमा पनि कसैले पनि मासु खाने गरेका छैनन् । पहिला पहिला मासु भनेपछि हुरुक्कै हुने ओझा अहिले मासुको गन्ध पनि मन नपर्ने बताउँछन् । ‘दशैं मासु खाएरै मनाउनुपर्छ भन्ने छैन,’ उनले भने, ‘मुख्य कुरा आफूलाई के मन पर्छ र के खाँदा आफूलाई राम्रो गर्छ भन्ने हो । त्यसैले मन परेको स्वस्थकर परिकार खाएरै दशैं लगायत पर्व मनाउने गरेको छु ।’ उनका अनुसार दूधदहीबाट बनेका परिकार, फलफूल, मिठाइ खाएर पनि पनि रमाइलोसँग दशैं मनाउन सकिन्छ ।

शरीरलाई पोषक तत्त्व दिने खानेकुरा माछामासु बाहेकका परिकारबाट पनि पाउन सकिने अनुभव ओझाको छ । ‘दशैं परिवारका सबै सदस्यसँग बसेर मीठा खानेकुरा खाएर मनाउने पर्व हो,’ उनले भने । उनको बुझाइमा जीवजनावरको हिंसा गरेर दशैं मनाउनु राम्रो पनि होइन ।समय परिस्थिति अनुसार दशैंका खानेकुरामा पनि परिवर्तन भएका छन् । ‘पहिले पहिलेका दशैंका खानेकुरा र अहिलेको दशैंका खानेकुरामा निकै फरक छ,’ आहारविद् कृष्ण सिटौलाले भने, ‘पहिले मानिसमा खाना सम्बन्धी ज्ञान खासै थिएन, दशैं भन्नेबित्तिकै जतिसक्दो खानुपर्छ भन्ने मानसिकता थियो, तर आजभोलि त्यो प्रवृत्ति फेरिएको छ ।’

जीवनशैली परिवर्तन हुँदा चाडपर्व मान्ने तौरतरीका र खाना संस्कृतिमा पनि स्वाभाविक रूपमा परिवर्तन आएको हो । यसमा मानिसको शिक्षा, अनुभव र स्वास्थ्यप्रतिको सावधानीले पनि प्रभाव पारेको छ । पहिला पहिला चाडपर्वमा अत्यधिक खानेकुरा सेवनले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुने गरेको थियो । तर अहिले मानिसहरू आफ्नो स्वास्थ्यप्रति बढी नै सचेत रहेको पोषणविद् सिटौलाले बताए । ‘खाना कत्तिको मीठा र स्वादिलो छ भन्ने मात्र हेरिँदैन, कत्तिको स्वस्थकर छ भन्ने पक्षलाई पनि उत्तिकै महत्त्व दिइन्छ,’ उनले भने । 

स्वादिला खानेकुरा स्वस्थकर नै हुन्छन् भन्ने छैन । त्यसैले स्वस्थकर र पोषक तत्त्वयुक्त खानेकुरालाई मुख्य प्राथमिकता दिनुपर्ने स्वास्थ्यविद्हरू सुझाउँछन् । मासुकै कुरा गर्दा पनि रातो मासु स्वास्थ्यका लागि राम्रो मानिँदैन । साथै बढी चिल्लोयुक्त, बोसोयुक्त, मसलेदार, तारेको र पोलेको मासु हानिकारक समेत हुन सक्छ । मासु खानै हुँदैन भन्ने होइन, तर मासु खाँदा आफ्नो स्वास्थ्यलाई पनि उत्तिकै महत्त्व दिन आवश्यक छ ।

दशैंमा शाकाहारीले कस्तो परिकार खाने ? 

दशैंमा शाकाहारीले सजिलै बनाउन सकिने खानेकुराहरू दूधबाट बनेका दही, पनीर, खिर, मिठाई खाएर दशैं मनाउन सक्छन् । स्वादिलो र स्वास्थ्यवर्द्धक समेत हुने यी खानेकुरा मासुसँग भने खान नहुने चिकित्सकीय सुझाव छ । यसैगरी दूधबाट बनेका परिकार नखानेहरूले भने तोफु, डल्ले च्याउ, पाते च्याउ लगायतका परिकार बनाउन खान सक्छन् । कतिपय शाकाहारीले अण्डा खाने गर्छन् । त्यस्ता व्यक्तिका लागि अण्डाबाट बनेका विभिन्न परिकार राम्रो विकल्प हुन सक्छन् ।

त्यसैगरी, दशैंमा साधारण तरकारीबाटै पनि विभिन्न परिकार बनाउन सकिने सेफ शैलेन्द्र रायमाझी बताउँछन् । दशैंमा पनीर करी, पनीर मसाला, मशरूम करी, च्याउ छोइला, सोयाबिन छोइला, च्याउ छोइला, तोफु, मिश्रित तरकारी करी, आलु काउली करी लगायत परिकार बनाउन सकिने उनले सुझाए । ‘घरमै बनाइएका यी परिकार तुलनात्मक रूपमा बढी स्वस्थकर पनि हुन्छन्,’ उनले भने । पछिल्लो समय शाकाहारीका लागि च्याउ छोइला निकै लोकप्रिय छ । साथै नियमित रूपमा खाने काउली, घिरौंला, बन्दा, भन्टा, आलु, भिँडी, पनीर, च्याउ लगायत तरकारीलाई आफ्नो स्वाद र रुचि अनुसार विभिन्न परिकार बनाउन सकिन्छ । 

च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, बायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, एमिनो एसिड पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । चिल्लो निकै थोरै मात्रामा हुने च्याउ पौष्टिक खानाको रूपमा रहेको, जसको उपभोग दशैंमा स्वास्थ्यका हिसाबले पनि हितकर हुन्छ । शाकाहारीले दशैंको समयमा चना, केराउ, बोडी लगायत गेडागुडीका परिकार पनि बनाउन सक्छन् । त्यस्तै आलुको अचार, काँक्राको पुरानो अचार खानासँग खान सकिन्छ ।

दशैंका बेला शाकाहारीले खान मिल्ने अन्य खानेकुरामा फलफूल र मिठाइ पनि हुन्छ । लालमोहन, रसवरी, जेरी, नरिवलको वर्फी, सेल, अनरसा लगायत मिठाइ बनाएर पनि दशैंको माहोल बढाउन सकिन्छ । त्यस्तै फलफूल, लस्सीको उपभोगले पनि शाकाहारीको दशैंलाई रमाइलो बनाउन सक्छ । दशैंमा दही धेरै खपत हुने गरेको छ । शाकाहारीका लागि दही, चिउरासँग आलुको अचार धेरै स्वादिलो परिकार हुन सक्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)