काठमाडौं । चाडपर्वका बेलामा अघिपछिको भन्दा एकैपटक ठूलो संख्यामा उपभोक्ताले किनमेल गर्ने भएकाले व्यापार पनि बढ्ने गर्दछ । यस्तो भीडभाडको मौका छोपेर केही व्यापारी कमसल खालका मालसामान विक्री गर्दै मुनाफा कमाउन खोज्छन् । त्यसैले यस्तो बेलामा स्वस्थ बजार कायम गर्न उपभोक्ता र व्यापारी दुवै वर्ग उत्तिकै जिम्मेवार हुन जरुरी छ ।
अघिपछिको समयमा भन्दा दशैं, तिहार र छठ जस्ता ठूला चाडबाडमा व्यापारीले उपभोक्तासँग चर्को मूल्य असुल गर्ने, म्याद नाघेका र रिलेबलिङ गरेका समान विक्री गर्ने जस्ता कार्य बढी हुन्छन् । त्यसैले आफूलाई ठगिनबाट जोगाउन र स्वस्थ बजार सृजना गर्न उपभोक्ता आफै पनि सचेत हुनुपर्छ । चाडपर्व होस् वा अघिपछि किनमेल गर्न बजार जाँदा उपभोक्ताले अनेक गल्ती गरिरहेका हुन्छन् । आगामी दिनमा त्यस्ता गल्ती नदोहोर्याउन सबैभन्दा पहिला किन्नुपर्ने सबै सामानको सूची तयार पार्नुहोस् । यसरी आवश्यक पर्ने सामानको सूची तयार पारेर बजार जाँदा एकातर्फ समयको बचत हुन्छ भने अर्कोतर्फ कुनै पनि सामान छुट्ने सम्भावना र किन्न बिर्सने समस्या हुँदैन ।
विशेषगरी दाल, चामल, मिठाई, दूध, दही, आटा, गेडागुडी जस्ता खाद्यान्न सकेसम्म खुला राखिएका स्थानबाट किनमेल नगर्न उपभोक्ता अधिकारकर्मी सुझाउँछन् ।
सम्भव भएसम्म उपभोक्ता आफैले पनि बजार मूल्यको बारेमा जानकारी राख्न सके स्वस्थ बजार सृजनामा टेवा पुग्न सक्छ । केही हदसम्म मूल्यबारे पूर्व जानकारी राख्नाले अनावश्यक रूपमा पसलेसँग बार्गेनिङ गर्नुपर्ने झन्झट बेहोर्नु पर्दैन । यसले उपभोक्ताको समयको बचत गर्न समेत सघाउ पुर्याउँछ । विशेषगरी दाल, चामल, मिठाई, दूध, दही, आटा, गेडागुडी जस्ता खाद्यान्न सकेसम्म खुला राखिएका स्थानबाट किनमेल नगर्न उपभोक्ता अधिकारकर्मी सुझाउँछन् ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाका अनुसार अरू बेलाको भन्दा चाडपर्वका समयमा धेरै मात्रामा यस्ता वस्तुको किनमेल हुने हुँदा प्याकेजिङ गरिएका र प्याकेटमा अधिकतम मूल्य, उत्पादन मिति, तौल र त्यसको म्याद सकिने मिति प्रस्ट रूपमा लेखिएको भए मात्र खरीद गर्नुपर्दछ । नेपाली उत्पादन हो भने चाहिँ खाद्य अनुज्ञापत्र भएको खानेकुरा किन्नुपर्ने उनको सुझाव छ । कुनै पनि सामान खरीद गर्दा अनिवार्य रूपमा बिल माग्ने बानीको विकास गर्नुपर्ने उनी बताउँछन् ।
सामान खरीद गर्दा बिल नलिएमा खरीद गरिएको वस्तु नक्कली पर्यो वा म्याद सकिएको पर्यो भने विक्रेता/व्यापारीलाई कानून बमोजिमको कारबाही गर्न समस्या हुने भएकाले आफूले किनेको वस्तुको बिल माग्नु विवेकशील उपभोक्ताको कर्तव्य पनि हो । नेपालको संविधान २०७२ धारा ४४ को ‘ख’ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवाको खरीदबाट भएको आर्थिक, सामाजिक र मानसिक क्षतिको विषयमा सम्बन्धित आयातकर्ता वा विक्रेताबाट क्षतिपूर्ति भरण गर्ने संवैधानिक व्यवस्था गरेको छ । यसको कानूनी उपचारका लागि उपभोक्ताले बिल लिनु जरुरी हुन्छ । खरीद गरेको बिल नदिएमा यसबारे सम्बन्धित निकायमा उजुरी गर्न पनि पछि पर्न हुँदैन ।
लत्ताकपडा खरीद गर्न जाँदा पसलेले चर्को मूल्य तोक्न सक्ने भएकाले सही ढंगले बार्गेनिङ गरेर मात्र निर्णय लिनुपर्छ । माछामासु तथा जिउँदो खसीबोका, राँगा, हाँस, कुखुरा आदि घीनलाग्दो भएमा, रोगी जस्तो देखिएमा किन्नु हुँदैन । पशुसेवा कार्यालय, काठमाडौं महानगरपालिका, पशुसेवा विभागले हरियो रङ लगाएको पशु स्वस्थ मानिने भएकाले त्यो खरीद गर्न सकिन्छ ।
शहरी क्षेत्रका उपभोक्ता यस्ता विषयमा अझ बढी होसियार रहनु पर्दछ । लामो तथा मध्यम दूरीमा यात्रा गर्दा यात्रुले सकेसम्म खानेकुरा आफैले बोकेर हिँड्नु राम्रो हुन्छ । त्यसो गर्न सम्भव नभएमा जथाभावी रूपमा जुन पायो, त्यही होटेल वा पसलमा गएर खानेकुरा किनेर खानु हुँदैन । बाध्यात्मक अवस्थामा ताजा भए मात्र खाने र बासी भएको पाइएमा उपभोक्ता अधिकारकर्मी, सञ्चारमाध्यम तथा नजिकको प्रहरी प्रशासनमा खबर गर्नु विवेकशील उपभोक्ताको अर्को परिचय हो ।
कुनै पसलमा सामान किन्न पसिसकेपछि धेरैजसो ग्राहक पसलेको मित्रवत् व्यवहारले आफूलाई मन नपरेको सामान भए पनि किन्न बाध्य हुन्छन् । त्यसैले ग्राहक/उपभोक्ताले के बुझ्न जरुरी छ भने पसले वा विक्रेताले ग्राहकसँग जतिसुकै मित्रवत् व्यवहार गरे पनि उनीहरू सामान बेच्नकै लागि बसेका हुन्छन् । उनीहरूको नरम व्यवहारले आफूलाई तत्काल आवश्यक नपर्ने सामान किन्नु हुँदैन । यसो गर्दा फजुल खर्च बचाउन सकिन्छ ।
किनमेलका लागि बजार पस्दा उपभोक्तालाई सबैभन्दा बढी लोभ्याउने र झुक्याउने भनेको सेल बजारले हो । यस्ता बजारमा ‘यति मूल्यको सामान यतिमा, यति प्रतिशत छूट वा यतिओटा किन्दा यतिओटा फ्रीमा’ जस्ता अफर गरिएको हुन्छ । तर यस्ता बजारबाट उपभोक्ता जोगिनु जरुरी छ । यस्ता बजार विशेषगरी म्याद सकिएका वा सकिन लागेका सामान कटाउन सञ्चालन भएका पनि हुन सक्छन् ।
ठगिनबाट बच्न सबैभन्दा महत्त्वपूर्ण उपाय भनेकै उपभोक्ता सजग रहनु हो । जबसम्म आफू ठगिएको कुरा राज्यका नियामक निकाय, उपभोक्ता अधिकारकर्मी र सञ्चारमाध्यमसम्म पुर्याइँदैन, तबसम्म उपभोक्ता ठगिइरहन्छन् । जागरुक तथा विवेकशील उपभोक्ताको माध्यममबाटै जिम्मेवार सरकार र इमानदार व्यवसायी बन्ने हो । त्यसैले हरेक उपभोक्ता जिम्मेवार र सचेत हुनु निकै जरुरी छ ।