काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको महत्व दिदीबहिनी र दाजुभाइको प्रेमलाई लिने गरिन्छ । काग, कुकुर, गाई, गोरु पूजा गरेपछि अन्तिम दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरंगी टीका लगाइदिने गर्छन् । टाढा रहेका दाजुभाइ र दिदीबहिनीको भेट गराउने अवसर पनि तिहार हो ।
लामो समयदेखि टाढिएर बसेका दिदीभाइको मिलन गराउने भएकाले यसलाई भाइटीका भनिएको संस्कृतविद्हरूको भनाइ रहँदै आएको छ । तिहारले दिदीबहिनीको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई प्रगाढ बनाउँछ । तिहारको विशेष दिनका रूपमा लिइने ‘भाइटीका’ ले दाजुभाइ र दिदीबहिनी नभएकाहरूबीच समेत भावनात्मक नाता जोड्ने गर्दछ ।
तिहारमा अनिवार्य झैँ प्रयोग हुने फल र फूलहरू लामो समयसम्म नबिग्रने खालका हुन्छन् । तिहार दीर्घायुको कामना गर्दै मनाइने पर्व भएकाले यो समयमा प्रयोग हुने समग्रीहरू त्यस्तै किसिमको भएको वनस्पतिविद्हरू बताउँछन् ।
यस्तो छ पौराणिक मान्यता
हिन्दू धर्मशास्त्रअनुसार ‘मृत्यु लोक’ का राजा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई पाँच दिनसम्म बसेको अवसरमा यमपञ्चक मनाइने गरिन्छ ।
पाँच दिनसम्म यमुनाको घरमा बस्दा बहिनीको व्यवहारले खुसी भई इच्छाएको वर माग भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन तपाईंलाई भेट्न पाऊँ’ भनेको धार्मिक कथन रहेको छ । यमुनाले यमराजसँग वर माग्दा दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु कीर्ति सदैव वृद्धि होस् भन्ने आफ्नो इच्छा रहेको सुनाएको बताइन्छ ।
उज्यालो र फूलको चाडका रूपमा लिइने तिहारमा मखमली फूल एक अभिन्न अंग जस्तै बनेको छ । धेरै दिनसम्म पनि नओइलाउने विशेषता भएको मखमली फूललाई दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायुको प्रतीकका रूपमा लिएर टीकासँगै माला पनि लगाइदिन्छन् ।
मखमली फूल हत्तपत्त नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रूपमा लिने गरिन्छ । यसैले तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी मखमली फूलको माला लगाइदिन्छन् ।
तिहारका मसला र फल दीर्घायुको प्रतीक
तिहारमा अनिवार्य झैँ प्रयोग हुने फल र फूलहरू लामो समयसम्म नबिग्रने खालका हुन्छन् । तिहार दीर्घायुको कामना गर्दै मनाइने पर्व भएकाले यो समयमा प्रयोग हुने समग्रीहरू त्यस्तै किसिमको भएको वनस्पतिविद्हरू बताउँछन् । तिहारमा नभई नहुने फल कटुस, बिमिरो र ओखर एवं फूलमा मखमली मानिन्छ ।
फूलको महत्व
सयपत्री र मखमली तिहारमा प्रयोग हुने फूल हुन् । यी फूलहरू पनि लामो समयसम्म नबिग्रने भएकाले नै तिहारमा यिनको विशेष महत्त्व भएको हो । सांस्कृतिक महत्त्व बोकेको मखमली फूल स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रूपमा लिइन्छ । त्यसैले तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गर्दै यस फूलको माला लगाइदिन्छन् ।
तिहारमा हुनैपर्ने सामग्री
फूल–माला
तिहारका लागि अति आवश्यक सामग्रीमध्ये फूल–माला पर्छ । यो अवसरमा सयपत्री, गोदावरी तथा मखमलीको विशेष महत्त्व हुन्छ । घर सजाउनदेखि पूजा–आराधना गर्न यिनै फूल प्रयोग गरिन्छ । लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकीले यति बेला फूल–माला र झिलिमिली बत्ती प्रयोग गरिन्छ । कुकुर, गाई, गोरुका साथै दाजुभाइलाई फूलको माला पहिर्याइदिने चलन छ ।
रातो माटो
तिहारमा रातो माटोको विशेष महत्त्व छ । लक्ष्मीपूजाका दिन रातो माटोको घेरा बनाई घरमा लक्ष्मी भित्र्याइन्छ । आँगन, तुलसीको मठ, घरको मूलढोका हुँदै भण्डारसम्म रातो माटोको घेरा बनाएर पोत्ने चलन छ । रातो माटोलाई पवित्र मानिने भएकाले भाइटीका एवं गोवद्र्धन पूजा गर्दा पनि रातो माटो प्रयोग गरिन्छ ।
सप्तरंगी टीका एवं अबिर–केसरी
बजारमा सप्तरंगी टीका देख्नासाथ तिहारको झझल्को मिल्छ । हाम्रा हरेक पूजामा अबिर–केसरीको आवश्यकता पर्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको यश, आरोग्य एवं दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिने चलन छ । अष्ट चिरिञ्जीवी तथा लक्ष्मीपूजा गर्दा पनि अबिर–केसरी आवश्यक हुन्छ ।
भाइमसला
तिहारको पूर्वसन्ध्यामा बजारमा भाइमसलाको बिक्री अत्यधिक बढ्छ । भाइमसला तिहारमा नभई नहुने सामग्री हो । भाइ मसलामा नरिवल, काजु, किसमिस, सुकुमेल, ल्वाङ, सुपारी, छोकडा, दालचिनी आदि हुन्छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिसकेपछि यस्तो मसला दिने चलन छ ।
चामलको पीठो
तिहारमा सेलरोटी, अनरसा वा मिठाइका अन्य परिकार बनाउन चामलको पीठो अनिवार्य मानिन्छ । लक्ष्मीपूजाका दिन पनि चामलको पीठो आवश्यक हुन्छ । घरको मूलढोकादेखि पूजा कोठासम्म चामलको पीठोले लक्ष्मीको प्रतीकात्मक पाइला बनाएर झिलिमिली बत्ती बाली लक्ष्मीको स्वागत गर्ने परम्परा छ । गोवद्र्धन पूजा, म्ह पूजा तथा भाइटीका गर्दा बनाइने मण्डपमा पनि चामलको पीठो प्रयोग गरिन्छ ।
तेल र घिउ
तिहारका पाँचौं दिन आवश्यक पर्ने सामग्रीमध्ये तेल र घिउ प्रमुख मानिन्छ । सेलरोटीका साथै अन्य मिठाई पकाउन तेल तथा घिउ प्रयोग गरिन्छ । दियो बाल्न एवं भाइटीकाको दिन दाजुभाइको केशमा लगाइदिन शुद्ध तोरीको तेल चाहिन्छ ।
मैनबत्ती र धूप
घरआँगनलाई उज्यालो बनाउन तथा मीठो सुगन्धका लागि तिहारमा मैनबत्ती एवं धूप आवश्यक हुन्छ । तिहारका प्रत्येक साँझ–बिहान पूजा–आराधना गर्दा बत्ती तथा धूप बालिन्छ ।
ओखर र बिमिरो
भाइटीकामा ओखर र बिमिरोको विशेष महत्त्व छ । भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यमदूतको टाउको मानिने ओखर फुटाउने चलन छ । यसरी ओखर फुटाउँदा दाजुभाइको कालको बाटो छेकिने विश्वास गरिन्छ । भाइटीकाकै अवसरमा विभिन्न रोगको प्रतीक बिमिरोलाई पूजा गरिन्छ ।
कटुस
भाइटीकाका दिन दूबो र कटुसको प्रयोग अनिवार्य मानिन्छ । दियो, कलश तथा गणेशको पूजा गरी यमराजको आह्वान गर्दै दूबोको माला र कटुस प्रयोग गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै दूबो लगाइदिन्छन् ।
गाईको गोबर
तिहारमा घरआँगन पवित्र बनाउन गाईको गोबरले लिपपोत गर्ने चलन छ । हिन्दू संस्कारअनुसार शरीर शुद्धिका लागि पञ्चगव्य मानिने गाईको दूध, दही, घिउ, गहुँत तथा गोबरमध्ये गोबरले लिपेको ठाउँ विषाणुरहित हुन्छ भन्ने कुरालाई विज्ञानले समेत प्रमाणित गरिसकेको छ ।
पाला तथा दियो
तिहारमा घर उज्यालो बनाउन पाला वा दियो प्रयोग गरिन्छ । माटाको पालामा तेल हाली कपासको बत्ती बालेर दीपावली गरिन्छ ।