ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस् २०२२ विशेष: विजेता तथा  सहभागीहरूको प्रतिक्रिया

२०७९ पौष, १  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

 

हाम्रो भूमिकाको मूल्यांकन भएको महसूस

अनिर्वाण घोष दास्तिदार
प्रमुख कार्यकारी अधिकृत,
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल 

न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवार्ड्स कार्यक्रम अन्तर्गत स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई वाणिज्य बैंक विधामा अवार्ड प्रदान गरिएकोमा हामी कृतज्ञ छौं । 
हामीलाई छनोट गर्ने जुरी सदस्यहरूलाई पनि धन्यवाद व्यक्त गर्दछु । यो समय हाम्रा लागि एकदमै गौरवपूर्ण समय हो । किनकि हामीले नेपालको बैंकिङ क्षेत्रमा प्रदान गरेको सेवा र योगदान तथा बैंकिङ उद्योगको विकासमा हाम्रो भूमिकाको मूल्यांकन भएको महसूस गरेका छौं । हामीसँग रहेका ५०० कर्मचारीको मेहनतले यो सम्भव भएको छ । यो हाम्रा लागि एकदमै उत्कृष्ट अनुभव पनि हो । सबै सरोकारवालाको सहभागितामा भएको भव्य कार्यक्रममा सम्मानित हुन पाउँदा गौरव अनुभव गरेका छौं । उत्कृष्ट कार्यक्रमका लागि आयोजकलाई पनि बधाई दिन चाहन्छु ।


अवार्डको विधा थप गर्नुपर्छ 

उदयराज खतिवडा
माइक्रोफाइनान्स विज्ञ

कार्यक्रम स्तरीय थियो । कर्पोरेट क्षेत्रमा धेरै विधाहरूलाई समेटेर अवार्ड दिइएको छ । तर टेक कम्पनी र स्टार्टअप कम्पनीको विधा छुटेको हो कि भन्ने महसुस भएको छ । आगामी दिनमा यी विधाका कम्पनीहरूलाई पनि अवार्ड दिनुपर्छ । अवार्डका विधाहरूलाई जति व्यापक बढाउन सक्यो, कार्यक्रम त्यति स्तरीय हुन्छ । कार्यक्रमको थिममा आधारित रही विदेशबाट विज्ञ बोलाएर गरिएको प्रस्तुतीकरण पनि एकदमै राम्रो छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ । यसपटक ‘इमर्जिङ  थ्रु क्राइसिस’ थिममा भएको प्यानल डिस्कसन अलि लामो भयो कि भन्ने लाग्यो । सहभागीहरूबाट मैले व्यक्तिगत रूपमा पनि त्यस्तै प्रतिक्रिया पाएको छु । कार्यक्रम डिजाइन गर्दा इन्डिया टुडेले गरेजस्तो दिनभरको कार्यक्रम गर्नुपर्छ । त्यस्तो भयो भने विभिन्न विषयमा छलफल गर्न सकिन्छ । आधा दिनको कार्यक्रम गर्ने हो भने छलफल कार्यक्रम नराखी अवार्डलाई मात्र प्राथमिकता दिनुपर्छ । यस्तो भएमा अवार्डको महत्त्व पनि अझ बढी हुन्छ । 

मूल्यांकनको दायरा बढाउनुपर्छ 

चंकी क्षेत्री
प्रमुख कार्यकारी अधिकृत, सगरमाथा इस्योरेन्स 

न्यू बिजनेश एजले सन् २०१३ देखि कन्क्लेभ तथा अवार्ड कार्यक्रम गर्दै आएको छ । विदेशमा यस्ता थुप्रै कर्पोरेट अवार्ड कार्यक्रमहरू हुने भए पनि नेपालमा भने सम्भवतः यो मात्र हो । यस्ता कार्यक्रमहरूले कम्पनीहरूलाई आफ्नो काम, कर्तव्य र कम्पनी सञ्चालनका विषयमा थप जिम्मेवार बनाउन मद्दत पुग्छ । अवार्ड पाउने कम्पनीहरूलाई आगामी दिनहरूमा आफ्नो वर्चस्व कायम राखिराख्ने चुनौती रहन्छ भने नपाएका कम्पनीहरूलाई आगामी दिनमा उक्त स्थानमा पुग्नका लागि थप मेहनत गर्न हौसला प्राप्त हुन्छ । अवार्डले सर्वसाधारणका लागि पनि कुन कम्पनी राम्रो, आफूले सेवा लिनका लागि कुन कम्पनी छनोट गर्ने भनेर सहयोग पुर्‍याउँछ । कम्पनीको ब्राण्डिङका लागि यस्ता अवार्डहरूले मद्दत पुर्‍याएको हुन्छ । यसपटकको न्यूबिज कन्क्लेभ तथा अवार्ड भव्य रह्यो । हाम्रो क्षेत्रको कुरा गर्दा इस्योरेन्स कम्पनीहरू छनोट गर्दा लिइएको दायरा बढाउन मेरो सुझाव छ । कम्पनीको पूँजीलाई मात्र नभई यसको सेवाको अवस्थालाई पनि मूल्यांकनको आधार बनाउनुपर्छ । यसपटक एकदमै गहन र सान्दर्भिक विषयमा छलफल पनि भयो । कार्यक्रममा विज्ञहरूले आ–आफ्नो विषयमा भनाइ राख्नुभएको छ । उहाँहरूका धारणा र प्रतिबद्धतालाई आयोजकले दस्तावेजीकरण गर्नुपर्छ र आगामी दिनमा कार्यक्रममा व्यक्त भएका प्रतिबद्धताहरू कार्यान्वयनमा के कस्ता प्रगति भए भन्ने विषयमा पनि फलोअप कार्यक्रम गरेर उनीहरूलाई जिम्मेवार बनाउनुपर्छ ।
 
सभ्य र भव्य कार्यक्रम 

 प्रेमा राज्यलक्ष्मी सिंह

अध्यक्ष, नेशनल लाइफ इन्स्योरेन्स

न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवार्ड एकदमै भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । यसमा हाम्रो कम्पनीलाई उत्कृष्ट अवार्ड प्रदान गरेकोमा आयोजक तथा जुरी सदस्यहरूलाई धेरै धन्यवाद दिन चाहन्छु । यो अवार्ड कम्पनीका शेयर सदस्य, व्यवस्थापन, कर्मचारीहरूका साथै हामीलाई विश्वास गर्ने बीमितहरूको मेहनतको प्रतिफल हो । त्यसैले म यो अवार्ड उहाँहरूलाई नै समपर्ण गर्न चाहन्छु । यस्तो अवार्डले कम्पनीहरूले गरिरहेको कामको मूल्यांकन हुन्छ । साथै थप काम गर्न उत्प्रेरणा जगाउँछ । कन्क्लेभमा प्यानल डिस्कसन पनि एकदमै राम्रो रह्यो । विषय छनोट, प्यानलिस्टहरूको विचार पनि धेरै महत्त्वपूर्ण छ । छलफलमा हाम्रो बढ्दो व्यापारघाटा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भए पनि ऊर्जाको विषयमा अलि कम छलफल भएको हो कि भन्ने लागेको छ । किनकि नेपालमा ऊर्जा उत्पादनका लागि प्रचुर सम्भावना छ । नेपाल दक्षिण एशियामै पावर ट्रेडको प्लेयर बन्न सक्छ । आगामी दिनमा यस विषयमा पनि छलफल गर्न ध्यान पुगोस् भन्ने सल्लाह दिन चाहन्छु । 

अवार्ड छनोट प्रक्रियाबारे जानकारी दिनुपर्छ 

गणेश लम्साल

सहायक प्रमुख कार्यकारी अधिकृत
नेको इन्सुरेन्स 

अवार्डका लागि कम्पनी कुन आधारमा कसरी छनोट गरिएको हो भन्ने विषयमा जानकारी दिइएन । छनोटका लागि लिइएको सूचकहरू विश्लेषण गर्दा नेको इन्सुरेन्स पनि अब्बल हो । तर हाम्रो मूल्यांकन राम्रोसँग भएन कि भन्ने लागेको छ । आगामी दिनमा अवार्ड कार्यक्रम गर्दा आयोजकले यो विषयमा ध्यान पुर्‍याओस् भन्ने मेरो सुझाव छ । यसबाहेक कन्क्लेभ त एकदमै राम्रो थियो । समसामयिक विषयमा सम्बन्धित विज्ञ तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । अहिलेको जल्दोबल्दो विषयलाई उठान गरेका कारण उपलब्धिपूर्ण छलफल भएको छ । यसबाट प्राकृतिक विपत्तिपछि हाम्रो अर्थतन्त्रलाई कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा छलफल भयो । अर्थतन्त्रमा हाम्रा समस्या र सम्भावनाको विषयमा पनि विचार–विमर्श भएकाले कार्यक्रम लाभदायक भएको छ । 

 

जिम्मेवारी बढेको महसुस गरेका छौं

प्रभास राई ,एचआर एण्ड ब्राडिङ हेड
साइन रेसुंगा विकास बैंक

कन्क्लेभ एण्ड अवार्ड कार्यक्रम एकदमै राम्रो र व्यवस्थित रह्यो । साइन रेसुंगा विकास बैंकले विकास बैंकको तर्फबाट अवार्ड जितेकोले हाम्रा लागि त अझै महत्त्वपूर्ण रह्यो । बैंकको शाख बढाउन यो अवार्ड महत्त्वपूर्ण हुनेछ । हाम्रो भ्यालू अझै बढेको छ । यसबाट आगामी दिनमा कम्पनीले राम्रो ग्रोथ गर्नुपर्ने तथा बजारमा उत्कृष्ट सेवा दिनुपर्ने जिम्मेवारी पनि बढेको महसुस गरेका छौं । सबैभन्दा राम्रो लाइफटाइम एचिभमेन्ट अवार्डका लागि एकदमै उपयुक्त व्यक्ति छनोट हुनुभएको छ । अवार्ड छनोटका लागि उत्कृष्ट जुरी गठन गरिएकाले अवार्डको विश्वसनीयता पनि कायम भएको छ । अवार्डका लागि धेरै क्षेत्रगत विधा पनि समेटिएको छ । तर, छनोट प्रक्रियाको विषयमा पनि अझै विस्तृतमा जानकारी दिइएको भए यसको अझ विश्वसनीयता बढ्थ्यो । आगामी दिनमा यस विषयमा पनि सुधार होला भन्ने अपेक्षा छ । 

सरोकारवालाहरू एउटै मञ्चमा उपस्थित हुनु सुन्दर पक्ष

विनयरत्न शाक्य, डिपोजिट मार्केटिङ हेड
मुक्तिनाथ विकास बैंक

एकदमै राम्रो र उत्कृष्ट कार्यक्रम भएको छ । कोभिड–१९ को महामारीको प्रभावले देशको अर्थतन्त्र प्रभावित भइरहेका बेला कसरी यसबाट माथि उठ्न सकिन्छ भनेर कन्क्लेभमा छलफल भएको छ । कार्यक्रमको अर्को सुन्दर पक्ष सबै सरोकारवालाहरू एउटै मञ्चमा उपस्थित हुनु पनि हो । अर्थमन्त्रीदेखि निजीक्षेत्रका उद्योगी तथा व्यवसायीका छाता संगठनका अध्यक्षहरू उपस्थित भएकाले कार्यक्रमको गरिमा बढेको छ । यसैकारण पनि कार्यक्रममा सहभागीहरूले उठाएका विषयहरू सरोकारवालाहरूसम्म पुगेको छ । प्राकृतिक विपत्तिको प्रभाव अर्थतन्त्रमा कस्तो परेको छ र यसबाट हामी कसरी बाहिर आउन सक्छौं भनेर गहन छलफल भएको छ । कार्यक्रमका सहभागीहरूले पनि गहन विचार व्यक्त गर्नुभएको छ । यसबाट हाम्रो नीतिगत सुधारका लागि सघाउ पुग्ने अपेक्षा गर्न सकिन्छ । कार्यक्रमको अर्को पाटो अवार्ड वितरणलाई मूल्यांकन गर्दा भने सुधार गर्नुपर्ने ठाउँहरू छन् । कार्यक्रममा विधागत अवार्ड वितरणका लागि जुन–जुन आधारहरू राखिएका थिए, तिनको आधारमा मूल्यांकन गर्दा अलिकति चुकेको हो कि जस्तो लागेको छ । हामीले अवार्ड नपाएकाले यो विरोध गरेका होइनौं । कार्यक्रममै प्रस्तुत गरिएको सूचकहरूका आधारमा हामीले विश्लेषण गर्दा कमेन्ट गर्ने ठाउँ छ । आगामी दिनमा यस्ता विषयमा सुधार होस् भन्न चाहन्छौं ।

प्यानल डिस्कसनको समय कम भयो 

दिपक खनाल 
डिपोजिट मार्केटिङ हेड
लुम्बिनी विकास बैंक

न्यू बिजनेश एजले गर्दै आएको अवार्ड पहिलेदेखि नै स्तरीय छ । नेपालमा यस्ता प्रकारका कर्पोरेट अवार्डहरू एकदमै कम हुन्छन् । तर कम्पनीको ब्राडिङका लागि भने यस्ता अवार्डहरूको एकदमै महत्त्व हुन्छ । यसले कम्पनीको शाख पनि बढाउँछ । 

कार्यक्रममा अहिले अर्थतन्त्रको जल्दोबल्दो विषयमा सेमिनार पनि भएको छ । प्यानल डिस्कसनमार्फत अर्थतन्त्रमा देखिएका समस्याहरूको बारेमा महत्त्वपूर्ण छलफल भयो । तर, जति महत्त्वपूर्ण विषयको उठान भयो, त्यस अनुसार समय भने कम भयो कि जस्तो लाग्छ । विषयहरूको गहिराइमा पुग्नेगरी छलफल हुन सकेन । यस्तै सहभागीहरू स्रोताको रूपमा मात्र बस्नुपर्‍यो । प्यानल डिस्कसनको समय लम्ब्याएर भए पनि केही सहभागीहरूलाई पनि प्रश्न राख्न दिइएको भए कार्यक्रममा अझै धेरैको सहभागिता रहन्थ्यो । आगामी दिनमा हुने कार्यक्रममा यो विषयमा ध्यान पुग्नेछ भन्ने मेरो अपेक्षा छ ।  

अवार्ड संयुक्त मेहनतको प्रतिफल

सुनिल पन्त
प्रमुख कार्यकारी अधिकृत
आईसीएफसी फाइनान्स लिमिटेड

अवार्ड पाउँदा हामी धेरै खुशी छौं । योभन्दा अगाडि २०१७ मा पनि हामीले यही अवार्ड पाएका थियौं । हामीले प्राप्त गरेको अवार्ड हाम्रा सबै कर्मचारीको संयुक्त मेहनतको फल हो । यो कठिन आर्थिक अवस्था विश्वव्यापी रूपमा चलिरहेको संकटको हामीमाथि परेको प्रभाव हो । पेट्रोलियम पदार्थको भाउ वृद्धिले वैदेशिक मुद्रा सञ्चितिमा नराम्रोसँग प्रभाव पार्‍यो । यसबीचमा नेपाल राष्ट्र बैंकले दुई/तीनओटा प्रावधान ल्यायो, बैंक रेट बढायो, ऋणको वस्तुमा रिस्क रेट थप्यो । यस्ता कुराको प्रभाव पर्ने भएकोले गर्दा समस्या आएको हो । अहिले उत्पादन क्षेत्रका उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् । यस किसिमले प्रभावित अर्थतन्त्रले सही रूपमा गति लिन समय लाग्छ । अर्को कुरा हाम्रो अर्थतन्त्र आयातमा निर्भर हो । रेमिट्यान्समा पनि हाम्रो अर्थतन्त्र धेरै हदसम्म निर्भर छ । हुन त नेपाल राष्ट्र बैंक उत्पादनमूलक क्षेत्रमा धेरै ऋण प्रवाह होस् भन्ने किसिमले लागेको पनि छ ।

राष्ट्र बैंकले नीतिहरूमा कडाइ पनि गर्दै आएको छ । तर, भएको बेथितिलाई थितिमा परिणत गर्न समय लाग्छ । अहिले चालेका केही कदम हामीलाई मन नपर्ला, केही व्यवसायीलाई मन नपर्ला तर सबैले सही कुराको समर्थन गर्नै पर्छ । केही समयअघि इन्टरबैंक एसएमएफ पाँच/सात खर्ब पुगिसकेको थियो अहिले झरेर ५० करोडमा आएको छ । त्यो भनेको बैंकहरूले पैसा तिरेको हो । ठ्याक्कै बन्द भएको क्रेडिट एक्सपान्सन अलिअलि शुरू भएको छ । यो महीना त ब्याजदर स्थिर राख्ने निर्णय भइसकेको छ । तर, अघिल्लो महीनादेखि ब्याजदर घट्ने भन्ने कुरा छ, जबसम्म स्टक मार्केट, रियल इस्टेटमा एक्टिभिटी अलिअलि बढ्दैन तबसम्म गाह्रै हुने भए पनि अवस्था बिस्तारै सहज हुन्छ ।

विवेकपूर्ण चयन 

शेषरमण आचार्य 
प्रमुख कार्यकारी अधिकृत, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

हाम्रो संस्थालाई जुरीले विवेकपूर्ण ढंगले छानेर जुन अवार्डबाट सम्मानित गरेको छ, त्यसबाट डिप्रोक्स लघुवित्त वित्तीय संस्थामा आबद्ध सबै पक्ष अत्यन्तै हर्षित छौं । आयोजकलाई हामी धन्यवाद दिन चाहन्छौं । अहिले बैंकिङ व्यवसायमा लगानीयोग्य रकमको कमी देखिन्छ । स्रोतको लागत बढ्दो छ । बंैकिङ व्यवसाय, अझै भन्नु पर्दा लघुवित्त त गम्भीर संकुचनको अवस्थामा छ । यो हुनुको प्रमुख कारण भनेको नीति निर्माण गर्ने र नीतिअनुसार कार्यान्वयन गर्ने वर्गको सोचमा फराकिलोपन नहुनु हो । सरकारले हरेक ६ महीनामा राजस्व लिएको छ । आन्तरिक ऋण बजारमा तरलता कम हुने गरी तानिरहेको अवस्था छ । कोभिडको कारणले पनि मानिसको व्यावसायिक मानसिकता ठीक छैन । क्रेडिट क्रन्चको अवस्थाले कुनै पनि वित्तीय संस्थाले थप ऋण दिन नसक्ने अवस्था छ । अर्थतन्त्र जहाँको तहीँ रह्यो, आर्थिक क्रियाकलाप, विकासका कामहरू बढेर बजारमा आउनुपर्ने तरलता आउन सकेन । सरकारले एक रूपैयाँ खर्च गर्दा अर्थतन्त्रमा चार रूपैयाँको असर पर्छ । यो स्थापित मान्यता हो । तर एक रुपैयाँ पनि खर्च गर्न सक्ने सरकारको स्थिति रहेन । हरेक कुरा चुनावलाई देखाएर पछि सारियो । अहिले महँगी पनि धेरै बढेको छ । पहिला मान्छेलाई आफ्नो आम्दानीले लिएको ऋण तिर्न समस्या थिएन । अहिले आफ्नो कमाइले दुई छाक टार्नै समस्या भएको छ । माथिल्लो वर्गका उद्योगी, व्यवसायीको पनि कच्चा पदार्थमा निकै भाउ बढेको छ । पेट्रोलियम पदार्थको भाउ बढ्दा बैंक, वित्तीय संस्थामा तरलता आउन सक्ने स्थितिमा कमी आएको छ । देशका वित्तीय संस्थाहरू राज्यको कानूनद्वारा सञ्चालित छन् । लघुवित्तको कुरा गर्नुु पर्दा हामीले कर्जा विधिवत् प्रक्रिया पुर्‍याएर दिँदासमेत कर्जा संकलनमा विभिन्न खालका नियोजित समस्या आइरहेको छ । यसमा राज्यको भूमिका मूकदर्शकको जस्तो मात्रै छ । राज्यले तत्काल यो अप्ठ्यारो स्थितिको समाधान गर्नुपर्छ ।

प्यानल डिस्कसन बढाउनुपर्छ 

विनय दाहाल 
सहायक प्रमुख कार्यकारी अधिकृत
कामना सेवा विकास बैंक

न्यू बिजनेश एजले जुन उद्देश्य राखेर यो अवार्ड तथा कन्क्लेभ गर्दै आएको छ, त्यसमा कार्यक्रम सफल देखिएको छ । अवार्डबाट कम्पनीहरूलाई प्रतिस्पर्धी हिसाबले काम गर्न तथा संस्थागत सुशासनमा रहन प्रेरित गर्छ । अवार्ड जित्ने कम्पनीलाई मात्र नभएर अन्य कम्पनीहरूलाई पनि यसले उत्प्रेरणा जगाउँछ । जसरी स्वतन्त्र जुरी राखेर छनोट गरिएको छ, यसले अवार्डको गरिमा पनि बढाएको छ । कार्यक्रमको अर्को पाटोमा अर्थतन्त्रको जल्दोबल्दो विषयमा पनि छलफल भएको छ । प्राकृतिक विपत्ति र बाह्य क्षेत्रको दबाबका कारण अर्थतन्त्र प्रभावित भएका बेला यस किसिमको छलफलले निकास निकाल्न मद्दत पुर्‍याउँछ । कार्यक्रममा सबै सरोकारवालाहरूको उपस्थिति रहेकाले उठेका एजेण्डाहरूका बारेमा पनि नीति निर्माताको तर्फबाट सम्बोधन हुने पनि अपेक्षा गर्न सकिन्छ । तर, कार्यक्रममा समय अभावको कारणले होला एउटा विषयमा मात्र प्यानल डिस्कसन गरिएको छ । समय बढाएर वा दुईओटा सत्रमा विभाजन गरेर भए पनि धेरै विषयमा छलफल गर्न सकिए कार्यक्रम थप प्रभावकारी हुन्छ ।

थर्डको अर्थ अझै गर्न बाँकी रहेछ

सरोजकाजी तुलाधर
प्रमुख कार्यकारी अधिकृत
गुडविल फाइनान्स कम्पनी लिमिटेड

अवार्ड पाउँला खुशी भए पनि थर्ड भएकोले अझ गर्न बाँकी रहेछ भन्ने महसुस भयो । यस अवार्ड प्रोग्राममा हामीले फाइनान्सलाई मात्रै बढी कन्सिडर गरेको जस्तो अनुभूति भयो तर फाइनान्सले मात्र सबै कुरालाई कन्सिडर गर्दैन । त्यहाँका क्राइटेरियाहरू फाइनान्समा मात्रै कन्सन्ट्रेट गरेको जस्तो देखियो । कोरोनापछिको अन्तरराष्ट्रिय समस्या त सबैलाई परेको छ तर हामीमाथि डेंगीको प्रभाव पनि सशक्त रूपमा देखियो । यसबाट आर्थिक समस्या जति हुनुपर्थ्यो त्यति भएको छैन । लोनेबल फन्ड बैंक, वित्तीय संस्थामा नभएको कारणले गर्दा कन्स्ट्रक्शन व्यवसायीलाई गाह्रो भएको देखिन्छ । यसरी सबै कुरा हेर्दा हामीलाई अप्ठ्यारो भए पनि संकट नै आइसकेको चाहिँ होइन । यो समयमा व्यवसायी, बैंकर र नियामकले सहकार्य गर्दै अघि बढ्नुपर्छ र संकटमा जानुअघि नै निस्कन सक्नुपर्छ ।

यस्तो अवस्थामा एकले अर्कोलाई दोषारोपण गरेर आफू पन्छन मिल्दैन । चालू आर्थिक वर्षको बजेटमा धेरै कुरा राम्रा थिए तर कार्यान्वयनमा समस्या देखियो । कार्यान्वयनका समस्यालाई तत्काल समाधान गर्नुपर्‍यो । बजेट कार्यान्वयन भएर बजारमा पैसाको प्रवाह सन्तुलित ढंगले अगाडि बढेमा मात्रै अर्थतन्त्र समस्याबाट बाहिर आउने हो । व्यापार गर्दा आफ्नो घर खेतै जाने अवस्था आयो भने उद्यमीहरू जन्मिन रोकिन्छ । सरकारले यस्तो अवस्था आउन दिनु हुँदैन । अहिले जग्गाको कित्ताकाट रोक्काले पनि सम्पूर्ण अर्थतन्त्रलाई स्थिर राखेको छ । यसमा परिर्वतन ल्याउनुपर्ने देखिन्छ ।

माइक्रोफाइनान्स अवार्ड पाँउदा साह्रै सुखद अनुभूति भयो

चोलाराज शर्मा जोशी
प्रमुख कार्यकारी अधिकृत, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

अवार्डले साह्रै नै सुखद अनुभूति गराएको छ । यसको लागि सर्वप्रथम म आयोजक टीम, जुरी मेम्बर, मिडियालगायत सम्पूर्णलाई छिमेक लघुवित्तको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यो अवार्डले हामीलाई आफ्नो सेवा थप सुदृढ बनाउँदै लैजान र आगामी दिनमा उत्कृष्ट वित्तीय सेवा प्रदान गर्न हौसला मिलेको छ । एक किसिमले संस्थाको शाख जोगाइराख्न र गरिमा कायम गर्न चुनौती पनि थपिएको छ । अहिलेको आर्थिक संकटको कारण नेपाल मात्रै नभएर सम्पूर्ण विश्व नै अप्ठ्यारो अवस्थामा छ । कोरोना संकटबाट थलिएको विश्व अर्थतन्त्रलाई रूस–युक्रेन युद्धले थप प्रभावित पारेको छ । यसबाट सप्लाई चेन नै प्रभावित बनेको स्थिति छ । नेपालमा पनि कोरोनाको समयमा बैंक तथा वित्तीय संस्थाबाट लगानी हुन सकेन । त्यो बेला थन्किएको पूँजीले कोरोनापछि अत्यधिक ऋण प्रवाह हुन गयो । यसरी प्रवाह भएको ऋण उत्पादनमूलक क्षेत्रमा लगानी हुन सकेन । उद्योगी, व्यवसायीले पनि कोरोना संकटले थला पारेको अवस्थामा आफ्नो स्थिति सुधार्न कम ब्याज भएको अवस्थाको भरपूर उपयोग गरे । धेरै ऋण लिए, जसले अहिले समस्या उत्पन्न गर्‍यो । अर्कोतिर नेपाल राष्ट्र बैंकले पनि पहिला अधिक तरलताले गर्दा बैंक, वित्तीय संस्थाबाट बढी कर्जा प्रवाह भयो भनेपछि २०७८ को मौद्रिक नीतिमा केही कसिला प्रावधान ल्यायो । सीसीडीलाई सीडीमा कन्भर्जन गर्‍यो । जसले गर्दा लगानीयोग्य रकम खुम्चिन गयो । अर्कोतिर सीआरआर र एसएलआरको प्रतिशत बढाइदियो । सरकारी खर्च पनि यो समयमा कम हुन गयो । सरकारी खर्च बढी भएपछि मात्रै बजारमा तरलता बढी हुने हो । अहिले देखिएको आर्थिक समस्या समाधानको लागि सरकारले पूँजीगत खर्च बढाउनुपर्छ । असारे विकासको परिपाटी अन्त्य गर्नुपर्छ । दूरदराजमा रहेका लघुवित्तबाट उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने पनि देखिन्छ । हामी कृषिप्रधान देश भएकाले आयात घटाई निर्यात विस्तारमा लाग्नुपर्छ । सरकारले लगानीयोग्य वातावरण बनाउन थप प्रयास गर्नुपर्ने देखिन्छ । 

गरेको कामको मूल्यांकन हुँदा हौसला बढेको छ 

हीराकुमारी थन्दार 
चिफ मेनेजर, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

अवार्ड पाउँदा खुसी छौं । हामीले गरेको कामको मूल्यांकन भयो । कामको मूल्यांकनबाट हौसला मिल्नु स्वाभाविकै हो । कोरोना महामारी, रूस–युक्रेन युद्ध, अहिलेको आर्थिक संकटका मुख्य कारण हुन् । हामीले हाम्रो मौलिक उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा बढीभन्दा बढी मात्रामा लग्न पनि सकिरहेका छैनौं । साना उद्यमीका वस्तु त झन् कम मात्रामा अन्तरराष्ट्रिय बजारमा पुग्न सकेका छन् । नेपाल राष्ट्र बैंकले पनि अहिलेको ब्याजदर वृद्धिको अवस्थालाई खुकुलो पारिदिएको भए स्थितिमा थप सुधार आउने थियो । लघुवित्तलाई त अझ क्याप लगाएको छ । अब हामीले १५ प्रतिशतमा लगानी गर्नुपर्ने बाध्यता आएको छ । हामी पनि त सेभिङले चल्ने संस्था हो । लघुवित्तले पनि कमर्सियल बैंकहरूसँग ऋण लिन्छ । उनीहरूलाई पनि सीडी रेसियोको कारणले गर्दा बाध्यता छ । त्यसबाट हामी लघुवित्त झन् अप्ठ्यारोमा छौं । यसको मूल्यांकन भएको भए राम्रो हुन्थ्यो । नीति राम्रो भए आर्थिक समस्या कम हुन्थ्यो । अब बन्ने सरकारले यो संकट समाधानको लागि ठोस नीति ल्याउनुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)