ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराट एक्स्पो २०२२ विशेष : रोबोटसँग गफदेखि सगरमाथा आधार शिविरको भर्चुअल भ्रमणसम्म

२०७९ पौष, ३  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । शनिवार एकै दिन २० हजारले विराट एक्स्पो २०७९ को अवलोकन गरेका छन् । एक्स्पोमा रोबोटसँग दोहोरो संवाद गर्नेदेखि भीआर (भर्च्युअल रियालिटी) प्रविधिबाट सगरमाथा आधारशिविर र पूर्वका रमणीय स्थलको अवलोकन गर्नेहरूको निकै भीड देखिएको छ । साथै किनमेल गर्ने र फुड फेस्टिवलमा स्थानीय परिकारको स्वाद लिनेहरूको समेत भीड थियो । 

पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनी’मा बजारभन्दा केही सस्तोमा उपभोग्य वस्तु पाइएको अवलोकनकर्ताले बताएका छन् । यसपटकको एक्स्पो विगतको भन्दा फरक ढंगको रहेको उनीहरूको भनाइ छ । ‘यसअघिका एक्स्पोमा सामान किन्ने र बेच्नेको मात्र भीड रहन्थ्यो,’ विराटनगर–७ का अनिष अर्यालले भने, ‘तर, यस पटक फरक किसिमका स्टल राखिएका रहेछन् ।’

एक्स्पोमा उपभोग्य वस्तु बजारको भन्दा सस्तो रहेको अर्यालले बताए । ‘विगतका एक्स्पोमा सामान खरीदविक्रीका साथै रोटेपिङलगायत खेल हुन्थ्यो । यसपटक त्यो बाहेक नयाँ किसिमका योजनाहरूको स्टल रहेको पाएँ,’ उनले भने । व्यापार व्यवसाय गर्न आवश्यक परामर्शलगायत नयाँ व्यापार व्यवसायको सम्भावनाको क्षेत्र बुझाउन छुट्टै स्टल रहेको उनले बताए ।

एक्स्पो कस्तो रहेछ भनेर हेर्न आएको इटहरीबाट आएकी सृजना पोखरेलले बताइन् । ‘यसअघि लाग्दै आएको एक्स्पो र अहिलेको एक्स्पोमा धेरै फरक रहेको पाएँ,’ उनले भनिन्, ‘हामी गृहिणीहरूको मुख्य आकर्षण नै दैनिक उपभोग्य वस्तु हो । यहाँ ती वस्तु बजारमा भन्दा सस्तोमा किन्न पाइयो ।’

त्यसैगरी एक्स्पोमा रहेका विभिन्न किसिमका खानाका स्टल पनि अवलोकनकर्ताको अर्को आकर्षण रहेको छ । यहाँ स्थानीय स्वादका खाना रहेकाले पनि त्यसको आकर्षण बढेको हो । एक्स्पोमा स्टल अवलोकनका अलावा दैनिक विभिन्न कार्यक्रम हुने गरेका छन् । 

शनिवार ‘प्रदेश १ मा लगानीका सम्भावना र अवसर तथा क्षेत्रीय सञ्जाल–सम्बन्ध र व्यापारिक अवसर’को विषयमा विज्ञहरूले आ–आफ्नो कार्यपत्र प्रस्तुति गरेका थिए । आइतवार प्रदेशको पर्यटन क्षेत्रमा लगानी सम्भावनाका बहुआयामिक पक्ष, पर्यटन प्रवर्द्धन के गर्ने के नगर्ने, पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका, बदलिँदो राजनीति र खस्कँदो अर्थतन्त्रमा युवा नेतृत्वको भूमिकाको विषयमा सम्बन्धित विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । 

यसैगरी दैनिक सांस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय गायकहरूको प्रस्तुति रहनेछ । आइतवार मिस्टर डी र्‍यापरको प्रस्तुति रहनेछ । महानगरका विभिन्न स्थानबाट एक्स्पो आउन–जान सटल बसको व्यवस्था गरिएको छ । 

एक्स्पोमा सटल बस सेवाका साथै स्थानीय खानाका परिकार एक्स्पोमा सटल बस सेवा नि:शुल्क सञ्चालन गरिएकाले गाउँबाट समेत अवलोकनकर्ताको भीड लाग्न थालेको छ । साथै सस्तोमा स्थानीय विभिन्न खानाका परिकारको मजा लिन पाइएको अवलोकनकर्ताले प्रतिक्रिया दिएका छन् ।

विराटनगर–४ ज्वाला टोलीकी खुसवती थरुनीले शनिवार घरैमा जस्तै स्टलमा पनि घुँगी किनेर खाइन् । भक्का र घुँघीको स्वादले उनलाई निकै प्रफुल्लित बनायो । उनले भनिन्, ‘अरू बेलाको भन्दा यसपटक फराकिलो ठाउँ भएकाले घुम्न पनि सहज नै भयो ।’

एक्स्पो अवलोकन गर्न आउनेलाई लक्षित गरी सातै दिन अर्थात् एक्स्पोको समयसम्म नि:शुल्क रूपमा सटल बसले सेवा दिने आयोजक समितिले बताएको छ । विराटनगर महानगरपालिकाका विभिन्न १४ स्थानबाट नि:शुल्क सटल बस सेवा सञ्चालनमा ल्याइएको छ । यसअघिका एक्स्पोमा सटल बसको व्यवस्था थिएन ।

एक्स्पोमा सहभागी हुन देशका विभिन्न स्थान र छिमेकी देशबाट आउने आगन्तुकलाई लक्षित गरी विराटनगरका होटलहरूले समेत छूटको व्यवस्था गरेका छन् । आयोजक समितिले होटल एशोसिएशन नेपाल, प्रदेश १ सँग सहकार्य गरी विराटनगरका साना तथा ठूला सबै होटलमा विशेष छूट दिने व्यवस्था गराएको छ । 

एक्स्पोका स्टलमा उदयपुरको केराको परिकारदेखि मोरङ कटहरीको च्याउको परिकार, घुँगी, सेलरोटी, थकाली खानालगायतका परिकार  राखिएका छन् । स्थानीय परिकारका स्टलहरूले एक्स्पोमा आगन्तुकलाई आकर्षण गर्ने कृषि विकास मन्त्रालय प्रदेश १ ले बताएको छ । कृषि विकास मन्त्रालय प्रदेश १ की खाद्य अनुसन्धान अधिकृत विमला पोखरेलले स्थानीय खानाका परिकार प्रवर्द्धनको उद्देश्यले मन्त्रालयको सहयोगमा विभिन्न स्टल राखिएको बताइन् ।

स्थानीय खानाका परिकारलाई परिष्कृत रूपमा मेलामा राखिएकाले उपभोक्ता आकर्षित हुने उनको भनाइ छ । मन्त्रालयले स्टल भाडामा लिएर किसानलाई स्थानीय स्तरका परिकारको प्रवर्द्धनका लागि उपलब्ध गराएको उनले बताइन् । 

स्टार्टअपका लागि छुट्टै पेभिलियन

एक्स्पोमा स्टार्टअपका लागि छुट्टै पेभिलियन राखिएको छ । युवाका लागि व्यावसायिक वातावरण तयार गर्न एक्स्पोमा छुट्टै पेभिलियन राखिएको आयोजक उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले जानकारी दिए । स्टार्टअप प्रोजेक्ट उद्योग संगठन मोरङले प्रदेश १ मा पहिलोपटक सञ्चालनमा ल्याएकाले एक्स्पोमा पनि स्टार्टअपको छुट्टै पेभिलियन राखिएको उनले बताए ।

पेभिलियनमा उद्योग संगठनको स्टार्टअप कार्यक्रमअन्तर्गत दोस्रो ब्याचका लागि छनोट गरिएका १७ ओटा स्टार्टअप नवप्रवर्तक उद्यमी, बिजनेश कोचहरू, विराटनगर महानगरपालिका, प्रदेश उद्योग तथा श्रम, रोजगार मन्त्रालयलगायतको सहभागिता हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)