ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विज्ञान र प्रविधिको उच्चतम प्रयोग हेर्न एक्स्पोमा आउनुहोस् : सुयशराज प्याकुरेल [अन्तरवार्ता]

२०७९ पौष, ३  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

एक्स्पो किन गर्दै हुनुहुन्छ ?

आफ्ना नयाँ उत्पादनहरू, अनुसन्धानहरू प्रदर्शन गर्ने उद्देश्यले एक्स्पो गर्न लागेका हौं, जसका कारण बजार विस्तारमा सहज हुन्छ । आम उपभोक्ता र उत्पादनकर्ताहरूबीचको भेटघाट नै एक्स्पो हो । एउटै थलोमा धेरै किसिमका उत्पादनहरू उपभोक्तालाई देखाउन सकिने र उपभोक्ताले पनि एकै थलोमा दुई तीन घण्टामै धेरै किसिमको उत्पादन, अनुसन्धान, प्रविधिको अवलोकन गर्न सक्नेछन् ।

विश्वमा ‘बी टु बी नेटवर्किङ’का लागि ठूला ठूला मेला हुने गर्छन् । चीनमा हरेक १५ दिनमा एक्स्पो आयोजना हुन्छ भने भारतमा पनि हुन्छ । हाम्रो नेपालमा पनि यो संस्कृति बढ्दै छ, जसको कारण व्यवसाय विस्तारमा सहयोग पुगेको छ । बी टु बी नेटवर्क विस्तारका लागि यसले सहयोग पुर्‍याएको छ । हाम्रो पनि यो सातौं संस्करण हो । हरेक पटक केही न केही राम्रो गर्दै आएका छौं । यो क्रममा सातौं संस्करण विराट एक्स्पो २०२२ को आयोजना गरिरहेका छौं । यसपालिको एक्स्पोमा विज्ञान र प्रविधिको धेरै प्रयोग भएको छ ।

रोबोटसँगको संवाद, भीआर प्रविधिबाट पूर्वाञ्चलका पर्यटकीय क्षेत्रको भर्चुअल अवलोकन भ्रमण गराउनुका साथै होलोग्रामको माध्यमबाट हावामा दृश्यहरू देखाउँदै छौं । स्टार्टअप इन्नोभेसन सेन्टर राखिएको छ । प्रदेश १ सरकारसँगको सहकार्यमा ५० करोडभन्दा बढीको लगानीका अवसर जुटाएका छौं । कोही लगानी गर्न इच्छुक हुनुहुन्छ भने परियोजना तयार छ । विज्ञान प्रविधि र रोजगारको त्रिवेणीका रूपमा यो एक्स्पो आयोजना भएको छ ।

अन्य के छन् एक्स्पोमा ?

हामीले स्थानीय युवाका लागि गायन प्रतियोगिता आयोजना गरेका छौं भने नेपालका ख्यातिप्राप्त कलाकारले पनि हरेक साँझमा प्रस्तुति दिनुहुनेछ । साथै स्थानीय परिकारहरूको मजा लिन सकिनेछ । यहाँ आएपछि निस्केर गइहालौं भन्ने हँुदैन । अवलोकनकर्तालाई एक्स्पो भित्रै बसिरहँुजस्तो लाग्ने वातावरण छ ।

२० वर्षदेखि स्थायी प्रदर्शनी स्थल किन बन्न सकेन ? 

प्रदर्शनी स्थलका लागि विराटनगर महानगरपालिकाले उद्योग संगठन मोरङ र मोरङ व्यापार संघलाई जमीन दिइसकेको छ । केही सानातिना समस्याका कारण प्रदर्शनी स्थल बन्नबाट रोकिएको छ । जसरी प्रदेश सरकारले यो एक्स्पो सफल पार्न सहयोग गर्नुभयो, त्यसरी नै प्रदर्शनी स्थलको निर्माणमा देखिएका केही साना अवरोध पनि हटाइदिएर सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौं । हामी विश्वस्त छौं कि प्रदेश सरकारले यसमा अभिभावकको भूमिका निर्वाह गर्नेछ ।

पूर्वाधार नभएकाले हामीले एउटा मेला आयोजना गर्न ६ महीनादेखि तयारी गर्नुपरेको छ । भौतिक संरचनामै सबैभन्दा बढी खर्च गर्नुपरेको छ । स्थायी संरचना भएको भए १५ दिनमै एक्स्पो आयोजना गर्न सकिन्थ्यो । त्यसैमा वर्षभरिमा १८ ओटासम्म अन्य विषयगत एक्स्पो आयोजना हुन्थे । तर प्रदर्शनी स्थल अभावका कारण अहिले त्यो सम्भव भएको छैन । तर म प्रदेश सरकार, महानगरपालिका र सबै सरोकारवाला निकायहरूलाई आग्रह गर्छु– महानगरले उपलब्ध गराएको जमीनको अवरोध हटाएर एउटा राम्रो प्रदर्शनी स्थल बनाऔं ।

एक्स्पो अवधिभर कति कारोबार होला ?

यो प्रश्न अलि कठिन लाग्छ मलाई । एक्स्पो भनेको नेटवर्किङ गर्ने माध्यम हो । यहाँ यही थलोमा सबै किनबेच गर्नुपर्छ र हुन्छ भन्ने होइन । मुख्यत: उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष भेटघाटको अवसर दिने हो । कारोबार यहाँभन्दा बाहिर गएर पनि हुन्छ । आज एक्स्पोमा कसैले एक करोडको गाडी हेर्न मन पराउँछ, तर त्यो तीन महीनापछि पनि शोरूममा गएर किन्न सक्छ नि । त्यसैले एक्स्पोमा यति कारोबार होला भनेर अनुमान गर्नुपर्ने देख्दिनँ ।

लगानी कति लाग्यो ?

यहाँ पूर्वाधारमा मात्रै करीब करीब साढे तीन करोड रुपैयाँ लगानी लागेको छ । यो लगानी उठ्छ पनि । कठिन पस्थितिमा पनि प्रायोजन गरिदिनुभएको छ । हामी उहाँहरूलाई धन्यवाद दिन चाहन्छौं । उद्योग संगठनले पनि कमाएको एउटा सम्बन्ध यहाँ देखियो । 

एक्स्पोले स्थानीय अर्थतन्त्रलाई कत्तिको चलायमान गराउँछ ? 

केही छोटो समय भए पनि इकोसिस्टम यहाँ लागू हुन्छ । किनकि एक्स्पो यहाँ लागेपछि सडकमा मकै पोल्नेले पनि अरू बेलाभन्दा बढी पैसा कमाउँछन् । यहाँ आएर गर्ने किनमेलले स्थानीय अर्थतन्त्रलाई चलायमान त बनाउँछ नै, साथै बाहिर पनि ससाना पसलेहरूले पनि कमाउने मौका पाउँछन् । एउटा अस्पताल खुल्यो भने त्यसको अगाडि चिया पसल खुलेजस्तै यो इकोसिस्टम जहाँ पनि लागू हुन्छ । वर्षभर हुने कारोबार साना व्यवसायीले एक सातामै पनि गर्छन् । त्यसैले यो एउटा अवसर हो । 

पुस महीनामा दिन छोटो हुन्छ, अवलोकनकर्तालाई त्यसले कतिको असर पार्छ ? 

हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौं । सबैतिर लाइटको राम्रो प्रबन्ध गरेकाले अवलोकनकर्तालाई आउन र जान कुनै समस्या हुँदैन । सूर्य अस्ताउने अलि चाँडै हुने भए पनि ८–९ बजेसम्म एक्स्पोमा भीडभाड रहन्छ ।

एक्स्पोमा अवलोकनकर्ताले वस्तु तथा सेवाबाहेक अन्य के पाउँछन् ? 

विज्ञान तथा प्रविधिको उच्चतम प्रयोग छ । औद्योगिक प्रदर्शन छ । नवीनतम सोच भएकाहरूका लागि छुट्टै पेभिलियन छ । टेक्नोलोजीको नयाँ प्रयोग छ । आएर हेरेपछि मात्र थाहा पाउनुहुन्छ कि यहाँ भनेको भन्दा पनि राम्रो व्यवस्था छ । पहिलो दिन आउने अवलोकनकर्ताले नै अरूलाई यो मेला घुम्न आग्रह गर्छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)