विराटनगर बजार क्षेत्रभन्दा केही दक्षिणमा एक्स्पोको आयोजना गरियो । धेरैले स्टल बुक नै हुँदैन भन्ने अनुमान गरिरहेका थिए, अवस्था कस्तो छ ?
धेरैले पहिले त्यस्तै भने । तर हाम्रो आयोजना पहिलेका एक्स्पो भन्दा फरक भएकाले ३५० ओटै स्टल बुक भए । अहिले पनि ५०–६० जनाले स्टल पाउनुभएको छैन । उहाँहरू पछि पर्नुभयो । हाम्रो ब्राण्डिङ हेरेपछि अहिले पनि धेरैले स्टल खाली छ ? भनेर सोधिरहनु भएको छ ।
एउटा स्टलको कति पर्छ ?
प्राइम स्टलको शुल्क ५० हजार र सामान्य स्टलको ४० हजार रुपैयाँ छ ।
स्टलको शुल्क पहिलेको भन्दा बढी हो ?
यसअघि भएको एक्स्पोकै शुल्क अहिले पनि कायम गरिएको छ । लगानी र क्षेत्रफलका हिसाबले यो ठूलो भए पनि अहिलेको आर्थिक असहजतालाई ध्यानमा राखेर हामीले स्टलको शुल्क बढाएका छैनौं ।
पहिले डोमभित्रका केही स्टलहरूमा जाम भएकाले बाहिर–भित्र गर्नै समस्या भएको थियो । अहिलेका अवस्था के छ ?
हामीसँग डोमभित्र र बाहिर प्रशस्त ठाउँ भएकाले यसपटक भीड हुने र आउजाउ प्रभावित हुने अवस्था रहँदैन । हामीले त्यसलाई ध्यानमा राखेर किनबेच हुने र भीड लाग्न सक्ने स्टलहरूलाई चुस्त व्यवस्थापन गरेका छौं, जसका कारण एकै ठाउँमा मानिसहरूको भीड लाग्ने अवस्था छैन ।
एक्स्पोको लक्षित अवलोकनकर्ता को हुन् ?
हामीले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई लक्षित गरेका छौं । बेरोजगारदेखि रोजगारदाता एकै ठाउँमा भेट हुने अवसर छ । नयाँ उद्योग खोल्ने मनस्थिति बनाएका युवालाई समेत समेट्न छुट्टै डोमको व्यवस्था गरिएको छ । भीआर प्रविधिको माध्यमबाट सगरमाथा आधार शिविरको अवलोकन र ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न सकिने व्यवस्था छ । युवाहरूका लागि स्टार्टअप सेन्टर छ ।
एक्स्पोमा खानाको व्यवस्था कस्तो छ ?
यो एक्स्पोमा सबै किसिमका खानाको स्वाद चाख्न पाइनेछ । स्थानीयदेखि दक्षिण एशियासम्मको खानाका परिकार यहाँ उपलब्ध छन् । थकाली खानादेखि तराईको घुँगीसम्मको परिकार एक्स्पोमा राखिएका छन् ।
भारतीय अवलोकनकर्ता कत्तिको आउनुहुन्छ ?
हामीले सीमाक्षेत्रका भारतीय बजारहरूमा पनि प्रचारप्रसार गरेका छौं । त्यसैले जोगवनी, फारबिसगञ्ज, पूर्णियासम्मका बासिन्दा एक्स्पो अवलोकन गर्न आउने विश्वास छ । पहिले पनि विराटनगरमा एक्स्पो हुँदा भारतीय अवलोकनकर्ताको पनि उल्लेख्य उपस्थिति हुने गरेको थियो ।
अरू बेलाको भन्दा यो एक्स्पो फरक छ । अवलोकन गरेर यसको फाइदा उठाउन हुन म सबैलाई अनुरोध गर्दछु । साथै एक्स्पोलाई सफल पार्न अहोरात्र हामीलाई साथ दिनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।