ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

के भन्छन् संघका पदाधिकारीहरू ? [वीरगञ्ज उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारणसभा विशेष]

२०७९ फागुन, २८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

लगानी भित्र्याउन द्विपक्षीय सम्झौता गर्नुपर्दछ

गोपाल केडिया
निवर्तमान अध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघ

केही समयअघि उद्योगी व्यापारीको टोली सिंगापुर र भियतनाम भ्रमणमा गएको थियो । उद्योग व्यापारका लागि सिक्ने सन्दर्भमा त्यसलाई उपलब्धिपूर्ण मान्नुपर्दछ । त्यस क्रममा संघ र त्यहाँ उद्योगी व्यापारीका संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ । अब यो उपलब्धिको स्वामित्व सरकारले लिनुपर्दछ । त्यसलाई सहकार्य र नीतिगत व्यवस्थापनका लागि औपचारिकतामा रूपान्तरण गरिनुपर्दछ । निजीक्षेत्रले तयार गरेको यो प्लेटफर्मलाई सरकारले औपचारिकता दिनुपर्दछ । सरकारले लगानी भित्र्याउन द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुपर्दछ ।

अहिलेकै अवस्था रहे अर्थतन्त्र दुर्घटित हुन्छ

अनिल कुमार अग्रवाल
वरिष्ठ उपाध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघ

उद्योगी व्यापारी निरुत्साहित भएका छन् । बैंकका नयाँ नयाँ नियमले आतंक सृजना भएको छ । सरकार र निजीक्षेत्रले बेलैमा यसको निकास ननिकाल्ने हो भने ठूलो दुर्घटना हुन सक्दछ । उद्योग व्यवसाय धराशयी हुँदा त्यसको असर बैंक, सरकार र समग्र अर्थतन्त्रमै पर्छ । सरकारले रातारात नयाँ नीति लिएर के गर्न खोजेको हो, त्यो बुझ्न सकिएन । सरकारले लगाएको नीतिमा केही परिवर्तन भएको छैन । भन्सारमा बिल भ्यालू अहिलेसम्म किन लागू भएको छैन ? त्यसमा केही समस्या छ भने निकास निकालौं । मूल प्रवेशबिन्दुमा सच्याउन सकिन्छ भने किन नगर्ने ? यसमा निजीक्षेत्र र सरकार बसेर छलफल भयो भने निकास अवश्य निस्किन्छ । भन्सारमा बिल मूल्यलाई मान्यता दिए हुन्छ । अरू केही कुरा भए अनुसन्धानका निकाय अरू पनि छन् । वीरगञ्ज काम गर्ने व्यावहारिक ठाउँ हो । राज्य पक्षले उद्योग व्यापारको वातावरण बनाउने हो भने दुवै पक्ष मिलेर समाधान निकाल्नुपर्छ । त्यसका लागि हामी सधैं तयार छौं । यसरी समस्या समाधान हुन सक्छ । तस्करी र चुहावट रोक्नु मात्र ठूलो उपलब्धि होइन । अब प्रहरी लगाएर मात्र हुँदैन । नीति परिवर्तन गर्नुपर्दछ । नीतिमा स्थायित्वको पनि आवश्यकता छ ।

सरकारले उत्पादनमा ध्यानै दिएन

हरिप्रसाद गौतम
उपाध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघ

३० वर्षदेखि अर्थतन्त्रलाई नजिकबाट हेरेको छु । अहिलेजस्तो अप्ठेरो पहिला कहिल्यै महसुस भएन । उत्पादकत्व घटेको छ । भन्सार राजस्व उठाउने मात्र भन्छ । तर राजस्व निकै कम मात्र उठेको छ । उद्योग सरकारको प्राथमिकतामा छैन । सुशासन छैन । भ्रष्टाचारले खर्च बढाएको छ । राजस्वभन्दा साधारण खर्च बढी छ । अनुदान कम भयो । कोभिडपछि दाता आफ्नै देशमा केन्द्रित भए । यसले आर्थिक दुर्घटनाको त्रास निम्तने जोखिम छ । यो अवस्थामा निर्मम समीक्षा गरेर अघि बढ्न आवश्यक छ । साधारण खर्च घटाउनेतर्फ सरकारले सोचेको छैन । उद्योग र पूर्वाधार विकासको नीति चाहियो, टालटुले नीतिले हुँदैन । आयातमा होइन, उद्योग र उत्पादनमा आधारित राजस्व नीतिको खाँचो छ । यी कुरा गर्न सरकार तत्पर हुनुपर्‍यो । वीरगञ्ज क्षेत्र अहिलेसम्म औद्योगिक कोरिडोर हुन सकेको छैन । सरकार उद्योगप्रति संवेदनशील छैन । उद्योगमा आन्तरिक र बाह्य लगानी ल्याउने सोच छैन । ऐन नियम उद्योगमैत्री छैनन् ।

उद्योगी थुन्ने खालका कानून छन् । माग जायज छैन भने भन्नुपर्‍यो, होइन भने पूरा गर्नुपर्दछ । बजेटका लागि सुझाव दिएका छौं । तर भन्सारबाट राजस्व आएसम्म सरकार उद्योगप्रति सकारात्मक नहुने देखियो । सरकारमा हुनेहरूले राजनीति मात्र नभई औद्योगिक उत्पादन प्रवर्द्धनको विषयलाई पनि प्राथमिकतामा राख्नुपर्‍यो ।

चालू पूँजी कर्जा मार्गदर्शन गलत समयमा आयो

माधव राजपाल
उपाध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघ

सरकारले लगानीकर्ता आकर्षित गर्न सकेको छैन । भएका औद्योगिक तथा व्यापारिक पूर्वाधारको प्रयोग खर्च र उपयोगिताको हिसाबले व्यावहारिक छैन । हामीकहाँ यस्तो नीतिनियम छ कि एउटा वडाध्यक्षको रुचि भएन भने लगानीकर्ताले उद्योग स्थापना गर्न सक्दैन । वीरगञ्जमा २० वर्षदेखि ट्रान्सपोर्ट नगरको माग पूरा हुन सकेको छैन । यो भएमा सुक्खा बन्दरगाह र आईसीपीको उपयोगिता बढी हुने थियो । हामीले देख्यौं, सिंगापुर र भियतनाममा बढीमा २० प्रतिशत कर्पोरेट ट्याक्स छ । हामीकहाँ २५ देखि ३६ प्रतिशत छ । त्यो ५० प्रतिशतसम्म हुन्छ । यो कुरा सरकारले बुझ्नुपर्दछ । दर बढाएर होइन, आय र दायरा बढाएर कर उठाउनुपर्दछ । चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन गलत समयमा आएको छ । डस्टी कार्गोको समस्या समाधानमा लागेका छौं । यसमा नेपाल र भारतीय निकायमा पहल भइरहेको छ । यसमा सरकारको ध्यान जानुपर्दछ ।

समस्या समाधानलाई स्वचालित बनाउनुपर्दछ

मनोजकुमार दास
महासचिव, वीरगञ्ज उद्योग वाणिज्य संघ

संघले उद्योग व्यापारका समग्र समस्याको समाधानमा प्रयास गरिरहेको छ । समाधानलाई स्वचालित बनाउनुपर्दछ । संस्थागत प्रयासको कुरा गर्दा सबैले अध्यक्षको मात्र मुख ताकेर हुँदैन । सबैले बाँडेर काम गर्‍यो भने सहज हुन्छ । राज्यले हाम्रा कुरा सुनेको छ । तर सम्बोधनमा त्यति उदारता देखिएको छैन । कति कुरा त १५/२० वर्षदेखि भन्दै आएका छौं । तर, बोल्न छाड्नुहुन्न । सिमरा विमानस्थलमा रात्रि अवतरण १५/२० वर्षमा भयो नि । निजगढ विमानस्थल र द्रुतमार्गका कुरामा पनि बोल्नुपर्दछ ।

संघले पूर्वाधारमा लगानी गरेको छ

गोविन्द शाह
कोषाध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघ

कोषाध्यक्षको रूपमा बितेको २ वर्ष सन्तोषजनक रह्यो । यो समयमा संघले पूर्वाधारमा लगानी गरेको छ । अत्याधुनिक सभाहल बनाएको छ । पोखरिया र नारायणी अस्पतालमा पूर्वाधार बनाउने काम भएको छ । कोभिडको समयमा सामाजिक सेवामा थुप्रै काम भएका छन् । आर्थिक मन्दीको अवस्था छ । त्यसको प्रभाव चौतर्फी परेको छ । सरकारका निकायमा पहल गरेर राम्रो गर्ने प्रयास गरिरहेका छौं ।

आगामी वर्ष झन् समस्या हुने सम्भावना छ

आशीष लाठ
सचिव, वीरगञ्ज उद्योग वाणिज्य संघ

म संघमा सक्रिय भएको १० वर्ष भयो । ५ वर्ष पदाधिकारीमा बसेँ । बितेको २ वर्ष चुनौती पनि थियो । विगत २ वर्ष बैंकिङ समितिको संयोजक पनि थिएँ । बैंकिङ क्षेत्रमा धेरै समस्याहरू आए । धेरै सिक्ने मौका भयो । पदाधिकारी र कार्यसमितिको सहयोग पाइयो । तर, समस्याको अपेक्षित सम्बोधन भएन । मन्त्रीले बोलाएर वाचा पनि गरे । केही दिनपछि राष्ट्र बैंकको अपडेट पनि आयो । तर, त्यसमा खासै केही पनि सुधार आएन । सरकारले बेलैमा समस्याको समाधान नदिने हो भने फेरि आन्दोलनको रूपमा लिन सक्दछ । चालू पूँजी कर्जामा राष्ट्र बैंकको उद्देश्य राम्रो छ । तर, कार्यान्वयनको समय गलत भयो । ठूलो मन्दीको अवस्थामा छ । व्यापार घटेको छ । सरकारको राजस्वमा पनि समस्या छ । सरकारले यसलाई बेलैमा सम्बोधन नगरे आगामी वर्ष झन् समस्या हुनेछ ।

अर्थतन्त्रको स्थायित्वका लागि मानव पूँजी महत्त्वपूर्ण

अरविन्द्र अमात्य
सचिव, वीरगञ्ज उद्योग वाणिज्य संघ

अर्थतन्त्रको स्थायित्वका लागि मानव पूँजीको प्लेसमेन्ट हुनुपर्दछ । नेपालमा अवसर धेरै छ । हामीले उपयोगका लागि मानव पूँजी र अवसरको बीचमा पुलको काम गरेका छौं । बजारको आवश्यकताअनुसारको जनशक्ति उत्पादनको उद्देश्य हामीले राखेर काम गरेका छौं । स्थानीयले रोजगारी पाऊन् भन्ने उद्देश्यले १५० जनालाई स्थानीय आवश्यकताअनुसारको तालीम दियौं । यस्तोमा तालीम लिएकामध्ये ९० प्रतिशत स्थानीयवासी रोजगारी वा स्वरोजगारीमा आबद्ध भएका छन् । यस्तोमा मेसन, मोटरसाइकल मर्मत, लेडिज जुत्ता झोला बनाउने, विद्युत् मर्मत, आर्क वेल्डरलगायतका तालीम दिएका छौं । मन्टेस्सोरी शिक्षकलाई पनि तालीम दिइएको छ । आगामी दिनमा कपाल काट्ने र मोबाइल मेकानिक, इन्डक्सन चूलो मर्मत तालीम दिने योजना छ ।

क्रेडिट एक्ट आउनुपर्दछ

प्रेमचन्द्र गोयल
सहकोषाध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघ

उवासंघमा रहेको २ दशक भयो । यो कार्यकाल विशेष रह्यो । कार्यसमिति बैठक नियमित भयो । सिंगापुर र भियतनाम भ्रमण उत्साहजनक रह्यो । बढ्दो ब्याजले व्यापारमा भएको असरका लागि अर्थमन्त्री र गभर्नरलाई पहल गरेकोमा खासै सम्बोधन भएन । विरोधमा सडकमै आउनुपर्‍यो । क्रेडिट एक्टको आवश्यकता भयो । व्यापार साह्रै गाह्रो भयो । क्रेडिट एक्ट आउनुपर्दछ ।

उद्योग व्यापार घराशयी हुने अवस्था आउन सक्छ

सुशान्त चाचान
सहसचिव, वीरगञ्ज उद्योग वाणिज्य संघ

बारा–पर्सा औद्योगिक र व्यापारिक दृष्टिले धेरै सम्भावना भएको ठाउँ हो । वीरगञ्ज उद्योग वाणिज्य संघमा रहेर हामीले यही सम्भावनालाई कसरी बढीभन्दा बढी उपयोग गर्न सकिन्छ भन्नेमा पहल र प्रयास गरेका छौं । कोरोना महामारीयताको समयमा समग्र उद्योग व्यापार समस्यामा परेको छ । उद्योगी व्यापारीको प्रत्येक प्लेटफर्ममा यो कुरा उठेको छ । सरकारलाई आग्रह गरेका छौं । सरकारले ल्याएको चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, बैंकले बढाइरहेको ब्याज, बजारमा आएको मन्दीलगायत कारण उद्योगी व्यापारी समस्यामा परेका छन् । सरकारले उद्योग व्यापार कसरी जोगिन्छन् भन्ने उद्देश्यले नीतिगत सुधार गर्नुपर्दछ । यस्तै अवस्था रहेमा धेरै उद्योग व्यापार घराशयी हुने अवस्था आउन सक्दछ ।

औद्योगिक कोरिडोरको नीतिगत व्यवस्थापन चाहिन्छ

अनोज रुंगटा
सहसचिव, वीरगञ्ज उद्योग वाणिज्य संघ

हामीले केही महीनाअघि सिंगापुर र भियतनाम भ्रमणका क्रममा त्यहाँको औद्योगिक र व्यापारिक वातावरणको बारेमा जान्ने बुझ्ने मौका पायौं । त्यहाँका अवसरहरूमा हामीले सहकार्य गर्ने समझदारी पनि भएको छ । भियतनामका औद्योगिक क्षेत्रहरूमा आवश्यक सबै व्यवस्था भएको पाइयो । हामीकहाँ यस्ता क्षेत्र उपयोगविहीन भएर बसेका छन् । यता उद्योगीले उद्योगका लागि ठाउँ पाएका छैनन् । त्यस्तो खालको कोरिडोर हाम्रोमा पनि हुनुपर्दछ । हामीकहाँ जग्गा सस्तो भएर पनि पूर्वाधारको अभावमा उपयोग हुन नसकेको हो । यस्ता समस्याको नीतिगत व्यवस्थापन चाहियो । त्यसका आवश्यक अरू सबै पूर्वाधार चाहियो । उपयोग हुन पाएको छैन । उद्योग छरिएर बसेका छन् । एकै ठाउँमा भएमा सहज हुन्छ । त्यस्ता उद्योगका लागि चाहिने पूर्वाधारको व्यवस्थापनमा सहज पनि हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)