सूचना, प्रविधि, इन्टरनेट, अल्ट्रा–हाई–टेक कम्पनीले सृजना गरेको बिल्कुल नयाँ खालको अर्थतन्त्र हो नवीन अर्थतन्त्र । यसलाई उच्च आर्थिक वृद्धिदर भएका प्रविधिमा आधारित उद्योगले चलाएको हुन्छ । यस्तो खालको अर्थतन्त्रमा आर्थिक वृद्धिदर र उत्पादकत्वलाई चलायमान पनि उन्नत खालको परिष्कृत प्रविधिले बनाइरहेको हुन्छ ।परम्परागत अर्थतन्त्रको तुलनामा यसमा उत्पादकत्व निकै धेरै हुन्छ । आर्थिक वृद्धिदर पनि निकै उच्च रहन्छ ।
नवीन अर्थतन्त्र भन्ने शब्द सुन्दा अहिले पनि धेरैलाई ओहो यो के हो भन्ने लाग्ला । तर, यो शब्द अहिले एक्कासि आएको होइन । इन्टरनेट अनि शक्तिशाली कम्प्युटरहरूको प्रयोग बढ्न थालेसँगै यसले उपभोक्ता र बजारको आयाम बदल्न शुरू गरिरहँदा सन् १९९० को दशकको अन्त्यतिर यसको अवधारणा आएको थियो ।
यसलाई खासगरी ९० को दशकको अन्त्यतिर र सन् २००० को दशकको शुरूतिरको प्रविधि क्षेत्रको शेयरको मूल्य वृद्धिको फोकासँग जोडेर हेर्ने गरिएको छ । यो अमेरिकाबाट शुरू भयो । अर्को केही वर्षमा अन्य विकसित अर्थतन्त्रसम्मै पुग्यो । अर्को १ दशकमा कयौं उदीयमान अर्थतन्त्रमा यस्तै खालको आर्थिक कायापलट देखियो । केहीले अर्थतन्त्र उत्पादनमुखीबाट सेवामुखीमा रूपान्तरित हुँदै गर्दाको संक्रमणकालीन अवस्थालाई नवीन अर्थतन्त्र भन्छन् ।
अझ सरल भाषामा भन्दा उत्पादन र कमोडिटीमा आधारित अर्थतन्त्र विस्तारै प्रविधिमा केन्द्रित भएर नयाँ वस्तु र सेवाको सृजनामा प्रविधिको व्यापक प्रयोग हुने अर्थतन्त्र नै नवीन अर्थतन्त्र हो । यसको उत्पादनलाई परम्परागत उत्पादनमुखी अर्थतन्त्रले टक्कर दिनै सक्दैन । अहिले हाई–टेक र इन्टरनेटले काम गराइ, समय बिताउने तरीकासहित हाम्रो दैनिक जीवनको हरेक खण्डलाई फेरिदिएको छ ।
अरू त अरू यसले अर्थशास्त्रको आधारभूत नियमसमेत बदलिदिएको छ । स्वचालन र रोबोटको बढ्दो प्रयोगले शारीरिक श्रम गर्ने करोडौं रोजगारी खोसिने सम्भावना बढेको छ । उत्तिकै मात्रामा नयाँ रोजगारी पनि सृजना हुने अवस्था छ । हाम्रो किनमेल गर्ने तरीका, यात्राको शैली फेरिदिएको छ । हामी सानो छँदा परिकथाझैं लाग्ने वा कल्पनै नगरेको कुराहरू अहिले हाम्रो दैनिक उपभोग्य जीवनको अभिन्न हिस्सा बनेका छन् ।
हामी नवीन अर्थतन्त्रमा छौं कि अझै पुग्न बाँकी छ भन्ने कुराचाहिँ अहिले पनि विवादको विषय हो । अर्थशास्त्रीहरूको ठूलो जमातले हामी अहिले ठ्याक्कै नवीन अर्थतन्त्रमा पुगिसकेका छौं भनिरहेका छन् । सानो जमातले भने यसमाथि प्रश्न उठाइरहेका छन् । नवीन अर्थतन्त्रमा महँगी गायबै हुने, यसमा व्यापार चक्रको अस्तित्व नहुने अनि अर्थशास्त्रका पुराना नियम लागू नहुने केही अर्थशास्त्रीको भनाइ छ । विगतमा पनि पटकपटक यस्ता खालका दाबीहरू भइसकेको भन्दै धेरैजसो अर्थशास्त्रीचाहिँ यो कुरा मान्न तयार छैनन् । अवस्था जेसुकै भए पनि अर्थशास्त्रको आधारभूत नियम नफेरिने उनीहरूको तर्क छ ।
नवीन आर्थिक व्यवस्थाको मेरूदण्डका रूपमा रहेका कम्पनीहरू विश्वका कैयौं अर्थतन्त्रभन्दा कयौं गुणा ठूला छन् । प्रविधिमा आधारित कम्पनीको शेयर मूल्यमा वृद्धिको फोका उत्पन्न भएर फुट्दा कम्पनीहरूले क्षणभरमै अर्बौं डलर गुमाएका छन् । सयौं कम्पनीहरू धराशयी बनेका छन् । तर, आफ्नो अस्तित्व जोगाएर अहिलेसम्म बचेका कम्पनीहरूले ‘कटिङ एज’ प्रविधिको साथमा नवप्रवर्तनमुखी भीमकाय कम्पनीमा परिणत भएका छन् । नवीन अर्थतन्त्रका अधिकांश व्यवसाय अनलाइन गतिविधि र बायोप्रविधि उद्योगमा संलग्न छन् । यसले अन्य हजारौं उद्योग जन्माएको छ । अहिले विश्वको सबैभन्दा धेरै बजार पूँजीकरण भएका शीर्ष पाँच कम्पनीमध्ये तीनओटा एप्पल, गूगल र माइक्रोसफ्ट हाई टेक कम्पनी छन् । सन् १९८० को दशकमा यो सूचीमा तेल र कार कम्पनी थिए ।
गएको केही वर्षयता अनलाइन सेवाप्रदायक वा अनलाइनमा आधारित कम्पनीहरू बहुराष्ट्रिय कम्पनीमा परिणत भएका छन् । एमाजन, फेसबूक, नेटफ्िलक्स, अलिबाबा, पाइतु, यूबर, टेन्सेन्ट यसका केही उदाहरण मात्रै हुन् । नवीन अर्थतन्त्रले विश्वको आर्थिक पर्यावरण त फेरिदिएको छ नै विश्वव्यापी पूँजीवादको समेत पुनः संरचना गरिरहेको छ । पूँजीवाद सामाजिक, वातावरणीय र दिगो विकासका लक्ष्यहरूमा केन्द्रित हुन थालेको छ ।
कुनै जमाना यस्तो थियो– देशहरू तेल वा खनिज उत्पादनका लागि झैं झगडा, लडाइँ गर्थे । अहिले झगडाको मुख्य विषय उपभोक्ताका डेटा अनि यसको सुरक्षा बनेको छ । अमेरिका र चीनबीच पछिल्ला कयौं वर्षयता जुन शीत युद्ध चलिरहेको छ, यो पनि डेटामै केन्द्रित छ । व्यापार बहस होस् या प्रविधिको लडाइँ सबैको समस्याको चुरोमा उपभोक्ताको डेटा नै छ ।
चीनले घरेलु प्रविधि कम्पनीमार्फत अन्य देशको नागरिकको जासुसी गरेको, उपभोक्ताको डेटा चीनतिर सारेको आरोप अमेरिका र अमेरिकातिर ढल्किएका देशहरूले लगाइरहेका छन् ।
चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमाथि पछिल्लो समय विश्वभर बढ्दो प्रतिबन्ध यसैको एउटा उदाहरण हो । चीनले आरोपको खण्डन गर्दै आएको छ । ऊमाथिको आरोप पुष्टि भएका छैनन् ।
विश्वभर साइबर अपराध र डेटा चोरीका घटनाहरू बढिरहेको बेला अहिले हरेक नागरिक, कम्पनी अनि देशको चिन्ता आफू अनि आफ्नो प्रयोगकर्ताको डेटाको गोपनीयता कसरी कायम गर्ने, रेकर्ड प्रोसेसिङ अनि यसको सुरक्षामा केन्द्रित छ । देशहरूले धमाधम आफ्ना नागरिकका डेटा सुरक्षा कानून ल्याएका छन् । नेपाल डेटा प्राइभेसी र सुरक्षाको मामिलामा चुकेको छ । तर, पछिल्लो समयमा कृषि, ऊर्जा, पूँजीबजार लगायतको क्षेत्रमा नयाँ नयाँ प्रविधिको उपयोग भइरहेको छ । जसले नवीन अर्थतन्त्रको विकासमा सघाइरहेको पाइन्छ ।