काठमाडौं । १५औं योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१)ले लिएको लक्ष्यलाई आधार मान्ने हो भने आगामी आर्थिक वर्ष (आव) २०८०/८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुग्नुपर्ने हो । तर, यो सम्भव भने देखिँदैन । अहिले जीडीपीमा यो क्षेत्रको करीब ३ प्रतिशत योगदान छ । मुलुकको अर्थतन्त्रका प्रमुख स्रोतमध्ये पर्यटन एक आधार हो । यही आधारबाट उच्चतम लाभ लिन सरकार र सम्बद्ध निजीक्षेत्रबाट परिणाममुखी कार्य हुन आवश्यक छ ।
प्रचुर सम्भावना हुँदाहुँदै पनि मुलुकले पर्यटन क्षेत्रबाट लाभ लिन सकेको छैन । पर्यटनबाट विदेशी मुद्रा भित्त्याउने स्रोतदेखि ग्रामीण तहसम्म रोजगारी सृजना गर्ने अवसर मुलुकले गुमाइरहेको छ । नेपाल आफैमा पर्यटकीय गन्तव्य हो भन्दैमा विदेशी पर्यटक यत्तिकैआउँदैनन् । त्यसका लागि ठूलो लगानीदेखि प्रचारप्रसार नै प्रमुख हुन्छ । यो सहित प्रतिस्पर्धी बनेको विश्व पर्यटन व्यवसायमा नेपालले फरक धार समात्नु अपरिहार्य छ ।
१५औं योजनाको अवधिमा मुलुकमा आउने पर्यटक संख्या ३५ लाख पुग्ने आकलन गरिएको थियो भने विदेशी पर्यटकको सरदर बसाइ १५ दिन, दैनिक खर्च सरदर १०० अमेरिकी डलर र थप ४ लाख ९० हजार प्रत्यक्ष रोजगारीको अवसर सृजना हुने लक्ष्य सरकारले राखेको छ । यसबीचमा पर्यटकको दैनिक सरदर बसाइ १५ दिन पुगेको छ । कोरोनाकालमा स्वास्थ्य मापदण्ड पालना गर्दा पनि पर्यटकको बसाइ अवधि लम्बिएको देख्न सकिन्छ ।
१५औं योजना शुरु हुँदा ५ वर्षभित्र ३५ लाख पर्यटक भित्त्याउने लक्ष्य राखिएको छ । त्यसबेला (सन् २०१९)मा नेपालमा सर्वाधिक पर्यटक आएका थिए, जसले गर्दा उक्त योजनामा पर्यटन क्षेत्रबाट अधिकतम लाभ मुलुकले लिन सक्ने आधार देखिएका थिए । तर, त्यसपछि कोरोना महामारीका कारण यो लक्ष्यमा धक्का लाग्ने निश्चित देखिएको छ । कोरोना महामारीपछिको पर्यटन पुनरुत्थानका लागि अघि सारिएको ‘नेपाल पर्यटन दशक २०२३–२०३३’ सम्ममा अर्थात् १ दशकमा ३५ लाख पर्यटक नेपाल भित्त्याउने लक्ष्य राखिएको छ ।
सरकारले लिएका लक्ष्य प्राप्त गर्न दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ । कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वको पर्यटन आयाममा फरकपन देखिएका छन् । पर्यटक प्रकृतिसँग नजिक हुने, अध्यात्ममा रुचि राख्ने गरेका छन् । यी दुवैका लागि नेपाल उपयुक्त गन्तव्य मानिन्छ । यसको लाभ लिन मुलुकले ठोस गृहकार्य गरेर छिट्टै कार्यान्वयनमा लैजानुपर्छ । कोरोना महामारीका कारण २ वर्ष रोकिएका पर्यटक पुनर्ताजगीका लागि विभिन्न गन्तव्यको खोजी गर्दै जान थालेका छन् । नेपालमा सन् २०२३ को शुरुआतदेखि नै पर्यटक आगमनमा सुधार हुँदै छ ।
यो वर्षको वसन्तकालीन याममा हिमाल आरोहणका लागि ८० देशका १ हजार ४६ पर्वतारोहीले अनुमति लिइसकेका छन् । पर्यटन विभागका अनुसार यो तथ्यांक वैशाख १३ गतेसम्मको हो, जसबाट सरकारले ७३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिसकेको छ । पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारको काममा मुलुकका निजीक्षेत्रदेखि सरकारी संगठन लागेका छन् ।
ती संस्थाले अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारका लागि विभिन्न भर्चुअल माध्यमको प्रयोग गर्दै आएका छन् । कतिपय अवस्थामा भौतिक रूपमा उपस्थित भएर र अन्तरराष्ट्रिय सञ्चार संस्थासँग सहकार्य गरेर नेपाल पर्यटन बोर्डले प्रचारप्रसारको काम गरिरहेको छ । यस्तै निजीक्षेत्रका होटेल, ट्राभल एन्ड टुर्स कम्पनीले आफ्नै प्रयासमा प्रचारप्रसार गरिरहेका छन् ।
होटेल, रेस्टुराँ, वायुसेवा, टुर एन्ड ट्राभल कम्पनीहरूले दिइरहेका सेवा पनि प्रभावकारी बनाइनुपर्छ । यो क्षेत्रमा खर्बौंको लगानी रहेको छ भने १० लाखभन्दा बढीले रोजगारी पाएका छन् । पर्यटन व्यवसाय विदेशी मुद्रा आर्जनका लागि दिगो र भरपर्दाे स्रोत मानिन्छ । मुलुकका पर्यटकीय गन्तव्यमा झन्झटरहित र सुरक्षित यात्राको सुनिश्चितता नेपालले गर्नुपर्छ । साथै पर्यटन प्रडक्ट र ब्रान्डिङमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।
हवाई सञ्जालमा नेपालले धेरै काम गर्नुपर्ने छ । अहिले पनि नेपालमा आउने पर्यटकले यात्राका लागि छुट्ट्याएको बजेटमध्ये धेरै हवाई टिकटमै खर्चिनुपर्छ । यस्तै, नेपालमा पर्यटकका लागि हवाई भाडादर स्वदेशी नागरिकका लागि भन्दा भिन्न छ । हवाई पूर्वाधार (गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल)मा दुईओटा ठूला अन्तरराष्ट्रिय स्तरका विमानस्थल सञ्चालनमा आइसकेका छन् ।
यससँगै हवाई पूर्वाधारमा नेपालले दशकौंपछि भए पनि राम्रो उपलब्धि प्राप्त गरेको छ । यद्यपि सञ्चालनको अवस्था भने अझै सन्तोषजनक देखिँदैन । सरकारले पर्यटन पूर्वाधारमा लगानी गरेअनुसारको परिणाम निकाल्न पर्यटक नै आउनुपर्छ । मुलुकका चर्चित दुई गन्तव्य पोखरा र लुम्बिनीमा यी विमानस्थल छन् । पोखरा चिनियाँ पर्यटकको रोजाइमा पर्ने र दोस्रो धेरै पर्यटक पुग्ने गन्तव्य पनि हो । यस्तै बौद्ध धर्मावलम्बीको आस्थासँग जोडिएको लुम्बिनीमा धार्मिक पर्यटन प्रवद्र्धनको ठूलो सम्भावना छ । सरकारले उक्त विमानस्थलहरूमा पर्यटक आवागमन बढाउनेगरी काम गर्नुपर्छ ।
चल्तीकै गन्तव्यका साथै नयाँ गन्तव्य, फरक खालका प्रडक्टमा पनि पर्यटन व्यवसायीले ध्यान दिनुपर्छ । अहिले साहसिक पर्यटनका विभिन्न विधा र क्षेत्रमा लगानी भइरहेको छ । पर्यटकको यात्रा सुरक्षित गर्न र उनीहरूको अवस्थाबारे जानकारी लिन टिम्स कार्डलाई अनिवार्य गरिएको छ । अनलाइन बुकिङ, पेमेन्ट तथा टिकेटिङ र बहुराष्ट्रिय चेन ब्रान्ड भित्रने क्रम पनि बढेकाले मुलुकको पर्यटन क्षेत्र आशालाग्दो अवस्थामा छ ।
एकजना पर्यटक आएर विमानथलदेखि गन्तव्यसम्म जाँदा करीब १२ जनालाई रोजगारी सृजना गर्ने आकलन गरिन्छ । त्यसबाट क्षेत्रबाट उच्चतम प्रतिफल लिन सरकार र निजीक्षेत्रको सहकार्य हुनुपर्छ । पर्यटकलाई सहज/सुविधापूर्ण यात्राको प्रत्याभूति गरिनुपर्छ । नेपालमा बढीभन्दा बढी पर्यटक ल्याउन पर्यटनसँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रको प्रवद्र्धनमा पनि ध्यान दिनुपर्छ ।
संकटको बेलाको शुरुआती चरणमा आन्तरिक पर्यटकबाटै मुलुकको पर्यटन क्षेत्र उठेको उदाहरणका लागि धेरै पर जानु पर्दैन । कोरोना भाइरस न्यूनीकरण भएलगत्तै आन्तरिक पर्यटकको आवागमन राम्रो हुँदा पर्यटन व्यवसाय केही हदसम्म चलायमान बनेको थियो ।