ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यू बिजनेश एजको २२औं वार्षिकोत्सव विशेष: प्रविधिको बहुआयामिक योगदान

२०८० बैशाख, २४  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रकाश जोशी

काठमाडौं । प्रविधिको क्षेत्रमा भइरहेको परिवर्तनसँगै उद्योग व्यवसायले आफूलाई त्यहीअनुरूप ढाल्दै लगेका छन् । औद्योगिक प्रतिष्ठान एवं व्यावसायिक घरानाहरूले उत्पादन प्रक्रिया, विक्रीवितरणको शैली, सञ्चार सम्पर्कलगायत कार्यपद्धतिसँग सम्बद्ध सबै कुरामा व्यापक परिवर्तन ल्याइसकेका छन् । मानिसको सट्टा मेशिन, उपकरणको प्रयोगले वस्तुको उत्पादन लागत घटाएको छ । मानिसले दशौं दिन वा महीनौं लगाएर गर्ने कामलाई प्रविधि प्रयोगबाट केही घण्टा वा दिनभरिमा गर्न सकिने भएको छ । 

साथै मेशिनबाट उत्पादन गर्दा मान्छेबाट जस्तो त्रुटिको सम्भावना पनि नरहने व्यवसायी बताउँछन् । मेशिनलाई जुनसुकै बेला पनि चलाउन र उत्पादन लिन सकिने हुँदा आवश्यक समयमा त्यसबाट उत्पादन लिन र अन्य समयमा बन्द राख्न सकिने सुविधा हुन्छ । मान्छेको प्रयोग गर्दा हुने चोटपटक दुर्घटना वा बिरामी र खर्च यन्त्र उपकरणको प्रयोगमा बेहोर्नु पर्दैन ।

उत्पादन लागत कटौतीदेखि, माग सर्वेक्षण, प्रचारप्रसार, व्यावसायिक मिटिङ/बैठक, डकुमेन्टेशन, ज्ञान आर्जन, भुक्तानीलगायत व्यवसायका सबैजसो आयाममा प्रविधिले सहजता र प्रभावकारिता थपेको छ ।

प्रविधिको प्रयोग अहिले कृषि, खानी, पोशाक उत्पादन गर्नेलगायत सबै उद्योग, कच्चा पदार्थ उत्पादन, संकलन, ढुवानीदेखि तिनलाई उपभोक्तासम्म पुर्‍याउनेसम्मको काममा भइरहेको छ । व्यवसायीका अनुसार आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्न गएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार औद्योगिक क्षेत्रमा प्रविधिको विकासले धेरै राम्रो परिणाम दिइरहेको छ । लागत घट्न गएको छ । उत्पादन पनि बढेको छ । ‘तर, हामीकहाँ नयाँ नयाँ प्रविधिको प्रयोग गर्न जान्ने दक्ष जनशक्तिको अभाव खड्किरहेको स्थिति छ,’ उनले भने । 
विक्रीवितरण र बजारीकरणको कार्यमा पनि प्रविधि प्रयोग व्यापकरूपमा बढेको देखिन्छ । पहिलेको जस्तो विभिन्न ठाउँमा गएर/घुमेर माग संकलन गर्ने स्थिति अहिले छैन । न त सबै उपभोक्ताको पायक पर्ने ठाउँमा पसल राख्ने र त्यहीँबाट विक्रीवितरण गर्ने अवस्था नै छ । अचेल अनलाइनमार्फत माग संकलन हुन्छ । उद्योगहरूले डिमान्ड हेरेर सोहीअनुसार वस्तु ढुवानी गरिरहेका हुन्छन् । यसरी विक्रीवितरण गर्दा थोरै मान्छेबाट पनि काम सम्पन्न गर्न सकिन्छ । प्रविधिको यस किसिमको प्रयोगले एकातिर जनशक्तिको थोरै प्रयोग भइरहेको हुन्छ भने अर्कोतर्फ समयको बचत पनि भइरहेको छ । 

उद्योग व्यवसायको सञ्चार सम्पर्क स्थापित गर्ने तरीका पनि फेरिएको छ । पहिले व्यवसाय विस्तारको लागि भेटघाट वा पत्राचारबाट सम्पर्क गर्नुपर्ने स्थिति थियो । अहिले त्यसमा व्यापक परिवर्तन आएको छ । टेलिफोनको प्रयोग अलि पहिलेदेखि नै भइरहे पनि अहिले सबैका हातमा पुगेका स्मार्टफोनले सञ्चार सम्पर्कलाई निकै सहज र सरल बनाइदिएका छन् । वाइफाईको विस्तार एवं मोबाइल डेटाबाट फेसबुक, ह्वाट्सएप, इमेलको प्रयोग बढेको छ । अहिले धेरैजसो व्यावसायिक क्षेत्रमा यिनै माध्यमबाट सञ्चार सम्पर्क स्थापित भइरहेको छ । यस किसिमले छोटो समयमै सम्पर्क स्थापित गर्न सकिने माध्यमले उद्योग व्यवसायको प्रभावकारी सञ्चालनमा योगदान गरिरहेका छन् ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे सूचनाप्रविधिमा भएको विकासले अपरेशन प्रक्रियामा सुधार ल्याएको बताउँछन् । ‘अहिले सञ्चारमाध्यममा धेरै प्रगति भएको छ, जसको लाभ व्यावसायिक जगत्लाई भएको छ । नयाँ नयाँ सफ्टवेयर विकासले सहजता प्रदान गरेको छ । डिजिटल वालेटको प्रयोग पनि बढ्दो क्रममा छ,’ उनले भने । प्रविधिको विकास र विस्तारसँगै व्यावसायिक ज्ञान आर्जन गर्नको लागि किताब पढ्नैपर्ने वा भौतिक रूपमा कुनै ठाउँमा सहभागी भएर कक्षा लिनुपर्ने अवस्था पनि अहिले छैन ।

युट्युब, अनलाइन वा गूगल गरेर धैरै कुरा पत्ता लगाउन सकिन्छ । यी सञ्जालमा व्यवसाय सञ्चालनसम्बन्धी ज्ञान प्रशस्त मात्रामा उपलब्ध छ । आफूलाई आवश्यक परेको विषयमा जुनसुकै बेला ज्ञान आर्जन गर्न सकिन्छ । यसरी प्राप्त गर्न सकिने नयाँनयाँ ज्ञानले व्यवसायको विस्तार एवं उद्योगको सुसञ्चालनमा मद्दत पुग्न गएको छ । कक्षाकोठामै सहभागिता जनाउन पनि जुम सजिलो माध्यमको रूपमा देखिएको छ । जुममार्फत भौतिक रूपमै उपस्थितिको आभास हुने र समयको बचत हुने गर्छ ।

विभिन्न समयमा व्यावसायिक साझेदारहरू, वित्तीय लगानीकर्ता वा ग्राहक वर्गसँग हुने मिटिङ पनि जुमकै माध्यमबाट गर्न सकिन्छ । यसबाट समयको साथै पैसाको पनि बचत भएको छ । प्रविधिको विकासले बैंकिङ क्षेत्रमा अवलम्बन भएको अनलाइन पेमेन्ट सिस्टमले व्यवसायीलाई कारोबारमा सहजता देखिएको छ । व्यावसायिक गतिविधि सञ्चालनका लागि पैसा बोकेर जाँदा हुने जोखिमबाट उनीहरू जोगिएका देखिन्छन् । यसले चेकको कारोबारमा पनि उल्लेख्य मात्रामा कमी ल्याइदिएको छ । 

औद्योगिक एवं व्यावसायिक संस्थाको कार्यालय व्यवस्थापनका लागि कागजमा डकुमेन्टेशन गर्ने परिपाटीको लगभग अन्त्य भएको छ । कम्प्युटर र ल्यापटपमा अहिले सबै कुराको डकुमेन्टेसन भइरहेको छ । यसबाट स्थानको बचत हुनुका साथै चाहिएको बेला जुनसुकै ठाउँमा पनि सजिलैसँग डकुमेन्टेशन भएका कुराहरू एवं तथ्य, तथ्यांक हेर्न सकिने सुविधा छ । 

अहिले आफ्नो उत्पादनको बजार माग केकस्तो छ भन्ने कुरा व्यवसायीले सामाजिक सञ्जालबाटै पत्ता लगाइरहेका छन् । उनीहरूले कुन वस्तुको माग बजारमा बढी छ र आफ्नो उत्पादनमा केकस्ता सुधारको खाँचो छ भन्ने कुरा बुझ्न पनि प्रविधिकै प्रयोग गरिरहेका छन् । प्रविधिको व्यापक प्रयोगले विभिन्न ठाउँमा घुमेर, क्रेतासँगको प्रत्यक्ष सम्पर्कद्वारा वा विभिन्न एजेन्सीमार्फत माग पत्ता लगाउने तरीका उल्लेख्य रूपमा घटेको छ । प्रविधि प्रयोग गरेर बजारको अवस्था बुझ्न सम्भव भएपछि एकातिर पैसा बचत भएको छ भने अर्कोतिर छोटो समयमै बजार अवस्थाको ज्ञान प्राप्त हुँदा आवश्यक सुधार गरी बजार सृजना गर्न र बचाइ राख्न टेवा पुगेको देखिन्छ । 

अहिले प्रचारप्रसारको शैलीमा पनि व्यापक परिवर्तन आएको छ । पहिले ठाउँठाउँमा विभिन्न किसिमका कार्यक्रम गरेर, माइकिङ गरेर, सडक र टोलटोलमा पर्चा पम्पलेट राखेर प्रचारप्रसार गर्ने गरिन्थ्यो । त्यस्तै प्रचारप्रसारका लागि पत्रपत्रिका, रेडियो र टेलिभिजन मात्र प्रयोग हुने गरेकोमा अहिले अवस्था फेरिएको छ । परम्परागत रूपमा गरिने प्रचारशैलीमा उल्लेख्य कमी आएको छ । सामाजिक सञ्जालहरू प्रचारप्रसारका लागि व्यापक रूपमा प्रयोग हुने गरेका छन् । यसको अतिरिक्त अनलाइन न्युजपोर्टल र टेलिभिजनको प्रयोग पनि निकै ठूलो मात्रामा भइरहेको छ । बजारमा ठाउँठाउँमा डिजिटल बोर्डबाट पनि प्रचारप्रसार भइरहेको देख्न सकिन्छ । प्रचारप्रसारको लागि श्रव्य–दृश्य माध्यमका साथै सबैले सबै ठाउँमा लग्न मिल्ने र देख्न सकिने माध्यम प्रयोग गर्दा प्रभावकारिता बढेको व्यवसायी बताउँछन् ।

समग्रमा हेर्दा नयाँ अर्थतन्त्रको स्वरूपमा प्रविधिले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । प्रविधि प्रयोगबाट उद्योग व्यवसाय उल्लेख्य मात्रामा फस्टाउनुका साथै सञ्चालन सजिलो भएको छ । जनशक्तिको ठाउँ प्रविधिले लिँदा र समय बचत हुँदा लागत घट्न गई पैसाको पनि बचत भएको छ । वस्तुको उत्पादन र बजारीकरणको प्रक्रिया छिटो सम्पन्न भइरहेको छ । गुणस्तरमा पनि प्रविधि प्रयोगले सुधार आइरहेको व्यवसायी बताउँछन् । यी सबै किसिमका प्रविधिको सकारात्मक प्रभावले छोटो समय र कम लागतमा बढी मुनाफा आर्जन गर्ने स्थिति बनेको छ । 

प्रविधिको जुन गतिमा विकास भइरहेको छ, यसबाट आगामी दिनमा औद्योगिक एवं व्यावसायिक क्षेत्रले थप फाइदा लिन सक्ने देखिन्छ । त्यसबाट उद्योग व्यवसाय सञ्चालन सजिलो हुनुका साथै व्यवसायको विकासमा पनि टेवा पुग्नेछ । व्यवसायीले प्रविधि कि जनशक्ति भन्ने कुराको छनोट तुलनात्मक अध्ययनको आधारमा गर्ने नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष लोकमान्य गोल्छा बताउँछन् । ‘प्रविधिको प्रयोग गरेर परम्परागत तरीकाभन्दा सस्तोमा उत्पादन लिन सकिन्छ । त्यही भएर यसको प्रयोग बढेको हो । आगामी दिनमा यो अझै विस्तार भएर जाने देखिन्छ,’ उपाध्यक्ष गोल्छाले भने । विदेशका कतिपय ठाउँमा जस्तै नेपालमा पनि रोबोट प्रयोगमा आउन सक्ने अवस्था निर्माण हुँदै गएको व्यवसायी बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)