ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यू बिजनेश एज २२औं वार्षिकोत्सव विशेष: प्रविधिले अघि बढेको पूँजी बजार

२०८० बैशाख, २५  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो सुनिल शर्मा आर्थिक अभियान
author avatar लक्ष्मी शर्मा

काठमाडौं । कुनै बेला धितोपत्रको प्राथमिक र दोस्रो बजारमा शेयर खरीदविक्री गर्न लामो लाइन हुन्थ्यो । पछिल्लो समय आधुनिक प्रविधिको विकासले यी सबै समस्या समाधान भइसकेका छन् । धितोपत्रको दोस्रो बजारमा पूर्ण अनलाइन प्रणाली २०७५ कात्तिकदेखि शुरू भएको हो । प्राथमिक बजार भने २०७४ सालमा आस्बा प्रणाली शुरू भएसँगै पूर्ण अनलाइन प्रणालीमा गइसकेको थियो । दोस्रो बजार अनलाइन प्रणाली शुरू भएसँगै लगानीकर्ता कारोबारका लागि हरेक दिन ब्रोकर कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । 

यसका साथै शेयर खरीद र विक्रीको काम अहिले मोबाइल र ल्यापटपमा क्लिक गरेकै भरमा सम्भव भएको छ । शुरुआती समयमा स्टक एक्सचेन्ज भेला भएर भीडमा तँछाडमछाड गर्दै बोलकबोल प्रणालीबाट कारोबार सञ्चालन हुन्थ्यो । कागजी धितोपत्र प्रमाणपत्र तथा कागजातका आधारमा राफसाफ हुँदै आएकोमा अहिले कम्प्युटरबाट कारोबार र विद्युतीय रूपमा राफसाफ हुन्छ ।

त्यस्तै प्राथमिक शेयर निष्कासनमा आवेदन दिन बिहानदेखि बेलुकासम्म घन्टौं लाइन बसेका भुक्तभोगी धेरै छन् । सोही शेयर बाँडफाँटका लागि ३ महीना लाग्थ्योे । कुनै पनि कम्पनीको हकप्रद शेयर भर्न, बोनस लिन राजधानीमै आउनुपर्ने हुन्थ्यो । उपत्यकाबाहिरका लगानीकर्ताले हकप्रद शेयरको आवेदन भर्न र बोनस शेयर लिन राजधानी आउँदा आफूले पाएको प्रतिफलभन्दा बढी खर्च गर्नुपर्ने अवस्था थियो । प्रविधिको विकाससँगै यी काम संसारको जुनसुकै ठाउँबाट गर्न सकिन्छ ।

त्यस्तै सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आस्बा प्रणालीपछि सी–आस्बा कार्यान्वयन गरेसँगै शेयर आवेदनका लागि लाइन बस्नुपर्ने र बैंकमा धाउनुपर्ने बाध्यता सकिएको छ । पूर्ण कार्यान्वयनमा आएको सी–आस्बा प्रणालीले अनलाइनका माध्यमबाट लगानीकर्ताले संसारको जुनसुकै कुनाबाट पनि आईपीओ, एफपीओ र हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाइरहेका छन् । धितोपत्र बजार प्रविधिको विकाससँगै अघि बढ्दा पछिल्लो ५ वर्षमा बजारका सूचकहरूमा निकै परिवर्तन देखिएका छन् ।

पाँच आर्थिक वर्षको नेप्सेको प्रवृत्ति हेर्दा १ हजार ३३८ दशमलव १७ विन्दुबाट बढेर ३ हजार २०० विन्दु पार गरेको देखिन्छ । नेप्सेले ऐतिहासिक विन्दु कायम गर्नुमा प्रमुख कारण प्रविधि हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण देशभरका सबै व्यावसायिक क्षेत्र बन्द रहँदा पूर्ण प्रविधिमा आधारित धितोपत्र दोस्रो बजार भने सञ्चालनमै रह्यो । शुरूका दिनमा केही समय दोस्रो बजार बन्द भए पनि कोभिड महामारीबीच घरभित्र सीमित जनजीवनबाट पनि धितोपत्र दोस्रो बजार सञ्चालनमै रह्यो । कोभिडको अवधिमा देशका अन्य व्यावसायिक क्षेत्र बन्द रहँदा सरकारको आम्दानीको मुख्य स्रोत धितोपत्रको दोस्रो बजार बनेको देखिन्छ ।

प्रविधिको विकास, विस्तारले गर्दा अन्य लगानीका क्षेत्रहरू बन्द हुँदा कोभिडको समय अर्थात् आव २०७७/७८ मा पूँजीबजारबाट सरकारलाई १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको थियो । पाँच आवमा कुल ९ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्ममा पूँजी बजारबाट सरकारलाई २७ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । (तालिका हेर्नुहोस् ।)

नयाँ स्टक एक्सचेन्ज आएपछि भित्रिने प्रविधि
अब नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउने तयारीमा रहेको छ । यसबाट लगानीकर्ताले पूँजी बजारमा धेरै प्रविधि भित्रिने अपेक्षा गरेका छन् । नयाँ आउने स्टक एक्सचेन्जले नयाँ प्रविधिबाट कारोबार गर्न मिल्ने अक्सन मार्केट, इन्ट्राडे, सर्टसेल कारोबारलाई कार्यान्वयनमा ल्याउन सके नेपालको शेयरबजार पनि अन्तरराष्ट्रिय स्तरको हुने देखिन्छ । 

हामीले प्रविधिका कुरा गरिरहँदा प्रविधि कत्तिको सुरक्षित छ भन्ने बहस गर्नु जरुरी रहेको धितोपत्रविज्ञ तथा अधिवक्ता ज्योति दाहाल बताउँछन् । पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरीकै वेबसाइट ह्याक भएको छ । ‘नयाँ प्रविधि भित्रिनुपर्छ, तर त्यसमाथि हुन सक्ने हमला रोक्न कत्तिको सफल छौं भन्नेतर्फ पनि ध्यान दिनु जरुरी छ,’ दाहालले भने । हाम्रो पूँजी बजारमा पनि प्रविधिको विकास विस्तारै हुँदै छ । नयाँ प्रविधि भित्र्याउनु पनि पर्ने र यस्ता किसिमका नयाँ प्रविधि ल्याउँदा आम लगानीकर्तालाई राम्रोसँग बुझाउनुपर्ने उनको भनाइ छ । 

प्रविधिमा हामी पछि नै छौं । हामी विधिमै पछि छौं, विधि भएपछि मात्रै प्रविधि बन्ने हो । पूँजी बजारको विकास र विस्तारका लागि प्रविधिको निकै महत्र्वपूर्ण भूमिका हुन्छ । इन्टरनेट, सफ्टवेयर, प्रोग्राम र ट्रेडिङ सफ्टवेरहरू ‘फेयर’ हुनुपर्ने अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल बताउँछन् । शेयर ट्रान्सफर संयन्त्र लगायत धेरै वित्तीय प्रडक्ट ल्याउनुपर्ने उनको भनाइ छ ।

यसका लागि राम्रो विधि चाहिन्छ । राम्रो विधि बनेसँगै प्रविधि आउने हो । पूँजी बजारमा संरक्षण र विश्वास नै छैन । यी सम्पूर्ण विषयमा बुझाउनु जरुरी छ । अब निजीक्षेत्रको नयाँ स्टक एक्सचेन्ज आउँदै छ । यसबाट हामीले अहिलेको भन्दा राम्रो र गुणस्तरीय प्रविधिको अपेक्षा गर्न सकिन्छ । गुणस्तरीय प्रविधि भित्रिएसँगै पूँजी बजारमा नयाँ आयाम थपिने देखिन्छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)