ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धनुषाको अर्थ–सामाजिक रूपान्तरण कसरी ?

२०८० भदौ, ८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

पर्याप्त कृषियोग्य जमीन भएर पनि युवालाई कृषि कर्ममा आकर्षित गर्न नसकिएको र यो जिल्लाबाटै वैदेशिक रोजगारीमा सबैभन्दा बढी युवा पलायन भएको भन्दै सहभागीहरूले चिन्तासमेत व्यक्त गरेका थिए ।

मधेश प्रदेश देशको मध्यभागमा रहेको मात्र छैन, यो प्रदेशको भौगोलिक अवस्थिति र सहजता देशकै अर्थतन्त्रको आधार हो । आर्थिक समृद्धिको मुहान भएर पनि यो प्रदेश समग्र विकासमा निकै पछाडि परेको छ ।

मधेशका सम्भाव्यताहरूलाई कसरी अर्थतन्त्रको उन्नतिमा जोड्न सकिन्छ भन्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश र न्यू बिजनेश एज प्रालिको सहकार्यमा ‘मधेश समृद्धि शृंखला’ बहस चलाइएको छ । यो अभियानअन्तर्गत मधेशका आठै जिल्लामा सरोकारका पक्षहरूसँग अन्तरक्रिया गरिने महासंघ मधेशका अध्यक्ष अशोकुमार टेमानीले बताए । 

अन्तरक्रियाका क्रममा आएका तथ्य समेटेर ‘मधेश विकासको मार्गचित्र २०९०’ तयार पारिने अध्यक्ष टेमानीले जानकारी दिए । यो उद्देश्यले जनकपुरधाममा पहिलोपटक ‘धनुषाको अर्थ–सामाजिक रूपान्तरण’ विषयक राउण्ड टेबल अन्तरक्रिया भएको थियो । कार्यक्रमका सहभागीहरूले मधेशको प्रदेश राजधानीलाई समेटेर बसेको धनुषा जिल्ला कृषि, पर्यटन र उद्योगको केन्द्र बन्न सक्ने सम्भावना भएर पनि धार्मिक पर्यटनको सीमित दायराभन्दा माथि उठ्न नसकेको बताएका थिए । त्यस कार्यक्रमको संयोजन जनकपुरधाम उद्योग वाणिज्य संघले गरेको थियो ।

धनुषाको धार्मिक पर्यटनको सम्भावनालाई विविधीकरण गरिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । भारतीय सिमानासँग जोडिएकाले नाकामा व्यापार सहजीकरणका पूर्वाधारहरूको निर्माणले यो क्षेत्र औद्योगिक लगानीको हब बन्न सक्नेतर्फ पनि उनीहरूले जोड दिएका थिए ।

पर्याप्त कृषियोग्य जमीन भएर पनि युवालाई कृषि कर्ममा आकर्षित गर्न नसकिएको र यो जिल्लाबाटै वैदेशिक रोजगारीमा सबैभन्दा बढी युवा पलायन भएको भन्दै सहभागीहरूले चिन्तासमेत व्यक्त गरेका थिए । प्रस्तुत छ, कार्यक्रम आयोजक तथा सहभागीहरूले राखेका धारणाको सम्पादित अंश :

 

स्पष्ट मार्गचित्र चाहिन्छ

गणेशप्रसाद लाठ

निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेश 

पर्यटनलाई कसरी उपयोग गर्ने भन्नेमा स्पष्ट मार्गचित्र चाहिन्छ । मटिहानी क्षेत्रलाई धार्मिक पर्यटन प्रवर्द्धनको मोडालिटीमा विकास गर्न सकिन्छ । भारतीय सिमानाबाट भित्रिने भारतीय पर्यटकलाई अपमानित गर्ने काम बन्द हुनु पर्दछ । कृषिमा मूल्य अभिवृद्धि प्रवर्द्धन जोड दिनु पर्दछ । सीमा क्षेत्रमा भएकाले यसका सम्भावनाहरूको उपयोग गर्न सकिन्छ । तर, यसका विरोधाभासहरू छन् । सीमा क्षेत्रमा हुने व्यापारको लागि बेग्लै कार्यविधि बनाउन जरुरी भइसकेको छ । जनकपुरलाई प्रमुख नाका बनाउनु पर्दछ । यहाँ सुक्खा बन्दरगाह बनाउन सकियो भने व्यापार सहजीकरण हुन्छ ।

मधेश समग्र अर्थतन्त्रको मेरुदण्ड बन्न सक्दछ 

मदन लम्साल

अध्यक्ष, न्यू बिजनेश एज प्रालि 

मधेश प्रदेश आर्थिक विकासका लागि आवश्यक आधार पर्याप्त भएर पनि यस्ता अवसरको उचित तरीकाबाट उपभोग हुन नसक्दा पछि परेको छ । मानव विकास सूचकांक, आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आयदेखि आर्थिक र सामाजिक विकासका सबैजसो सरोकारमा यो प्रदेश पछाडि परेको छ । भूगोल, जनसंख्या र स्रोतका हिसाबले अन्य प्रदेशहरूको तुलनामा बढी अवसर देखिए पनि उपयोग हुन सकेको छैन । विकासको स्पष्ट मार्गचित्र र त्यसलाई कार्यान्वयनमा लैजाने दूरदृष्टिसहितको प्रतिबद्धता भयो भने मधेश समग्र अर्थतन्त्रको मरुदण्ड बन्न सक्दछ । 

आर्थिक र सामाजिक विकासका फड्को मार्न सकिन्छ 

राजेश अग्रवाल 

उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेश 

जनकपुर क्षेत्रको विकासका लागि यस क्षेत्रमा भौतिक, धार्मिक, सांस्कृतिक, पूर्वाधारहरूको उपयोग गरिनु पर्दछ । हुलाकी राजमार्ग मधेशकै आर्थिक विकासको मेरुदण्ड हो । यसलाई पूर्णता दिनुपर्दछ । मधेशको समृद्धिको सम्भावनासँग जोडिएको द्रुतमार्ग, रेलवेलगायतका भौतिक पूर्वाधार समयसीमाभित्रै निर्माण हुने र उपयोग हुन सक्ने हो भने यो क्षेत्रको आर्थिक र सामाजिक विकासमा फड्को मार्न सकिन्छ । 

सम्भावना उपयोगका लागि पर्यटन व्यवसायी पनि चनाखो हुनुपर्छ

जयकुमार राउत 

निमित्त सचिव, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेश प्रदेश

पर्यटकीय सम्भावना उपयोगका लागि पर्यटन व्यवसायी स्वयम् पनि चनाखो हुन आवश्यक छ । यस क्षेत्रका पर्यटनका योजनाका बारेमा पर्यटन व्यवसायी पनि आवश्यकता जति चनाखो छैनन् । उदासीनजस्तो देखिएका छन् । हाम्रो मन्त्रालयले बजेट बनाउने समयमा कुनै पनि व्यवसायीबाट योजना आएको पाइँदैन । रचनात्मक योजना नआएपछि मन्त्रालयको बजेट मठमन्दिर र पोखरी सौन्दर्यीकरणजस्ता योजनामा गएका छन् । सरकारले उद्योग, व्यापार र पर्यटनको विकासका लागि सापेक्ष नीति र ऐन नियमहरू ल्याइरहेको छ । सरकार आर्थिक सामाजिक विकासका लागि सहकार्य र समन्वयका लागि सधैं तत्पर रहिआएको छ । 

विकासमा हाम्रो मनोविज्ञान प्रतिविम्बित हुन्छ 

जितेन्द्र महासेठ

अध्यक्ष, जनकपुरधाम उद्योग वाणिज्य संघ

विकासका प्रत्येक सरोकारहरूमा हाम्रो मनोविज्ञानको प्रतिविम्ब देखिएको हुन्छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम, व्यापार सबैमा यसको प्रभाव हुन्छ । विकासका सबै पक्षहरूमा मनोविज्ञानको प्रभाव परेको हुन्छ । जनकपुर क्षेत्रको विकासको मुख्य आधार पर्यटनको विकासका लागि निजीक्षेत्र र सरोकारका अन्य निकायबीच सहकार्यको खाँचो छ । तेस्रो मुलुकसँगको सहज व्यापारका लागि जलेश्वरमा नाका सञ्चालन गर्न आवश्यक भइसकेको छ । 

स्थानीय सम्भावनाहरूको उपयोग गरिनु पर्दछ 

शिवशंकर साह (हिरा)

पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेश 

स्थानीय सम्भावनाहरूको बढीभन्दा बढी उपयोग गरिनु पर्दछ । शिक्षा, पर्यटन, कृषि, स्वास्थ्य, उद्योग यहाँका सम्भावनाहरू हुन् । भारतसँग खुला रूपमा सिमाना जोडिएको क्षेत्र भएकाले त्यसको पनि लाभ लिनु पर्दछ । भारतको जनसंख्या हाम्रो उत्पादन र सेवाको बजार हो । यो विशाल जनसंख्यालाई लक्षित गरी उत्पादन बढाउनु पर्दछ । हामीकहाँ भारतबाट पर्यटन ल्याउन सकिने सम्भावना छ । यसमा हुन सक्नेजति पनि काम हुन सकेको छैन । यसका सरकारले निजीक्षेत्रलाई सहयोग गर्नु पर्दछ । सहकार्यको खाँचो छ ।

जनकपुरलाई देशको प्रवेशद्वार किन नबनाउने ?

डा.सुबोधकुमार गुप्ता 

अध्यक्ष, व्यापार समिति, नेपाल उद्योग वाणिज्य महासंघ 

धनुषा कृषि पर्यटनको क्षेत्र हो । कृषिको उर्वर भूमि भएर पनि यसको सम्भावना उपयोग हुन सकेको छैन । कृषिलाई उद्यमसँग कसरी जोड्ने यो चुनौतीको विषय छ । चुनौती एकप्रकारले अवसर पनि हो । भूवर्गीकरण नहुँदा कृषिको सम्भावना उपयोग हुन पाएको छैन । कृषि, आवास, उद्योग कुन जग्गामा गर्ने हो स्पष्ट हुन आवश्यक छ । भारतीय सीमासँग जोडिएको जनकपुरलाई देशको अर्को प्रवेशद्वार किन नबनाउने ?यसमा पहल हुनु पर्दछ । यस क्षेत्रमा उद्योगको विकासका लागि आयातनिर्यात सहजीकरण हुनु पर्दछ । यसका लागि आईसीपी, सुक्खा बन्दरगाहजस्ता व्यापार सहजीकरणका पूर्वाधार निर्माण पनि गरिनु आवश्यक छ । 

उत्पादकले अनुदान पाएका छैनन् 

अनिलकुमार अग्रवाल

अध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघ 

उद्योग र कृषिमा उदाहरणीय काम हुन सक्दछ । तर, यसका लागि हामीले दिएका सुझाव राज्यले सुनिरहेको छैन । सरकारको राजस्व नीति समस्याको रूपमा रहेको छ । अहिले स्थानीय सरकारहरूले लिने कर त अराजकताको रूपमा अघि आएको छ ।

औद्योगिक सम्पत्तिमा पनि कर लिएको छ, यो व्यावहारिक छैन । निकासीमा दिने भनिएको अनुदान उत्पादकले पाएका छैनन् । कच्चा पदार्थमा लिइने कर पनि व्यावहारिक छैन । सरकारी नीतिमा पुनरवलोकनको खाँचो छ । 

पर्यटन क्षेत्रकोे सम्भावना उपयोग हुन पाएको छैन 

मोहन शर्मा 

अध्यक्ष, जीतपुरसिमरा उद्योग वाणिज्य संघ 

नीतिगत समस्याका कारण पर्यटन क्षेत्रकोे सम्भावना उपयोग हुन पाएको छैन । तथापि, विगत १०/१२ वर्षमा यसका पूर्वाधार भने विस्तार भएको छ । यसको उपलब्धि नदेखिएको मात्र हो । पर्यटन क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धनको खाँचो छ । 

मधेशमा प्लाइउड उत्पादनको प्रचुर सम्भावना छ 

प्रदीपकुमार चौधरी 

पूर्वअध्यक्ष, नेपाल प्लाइउड उत्पादक संघ 

मधेशमा प्लाइउड उत्पादनको प्रचुर सम्भावना छ । खेर जाने कुकाठ खपत भइरहेको छ । प्लाइउडमा अधिकांश स्थानीय पदार्थको उपयोग हुन्छ । यसको उत्पादनमा ६० प्रतिशतसम्म मूल्यअभिवृद्धि भइरहको छ । स्थानीय बजारमात्र यसका लागि पर्याप्त छैन । भारततर्फ निकासी हुन्छ । अहिले वार्षिक ४० अर्ब रुपैयाँबराबरको करोबार भइरहेको छ । तर, चालू पूँजी कर्जा मार्गदर्शनको सीमाले भने पूँजीको समस्या भइरहेको छ । 

स्वास्थ्य सेवालाई उद्योगको व्यवहार गर्नु पर्दछ 

डा.अशोककुमार दास 

सञ्चालक, आशाराम हस्पिटल, वीरगञ्ज

सरकारले स्वास्थ्य सेवालाई उद्योगको रूपमा व्यवहार गर्नु पर्दछ । यसलाई उद्योगको मान्यता नदिँदा ठूलो लगानी भएको यो क्षेत्र नीतिगत रूपमै उपेक्षितजस्तो भएको छ । साथै राज्यबाट पाउने सहुलियतबाट वञ्चित हुन पुगेको छ । स्वास्थ्य क्षेत्रको अवसर उपयोगका लागि यसलाई रणनीतिक रूपमा अघि बढाउन सकिन्छ ।

औपचारिक क्षेत्रलाई प्रोत्साहन गरिनु पर्दछ 

डा.सोनी महतो 

कार्यकारिणी सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेश 

अनौपचारिक क्षेत्रमा भइरहेका कामलाई औपचारिक क्षेत्रमा समेट्नुपर्दछ । यसका लागि सरकारले नीतिगत रूपमा प्रोत्साहनका कार्यक्रम ल्याउन आवश्यक छ । औपचारिक रूपमा गरिने कारोबारमा सहुलियत र सुविधा दिएर यसलाई समेट्न सकिन्छ । 

रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनु पर्दछ 

निर्मलकुमार चौधरी

पूर्वअध्यक्ष, जनकपुरधाम उद्योग वाणिज्य संघ

धनुषाको आर्थिक र सामाजिक विकासका लागि एउटा विशेष कुरालाई लिएर अघि बढ्न जरुरी छ । धनुषा वैदेशिक रोजगारीमा सबैभन्दा बढी युवा पठाउने जिल्ला हो । तर, रेमिट्यान्सको अधिकांश पैसा घरजग्गा र सुनमा गएको छ । यसलाई कसरी उद्यममा लगाउने भन्नेमा प्रयासको खाँचो छ । रामायण सर्किटलाई धार्मिक पर्यटन प्रवर्द्धनमा उपयोग गर्न सकिन्छ । जयनगर–कुर्था रेलमार्गलाई पनि यसको सफलताको पूर्वाधार बनाउन सकिन्छ । यो क्षेत्रमा १७ हजार बिघा सार्वजनिक जग्गा छ । यसको खोजविन हुनु पर्दछ । यहाँको कृषिको सम्भावनालाई भारतीय बजारसँग कसरी जोड्न सकिन्छ, त्यसमा गृहकार्य गरिनु पर्दछ ।

नवीन सोच र शैलीको खाँचो छ 

अनुप अग्रवाल 

अध्यक्ष, स्टार्टअप समिति, नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेश 

सम्भावनाको उपयोगमा नवीन सोच र शैलीको खाँचो छ । अब परम्परागत तरीकाले उद्योग, कृषि र पर्यटनको सम्भावना जपेरमात्रै यहाँको रूपान्तरण गर्न कठिन छ । युवामुखी स्टार्टअपलाई अघि बढाउनु पर्दछ । युवाहरूलाई अघि बढाउने हो भने यो सहज हुन सक्दछ । यसका लागि स्टार्टअपलाई प्रोत्साहन जरुरी छ । स्टार्टअप अवार्डहरू गर्ने, सरकारले ल्याएका यससम्बन्धी नीतिहरूको प्रभावकारी कार्यान्वयन हुनु पर्दछ । 

धार्मिक पर्यटनलाई अघि बढाउन सकिन्छ 

प्रकाशचन्द्र साह

पूर्वअध्यक्ष, जनकपुरधाम उद्योग वाणिज्य संघ 

यहाँ धार्मिक पर्यटनलाई अघि बढाउन सकिन्छ । यसका लागि यहाँ भएका धार्मिक सरोकारहरूलाई आस्थासँग अन्तरआबद्ध गरिनु पर्दछ । जनकपुरमा क्षेत्रीय विमानस्थल चाहिन्छ । रेल स्टेसनलाई सुविधासम्पन्न बनाउनु पर्दछ । भिठामोडमा व्यापार प्रवर्द्धनका पूर्वाधार तयार गरिनु पर्दछ । उद्योगमा अति राजनीतीकरण भइरहेको छ । जनकपुर चुरोट कारखाना किन बन्द भयो ?यस्ता कुरामा रणनीतिक रूपमा अघि बढ्नु आवश्यक छ ।

जनकपुरलाई ‘वेडिङ डेस्टिनेशन’ बनाइनु पर्दछ 

अम्बुप्रसाद साह 

उपाध्यक्ष, जनकपुरधाम उद्योग वाणिज्य संघ

जनकपुरलाई ‘वेडिङ डेस्टिनेशन’ बनाइनु पर्दछ । रामजानकीको विवाह यहाँ भएकाले त्यो विषयलाई अहिले विवाह गन्तव्यको रूपमा स्थापित गर्न सकियो भने यस क्षेत्रको आर्थिक रूपान्तरणमा सहयोग पुग्न सक्दछ । यसका लागि धार्मिक आस्था स्थापित गर्नेदेखि पूर्वाधार निर्माणसम्मका सबै कामलाई सँगै अघि बढाउनु पर्दछ ।

भारतीय पर्यटक यहाँका मुख्य स्रोत हुन् 

देवनारायण मण्डल

सञ्चालक, इन्क्रिडेबल मिथिला 

जनकपुरमा सम्भावना नभएको होइन । भारतीय पर्यटक यहाँका मुख्य स्रोत हुन् । भारतीय पर्यटकले अन्य देशबाट आउने पर्यटकभन्दा बढी खर्च गर्दछन् । तर, ठाउँठाउँमा भारतीय पर्यटकले बढी हैरानी पाएका छन् । यो प्रवृत्तिको अन्त्य हुन जरुरी छ । 

क्रमिक रूपमा विकास भइरहेको छ 

श्यामप्रसाद साह 

पूर्वअध्यक्ष, जनकपुरधाम उद्योग वाणिज्य संघ 

जनकपुर र आसपासका क्षेत्रमा विकास हुँदै नभएको होइन । क्रमिक रूपमा विकासका कामहरू भइरहेका छन् । सडक, विद्युत्, शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधार, उद्योग, व्यापार, होटल, पर्यटन सबै क्षेत्रमा सकारात्मक परिवर्तन अवश्य भएको छ । तर, जति हुनुपर्ने हो त्यो हुन सकेको छैन । यसका लागि सरोकारका सबै निकाय र पक्षबीच सहकार्यको खाँचो छ । 

नीतिसँगै व्यवहारमा पनि परिवर्तन जरुरी छ 

अवधेश कामत

उपाध्यक्ष, नेपाल पत्रकार महासंघ, धनुषा

जनकपुर क्षेत्रको सापेक्ष विकासका लागि नीतिसँगै व्यवहार पनि परिवर्तन जरुरी छ । कृषिको सम्भावनायुक्त क्षेत्र भएकाले यसको उपयोग गर्न सकिन्छ । कृषिका पकेट क्षेत्र घोषणा गरेर अघि बढ्नु पर्दछ । पर्यटन बढाउन यस क्षेत्रमा पर्यटकीय क्षेत्रको प्रचारप्रसार जरुरी छ । यसका निम्ति पर्यटकीय स्थलबारे जानकारी समेटिएका ‘बुकलेट’ निकालेर प्रचारप्रसार सहज बनाउन सकिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)