ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : आर्थिक विकासमा धितोपत्र बजार

२०८० भदौ, १९  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

धितोपत्र बजारबाट सरकारले राम्रै आम्दानी गर्दै आएको छ । विगत १० आर्थिक वर्षको तथ्यांक हेर्दा सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट एकै वर्षमा साढे १५ अर्ब रुपैयाँभन्दा बढीसम्म पूँजीगत लाभकर संकलन गरेको देखिन्छ ।

आर्थिक वर्ष (आव) २०७०/७१ देखि आव २०७९/८० सम्मको तथ्यांकलाई आधार मान्दा सरकारले आव ०७७/७८ मा सबैभन्दा बढी १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । त्यसपछिको वर्ष २०७८/७९ मा सरकारले १० अर्ब ३५ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको तथ्यांक धितोपत्र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेडले दिएको छ । यी दुई आव धितोपत्र बजार सरकारका लागि मात्र होइन, लगानीकर्ताका लागि समेत फलदायी बनेको थियो । त्यसपछिको आव २०७९/८० मा भने सरकारले २ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी मात्र पूँजीगत लाभकर प्राप्त गरेको छ । 

विश्वव्यापी कोरोना महामारीको असर नेपालमा २०७६ साल चैत महीनादेखि परेको थियो । कोरोनाका कारण जनजीवन घरभित्र मात्र सीमित हुँदा देशका सबै व्यावसायिक क्षेत्र प्रभावित बनेका थिए । उक्त समयमा अनलाइन प्रविधिसँग जोडिएकाले धितोपत्र बजार भने चलायमान बन्यो । देशका सबै व्यावसायिक क्षेत्र अस्तव्यस्त बन्दा सरकारले धितोपत्र बजारबाट उक्त समयमा राम्रो आम्दानी गर्न सफल भएको थियो । कोभिडको जोखिमका बीच धितोपत्र बजारका लगानीकर्ताबाट संकलित लाभकर सरकारका लागि महत्त्वपूर्ण आम्दानी बन्न सकेको थियो ।

कोभिड महामारीमा सरकारी आम्दानीको मुख्य स्रोत नै धितोपत्र बजार बनेको स्मरण यतिबेला लगानीकर्ता गर्छन् । सबै व्यापार व्यवसाय छोडेर कोभिडबाट बच्न घरभित्र बस्न बाध्य नेपालीहरूले आम्दानीको क्षेत्र बनाएकाले पनि उक्त समयमा धितोपत्र बजारले ऐतिहासिक रेकर्ड कायम गर्न सफल भएको लगानीकर्ता डम्बरुवल्लभ घिमिरे बताउँछन् । ‘सरकारी जागिरेबाहेक त्यस समय अन्यको आम्दानी हुने सम्भावना नै थिएन,’ उनी भन्छन्, ‘धितोपत्र बजारलाई नै आम्दानीको क्षेत्र बनाएका आफूजस्ता धेरै लगानीकर्ताको सक्रियताकै कारण कोभिड महामारीका बीच नेपाली जनतासँगै सरकारसमेत आम्दानी बढाउन सफल भएको हो ।’ जब बजार बढ्छ स्वाभाविक रूपमै लगानीकर्ता उत्साहित हुन्छन् अनि सरकारको समेत आम्दानी बढ्छ । घिमिरे भन्छन्, ‘बजार बढेकै वर्ष सरकारको आम्दानीसमेत बढेको तथ्यांक रहेकाले यो क्षेत्रको गतिलाई निरन्तरता दिने खालका नीतिमा सरकारले जोड दिन आवश्यक छ ।’ धितोपत्र बजारमात्र त्यस्तो क्षेत्र हो जसको वृद्धिले जनता मात्र होइन, सरकारको समेत आम्दानी बढ्ने ठोकुवासमेत घिमिरेले गरेका छन् । 

तथ्यांकलाई केलाउँदा नेप्से परिसूचक बढेको वर्ष सरकारको कर संकलनसमेत बढेको देखिन्छ । आव २०७०/७१ को अन्त्यमा १ हजार ३६ दशमलव ११ विन्दुमा नेप्से परिसूचक बन्द भएको नेप्सेको तथ्यांकले देखाउँछ । अघिल्लो आव ०६९/७० को अन्त्यमा ५१८ दशमलव ३३ विन्दुमा बन्द भएको नेप्से परिसूचक उक्त आव ५१७ दशमलव ७८ अंकले बढेको थियो । आव २०७०/७१ मा सरकारले धितोपत्र बजारका लगानीकर्ताबाट ७४ करोड ३५ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको थियो । आव २०७१/७२ मा भने सरकारले ८१ करोड ५३ लाख रुपैयाँ यो क्षेत्रबाट कर उठाएको देखिन्छ । यस वर्ष नेप्से परिसूचक ९६१ दशमलव २३ विन्दुमा बन्द भएको थियो । आव ०७२/७३ मा नेप्से परिसूचक बढेर १ हजार ७१८ दशमलव १५ विन्दुमा पुग्यो । उक्त वर्ष सरकारले १ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी कर संकलन गरेको थियो ।

आव २०७३/७४ मा १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी, आव २०७४/७५ मा ४७ करोड रुपैयाँभन्दा बढी, आव २०७५/७६ मा ६४ करोड रुपैयाँभन्दा बढी र आव २०७६/७७ मा ९८ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गर्न सरकार सफल भएको थियो । नेप्से परिसूचकको अवस्थालाई हेर्दा आव २०७३/७४ मा १ हजार ५८२, आव २०७४/७५ मा १ हजार २१२ दशमलव ३६, आव ०७५/७६ मा १ हजार २५९ दशमलव शून्य २ र आव २०७६/७७ मा १ हजार ३६२ दशमलव ३५ विन्दुमा रहेको थियो । हालसम्मको इतिहासमा नेप्से परिसूचकले सर्वाधिक ३ हजार २०० विन्दु पार गरेको छ । २०७८ साल भदौ २ गते नेप्सेले हालसम्मकै ऐतिहासिक विन्दु पार गरेको थियो । सो समयमा नेपालको धितोपत्र बजारको कुल पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड रुपैयाँभन्दा बढी कायम रहेको थियो । २०८० साल साउन मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३० खर्ब ४३ अर्ब ९१ लाख रुपैयाँभन्दा बढी कायम छ । 

नेपालमा धितोपत्रको कारोबारबाट प्राप्त हुने पूँजीगत लाभमा कर लाग्ने व्यवस्था २०५८ साल साउन १ गतेदेखि लागू भएको पाइन्छ । आयकर ऐन– २०५८ को दफा ८९ (क) अनुसार सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबारमा सरकारले २०५८ साउन १ गतेअघि खरीद गर्ने खरीदकर्ताले उक्त मितिको अन्तिम मूल्यलाई खरीद मूल्य मानेर आफ्नो लगानी विक्रीवाट प्राप्त लाभमा अग्रिम पूँजीगत लाभकर कट्टा गर्ने व्यवस्था गरेको थियो । हालको व्यवस्थामा लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने हुन्छ । 

हालको व्यवस्थाअनुसार धितोपत्र दोस्रो बजारका लगानीकर्ताले नाफा कमाएको खण्डमा अधिकतम १० प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ भने व्यक्तिगत लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था छ । व्यक्तिगत लगानीकर्ताका लागि दुई प्रकारको पूँजीगत लाभकरको व्यवस्था गरिएको छ । एक वर्षभन्दा बढी धितोपत्र कायम गर्ने लगानीकर्तालाई दीर्घकालीन र १ वर्षभन्दा कम धितोपत्र कायम गर्ने लगानीकर्तालाई अल्पकालीन लगानीकर्ताका रूपमा विभाजन गर्दै सरकारले अल्पकालीन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)