नेपाली पूँजीबजारको विकास र विस्तार क्रमिक रूपमा अघि बढेको छ । पूँजीबजारमा विस्तारै प्रविधि भित्रिएका छन् । अहिले धितोपत्रसम्बन्धी धेरैजसो काम अनलाइन प्रणालीबाट गर्न सकिन्छ । कुनै बेला धितोपत्रको प्राथमिक र दोस्रो बजारमा शेयर खरीदविक्री गर्न लामो लाम हुन्थ्यो । पछिल्लो समय आधुनिक प्रविधिको विकासले यो समस्या समाधान भइसकेको छ । धितोपत्रको दोस्रो बजारमा पूर्ण अनलाइन प्रणाली २०७५ कात्तिकदेखि शुरू भएको हो । प्राथमिक बजार भने २०७४ सालमा आस्बा प्रणाली शुरू भएसँगै पूर्ण अनलाइन प्रणालीमा गइसकेको थियो । दोस्रो बजारमा अनलाइन प्रणाली शुरू भएसँगै लगानीकर्ता कारोबारका लागि हरेक दिन ब्रोकर कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् ।
यसका साथै शेयर खरीद र विक्रीको काम अहिले मोबाइल र ल्यापटपमा क्लिक गरेकै भरमा सम्भव भएको छ । शुरुआती समयमा स्टक एक्सचेन्जमा भेला भएर भीडमा तँछाडमछाड गर्दै बोलकबोल प्रणालीबाट कारोबार सञ्चालन हुन्थ्यो । कागजी धितोपत्र प्रमाणपत्र तथा कागजातका आधारमा राफसाफ हुँदै आएकोमा अहिले कम्प्युटरबाट कारोबार र विद्युतीय रूपमा राफसाफ हुन्छ ।
पूँजीबजारको विकास र विस्तारसँगै लगानीकर्ताको संख्या पनि बढ्दो छ । अनलाइन प्रणाली शुरू भएको करीब ५ वर्ष पुग्यो । नेप्सेका अनुसार हालसम्ममा १७ लाख लगानीकर्ताले टीएमएस युजर आईडी लिएका छन् । दैनिकजसो ५० हजार जतिले शेयर कारोबार गर्ने गर्छन् । यो संख्या बजार बढ्दा बढ्ने र बजार घट्दा घट्ने गर्छ ।
पाँच आर्थिक वर्ष (आव) को नेप्सेको प्रवृत्ति हेर्दा १ हजार २१२ दशमलव ३६ बिन्दुबाट बढेर ३ हजार २०० बिन्दु पार गरेको देखिन्छ । धितोपत्र बजारको सूचक नेप्सेले ऐतिहासिक बिन्दु कायम गर्नुमा प्रमुख कारण प्रविधि हो । विश्वव्यापी महामारी कोभिड–१९ का कारण देशभरका सबै व्यावसायिक क्षेत्र बन्द रहँदा पूर्ण प्रविधिमा आधारित धितोपत्र दोस्रो बजार भने सञ्चालनमै रह्यो । शुरूका दिनमा केही समय दोस्रो बजार बन्द भए पनि त्यसपछि कोभिड महामारीबीच घरभित्र सीमित जनजीवनबाट पनि धितोपत्रको दोस्रो बजार सञ्चालनमै रह्यो । कोभिड अवधिमा देशका अन्य व्यावसायिक क्षेत्र/गतिविधि बन्द रहँदा सरकारको आम्दानीको मुख्य स्रोत धितोपत्रको दोस्रो बजार बनेको देखिन्छ ।
बजारसँगै धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीको संख्या पनि बढ्दो छ । आव २०७४/७५ मा सूचीकृत कम्पनीको संख्या १९६ रहेकोमा आव २०७९/८० मा आइपुग्दा बढेर २५४ पुगेको छ । यो संख्या अझै बढ्ने देखिन्छ । पाँच आवको तथ्यांकलाई आधार मान्दा कारोबार रकम पनि बढ्दो क्रममा रहेको देखिन्छ । आव २०७४/७५ मा रू. १ खर्ब २१ अर्ब बराबरको कारोबार भएकोमा गत आव २०७९/८० मा बढेर रू. ४ खर्ब ६७ अर्ब पुगेको छ ।
नेप्से ३० इन्डेक्स सञ्चालनको तयारी
धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जले ‘नेप्से ३०’ नामक नयाँ परिसूचक तयार परेको छ । उक्त इन्डेक्स आन्तरिक परीक्षण भई सञ्चालनमा आउने तयारीमा छ । यो हाल प्रयोगमा रहेका नेप्से, सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स जस्तै अर्को नयाँ इन्डेक्स हो । कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयर समावेश गरिने विधि फ्री फ्लोट हो । यो इन्डेक्सबाट भविष्यमा विभिन्न प्रकारका कारोबार उपकरणसमेत सञ्चालन गर्न सकिने नेप्सेले बताएको छ । यो परिसूचकमा पर्ने ३० कम्पनी नेप्सेले छनोट गरिसकेको छ । यसरी हेर्दा नेप्सेले पूँजीबजारमा नयाँ उपकरण भित्त्याउन शुरू गरेको देखिन्छ ।
नेप्सेको नीति तथा कार्यक्रममा प्रणाली विकास प्राथमिकतामा
नेप्सेले यस वर्ष प्रणाली विकासका लागि अन्तरराष्ट्रिय स्तरको टेस्टेड अनलाइन ट्रेडिङ सफ्टवेयर किन्ने योजना अघि सारेको छ । नट्समा प्रयुक्त सफ्टवेयर नवीकरण गर्ने, हार्डवेयर, वेबसाइट, पावर सिस्टमलगायत अन्य सेवाको सुनिश्चितताका लागि वार्षिक मर्मतसम्भार सम्झौता गर्ने योजनासमेत नेप्सेको यस वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ । कार्यालय उपकरण सञ्चालनका लागि आवश्यक लाइसेन्स, सफ्टवेयर, हार्डवेयर किन्ने योजना पनि नेप्सेको छ । नेप्सेले यसै वर्ष नयाँ डेटा सेन्टर निर्माण गर्ने कार्यक्रमसमेत राखेको छ ।
पूँजीबजारमा एनआरएन भित्त्याउन पहल गर्दै सेबोन
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपाली (एनआरएन)ले लगानी गर्न पाउने गरी कानूनहरु संशोधन तथा परिमार्जन गर्ने घोषणा गरेको छ । बोर्डले आव २०८०/८१ को नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो । धितोपत्रको दोस्रो बजार कारोबारमा एनआरएनलाई ल्याउन कानून नै बाधक देखिएको विज्ञहरूले बताउँदै आएका छन् । बोर्ड यस विषयमा समिति नै बनाएर अगाडि बढेको छ । यसरी हेर्दा नेपालको पूँजीबजार क्रमिक रूपमा अगाडि बढेको देखिन्छ । २०८० वैशाखदेखि सेबोनले थप नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको छ । यसबाट शेयरबजारको पहुँच बढेर जाने अनुमान गरिएको छ । साउन ३१ गतेसम्म ३७ नयाँ ब्रोकरले लाइसेन्स पाएका छन् । लाइसेन्स पाएका केहीले कारोबार पनि शुरू गरिसकेका छन् ।
नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रियामा
नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया पनि शुरू गरिसकेको छ । बोर्डले शुरू गरिसकेको प्रक्रिया सरकारको आदेशमा अहिले स्थगित छ । धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेन्ज आउनु जरुरी छ । तब मात्र लगानीकर्ताले राम्रो सेवासुविधा उपयोग गर्न पाउनेछन् । यसो हुँदा शेयरबजारको विकास र विस्तारसँगै यसलाई सबैको पहुँचमा पुर्याउन सकिन्छ । नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
डिम्याट खाता संख्या साढे ५७ लाखमाथि
पाँच आवमा डिम्याट खाता खोल्नेको संख्या २७६ प्रतिशतले वृद्धि भएको छ । आव २०७५/७६ मा १५ लाख २९ हजार ५५६ जनाले डिम्याट खाता खोलेकोमा २०७९/८० सम्म आइपुग्दा ५७ लाख ५१ हजारभन्दा बढी पुगेको हो । पछिल्लो १ आवमा डिम्याट खाता खोल्नेको संख्या पौने ५ लाखले बढेको देखिन्छ । पछिल्लो समय धितोपत्रको प्राथमिक बजारमा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्दो छ । यस कारण पनि डिम्याट खाताको संख्या बढेको हो ।
विभिन्न कम्पनीको शेयर किनबेच हुँदा पहिले भौतिक अर्थात् कागजी प्रमाणपत्रकै रूपमा हस्तान्तरण हुने गर्दथ्यो । अर्थात् शेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरीद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे । २०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्णरूपमा सञ्चालनमा आएको हो । हाल शेयर अभौतिक रूपमा अर्थात् यही डिम्याट खातामा सीधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको शेयर आफै जम्मा हुन्छ ।
प्राथमिक शेयर (आईपीओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै दोस्रो बजारमा शेयर विक्री गर्दा खाताबाट शेयर संख्या घटेर खरीद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही शेयर जम्मा हुने खाता नै डिम्याट खाता हो ।