विनाप्रविधि अहिलेको पूँजी बजार चल्नै सक्दैन । प्रविधि नभई कुनै पनि धितोपत्रको कारोबार हुन सम्भव छैन । प्रविधिले नै लगानीमा समान र निष्पक्ष अवसर प्रदान गर्छ । प्रविधिले नै विगतका सबै कारोबार, तथ्यांक, सूचना र जानकारी संग्रह गरेर राख्न र भोलि चाहिएको समयमा प्रयोग गर्न सम्भव बनाइदिन्छ । तसर्थ प्रविधि अत्यावश्यक छ ।
नेपालको पूँजी बजार विस्तारै विकसित हुँदै छ । उदाहरणका लागि आईपीओ भर्नकै लागि घण्टौं लाइन बसेर भर्नुपथ्र्यो भने अहिले त्यो समस्या पूरै समाधान भइसकेको छ । त्यस्तै शेयर खरीद विक्रीकै लागि ब्रोकर कहाँ धाई राख्नुपर्ने थियो, त्यो पनि सबै अनलाइन प्रणालीबाट कारोबार गर्न मिल्ने भइसकेको छ । अहिलेसम्म गरिएका काम हेर्दा हामी शुरू चरणको पूँजी बजार र अहिले पूँजी बजारको स्थिति हेर्दा केही परिवर्तन आएको छ । विकास विस्तार त भएको छ तर गति केही सुस्त छ ।
विगत ३० वर्षमा नेपाली पूँजी बजारमा केही थोरै काम भएका छन् । ति पनि ज्यादै सुस्त र ढिलो गरी भएका छन् । काम समयमा भएका छैनन्, जे भएका छन् ती ज्यादै सीमित, अपर्याप्त, विवादित र समस्याग्रस्त छन् । हामीले आजसम्म पूँजी बजारमा के र कति विकास गर्यौं भनेर हेर्न हामी र हाम्रा छिमेकी राष्ट्रहरू ३० वर्षअघि कहाँ थियौं र आज कहाँ छौं भनेर तुलना गरी हेर्नुपर्छ । यस्तो तुलना गर्दा हाम्रा छिमेकी राष्ट्रले गएको ३० वर्षमा ठूलो फड्को मारेका छन् । हामी भने लगभग जहाँको तहीँ र जस्ताको त्यस्तै अवस्थामा छौं । यस हिसाबले हेर्दा हामीले गएको ३० वर्ष यत्तिकै खेर फालेका छौं । भारत, चीन, श्रीलंका, बंगलादेशजस्ता हाम्रा छिमेकी राष्ट्रले गएको ३० वर्षमा पूँजी बजारमा धेरै ठूलो सफलता पाएका छन् । हामी भने धितोपत्रको कारोबार र धितोपत्रको निष्कासनमा दरखास्त दिने काम अनलाइन बनाउनेबाहेक अरू कुनै प्रगति गर्न सकेका छैनौं । यही अनलाइन काम गर्ने प्रणालीमा पनि बारम्बार समस्या आउने गर्छ । यहीे प्रणाली पनि कति निष्पक्ष र सुरक्षित छ भन्ने कुनै जानकारी छैन ।
हामीसँग स्टक, बन्ड र म्युचुअल फन्डजस्ता परम्परागत धितोपत्रबाहेक अन्य कुनै नयाँ र रचनात्मक धितोपत्र बजारमा उपलब्ध छैनन् । वित्तीय सेवा र सुविधा ज्यादै अव्यावसायिक र महँगो छ । ऐनकानून बन्देजकारी छन् । पूँजी बजारमा धेरै सर्वसाधारणको सहभागिता बढाउन महत्त्वपूर्ण रूपमा दुई काम गर्न आवश्यक छ । पहिलो, काम भनेको पूँजी बजारमा काम गर्ने वित्तीय संस्था (इन्भेष्टमेन्ट बैंक, इन्भेष्टमेन्ट कम्पनी, फाइनान्सियल एडभाईजर्स, एक्सचेन्ज, ब्रोकर, डिलर, म्युचुअल फण्ड आदि)को प्रवेश हुनुपर्छ । दोस्रो, लगानीको अवसर सृजना गर्ने थुप्रै वित्तीय साधन र उपकरण उपलब्ध हुनुपर्छ । यी दुई कामका लागि सबैभन्दा महत्त्वपूर्ण रूपमा गर्नुपर्ने काम भनेको ड्र्याकोनियनजस्ता लाग्ने विद्यमान ऐनकानूनमा आमूल परिवर्तन आवश्यक छ । विद्यमान ऐनकानून आमूल परिवर्तन नगरी थुप्रै वित्तीय संस्था, साधन र उपकरण पूँजी बजारमा आउनै सक्दैनन् र यसमा धेरैको सहभागिता बढाउन सकिँदैन । कुशल मानव संसाधन र प्रविधिको विकास पनि उत्तिकै जरुरी छ । पूँजी बजार लगानीको अवसर पैदा गर्ने र वित्तीय समस्याको समाधान दिने हुनुपर्छ ।
अहिले सबैको ध्यान ब्रोकर संख्या बढाउनमा मात्र केन्द्रित छ । ब्रोकर संख्या मात्र बढाएर पुग्दैन, अन्य काम गर्ने संस्था पनि आउनुपर्छ । पूँजी बजारका हरेक काम अनुमति लिएर हरेक वित्तीय संस्थाले गर्न पाउने हुनुपर्छ । त्यसका लागि सिमित अनुमति (लाइसेन्सिङ)को व्यवस्था पूर्णरूपमा हटाउनुपर्छ । यसले पूँजी बजारका सदस्य संस्था व्यापक रूपमा बढाउँछ । पूँजी बजारका सदस्य संस्था धेरै भएमा धेरै वित्तीय साधन र उपकरण बजारमा आउनेछन् । यिनै सदस्य वित्तीय संस्थाले नै सर्वसाधारणलाई पूँजी बजार र वित्तीय साधनका बारेमा जानकारी दिने, सुसूचित गराउने र लगानी गर्न प्रेरित गराउने गर्छन् । यही प्रक्रियाले नै पूँजी बजारमा धेरैभन्दा धेरै सर्वसाधारणको सहभागिता बढ्न जान्छ ।
पूँजी बजार धेरै सर्वसाधारण नेपालीको पँहुचमा पुर्याउन यसको विस्तार र प्रवर्द्धन नै गर्नुपर्छ । विस्तार भनेको यसका सहभागी र साधनहरूको वृद्धि र विकास हो । विस्तार हुन पूँजी बजारले जे काम गर्नुपर्ने हो त्यो गर्नुपर्छ । त्यो भनेको पूँजी बजार चलायमान भएर अवसर पैदा गर्ने, प्रतिफल दिने र समाधानमुखी हुनुपर्छ न कि अहिलेको जस्तो मृतप्राय: । अहिलेको जस्तो बजारले न त प्रतिफल दिनसक्छ न त पूँजी नै पैदा गर्नसक्दछ । पूँजी बजार चलायमान र प्रतिफलयुक्त भयो भने नै पूँजी बजार धेरैको पहुँचमा पुग्छ र देशभर फैलिन्छ ।
पछिल्लो समय नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज आउने प्रक्रियामा रहेका थिए, जुन अहिले रोकिएको छ । नयाँ एक्सचेन्जहरू आउनुपर्छ । हरेक व्यवसाय प्रतिस्पर्धी हुनु जरुरी छ । यसबाट मात्र लगानीकर्ताले राम्रो सेवासुविधा उपयोग गर्न पाउँछन् । यस्तो भयो भने नै पूँजी बजारको विकास र विस्तारसँगै यसलाई सबैको पहुँचमा पुर्याउन सकिन्छ । पूँजी बजारको विकास र विस्तारका लागि नयाँ, रचनात्मक र नवीन विचारको आवश्यक छ । यस्तो विचारलाई सधैं स्वीकार र प्रवर्द्धन गर्न सक्नुपर्छ । नयाँ, रचनात्मक र नवीन विचारविना पूँजी बजार मात्र होइन, समाज र देश पनि अघि बढ्न सक्दैन ।
नेपालमा भेन्चर क्यापिटल र प्राइभेट इक्विटी नयाँ अवधारणा र अभ्यास हुन् । नयाँ र शुरूमा हरेक विषय अपरिपक्व र चुनौतीपूर्ण हुनुका साथै अवसरयुक्त पनि हुन्छ । यस अर्थमा प्राइभेट इक्विटी र भेन्चर क्यापिटलको सम्भावना राम्रो देखिन्छ ।
यी दुवै अवधारणाले गर्ने भनेको पूँजीको परिचालन गरेर लगानी बढाउने नै हो । यी संस्थाले नयाँ र रचनात्मक प्रकारको लगानी गर्ने गर्छन् । पहिचान नगरिएका, बेवास्ता गरिएका वा समस्याग्रस्त तर सम्भावना भएका व्यवसाय खोजी गरेर लगानी गर्ने र वित्तीय अवस्थामा व्यापक सुधार गर्ने गर्छन् । भेन्चर क्यापिटल र इक्विटी फन्डले कतिपय उच्च जोखिम रहेका व्यवसायमा लगानी गरी जोखिम व्यवस्थापन गर्दै वित्तीय अवस्थामा सुधार गरेर ती संस्थाको धितोपत्र सर्वसाधारणमा लैजाने गर्छन् । यसरी यी संस्थाले पूँजी परिचालन गरी पूँजी बजारको विकास र विस्तारमा सहयोग गर्छन् । भेन्चर क्यापिटलले प्रतिफल दिने सम्भावना भएका तर स्थापनाको शुरुआती चरणमा रहेका कम्पनीमा लगानी गरेर पूँजी बजारमा अवतरण गर्ने गर्छन् । प्राइभेट इक्विटीले सञ्चालनमा आइसकेका तर पूँजी अभावमा राम्रो आयआर्जन गर्न समस्या भएका कम्पनीमा पूँजीगत लगानी गरेर सफल रूपमा सञ्चालन गरी तिनलाई पूँजी बजारमा ल्याउने गर्छन् । यस्तो कार्यले पूँजी बजारमा धेरै कम्पनीको प्रवेश गराई तिनमा लगानीकर्ताको सहभागिता बढाउन मद्दत पुर्याउँछ ।
यस्ता कार्यले पूँजी बजारको विकास विस्तारमा टेवा पुग्ने देखिन्छ । अर्को पाटो समस्याग्रस्त र पहिचान नगरिएका संस्थामा लगानी गरी तिनलाई दिगोपन र नाफामूलक बनाउँदा देशको अर्थतन्त्रमा समेत योगदान पुग्छ ।
नेपालको पूँजी बजारमा उत्पादनमूलक क्षेत्र (म्यानुफ्याक्चरिङ सेक्टर) को ठूलो कमी छ । उत्पादनमूलक क्षेत्र बढ्ने क्रम सुस्त छ । उत्पादनशील क्षेत्रका कम्पनी पूँजी बजारमा आउने वातावरण नियामक निकायले बनाइ दिनुपर्छ । उत्पादनमूलक क्षेत्रका कम्पनीले आफ्नो धितोपत्र निष्कासन गर्दा मूल्य निर्धारण गर्ने अधिकार कम्पनीलाई दिइनुपर्छ । आफ्नो धितोपत्रको मूल्य पाए जुनसुकै कम्पनी बजारमा आउन चाहन्छ । अहिलेको धितोपत्र निष्कासनको प्रक्रिया जटिल छ, यो सहज बनाइनुपर्छ ।
‘मूल्य तोक्ने अधिकार कम्पनीको, किन्ने वा नकिन्ने अधिकार लगानीकर्ताको’ भन्ने बजारको आधारभूत सिद्धान्त लागू हुनुपर्छ । त्यसो भएमा मात्र राम्रो वित्तीय अवस्था भएका उत्पादनमूलक क्षेत्रका महत्त्वपूर्ण कम्पनी पूँजी बजारमा भित्रिन्छन् ।
विनाप्रविधि अहिलेको पूँजी बजार चल्नै सक्दैन । प्रविधि नभई कुनै पनि धितोपत्रको कारोबार हुन सम्भव छैन । प्रविधिले नै लगानीमा समान र निष्पक्ष अवसर प्रदान गर्छ । प्रविधिले नै विगतका सबै कारोबार, तथ्यांक, सूचना र जानकारी संग्रह गरेर राख्न र भोलि चाहिएको समयमा प्रयोग गर्न सम्भव बनाइदिन्छ । तसर्थ प्रविधि अत्यावश्यक छ ।
पूँजी बजार प्रविधिमैत्री बनाउन धेरैभन्दा धेरै र स्तरीय प्रविधिको उपयोगमा जोड दिनु आवश्यक छ । जति नयाँ र रचनात्मक वित्तीय साधन वा उपकरण बजारमा आउँछन्, त्यति नै स्तरीय प्रविधिको विकास हुँदै जान्छ । प्रविधिको विकासका लागि नयाँ र रचनात्मक वित्तीय साधन बजारमा आउन दिनु आवश्यक छ । अहिले बजारमा स्टक, बन्ड, म्युचुअल फन्डजस्ता परम्परागतबाहेक डेरिभेटिभ्स अपसन्स, फ्युचर्स, स्ट्रक्चर्ड प्रडक्ट्स, सेक्युरिटाइजेसन, रिट्स, इन्ट्रेस्ट रेट प्रडक्ट्स, हेजिङ प्रडक्ट्सलगायत थुप्रै वित्तीय साधन उपलब्ध छैनन् । यी साधनलाई यथाशक्य छिटो बजारमा आउन दिनु आवश्यक छ ।
प्रविधि भन्नेबित्तिकै कम्प्युटर, इन्टरनेट, सफ्टवेयर, प्रोग्रामिङ, एप्लिकेशन, स्टोेरेज मात्रै होइन, त्यसको सुरक्षाको विषय पनि आउँछ । यी विविध पक्ष व्यवस्थापन गरेर मात्र एक उपयोगी र सुरक्षित प्रविधि सञ्चालनमा आउनसक्छ । प्रविधि सरल र सहज हुनु आवश्यक छ । साथै यसमा लागतको विषय पनि आउँछ । यो सकेसम्म कम लागतको हुनुपर्छ । तबमात्र यो सर्वसाधारणको पहुँच र प्रयोगमा हुन्छ । नेपाली पूँजी बजारमा विदेशी लगानीकर्ता भित्त्याउन पहल हुनु आवश्यक छ । त्यसका लागि पहिले गैरआवासीय नेपालीलाई विदेशबाट नेपालमा लगानी गर्ने वातावरण बनाउन अत्यन्तै जरुरी छ । त्यसो गर्नसके पहिला यसले पूँजी बजारमा विदेशमा रहेका नेपालीको सहभागिता बढाउँछ । दोस्रो यसले पूँजी, प्रविधि (टेक्नोलोजी) र सफ्टवेयर प्रणाली पनि भित्त्याउँछ । यसका लागि सरकार र यसका निकायले कानूनी प्रक्रिया सरल र सहज बनाइदिनुपर्छ । त्यसपछि मात्र विदेशी लगानीकर्ता भित्रिने वातावरण बन्छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारमा गैरआवासीय नेपालीलाई भित्त्याउन केही कानूनी प्रक्रिया अगाडि बढाइ रहेको छ । तर, यो पर्याप्त छैन । विदेशबाट गरिएको लगानी विक्री गरेर फिर्ता लैजाने प्रक्रियामा रहेको अवरोध राष्ट्र बैंकले हटाइदिनुपर्छ ।
कानूनी र प्रशासनिक प्रक्रिया झन्झटरहित भएमा विदेशी लगानीकर्ता आउने सम्भावना रहन्छ । तबमात्र सही अर्थमा पूँजी बजारको वृद्धि, विकास र विस्तार सम्भव हुन्छ ।
नेपालमा ओभर द काउन्टर (ओटीसी) मार्केट सही अर्थमा बुझिएको छैन । नेपाल स्टक एक्सचेन्जमा हुने कारोबार ओटिसी कारोबार भन्न मिल्दैन । किनभने ओटीसी कारोबार भनेकै स्टक एक्सचेन्ज र ब्रोकरविना क्रेता र विक्रेताबीच विद्युतीय माध्यमबाट हुनसक्ने सीधा कारोबार हो । यसमा स्टक एक्सचेन्ज, उसको ब्रोकर र लिलामी–अक्शन प्रणाली प्रयोग गरिँदैन ।
ओटीसी मार्केटमा स्टक एक्सचेन्जमा सूचीकरण नभएका धितोपत्रको कारोबार हुनसक्दछ । यसका लागि कुनै भौतिक स्थानको आवश्यक पर्दैन । यसले इलेक्ट्रोनिक नेटवकमार्फत काम गर्छ । नेपालमा पनि ओटीसी मार्केटलाई ज्यादा तरलता प्रदान गर्न र प्रभावकारी बनाउन विद्युतीय कारोबार प्रणालीको विकास गर्नुपर्छ । धितोपत्रको मूल्य खरीदकर्ता, विक्रेता, ब्रोकर वा डिलरले तय गर्ने गरी डिलर मार्केटको अवधारणा प्रयोग गर्न सकिन्छ । दोस्रो बजार जस्तै यो मार्केट पनि हरेक लगानीकर्ता र धितोपत्र बजारका सदस्य (ब्रोकर,डिलर) का लागि खुला हुनुपर्छ । तब नै यो मार्केट धेरै लगानीकर्ता माझ पुग्ने र प्रभावकारी हुने हुन्छ ।
(अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल अर्यालसँग आर्थिक अभियानकी लक्ष्मी शर्माले गरेको कुराकानीमा आधारित)