ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : नेपालको विकासमा एमसीसी

२०८० भदौ, १९  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) विकास समिति ऐन, २०१३ अनुसार अर्थ मन्त्रालयअन्तर्गत गठन गरिएको एक सरकारी निकाय हो । 

यस विकास समितिले नेपाल सरकारको १३ करोड अमेरिकी डलर लगानी र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बाट प्राप्त हुने ५० करोड अमेरिकी डलर अनुदान गरी कुल ६३ करोड अमेरिकी डलरमा सञ्चालन गरिने पूर्वाधार आयोजनाको व्यवस्थापन गर्छ । 

यस विकास समितिअन्तर्गत कार्यान्वयन गरिने आयोजनाका उद्देश्य आर्थिक वृद्धिमा तीव्रता ल्याउन बिजुलीको उपलब्धता र भरपर्दाेपनामा वृद्धि गर्नु, सडकको गुणस्तर कायम राख्नु तथा नेपाल र यस क्षेत्रको ऊर्जा व्यापारलाई सहजीकरण गर्नु हो । यसले राष्ट्रिय गौरवको विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना गरी दुईओटा आयोजना कार्यान्वयन गर्नेछ ।

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत एमसीए–नेपालले सञ्चालन गरिरहेका दुईओटा विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना हाल तयारी चरणमा छन् । यिनीहरू २०८० भदौ १३ देखि कार्यान्वयन चरणमा प्रवेश गरेका छन् । 

विद्युत् प्रसारण आयोजनाको हालसम्मको प्रगति हेर्दा प्रसारण लाइन निर्माणका लागि परेका बोलपत्रहरू २०८० साल जेठ ८ गते खोलिएको थियो । यसका लागि ६ ओटा भारतीय कम्पनीले बोलपत्र दाखिला गरेका छन् । नुवाकोट जिल्लाको रातमाटे, तनहुँ जिल्लाको दमौली र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको भुमहीमा सबस्टेशनहरू निर्माण गर्न २०८० साल साउन ४ गतेसम्मको समयसीमा राखी बोलपत्र आह्वान भइसकेको छ । रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोटमा जग्गा अधिग्रहणको मुआब्जा वितरण करीबकरीब सम्पन्न भइसकेको छ । प्रभावित हुने क्षेत्रका सरोकारवालासँग परामर्श तथा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरिएको बताइएको छ । रूख गणना/लगत संकलनका लागि स्थलगत अध्ययन र जिल्ला तथा प्रदेशस्तरीय परामर्श गोष्ठी सम्पन्न भएका छन् । 

एमसीए–नेपालले आयोजनाको कार्यक्षेत्रका रूपमा रहेका नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), मकवानपुर, पाल्पा, चितवन, नुवाकोट, तनहुँ, सिन्धुपाल्चोक र धादिङ जिल्लामा ११९ ओटा सामुदायिक वन उपभोक्ता समूह र नौओटा कबुलियती वन उपभोक्ता समूहसँग ७६ ओटा अन्तरक्रिया कार्यक्रम आयोजना गरिसकेको छ । ती ठाउँमा समेत जग्गा अधिग्रहणको काम अघि बढेको छ । प्रसारण लाइन मार्गमा पर्ने रूख गणनाका लागि अनुमतिको प्रक्रिया अगाडि बढेको छ । प्रसारण लाइन र सबस्टेशनको डिजाइन कार्य सम्पन्न भइसकेको छ । प्रसारण लाइनको ३१५ किलोमिटरको रेखांकनमध्ये करीब ३० किलोमिटरको पुन: सर्वेक्षण सम्पन्न भएको छ । रातमाटे सबस्टेशनबाट प्रभावित स्थानीय बासिन्दालाई जीविकोपार्जन पुन:स्थापन कार्यक्रम कार्यान्वयन भइरहेको छ । नेपाल सरकारद्वारा वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भइसकेको छ । आयोजना कार्यान्वयनका लागि आवश्यक प्राय: निर्देशिका, योजना, लागत अनुमानलगायत दस्तावेज तयारी अवस्थामा छन् ।

सडक मर्मत आयोजनाको हालसम्मको प्रगतिमा पूर्व–पश्चिम राजमार्गको करीब १३० किलोमिटर सडक खण्ड मर्मत गर्ने सहमति, सडक मर्मतका लागि आवश्यक उपकरणसहितको चारओटा प्रयोगशाला सडक विभागमा स्थापना गरिएको छ । सडक विभागसँगको सहकार्यमा फुल डेप्थ रिक्लेमेसन (एफडीआर) र सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेन्ट्स (सुपरपेभ) प्रयोगशाला उपकरणसम्बनधीे प्रशिक्षण सम्पन्न गरिएको छ । यसैगरी एमसीए–नेपालद्वारा सडक विभागको सहकार्यमा आयोजना गरिएको ‘इन्टरनेशनल रफनेस इन्डेक्स क्लास वन उपकरण प्रशिक्षण’ पनि सम्पन्न भइसकेको छ । एमसीए–नेपाल तथा सडक बोर्ड नेपालबीच आयोजना सहायता सम्झौता सम्पन्न भई प्राविधिक सहयोग कार्य अगाडि बढेको छ । हाल धानखोलादेखि लमहीसम्म ४० किलोमिटर सडकको मर्मतसम्भारका लागि डिजाइनको काम चलिरहेको छ । सडक विभागसँगको सहकार्यमा राष्ट्रिय राजमार्गका करीब ७ हजार किलोमीटर सडक खण्डको डिफ्लेक्सनबाट मापन गरेर सडकको बाँकी आयु प्रक्षेपण गर्ने कार्य भइसकेको छ । 

नेपालमा एमसीसी कम्याक्ट कार्यक्रमलाई कार्यान्वयनमा लानुपूर्व पूर्वतयारीका क्रममा हासिल गर्नुपर्ने ६ ओटा पूर्वशर्तहरू र तिनीहरूको वर्तमान स्थितिमा पहिलो : विद्युत् प्रसारण आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुपर्ने रहेकोमा २०७६ साल असोज ५ गते गरिएको मन्त्रिपरिषद्को निर्णयबाट उक्त आयोजना राष्ट्रिय गौरवको आयोजना घोषणा भइसकेको छ । दोस्रो, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनबारे नेपाल र भारतबीच सहमति हुनुपथ्र्यो, सोहीअनुसार २०७६ साल असोज २७ र २८ गते भारतको बैंगलोरमा बसेको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा उक्त सहमति भइसकेको छ । 

तेस्रो, विद्युत् नियमन आयोग गठन गर्नुपर्ने थियो । सोही अनुसार २०७५ साल मङ्सिर १९ गते उक्त आयोग गठन भइसकेको छ । चौथोमा आयोजना कार्यान्वयन सम्झौता हुुनुपर्ने शर्त राखिएको थियो जसअनुसार २०७६ साल असोज २ गते उक्त सम्झौतामा हस्ताक्षर भइसकेको छ । पाँचौंमा, सम्झौताको संसदीय अनुमोदन हुनुपर्ने शर्त रहेकोमा २०७८ साल फागुन १५ गते प्रतिनिधिसभाले सर्वसम्मतिबाट उक्त सम्झौता अनुमोदन गरिसकेको छ । छैटौं शर्त, निर्माण क्षेत्रमा पहुँच सुनिश्चित गर्नुपर्ने रहेकोमा यसको काम अहिले पनि चलिरहेको छ ।

२०८० साल भदौसम्ममा कार्यक्रमलाई कार्यान्वयनमा लैजान पर्याप्त हुने गरी सम्पूर्ण पूर्वशर्त प्राप्त गर्ने लक्ष्य थियो । 

जग्गा प्राप्तिको अवस्थामा विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गरिने ३१५ किलोमीटर प्रसारण लाइन र तीनओटा सबस्टेशनमध्ये नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटेमा निर्माण गरिने रातमाटे सबस्टेशनका लागि आवश्यक जग्गा प्राप्त भइसकेको छ । बाँकी दुईओटा सबस्टेशन र प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया थालनी भइसकेको छ । आयोजना सञ्चालन गरिने १० जिल्लामध्ये नौ जिल्लामा सम्बद्ध प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समिति गठन भई काम अगाडि बढिसकेको छ । यसै क्रममा जग्गा प्राप्तिका लागि सम्बद्ध पालिकाहरूमा प्रारम्भिक सर्वेक्षण सम्पन्न भई जग्गा प्राप्तिसम्बन्धी सार्वजनिक सूचना पनि प्रकाशित गरिसकिएको छ । एमसीसी कम्प्याक्टअन्तर्गतका खरीद प्रक्रिया एमसीसीको कार्यक्रम खरीद मार्गनिर्देशिका अनुसार अगाडि बढाइन्छ । प्रसारण लाइन निर्माणका लागि अभिरुचि प्रदर्शन गर्दै बोलपत्र दाखिला गरेका निर्माण कम्पनीहरूको छनोट प्रक्रिया गुणस्तर तथा मूल्यमा आधारित छनोट विधिबाट गरिँदै छ । यसअन्तर्गत प्रस्तावहरूलाई पहिला प्राविधिक आधारमा मूल्यांकन गरी ती प्रस्ताव एमसीए–नेपालका मापदण्ड तथा आवश्यकताअनुरूप भए, नभएको हेर्नका लागि अंक दिइन्छ । दोस्रो चरणमा वित्तीय प्रस्तावहरूको मूल्यांकन गरी अंक दिइन्छ । त्यसपछि दुवै अंक जोड्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने प्रस्ताव छनोट गरिनेछ । 

छनोट प्रक्रियामा निहित प्राविधिक र/वा खरीदसम्बन्धी जटिलताका कारण प्रस्ताव छनोटको परिणाम प्रकाशित गरिने निश्चित मिति उल्लेख गर्न कठिन हुने भए पनि बोलपत्र दाखिलादेखि छनोट भएका निर्माण कम्पनीसँग छलफल थाल्दासम्ममा केही समय लागेको हो । प्रसारण लाइनको भिन्नाभिन्नै खण्डको निर्माण कार्यका लागि अधिकतम तीनओटा भिन्नाभिन्नै निर्माण कम्पनीसँग सम्झौता हुनसक्ने भएकाले यसका लागि पनि थप समय लाग्न सक्छ । 

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम २०८० साल भदौमा कार्यान्वयन चरणमा प्रवेश गरेको छ । 

आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारले एमसीए–नेपालका लागि रू. १० अर्ब ८४ करोडको बजेट विनियोजन गरेको छ । विनियोजित रकममध्ये रू. ८ अर्ब ६३ करोड (करीब ८० प्रतिशत) एमसीसी स्रोततर्फ र रू. २ अर्ब २१ करोड (करीब २० प्रतिशत) नेपाल सरकार स्रोततर्फ रहेको छ ।

नेपाल सरकार स्रोततर्फको अधिकांश रकम (रू. २ अर्ब) जग्गा प्राप्तिका लागि उपयोग गरिनेछ भने एमसीसीतर्फको बजेट रकम (रू. ५ अर्ब ३६ करोड) आयोजना निर्माण कार्य एवं अन्य प्रशासनिक तथा परामर्श सेवाका लागि खर्च हुनेछ । आर्थिक २०८०/८१ मा करीब २० प्रतिशतदेखि ३० प्रतिशतसम्म जग्गा प्राप्ति तथा मुआब्जा वितरण हुने अनुमान रहेको छ । यसैगरी आव २०८०/८१ मा अनुमान गरिएका प्रमुख खर्चहरूमा प्रसारण लाइनको तीनओटै लटको निर्माण, तीनओटै सबस्टेशनको निर्माण, प्रसारण लाइनअन्तर्गतको पुन: स्थापना कार्ययोजना, वनक्षेत्रमा रूखको गणना तथा व्यवस्थापन, निर्माणसँग सम्बद्ध सुपरिवेक्षण इन्जिनीयर, विभिन्न सरकारी निकायहरूसँगको आयोजना सहायता सम्झौता, सडक मर्मत (रू. १ अर्ब ४ करोड) लगायत अन्य प्रशासनिक खर्चहरू रहेका छन् ।

आव २०८०/८१ का लागि रू. ९ अर्ब ८३ करोड (करीब ९१ प्रतिशत) पूँजीगत खर्च तथा रू. १ अर्ब १ करोड (९ प्रतिशत) चालू खर्चतर्फ विनियोजन भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)