ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : अर्थतन्त्रमा चिया तथा कफीको सहभागिता

२०८० भदौ, २०  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रशान्त खड्का

सामान्यतया ‘चिया’ र ‘कफी’ शब्द सुन्दा जति प्रिय लाग्छ मानव समाजमा यसको गरिमा पनि त्यत्ति नै धेरै छ । संसारमै पानी पछाडि सबैभन्दा बढी प्रयोग हुने पेय पदार्थ चिया र कफी हाम्रो जीवनशैलीसँग जोडिएका मात्रै छैनन्, मानव संस्कृतिको एक महत्त्वपूर्ण आयाम पनि बन्दै गएका छन् । अर्थोपार्जन, रोजगारी र पर्यटकीय आकर्षणको सम्भावनामा चिया र कफी दुवै क्षेत्रको योगदान ठूलो छ । 

चिया र कफीको व्यवसायले यसमा संलग्न व्यवसायीलाई आर्थिक सबलतातर्फ उन्मुख गराउँदै समग्र राष्ट्रको गरीबी निवारणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने प्रचुर सम्भावना देखिन्छ । त्यसैले अर्थतन्त्रमा चिया तथा कफीको सहभागिताले आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने कुरामा दुईमत छैन । करीब डेढ सय वर्ष अघिदेखि नेपालमा चिया संस्कृतिको विकास भएको भए पनि किसानको स्तरसम्म विसं २०३५ सालदेखि मात्रै पुगेको हो ।

वि.स १९२० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमणबाट फर्किंदा चियाको बीउ उपहारस्वरूप चिनियाँ सम्राटबाट लिएर आएका थिए । त्यसपश्चात् नै इलाममा चिया कमान र शोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चियाखेतीको शुरुआत भएको थियो । चियाक्षेत्रको अवस्था हेर्दा उत्पादनमा भन्दा पनि बजारीकरणमा बढी जोड दिनुपर्ने देखिन्छ भने कफीको हकमा उत्पादन र बजारीकरण दुवै पक्ष उत्तिकै महत्त्वपूर्ण छ । साथै उत्पादनको गुणस्तरमा समेत पाइला चाल्नुपर्ने आवश्यकता टड्कारो देखिन्छ । किनभने हामीले उत्पादन वृद्धितर्फ मात्रै ध्यान दिएर गुणस्तरमा ध्यान दिन सकेनौं भने हामी निर्यातमा पछि पर्ने निश्चित छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जारी गरेको तथ्यांकअनुसार नेपालमा २० हजार २३७ हेक्टर जमीनमा करीब २६ हजार ३७९ मेट्रिक टन चिया र ३ हजार ३४६ हेक्टर जमीनमा ३५४ मेट्रिक टन कफी उत्पादन हुन्छ । आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले ३ अर्ब ९३ करोड ७२ लाख ६० हजार रुपैयाँ बराबरको १६ हजार ५९४ मेट्रिक टन चिया निर्यात गरेको छ । सोही वर्ष नेपालले करीब १३ करोड रुपैयाँको २७७ मेट्रिक टन चिया आयात गरेको छ । त्यसैगरी सोही अवधिमा १३ करोड ४ लाख ४१ हजार रुपैयाँ बराबरको करीब ७८ मेट्रिक टन कफी नेपालले निर्यात गरेको छ भने ३२ करोड ५८ लाख रुपैयाँको ४५० मेट्रिकटन कफी नेपालले आयात गरेको छ ।

चियाको हकमा नेपालले आयातभन्दा निर्यात बढी गर्छ भने कफीको हकमा अझै पनि सोचेअनुरूप नेपालको निर्यात छैन । चियाको बजार थप विस्तार गर्न सरकारले वैकल्पिक बजार खोज्नुका साथै अक्सन बजारमार्फत चिया विक्री गर्ने व्यवस्थापन मिलाउनुपर्ने देखिन्छ । नेपाली चियाको बजार विस्तारमा अक्सन बजार निकै नै आवश्यक र महत्त्वपूर्ण रहेको सरोकारवाला बताउँछन् ।

तर, नेपालमा करीब १३ वर्ष अघिदेखि नै चिया अक्सन बजारको बारेमा बहस हुँदै आए पनि हालसम्म यसको कार्यान्वयन भने हुन सकेको छैन । नेपाली चियालाई अक्सन बजारमार्फत विक्री गर्ने भन्दै ८ वर्षअघि नेपाल सरकारले अक्सन स्थापनाका गर्न करीब १ करोड रुपैयाँको लगानीमा चियाको गुणस्तर परीक्षण ल्याबसमेत स्थापना गर्‍यो । तर, सरकार र व्यवसायीबीचको आपसी असमझदारीले अक्सन बजारले पूर्णता पाउन सकेन । यदि अक्सन बजार स्थापना भएर अक्सनमार्फत चिया बेच्ने प्रक्रिया शुरू भएको भए चियाक्षेत्रमा देखिएका करीब ९० प्रतिशत समस्या समाधान हुने विश्वास गरिन्छ । नेपाली चिया र कफीक्षेत्रले १ लाखभन्दा बढी किसान, व्यवसायी र श्रमिकलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ ।

चिया र कफीक्षेत्रको विकाससँगै अर्थतन्त्रमा यसको सहभागिता बलियो बनाउँदै लैजान यसलाई मानव संस्कृतिको आयाम र पर्यटनसँग जोड्न आवश्यक छ । विश्वका अन्य मुलुकसँगै नेपालमा पनि चिया संस्कृति मौलाउँदै गएको छ । जस्तै कि राजनीतिक दलका विभिन्न चियापान समारोह, चिया गफ जस्ता क्रियाकलाप निकै प्रचलित छन् । तर, कफी पान समारोह कतै सुनिँदैन यदि चिया जस्तै कफीलाई पनि महत्त्व दिने हो भने यसको बजार र खपत अझ विस्तार गर्न सकिन्छ । पछिल्लो समय शहरकेन्द्रित रूपमा चिया अड्डा, चिया घर र कफी विक्रीका विभिन्न कफी सप खुलेका छन् । यसले पनि केही हदसम्म संस्कृतिको विकास र खपत बढाएको छ । साथै प्रकृतिप्रेमी पर्यटकलाई प्रांगारिक प्रणालीबाट सञ्चालित चियाखेती लगायत अग्र्यानिक खानाले समेत आकर्षण गर्ने भएकाले यसलाई पर्यटनसँगै जोडेर लैजान सकियो भने अर्थतन्त्रमा यसको सहभागिता अझ व्यापक रूपमा बढाउन सकिन्छ ।

डेढ सय वर्ष पुरानो इतिहास भएको नेपाली चिया बजार आजको दिनसम्म आइपुग्दा पनि खासै उल्लेखनीय परिवर्तन देखिन नसक्नु यसको कमजोरी पक्ष हो । त्यसको एउटै मात्र उदाहरण भनेको नेपालले हालसम्म चियाक्षेत्रको विस्तार र सम्भावनालाई पूर्वमा मात्रै सीमित राखेको छ । पश्चिमी जिल्लामा समेत चिया उत्पादनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि ती सम्भावना खोज्ने र कार्यान्वयनतर्फ जाने ध्यान न सरकारको छ न त व्यवसायीको नै छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्युठान र सिन्धुपाल्चोक जिल्लामा चियाखेती विस्तारका योजना अघि सारेको छ । यही क्रमलाई निरन्तरता दिँदै बाजुरा, डोटी, अछाम, कालिकोट, दैलेख, सुर्खेत, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा समेत सम्भावनाको खोजी गर्नुपर्ने जरुरी देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)