ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : बीमालाई शैक्षिक पाठ्यक्रममै समेटौं

२०८० भदौ, २०  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

मुलुकको आर्थिक विकासमा बीमाक्षेत्रबाट प्रत्यक्ष र अप्रत्यक्ष गरेर दुई किसिमको फाइदा हुन्छ । निर्जीवन बीमाले उद्योग, मोटर, कलकारखानालगायत सबैको जोखिमको सुरक्षण प्रदान गर्छ भने जीवन बीमाले व्यक्तिको जोखिम वहन गर्नुका साथै भविष्यमा आइपर्ने संकटको आर्थिक सुरक्षा प्रदान पनि गर्छ ।

बीमाले उद्योगहरूमा हुन सक्ने जोखिम र आर्थिक भार न्यूनीकरण गर्छ, जसकारण उद्योगीहरू निर्धक्क भएर उद्योगमा लगानी गरी उद्योग सञ्चालन गर्न सक्छन् । यस्तै बीमाले व्यक्तिको सम्पत्तिको पनि सुरक्षा गर्छ, जसले मुलुकको आर्थिक विकासमा मद्दत गर्छ । जीवन तथा निर्जीवन बीमकले बीमा गरेबापत बीमितहरूबाट प्रिमियम संकलन गर्छन् । उक्त प्रिमियम जीवन बीमाको झन्डै डेढ खर्ब र निर्जीवनको ३० अर्बदेखि ३५ अर्ब रुपैयाँ हाराहारी छ । अर्थात् जीवन र निर्जीवन दुवै किसिमको बीमा गरेर वार्षिक २ खर्ब रुपैयाँ हाराहारी प्रिमियम संकलन हुन्छ । त्यसैले बीमा कम्पनीहरूले संकलन गरेको प्रिमियमले देशलाई आवश्यक पर्ने लगानी जुटाउन मद्दत गर्छ । बीमाले गाउँघरमा छरिएर रहेको बचत परिचालन गरी उक्त बचत बैंक तथा वित्तीय संस्थाको औपचारिक प्रणालीमा ल्याउन मद्दत गर्छ र बचत कर्जामार्फत लगानी हुन्छ । यसरी बीमाले अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्‍याउँछ ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा बीमाक्षेत्रको ३ प्रतिशत हाराहारी योगदान रहेको छ । हाम्रो जस्तो मुलुकमा वैदेशिक लगानी आवश्यक हुन्छ । लगानीका लागि स्रोत चाहिन्छ । आफ्नै स्रोत हुँदा मुलुकलाई फाइदा हुन्छ । तर, हाम्रो गार्हस्थ्य स्रोतले लगानीको माग पूरा गर्न सक्दैन । त्यसैले हामीले बाह्य स्रोत खोज्नुपर्छ । बीमाक्षेत्रबाट वार्षिक २ खर्ब स्रोत संकलन हुन्छ र उक्त स्रोत देश विकासमा प्रयोग गर्न सकिन्छ । बीमाले असंगठित क्षेत्रको पैसा संगठित क्षेत्रमा ल्याएर राष्ट्रिय अर्थतन्त्रमा सघाउ पुर्‍याउँछ ।

विगतको तुलनामा नेपालमा बीमाक्षेत्रको विकास धेरै भइसकेको छ । म २०७३ सालमा समितिको अध्यक्ष हुँदा बीमाको पहुँच ७ प्रतिशत थियो । मैले २०७७ सालमा प्राधिकरणबाट छोड्ने बेला बीमा पहुँच २८ प्रतिशत हाराहारी पुगेको थियो । अहिले ४४ प्रतिशत पुगिसकेको छ । यो पहुँच निकट भविष्यमा ७५ देखि ८० प्रतिशतसम्म पुग्ने देखिन्छ । मानिसका आफ्ना आधारभूत आवश्यकता नै पूरा भएका छैनन् भने उसले पहिलो प्राथमिकता खान, लगाउन र बस्नलाई नै दिन्छ । त्यसपछि बचत भयो भने बीमा गर्ने हो । यद्यपि नेपालमा बीमाको विकास र विस्तार भइरहेको छ ।

जीवन बीमातर्फ बीमा गर्दा जोखिम पनि बेहोर्ने र बीमालेख परिपक्व भएपछि पैसा पनि फिर्ता पाउने भएकाले आकर्षण भएको पाइन्छ । त्यसैले निर्जीवन बीमाको तुलनामा जीवन बीमाको पोलिसी धेरै विक्री भएको छ । तर, निर्जीवन बीमातर्फ भने सम्पत्तिको बीमा गर्ने चलन अहिले पनि छैन । निर्जीवन बीमाको व्यापक रूपमा प्रचार गरेर सबै स्थानीय तहहरूले निर्जीवन बीमालाई अनिवार्य गर्नु आवश्यक छ । निर्जीवन बीमा गर्दा अप्रत्यक्ष रूपको कुनै फाइदा हुने नीति बनाएर भए पनि स्थानीय सरकारले बीमा प्रोत्साहन गर्नुपर्छ । यस्तै केन्द्र र प्रदेश सरकारले पनि सबैभन्दा पहिला आफ्नो सम्पत्तिको बीमा गर्नुपर्छ । मोटर बीमालाई अनिवार्य गरेपछि यो बीमा बढेको छ । त्यस्तै सम्पत्तिको पनि अनिवार्य बीमा गर्ने व्यवस्था गरिनुपर्छ । सम्पत्तिको बीमा गरेपछि क्षति भएमा बीमाले रक्षावरण गर्छ । सरकारले दायित्व वहन गर्नु पर्दैन ।

नेपालमा लघु बीमा नयाँ अवधारणा भएकाले बीमा प्राधिकरणले अन्तरराष्ट्रिय अभ्यासअनुसार लघु बीमा कम्पनीहरूको मर्म बुझेर काम छुट्ट्याउने हो भने नयाँ लघु बीमा कम्पनीले बीमाको दायरा थप विस्तार गर्न मद्दत गर्छन् । त्यसैले प्राधिकरणले अध्ययन गरी मापदण्ड बनाएर लघु बीमा कम्पनीलाई हाल सञ्चालनमा रहेका जीवन र निर्जीवन कम्पनीको भन्दा फरक क्षेत्र छुट्ट्याउन आवश्यक छ । राष्ट्र बैंकले पनि लघुवित्त कम्पनीहरूले काम गर्ने क्षेत्र छुट्ट्याएको छ । त्यसैगरी प्राधिकरणले पनि लघु बीमा कम्पनीले काम गर्न पाउने दायरा छुट्ट्याउनुपर्छ । त्यसो भएमा बीमाक्षेत्रको विकास र विस्तारमा थप मद्दत पुग्छ । तर, लघु बीमाले पनि अन्य बीमा कम्पनीले झैं मोटर बीमा जस्तो नै गर्ने हो भने त्यसको प्रभावकारिता हुँदैन । त्यसो भएमा भविष्यमा मर्जको नीति लिनुपर्ने पनि हुन सक्छ ।

नेपालमा कति प्रतिशतले बीमा गरेका छन् भन्ने विषयले सजिलैसँग बीमा सचेतनाको आकलन गर्न सकिन्छ । बीमाको पहुँच २०७३ सालसम्म ७ प्रतिशत मात्र थियो । अहिले ४४ प्रतिशत हाराहारी पुगेको छ । यसले नागरिकमा बीमाको सचेतना बढेको छ । प्राधिकरणले विगत केही समयदेखि स्थानीय सरकारसँग सहकार्य गरेर मुलुकभर नै सचेतनाको कार्यक्रम गरिरहेको छ, जसका कारण सचेतना बढेको छ । तर, नेपालमा विद्यालय/कलेजहरूमा बैंक पढाइन्छ, बीमा पढाइँदैन । अन्तरराष्ट्रिय अभ्यास हेर्दा विद्यालय/कलेजहरूमा बीमा पढाइन्छ । त्यसैले बीमा सचेतना बढाउन विद्यालय तहदेखि नै बीमाबारे पढाउन आवश्यक छ ।

चिरञ्जीवी चापागाईं

(चापागाईं नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष हुन्) 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)