कुनै समय ‘कृषिप्रधान देश’ भनेर चिनिने नेपाल कृषिउपजको आयातमा निर्भर छ । एकातिर कृषिजन्य वस्तुको उत्पादन घटिरहेको छ भने अर्काेतिर कृषि उपजको आयात बढ्दो क्रममा छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान पनि बर्सेनि घट्दो छ । त्यति मात्रै होइन, कृषिमा आश्रित जनसंख्या पनि घटिरहेको छ । कृषि छोडेर अन्य पेशातर्फ आकर्षण, युवा विदेश पलायन र राज्यको कानून कार्यान्वयन अवस्था कमजोर हुँदा कृषि क्षेत्रको विकासमा चुनौती थपिरहेका छन् । तथापि आधुनिक उपकरणको बढ्दो प्रयोगले केही आशा भने पलाएको छ । पहिले खेत जोत्नका लागि गोरु–राँगा प्रयोग गरिन्थ्यो । अहिले ट्र्याक्टर प्रयोग गर्न थालिएको छ । पछिल्लो समय किसानको आकर्षण हाते ट्र्याक्टरमा देखिएको छ । कम मूल्यमै पाइने, लैजान सजिलो भएकाले पनि यसप्रति किसानको आकर्षण देखिएको हो ।
सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा नगन्यरूपमा बाहेक खेत जोत्न ट्र्याक्टर प्रयोग गर्ने गरिएको छ । नगन्यले मात्रै खेत जोत्नका लागि गोरु प्रयोग गरेको अवस्था छ । पहिले खेत जोत्नका लागि गोरु पालिन्थे । अहिले गोरु पालिन छोडिएको छ । खेत जोत्न मात्रै होइन, अहिले बालीबाट धान र गहुँ निकाल्न पनि कृषिको आधुनिक यन्त्र थ्रेसर प्रयोग गरिन्छ । पहिले मान्छेले नै ।
तराईमा मात्रै होइन, पहाडमा पनि कृषिमा आधुनिक यन्त्रको प्रयोग बढ्दो छ । खेत जोत्न मात्रै होइन, धान–गहुँ बाली थ्रेसर गर्न पनि आधुनिक यन्त्रको प्रयोग बढिरहेको छ । कृषिको आधुनिक यन्त्रको प्रयोग बढेसँगै यसको माग पनि बढिरहेको छ । सुदूरपश्चिमको विकट जिल्ला मानिने बझाङ तथा बाजुरामा ३ वर्षअघिसम्म वर्षमा १०–१२ जनाले ट्र्याक्टर किन्ने गरेका थिए । अहिले वर्षमा ट्र्याक्टर किन्नेको संख्या ५०–६० पुगिसकेको छ । सरकारले अनुदानको व्यवस्था गरेसँगै कृषिमा आधुनिक यन्त्रको प्रयोग बढ्दो छ ।
कृषिमा आधुनिक यन्त्रको प्रयोग बढ्दा उत्पादन पनि ह्वात्तै बढ्यो होला भन्ने कतिपयको अनुमान हुन सक्छ । तर, आधुनिक यन्त्रको प्रयोग बढ्दैमा कृषि उत्पादन बढिहाल्ने भन्ने हुँदैन । यसका अन्य फ्याक्टरहरू पनि छन् । उत्पादन बढाउनका लागि माटोको उर्वराशक्ति राम्रो हुनुपर्छ । यस्तै उन्नत बीउ, पर्याप्त सिँचाइ, गुणस्तरीय मललगायतको व्यवस्था हुनुपर्छ । नेपालमा कृषि उत्पादन बढाउन पनि यिनै कुराको ख्याल गर्न आवश्यक छ । जबसम्म नेपालको कृषिमा देखिएका समस्या सम्बोधन गरिँदैन तबसम्म यहाँको कृषि उत्पादन बढाउन सम्भव देखिँदैन ।
के छ समस्या ?
कृषि उत्पादन बढाउन विभिन्न समस्या देखिएका छन् । माटोको अवस्था बिग्रँदो छ । जथाभावी रासायनिक मलको प्रयोग यसको एक कारण हो । अर्काेतिर जग्गाको खण्डीकरण डरलाग्दो गरी बढेको छ । कृषि उत्पादन अपेक्षा अनुरूप बढ्न नसक्नुको यो पनि एक कारण हो । कृषिमा ‘समृद्धि’ हासिल गरेका देशमा भने जग्गाको एकीकरण छ ।
यहाँ मनपरी तरिकाले जहाँ पायो त्यही बस्ती बसाइएको छ । खेतीयोग्य जग्गामा पनि बस्ती बसाइँदा बर्सेनि खेतीयोग्य जमिन घट्दो छ । यस्तै, सबै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । सिँचाइ सुविधा नभएका ठाउँमा आकाशे पानीको भरमा खेती हुने गरेको छ । किसानले भोग्नुपरेको अर्काे समस्या हो, उन्नत बीउको । उन्नत बीउ नपाएपछि कतिपय किसान अझै पुरानै बीउ प्रयोग गरेर खेती गर्न बाध्य छन् । जसका कारण उत्पादन पनि बर्सेनि घट्दो देखिन्छ ।
कृषि मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल ३४ लाख ८६ हजार हेक्टरमा खाद्यान्न बाली लगाइएको थियो, जसमा १ करोड ७ लाख मेट्रिक टन कृषि उपज उत्पादन भएको थियो । यो आर्थिक वर्ष २०७७/७८ भन्दा ३ दशमलव १३ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०७८/७९ मा उत्पादकत्व ३ दशमलव शून्य ९ मेट्रिक टन प्रतिहेक्टर छ ।
६ ओटा खाद्यान्न बालीमध्ये धानबालीको क्षेत्रफल, उत्पादन र उत्पादकत्वकै हिसाबले पहिलो स्थानमा पर्छ, जसको क्षेत्रफल १४ लाख ७७ हजार हेक्टर र उत्पादन ५१ लाख ३० हजार मेट्रिक टन छ । यसैगरी मकै दोस्रो, गहुँ तेस्रो स्थानमा पर्छन् । क्षेत्रफल र उत्पादनको हिसाबले फापरबाली छैटौं (अन्तिम) स्थानमा छ । उत्पादनको हिस्सामा धान बालीले मात्र आर्थिक वर्ष २०७८/७९ मा ४७ दशमलव ६३ प्रतिशत ओगटेको छ भने मकै बालीले २८ दशमलव ८३ र गहुँ बालीले १९ दशमलव ९१ प्रतिशत ओगटेको छ । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा योगदान पनि घट्दै गएको देखिन्छ । रासायनिक मलको अभाव, कृषि उत्पादन बजारीकरणको कमी, कृषि अनुदानको दुरूपयोग र पर्याप्त सिँँचाइ सुविधाको अभावलगायत कारणले कृषि उत्पादन अपेक्षाकृत बढ्न नसक्दा जीडीपीमा यस क्षेत्रको योगदान कम देखिएको हो । औद्योगिक र सेवाक्षेत्रको वृद्धिदर कृषिक्षेत्रको तुलनामा बढी भएकाले पनि जीडीपीमा कृषिक्षेत्रको योगदान कम देखिएको हो ।
कृषिमा आश्रित घट्दै
कुनै समय नेपालको कुल जनसंख्याको करीब ८२ प्रतिशत कृषिमा आश्रित थिए । अहिले त्यो जनसंख्या घटेर ६२ प्रतिशतमा सीमित भइसकेको छ । अहिले करीब ५७ प्रतिशत आर्थिक रूपले सक्रिय जनशक्तिलाई प्रत्यक्ष वा परोक्ष रूपमा कृषिक्षेत्रले रोजगारी प्रदान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पछिल्लो ९ वर्षमा नेपालको जीडीपीमा कृषिक्षेत्रको योगदान ५ दशमलव २९ प्रतिशत बिन्दुले घटेको छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७१/७२ सम्म जीडीपीमा कृषिक्षेत्रको योगदान २९ दशमलव ३९ प्रतिशत थियो । आव २०७९/८० मा आइपुग्दा त्यो घटेर २४ दशमलव १ प्रतिशत कायम भएको छ । कृषिक्षेत्रको जनशक्ति विदेश पलायन हुनु, खेतीबालीको समयमा रासायनिक मलको चरम अभाव हुनु, कृषि उत्पादनको उपयुक्त बजारीकरण नहुनु, कृषि अनुदान दुरुपयोग र पर्याप्त सिँचाइ सुविधा नहुनुजस्ता कारणले पछिल्लो समय जीडीपीमा कृषिक्षेत्रको योगदान घट्दै गएको हो । वर्तमान अवस्थामा नेपालको जीडीपीमा कृषिको योगदान घट्नुलाई सकारात्मक मान्न सकिँदैन । नेपालमा कृषिक्षेत्रमा संलग्न जनसंख्याको अनुपातलाई हेर्ने हो भने चाहिँ यो योगदान सन्तोषजनक देखिँदैन । २०४८ सालमा कुल जनसंख्याको ८१ दशमलव २३ प्रतिशत कृषिमा आश्रित थियो । कृषिबाट हटेको जनशक्ति औद्योगिक क्षेत्रमा लाग्नेभन्दा विदेश पलायन भएकाले जीडीपीमा कृषिको योगदान घट्नुलाई
नेपालमा ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जमीन छ । त्यसमध्ये करीब १० लाख हेक्टर बाँझो छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार हाल कृषि पेशामा संलग्न पुरुषको जनसंख्या कुल जनसंख्याको ६० दशमलव २ र महिलाको संख्या ७२ दशमलव ८ प्रतिशत छ । आव २०७९/८० को पुससम्म खाद्य, तरकारी, फलफूल उत्पादन हुने जमीनको क्षेत्रफल घटेको छ । गतवर्षको सोही अवधिको तुलनामा त्यस्तो जमीन २ दशमलव १ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
यसरी गर्न सकिन्छ समाधान
कृषि उत्पादन बढाउन राज्यले सर्वप्रथम एग्री जोन छुट्याउनुपर्छ । एग्री जोन नछुट्याई कृषि उत्पादन बढाउँला भन्न सकिँदैन । यस्तै, खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउनुपर्छ । कृषि मन्त्रालयका अनुसार कुल कृषियोग्य जमिनको १८–१९ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको छ । किसानलाई गुणस्तरीय उन्नत बीउको व्यवस्था गरिनुपर्छ । बीउ उत्पादन बढाउन किसानलाई प्रोत्साहनलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्छ । जथाभावी गरिने रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति घटेको छ । कृषि उत्पादन बढाउन माटोको उर्वराशक्ति बढाउनु आवश्यक छ । यसका लागि प्रांगारिक मल प्रयोग बढाउनुपर्छ । प्रांगारिक मलका लागि स्वदेशमै प्रांगारिक मल कारखाना खोल्नुपर्छ । साथै यसको प्रयोगबारे किसानलाई चेतना दिन आवश्यक छ ।
लक्ष्मण ओझा
(ओझा किसान हुन् ।)