ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : लघुवित्त : गरीबी निवारणको अस्त्र 

२०८० भदौ, २०  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

लघुवित्त पीडितको आन्दोलन पनि हामीहरूकै कारणले भएको हो । वित्तीय साक्षरता र त्यसमार्फत ऋणीहरूको ज्ञान, शीप र क्षमता अभिवृद्धि गर्न सकेको भए र त्यो पैसा लगेर समुचित प्रयोग गराएर सक्षम र समृद्ध व्यक्ति बनाउन सकेको भए उनीहरू यसरी आन्दोलनमा लाग्ने थिएनन् ।

नेपालमा बैंक, वित्तीय संस्थाको पहुँच नपुगेका जनतालाई विनाधितो ऋण लगानी गर्ने कामको शुुरुआत निर्धन उत्थानबाट भएको हो । त्यतिबेला गैरसरकारी संस्थाका रूपमा लघुवित्त कार्यक्रम शुरू गरिएको थियो । संस्थापक डा. हरिहरदेव पन्तले मार्च १४, १९९३ मा पहिलो कर्जा दिएर नेपालमा यो कार्यक्रम शुरू गर्नुभएको हो । तत्कालीन समयमा करीब ५० प्रतिशत मानिस गरीबीको रेखामुनि रहेका थिए । लघुवित्तको मुख्य उद्देश्य पनि गरीबी निवारण र महिला सशक्तीकरण नै थियो । 

त्यो समयमा धितो लिएर कर्जा कृषि विकास बैंकले पनि दिने गरेको थियो । तर, निर्धनले विनाधितो कर्जा प्रवाह गर्न थाल्यो । त्यसपछि बंगलादेशको मोडललाई अनुसरण गरेर ग्रामीण विकास बैंक पनि शुरू भयो । अहिले पाँच दर्जन लघुवित्त संस्था सञ्चालनमा छन् । देशमा गरीबीको संख्या करीब १८ प्रतिशतमा झरेको छ । गरीबीको दर घट्नुमा विप्रेषण र लघुवित्त दुवैको भूमिका छ । 

अहिले लघुवित्तको पहुँच ७७ ओटै जिल्लामा पुगेको छ । ७७ ओटै जिल्लामा लघुवित्त पुर्‍याउने पहिलो संस्था पनि निर्धन उत्थान लघुवित्त नै हो । गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांक हेर्दा लघुवित्तमार्फत ४३५ अर्ब रुपैयाँ परिचालन भएको छ । यो पैसाले नेपालको गरीबी शून्यमा झर्नुपर्ने हो, तर आएन । किन आएन ? किन भएन ? भन्ने उत्तर पनि लघुवित्तभित्रै खोज्नुपर्ने अवस्था छ । 

लघुवित्तको कर्जा पूँजी निर्माण र उत्पादनका लागि लगानी भएर त्यसको किस्ता भुक्तानी पनि वस्तु तथा सेवा विक्रीबाट हुनुपर्ने हो । त्यो हुन नसकेकाले कर्जा उपभोगमा गएको हो कि भन्ने हामीलाई लागेको छ । त्यसैले अबको चुनौती भनेको पनि यही हो । अब लघुवित्तले उपभोगमा जाने कर्जा कम गर्दै उत्पादन र पूँजी निर्माणका लागि लगाउनुपर्छ । 

हामीले कर्जा केमा चाहिन्छ भनेर विभिन्न प्रकारको व्यावसायिक योजना बनाएर ४ लाख ग्राहकलाई सिकाएका छौं । २० ओटा बंगुर पाल्दा खर्च कटाएर ६ लाख रुपैयाँ नाफा हुन्छ भनेर व्यावसायिक योजना पढायौं । त्यस्तै १५ सयदेखि २५ सय मीटर उचाइमा स्याफ्रनको खेती हुन्छ, त्यसमा प्रतिरोपनी ५ देखि ७ लाख रुपैयाँ कमाइ हुन्छ । २० ओटा बाख्राले २ लाख नाफा हुन्छ तर त्यत्ति नै समय खर्च गरेर २० ओटा बंगुरपालन गर्दा ६ लाख आम्दानी हुन्छ भने बंगुरपालन किन नगर्ने ? 

त्यसैले हामीले करीब २९ ओटा विधाका व्यावसायिक योजना समेटेर किताबका रूपमा प्रकाशित गरेका छौं । हाम्रा करीब २२ हजारओटा केन्द्र, छन् त्यहाँ पुर्‍याएका छौं । एउटा समूहमा पाँच जना त्यो पनि गरीबीको रेखामुनि रहेका व्यक्ति हुनुपर्छ भन्ने मान्यता हो । आठओटा समूहको एउटा केन्द्र हुन्छ । एउटा केन्द्रमा ४० दिदीबहिनी हुन्छन् । वित्तीय तथा स्वास्थ्य सचेतना पढाउने गरेका छौं । स्वस्थ जीवन किन धन हो ? कर्जाको कसरी सदुपयोग हुन्छ ? बचत किन चाहिन्छ ? बजेटको आवश्यकता किन छ ? त्यसको महत्त्व के हो ? विषादीको प्रयोगले के कस्तो असर गर्छ ? पूर्ण खोप कसरी लगाउने ? लघु व्यवसायको महत्त्व के हो ? जस्ता कुरा ग्राहकलाई सिकाउँछौं । 

लघुवित्तलाई सही रूपमा अघि बढाउन सक्ने हो भने अहिले परिचालन भएको पैसाले नै गरीबीलाई शून्यमा झार्न सकिन्छ । त्यसैले अब उपभोगमा गएको पैसालाई विस्तारै रोक्दै उत्पादन र पूँजी निर्माणमा लैजानुुपर्छ भन्ने हाम्रो मान्यता हो । लघुवित्तको सिद्धान्त पनि यही हो । अर्थात् लघुवित्तको रकम पूँजी निर्माण र उत्पादनमा केन्द्रित हुनुपर्छ । 

‘फाइनान्सियल इन्टरमिडियटरी एक्ट’ले दिएको काम मात्रै गरेर बसेको भए अहिले लघुवित्तमार्फत ४ सय अर्ब रुपैयाँ लगानी हुने अवस्था थिएन । लघुवित्तको मर्मविपरीत लघुवित्त संस्थाहरू गएकोले समस्या आएको हो । लघुवित्तले कर्जा उपभोगका लागि दिँदै गए । कर्जा तिर्नलाई पनि कर्जा दिँदै जानुपर्ने अवस्था आयो, जसले गर्दा कर्जा बढ्दै गयो । अब सिद्धान्तभन्दा बाहिर गएका र लक्षित समूहमा कर्जा लगानी नगरेकाहरूले सुधार गर्नुपर्छ । कर्जा विश्लेषण राम्रोसँग गर्ने तथा सोसल मिसन बनाएर थोरै गर्नेहरूलाई धेरै र व्यावसायिक हुन प्रोत्साहित गर्नुपर्छ । अफ सिजनको व्यावसायिक खेती गर्न प्रोत्साहित गर्नुपर्छ । विस्तारै सानो, मध्यम हुँदै ठूलो उद्यम गर्नेतर्फ आफ्ना ग्राहकलाई लैजानुपर्छ । समृद्धिको चक्र पनि यही नै हो । 

लघुवित्तहरू लक्षित समूहभन्दा बाहिर गएको हुनाले अब लघुवित्तलाई बाहिर जाने छूट छैन । लक्षित वर्गभित्रै लघुवित्त बस्नुपर्छ र उनीहरूको लघुउद्यम विस्तार गर्न लघुवित्तले भूमिका खेल्नुपर्छ । यसका लागि नियमनकारी निकायले कडाइ गर्नेभन्दा पनि हामी नै स्वनियममा बस्नुपर्छ । आफ्नो भिजन, मिशन बिर्सन हुँदैन । लघुवित्तमा रहेर काम गर्ने हो भने आर्थिक तथा सामाजिक हिसाबले सबैभन्दा तल रहेका करीब ५८ लाख जनताभित्रै बसेर काम गर्नुपर्छ । त्यसो भएमा हामी गरीबीलाई शून्यमा झार्न सक्छौं । 

वित्तीय साक्षरताको कुरा गर्दा मानिसहरूले आफूले पैसा चलाउँदा विभिन्न किसिमका योजना बनाएर भाएबल बजेट बनाएर अगाडि बढ्नुपर्छ । त्यस्तै आफूले उत्पादन गरेको वस्तु तथा सेवाको आर्थिक चक्रमा राख्नको लागि विभिन्न प्रकारका ज्ञान लिनुपर्छ । जबसम्म विपन्न वर्गले आफूसँग भएको स्रोत र साधन उपयुक्त ढंगले परिचालन गर्न सक्दैन तबसम्म वित्तीय साक्षरता आवश्यक हुन्छ । जनतामा वित्तीय साक्षरताको अवस्था कमजोर भएका कारण पनि लघुवित्तमा अहिलेको अवस्था आएको हो । वित्तीय साक्षर भएको भए एकै व्यक्तिले धेरै ठाउँबाट कर्जा लिँदै लिँदैनथे । कर्जा लिएर राम्रो गरेमा समृद्धि हासिल हुने र नराम्रो गरे गरीबीको दुश्चक्रभित्र फसिन्छ भन्ने बुझाउनुपर्छ । त्यसैले वित्तीय साक्षरताको स्तर बढाउन जरुरी छ । 

विपन्न वर्गमा जानुको साटो लघुवित्तहरू पनि मध्यम वर्गतिर गए जुन उनीहरूको क्षेत्र नै होइन । त्यसका लागि त विकास बैंक, फाइनान्स कम्पनी छँदै छन् । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र सहकारीलगायत सबै वित्तीय क्षेत्र मध्यम वर्गमा केन्द्रित हुँदा ‘ओभर क्राउडेड’ पनि भएको छ । वित्तीय पहुँच विस्तार गर्नतर्फ मात्र लागियो, वित्तीय साक्षरतातर्फ लागिएन । यसो भएन भने त्यसले गरीबलाई झन् गरीब बनाउँछ । वित्तीय साक्षरता बढाउन अझ बढी मेहनत गर्नुपर्ने आवश्यकता देखिन्छ । 

वित्तीय साक्षरताको कमजोरी तथा संस्था नाफामुखी भएका कारण लघुवित्त क्षेत्रमा अहिले समस्या देखिएको हो । यसमा नियमनकारी निकायको पनि भूमिका छ । कमर्सियल बैंकको काम भनेको अन्तरराष्ट्रिय व्यापार, पूर्वाधार विकासका आयोजनाहरू (जस्तै रिटर्न अन इन्भेस्टमेन्ट हुन सक्ने स्थानमा) लगानी गर्नुपर्ने हो तर उनीहरू पनि लघुवित्तका ग्राहकसम्म आए । त्यो अझै पनि छ र त्यसलाई सच्याउन जरुरी छ । लघुवित्त वित्तीय संस्थाले गर्ने काम नै सबैले गर्ने भएर ओभर क्राउडेड भएको हो । यसमा हामी सबै जिम्मेवार छौं । ग्राहकलाई सचेत गराउन नसक्नुमा हामी लघुवित्तकर्मीकै पनि दोष छ । 

लघुवित्त पीडितको आन्दोलन पनि हामीहरूकै कारणले भएको हो । वित्तीय साक्षरता र सोमार्फत् ऋणीहरूको ज्ञान, शीप र क्षमता अभिवृद्धि गर्न सकेको भए र त्यो पैसा लगेर समुचित प्रयोग गराएर सक्षम र समृद्ध व्यक्ति बनाउन सकेको भए उनीहरू यसरी आन्दोलनमा लाग्ने थिएनन् । मल्टिपल फाइनान्सिङ हुने अवस्था पनि आउने थिएन । सबै वित्तीय संस्थाले किस्ता आयो कि आएन मात्र हेरे । तर, मुख्य विषय कर्जाको सदुपयोगिता हो । यो पक्ष हेर्नचाहिँ सबै फेल भए । केन्द्रीय बैंक पनि फेल खायो । केन्द्रीय बैंकले लघुवित्तले लगानी गर्न पाउने रकमको सीमा बढायो । त्यो नीतिका कारण वित्तीय पहुँचको नाममा बढी पैसा गयो । त्यसैले गर्दा राष्ट्र बैंक र वित्तीय संस्था सबै फेल भए । जुन ठाउँबाट गल्ती शुरू भयो त्यही ठाउँबाट सुधारेर अघि बढ्नुपर्छ । नेपालमा विपन्न वर्गलाई गरीबीको रेखामुनिबाट माथि उकास्ने एकमात्र उपाय भनेको लघुवित्त हो । यसमा देखिएका कमी कमजोरीलाई सुधारेर अघि बढाउनुपर्छ । 

जनार्दनदेव पन्त

(पन्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)