ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नाडा अटो शो २०२३ विशेष: नाडा अटो शोले उपभोक्तादेखि अर्थतन्त्रसम्म फाइदा पुग्छ

२०८० भदौ, २८  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)द्वारा आयोजित ‘नाडा अटो शो २०२३’ शुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा मंगलवारदेखि शुरू भएको प्रदर्शनीमा प्रख्यात अन्तरराष्ट्रिय ब्राण्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जा प्रदर्शनीमा राखिएका छन् । मेलामा राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको उल्लेख्य सहभागिता रहेको छ । नाडाका अध्यक्ष ध्रुव थापा यो मेलाले ग्राहकदेखि डिलरसम्मलाई अवसर नै अवसर सृजना गरेको बताउँछन् । प्रस्तुत छ, नाडा अटो शोका विविध विषयमा आधारित रहेर अध्यक्ष थापासँग आर्थिक अभियानका अनन्त्य सुन्दरले गरेको कुराकानीको सार :

‘नाडा अटो शो २०२३’ का मुख्य आकर्षण के कस्ता छन् ?

नाडा अटो शो २०२३ मा राखिएका सबैजसो गाडी नयाँ छन् । मेलामा राखिएका कतिपय गाडी बाहिर अन्य मुलुकमा भर्खरै सार्वजनिक भएका पनि छन् । नाडा अटो शो अन्तरराष्ट्रिय स्तरको बनेको छ । यसमा ग्राहकलाई विभिन्न कम्पनीले गाडी खरीदमा ठूलो अफर तथा छूट दिएका छन् । चार वर्षपछि भएको यो मेलामा नयाँ ब्रान्डका गाडी पनि राखिएका छन् । साथै बैंक, बीमा कम्पनीले गाडी खरीद गर्दा विभिन्न किसिमका छूटका स्किम पनि ल्याएका छन् ।

मेलामा कतिओटा कम्पनी र कति मूल्यका गाडी राखिएका छन् ?

मेलामा एकदमै सस्तादेखि महँगा विलासी गाडी प्रदर्शनीमा राखिएका छन् । कारहरू न्यूनतम १३ लाखदेखि कराडौं रुपैयाँसम्मका राखिएका छन् । मेलामा सबै गरी १२० ओटा स्टल छन् । त्यसैगरी शोमा १६ ओटा ब्राण्डका चारपांग्रे, २२ ओटा ब्राण्डका दुईपांग्रे, सातओटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ ओटा वित्तीय संस्था तथा ३० ओटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको पनि सहभागिता छ ।

मेलाका प्रमुख विशेषता के हुन् ?

हामीले चाडपर्वलाई लक्षित गरेर प्रदर्शनी गर्दै आएका थियौं । तर विविध कारणले केही वर्ष गर्न सकेका थिएनौं । शोको मुख्य विशेषता नै ग्राहकलाई एउटै छानामुनि विभिन्न ब्रान्डका विभिन्न गाडी हेरेर, छानेर आफूले किन्न सक्ने ठाउँ जुटाइदिने हो । साथै चाडपर्वको अवसरमा विभिन्न कम्पनीले अफर पनि दिएका हुन्छन् । गाडी उत्पादक कम्पनीसँग हामीले नै अफर मागेर प्रस्तुत गरेका छौं, जुन अफर यो मेलापछि हुँदैन । अहिले उत्पादक कम्पनीले प्रत्यक्ष रूपमा अफर दिन्छन् । यसबाट ग्राहक पनि धेरै लाभान्वित हुन्छन् । नाडा अटो शो ग्राहकलाई धेरैभन्दा धेरै कम्पनीका सवारीसाधन अवलोकन तथा खरीदका लागि अवसर दिने उपयुक्त प्लेटफर्म हो । मेलामा ग्राहकले एकै ठाउँमा थुप्रै गाडीको विशेषता तुलना गरेर आफूलाई उपयुक्त हुने गाडी किन्न सक्छन् ।

मन्दीको बेला अर्थतन्त्र चलायमान बनाउन यस्तो मेलाको कस्तो भूमिका हुन्छ ?

मन्दीको बेला अटो शो नगर्ने कि भन्ने कुरा नाडामा उठेको पनि थियो । तर यस्तो ठूला शोहरू नगर्दा अर्थतन्त्र झन् शिथिल हुन्छ । अटो व्यवसायले समग्र देशको अर्थतन्त्रलाई नै चलायमान बनाउने भएकाले मन्दीको अवस्था भए तापनि हामीले चुनौती लिएरै शो आयोजना गरेका हौं । त्यसैले यो मेलाले बजारमा सकारात्मक सन्देश दिन्छ । साथै अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं । पहिलो दिन मेलामा सहभागी भएका अवलोकनकर्ताको संख्याले इतिहास रचेको छ । पहिलो दिन अवलोकनकर्ताको सहभागिताबाट हामीले अटोप्रति नेपालीको आकर्षण उच्च रहेको पाएका छौं । पहिलो दिनमै अत्यधिक सवारीसाधन बुकिङ भइसकेको जानकारी आएको छ । त्यसैले यस मेलाले अहिलेको मन्दीमा अर्थतन्त्रलाई चलायमान बनाउन अवश्य पनि मद्दत गर्छ ।

डिलरका लागि मेलाले कस्तो टेवा पुग्ला ?

यो शो डिलर, आयातकर्ताका साथै सिंगो देशकै लागि नै हो । अटो शोका लागि भनेर अहिले हजारौं गाडी भन्सारमा आएका छन् । त्यसैले मेलाले डिलर, उपभोक्ताका साथै सबैलाई अवसर सृजना गरेको छ । साथै, राजस्व संकलनमा अटो क्षेत्रको प्रमुख भूमिका रहेकाले यो शो डिलर मात्र नभएर अटो क्षेत्रसँग सम्बन्धित सबैका लागि हो । समग्रमा नाडा अटो शोले सकारात्मक परिवर्तन ल्याउनेमा हामी आयोजक विश्वस्त छौं ।

अटो क्षेत्रलाई सरकारले कसरी प्रोत्साहन गर्नुपर्छ ?

राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितिमा ह्रास आयो, डलर सिद्धिँदै गयो भनेर गाडीको आयातमा प्रतिबन्ध लगाएको थियो । डलर सञ्चिति अहिलेसम्मकै उच्च भएको समयमा पनि यसमा चाप परेको देखाएर लगाइएको प्रतिबन्ध अहिले पनि कायम छ । अटो मोबाइल क्षेत्र देशको आर्थिक विकासका लागि आधारस्तम्भ हो । तर यो क्षेत्रलाई नियामकबाट बेला बेलामा अप्ठ्यारोमा पार्ने काम भइरहेको छ । यसलाई तत्काल सुधार्नुपर्ने अवस्था छ । गाडी आयातमा पहिले विदेशी विनिमय सञ्चिति कम हुँदा लगाइएका प्रतिबन्ध हटाउन आवश्यक छ । 

विगतका भन्दा यसपटकको अटो शोमा के परक छ ?

विगतमा हुने अटो शोहरूमा भन्दा अहिले पक्कै धेरै फरक छ । अहिले हामीले शोलाई अन्तरराष्ट्रिय स्तरको बनाउने प्रयास गरिरहेका छौं । चार वर्षअघि सबै ब्रान्डका सबै मोडेलका सवारीसाधन शोमा हुन्थे । तर यसपटक हामीले सम्पूर्ण नयाँ ब्रान्डका नयाँ मोडलका गाडी भित्त्याएका छौं । मेलामा विश्वमा चलेका नयाँ मोडेलका गाडी राखिएका छन् । दर्जनभन्दा बढी सवारीसाधन एकै पटकजसो सार्वजनिक भएका छन् । साथै मेलामा भएका सबैजसो वस्तुमा आकर्षक अफर पनि छन् ।

नाडा अटो शोका मुख्य उद्देश्य के के छन् ?

हामीले शो राख्नुको मुख्य उद्देश्य नै ग्राहकले यसबाट फाइदा लिऊन् भन्ने हो । साथै व्यवसायीले पनि आफ्नो व्यापार बढाउन सकून् । हामीले यो शोमा रू. २० अर्बको व्यापार हुने अनुमान गरेका छौं । पहिलो दिनको अवलोकनकर्ताको भीड देखेर हाम्रो उक्त लक्ष्य सजिलै पूरा गर्ने अपेक्षा छ । २० अर्बको कारोबार भयो भने सरकारलाई ४० अर्बको राजस्व आउँछ ।

यसपटकको मेलामा विद्युतीय सवारीसाधनमा उपभोक्ताको बढी आकर्षण देखिएको हो ?

हो, मेलामा विद्युतीय सवारीसाधनप्रति अवलोकनकर्ताको बढी आकर्षण देखिएको छ । हामीले यसपटक ६० प्रतिशत विद्युतीय सवारीसाधन राखेका छौं । व्यवसायीले पनि बजारमा जुन गाडीको धेरै माग हुन्छ, त्यही राख्ने गर्छन् । अहिले नेपालमा मात्र नभएर विश्वभर नै विद्युतीय सवारीसाधनको माग धेरै छ । स्वाभाविक रूपमा नेपालमा पनि यसको ठूलो प्रभाव परेको छ । विद्युतीय सवारीसाधन सञ्चालनका लागि चार्जिङ स्टेशन लगायत पूर्वाधार बन्न थालेका छन् । यसले पनि उपभोक्तालाई विद्युतीय सवारीसाधन खरीदमा उत्साह बढाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)