ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामान्य अंक घट्यो नेप्से, ४ अर्ब २९ करोड बराबरको कारोबार हुँदा १०३ कम्पनीको शेयर मूल्य बढ्यो

२०८० पुस, १२  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेको छ । यस दिन परिसूचक १ दशमलव ९३ अंक घटेर २ हजार ६८ दशमलव ९० विन्दुमा कायम भएको छ ।

छोटो समयमै साढे ९ प्रतिशत बढेको बजारमा कारोबारीले नाफा बुक गर्दा अहिले नेप्सेमा सामान्य दबाब परेको छ । त्यसो त शेयर बजार बढेपछि केही दिन करेक्सन हुने गर्छ ।

अहिले नाफा बुक गरेका लगानीहरू अहिले ‘पर्ख र हेर’ को अवस्थामा छन् । विक्रेतामा पनि अलि सस्तो भएपछि मात्र किन्ने प्रवृत्तिका कारण अहिले बजार बढ्न नसकेको जानकारहरूको भनाइ छ ।  

पछिल्लो समय ब्याजदर घटेको छ भने शेयर बजारसम्बन्धी नीति पनि खुकुलो बनाइएको छ । यस कारण केही दिनमा शेयर बजारले सकारात्मक लय समात्ने जानकारहरू बताउँछन् ।   

बजार घटे पनि भर्खरै सूचीकृत भएका कम्पनीहरूको शेयरमा लगानीकर्ताको आर्कषण बढी देखिएको छ । ती कम्पनीहरूको मूल्य प्रायः तल्लो विन्दुबाटै शुरु हुने भएकाले लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

कारोबारमा आएका ३०३ धितोपत्रको १ करोड १६ लाख ५८ हजार ११० कित्ता शेयर १ लाख १ हजार ५०४ पटकमा रू. ४ अर्ब २९ करोड बराबरको कारोबार भएको हो ।

बिहीवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४५ प्रतिशत घटेको छ । 

कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी भिजन लुम्बिनी उर्जा कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.५३४ दशमलव ६० पुगेको हो ।

शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा चिरख्वा हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. ४३९ दशमलव २० कायम भएको छ । आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ ।  

बिहीवार दुई लघुवित्त कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । धौलागिरी लघुवित्त र विपिडब्लु लघुवित्तको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो ।

यस दिन धौलागिरी लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ९२४ दशमलव ३० र विपि डब्लु लघुवित्तको रू. १ हजार ३६४ दशमलव ४० मा झरेको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । यस कम्पनीको रू. १४ करोड ३८ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य रू. ४५४ दशमलव १० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट्सको रू. १३ करोड ५६ लाख बराबरको भएको हो । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको सूचक बढेको छ भने बाँकी सबैको घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव २९ प्रतिशत वृद्धि भएको छ भने व्यापार समूहको परिसूचक सबैभन्दा बढी १ दशलमव ७१ प्रतिशत घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)