नेपालमा आधुनिक कृषि औजारको प्रयोग वर्षेनि १५ प्रतिशतका दरले बढिरहेको तथ्यांकले देखाएको छ । कृषिक्षेत्रमा प्रयोग भइरहेका औजारहरूमध्ये झण्डै ५० प्रतिशत साना र परम्परागत औजार सामान्यत: नेपालमै निर्माण हुन्छन् । तर, ठूला र आधुनिक कृषि औजारहरूका निम्ति नेपालले आयातकै भर पर्नुपरेको छ । व्यावसायिक खेती प्रणालीका निम्ति आधुनिक कृषियन्त्रको विकल्प छैन । भारतसँग खुला सिमाना भएकाले साना कृषि उपकरणहरू कति भित्रिन्छन् त्यसको कुनै लेखाजोखा छैन । तर, पनि आवश्यक कृषि औजारहरू नेपाल आफैले निर्माण गर्न सकेको छैन । कम जनशक्तिबाट धेरै काम लिनका लागि पनि कृषियन्त्र अत्यावश्यक भइसकेको छ । अब सधैं आयातको भर पर्नुभन्दा नेपाल आफैले त्यस्ता आधुनिक कृषि औजार निर्माण गर्नुपर्छ । २०२१ सालमा स्थापित मुलुकको पहिलो कृषि औजार कारखाना (वीरगञ्ज) २०५४ सालदेखि बन्द अवस्थामा छ ।
(सम्पादकीयबाट)
वर्ष ६, अंक २१५, शुक्रवार, ८ वैशाख, २०६९