नेपालका कृषि वैज्ञानिकहरूले विदेशमा सजिलै काम पाउने गरेका छन् । यद्यपि, यो परम्परागत रूपमै हुँदै आएको कार्य हो । सरकारी अनुदानमा उच्च शिक्षा अध्ययनका निम्ति विदेश जाने हुन् वा सरकारी सेवामै कार्यरत कृषिविज्ञ हुन्, मौका मिल्नेबित्तिकै नेपाल छोड्ने प्रवृत्ति नयाँ होइन । केही समयअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ६० जना कृषिविज्ञ मागेकोमा ३० जनाको पनि निवेदन परेन । यस तथ्यले भएका कृषिविज्ञ पनि नेपालमा जागीर खान रुचि राख्दैनन् भन्ने कुरालाई पुष्टि गर्दछ । सरकारले कृषिक्षेत्रलाई लगानी र व्यवसायका निम्ति आकर्षक गन्तव्य बनाउन नसक्नुले पनि यसमा कृषि वैज्ञानिक, निजीक्षेत्र र बैंक तथा वित्तीय क्षेत्रको अभिरुचि बढ्न नसकेको हो । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा झण्डै ३६ प्रतिशत योगदान रहेको कृषिक्षेत्र यही ढंगले अपहेलित भइरहने हो भने भविष्यमा कृषि वैज्ञानिकको पलायन अझ बढेर जाने यसले संकेत गरेको छ । विश्वका विकसित मुलुकहरूमा नेपाली कृषिविज्ञहरूको माग बढी नै भएकाले पनि कृषि वैज्ञानिकहरूको पलायन सरल भएको हो । सरकारको खर्चमा विदेश पढ्न गएका त उतै बस्छन् नैै, पढेर आएका समेत नेपाल छोडेर जाने एउटा परम्परा नै बनेको छ । उचित कृषिशिक्षा प्राप्त नेपाली दक्ष जनशक्तिमा श्रम गर्ने तदारुकताले पनि विदेशीलाई मोहित तुल्याउने गरेको पाइएको छ ।
(सम्पादकीयबाट)
वर्ष ६, अंक २१६, आइतवार, १० वैशाख, २०६९